लन्डन परेडमा ग्रीनवीच बरोको नेपाली कला, संस्कृति प्रदर्शनीले जित्यो तेस्रो पुरस्कार

लन्डन- अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा आयोजित लन्डन न्यू इयर डे परेडमा नेपाली समुदायको सहभागितामा रोयल बरो अफ ग्रीनवीचले तेस्रो पुरस्कार जितेको छ । नयाँ वर्षको दिन लन्डनमा आयोजित परेडमा सहभागी ७५ समूहमध्ये लन्डन बरोहरुको प्रतिस्पर्धामा ग्रीनवीच बरो तेस्रो भएको हो । परेडमा यस वर्ष ग्रीनवीच बरोको तर्फबाट मेयर जीत रानभाटको पहलमा स्थानीय नेपाली […]

Jan 5, 2025 - 11:52
 0
लन्डन परेडमा ग्रीनवीच बरोको नेपाली कला, संस्कृति प्रदर्शनीले जित्यो तेस्रो पुरस्कार

लन्डन- अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा आयोजित लन्डन न्यू इयर डे परेडमा नेपाली समुदायको सहभागितामा रोयल बरो अफ ग्रीनवीचले तेस्रो पुरस्कार जितेको छ ।

नयाँ वर्षको दिन लन्डनमा आयोजित परेडमा सहभागी ७५ समूहमध्ये लन्डन बरोहरुको प्रतिस्पर्धामा ग्रीनवीच बरो तेस्रो भएको हो ।

परेडमा यस वर्ष ग्रीनवीच बरोको तर्फबाट मेयर जीत रानभाटको पहलमा स्थानीय नेपाली समुदायले नेपाली कला, संस्कृति झल्काउने मौलिक प्रस्तुतिको प्रदर्शनी गरेको थियो ।

शनिबार लन्डन ह्वाइटहलमा आयोजित एक समारोहमा लन्डन न्यू इयर परेडका निर्देशकले तेस्रो पुरस्कारस्वरुप ग्रीनवीच बरोलाई ट्रफी प्रदान गरे । ग्रीनवीच बरो मेयर जीत रानाभाट, मेयरेस गौमाया गुरुङ, परेडका लागि बरोका संयोजक श्रीचन्द्र गुरुङलगायतले पुरस्कार ग्रहण गरे ।

तेस्रो पुरस्कारसंगै ग्रीनवीच बरोले ५ हजार पाउण्ड नगदसमेत जितेको छ । जुन रकम मेयर रानाभाटको यो वर्षको च्यारिटी बाउल क्यान्सर यूके र कमनवेल्थ एण्ड गोर्खा गार्डेन प्रोजेक्टमा खर्च गरिनेछ ।

यस वर्ष परेडमा प्रस्तुतिको आधारमा लन्डनको लुइसम बरो प्रथम र सटन बरो दोस्रो भएका छन् ।

ग्रीनवीच बरो मेयर जीत रानाभाटले लन्डन परेडमा बरोले नेपाली कला, संस्कृतिको प्रदर्शनी गर्दै तेस्रो स्थान हासिल गरेकोमा गौरवान्वित महशुस भएको बताए ।

‘हाम्रो नेपाली संस्कृतिभित्रको विविधता र मौलिकतालाई एउटा ठूलो अन्तरराष्ट्रिय मञ्चमा प्रदर्शन गर्ने अवसर थियो’, मेयर रानाभाटले नेपालीलिंकसंग भने, हामीले त्यही अवसरको सदुपयोग गर्न पाएकोमा गौरव लागेको छ । यस कार्यमा सहयोग गर्ने ग्रीनवीच बरो तथा सहभागी सिंगो नेपाली समुदायलाई म धन्यवाद व्यक्त गर्दछु ।’

परेडका लागि ग्रीनवीच बरोको तर्फबाट संयोजक श्रीचन्द्र गुरुङले पनि तेस्रो पुरस्कार हासिल भएकोमा खुशी व्यक्त गरे ।

‘सम्भवतः ग्रीनवीच बरोले नै यो पुरस्कार जितेको पहिलोपटक हुनुपर्छ । त्यसमा पनि नेपाली समुदाय जोडिन पाएका छौं’, गुरुङले भने, ‘यो उपलब्धि ग्रीनवीच बरोमा एक इतिहासका रुपमा सधैं रहिरहनेछ ।’

परेडमा ग्रीनवीच बरोका तर्फबाट पासा पुचः गुथि यूकेले सुशील प्रजापतिको संयोजनमा धिमे, ढाः र खिंग बाजाका साथ गाइजात्रामा प्रस्तुत गरिने घिन्ताङ घिसी नाच, लाखे नाच देखाउंदै कुमारी यात्रा गरेको थियो ।

गोविन्द सापकोटाको संयोजनमा नौमति पन्चे बाजा र साउथ इष्ट रिजनल तमुधिं लन्डनले सोरठी नाच देखाएको थियो । थकाली समाज यूके, डायमण्ड बुद्धिष्ट सेन्टर यूके, मगर समुदायले पनि आफ्नो कला संस्कृति देखाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register