क्यान र फ्रेन्चाइज टिम नै अनलाइन जुवाको प्रचारमा, मैदानमै करोडौंको कारोबार

मैदानमा क्रिकेट चलिरहँदा बाहिर अनलाइन जुवाले यसको प्रतिष्ठा धुमिल बनाउन थालेको छ । आयोजक क्यान र टिमले नै जुवा खेलाउने कम्पनीको प्रवर्द्धन गरिरहेका छन् ।

Dec 3, 2024 - 12:24
 0
क्यान र फ्रेन्चाइज टिम नै अनलाइन जुवाको प्रचारमा, मैदानमै करोडौंको कारोबार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल), क्रिकेटका पारखीका लागि एउटा उत्सव हो । तर, यो प्रतियोगिता सुरु भएसँगै मैदानले मात्र होइन बाहिरको गतिविधिले पनि ध्यान खिचेको छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान खेल मात्र होइन, अनलाइन जुवाको अखडा पनि बनिरहेको पाइएको छ । जहाँ क्रिकेटसँगै लाखौँ ‍ करोडौँ रुपैयाँको हारजित पनि भइरहेको देखिन्छ ।

खेलको तेस्रो दिनसम्म पाँच खेल सकिएको छ । यस अवधिमा अनलाइन जुवा खेलाएको आरोपमा चारजना सट्टेबाज पक्राउ परिसकेका छन् ।

एनपीएलमा हुने खेलमा अनलाइन जुवा खेलाउन भारतलगायतका देशबाट सट्टेबाज कम्पनीका एजेन्ट नेपाल आएर तयारी गरेको खुलेको छ । अहिले केही प्रतिनिधि पक्राउ परिसकेका छन् ।

प्रहरीले क्रिकेट मैदान, खेलाडी बसेका होटेल, लिगमा सहभागी फ्रेन्चाइज टिमका सञ्चालकदेखि दर्शकसम्म निगरानी बढाएको छ ।

यसका लागि प्रहरी प्रधान कार्यालय, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र उपत्यका अपराध अनुसन्धान कार्यालयबाट समेत सादा पोसाकमा प्रहरी परिचालन गरिएको स्रोतले जनाएको छ ।

क्यासिनो बिर्साउने एनपीएल

एनपीएलको सोमबारको खेलमा त्रिवि क्रिकेट मैदानबाटै अनलाइन जुवा खेलाएको आरोपमा दुई भारतीय पक्राउ परे ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले भारत कोलकाताका सुनिल घोष अनि उत्तर प्रदेशका अमित यादवलाई पक्राउ गरेको थियो । यस्तै मंगलबार बिहारका सुमित कुमार र ब्रिजेस कुमार पक्राउ परेका छन् ।

पक्राउ परेकाको ट्रान्जेक्सन हेर्दा आठ करोडसम्म फेला परेको सीआईबीले जनाएको छ ।

उनीहरूले नाफा कमाउने उद्देश्यले खेलका पक्ष वा विपक्षमा बाजी लगाउँदै, जित या हारको आधारमा डिजिटल भुक्तानीमार्फत लाखौँ रुपैयाँको कारोबार गरिरहेका थिए ।

उनीहरूले विभिन्न नामका बेटिङ साइटबाट जुवा खेलाइरहेको पाइएको सीआईबी प्रवक्ता होविन्द्र बोगटी बताउँछन् ।

उनी भन्छन्, ‘अनलाइन सट्टेबाजी खेलाइरहेको अवस्थामा पक्राउ गरेका छौँ । नाफा कमाउने उद्देश्यले खेलको पक्ष वा विपक्षमा बाजी लगाउने र जित हार भएमा डिजिटल भुक्तानीमार्फत लाखौँ रकमको कारोबार भइरहेको देखिन्छ ।’

सीआईबीले यस किसिमको सट्टेबाजी नेपालका विभिन्न बैंक र डिजिटल वालेटमार्फत भइरहेको जनाएको छ । अनलाइन प्लेटफर्ममार्फत हुने यस्ता जुवाले नेपाली युवापुस्तालाई लोभ्याउने काम गरिरहेको छ ।

रातो घेरामा वुल्फ ट्रिपलसेभेन नामको जुवा कम्पनीको विज्ञापन

के हो अनलाइन जुवा ?

अहिले विश्वभर विभिन्न नामका अनलाइन बेटिङ साइट(सट्टेबाजी) प्लेटफर्म सञ्चालनमा छन् ।

यहाँ प्रयोगकर्ताले पूरै खेलको नतिजा वा खेलका विभिन्न समयावधिमा हुने गतिविधिको अनुमान गरेर जुवाझैँ दाउ राख्नुपर्ने हुन्छ । त्यो पैसा बैंक तथा डिजिटल वालेटबाट पठाइन्छ ।

यदि आफूले भनेको टिमले जितेमा हार्ने पक्षबाट पैसा पाउनेछन् । यसरी नतिजा मिलेको खण्डमा तोकेको गुणाको रकम फिर्ता पाइने हुन्छ ।

यदि आफूले दाउ लगाएको परिणाम नमिलेको अवस्थामा बाजी राखेको सबै रकम जान्छ । अनुमानकै आधारमा खेलिने यो जुवामा एकै पटक हजारौँ मानिस सहभागी हुन सक्छन् । करौडौंको कारोबार हुनेगर्छ । नेपालमा भने यस्तो खालको जुवा अवैध छ । त्यसैले लुकीछिपी खेलाइने गरेको छ ।

ती जुवा कम्पनीका कर्मचारीले एजेन्टका रूपमा काम गर्छन् । उनीहरूले नै पैसा उठाउन, पठाउन र कारोबार गर्नका लागि विभिन्न बै‌कसँग लिंक राख्छन् ।

यस्ता एजेन्टले विभिन्न व्यक्तिको नागरिकतालगायतका अन्य कागजात राखी नक्कली नाममा खाता खोल्ने र यो खेल खेल्ने, खेलाउने गरेको अनुसन्धानबाट खुल्दै आएको छ ।

क्यानले विज्ञापन गरेको अनलाइन बेटिङ कम्पनीको साइट

आयोजकले नै प्रचार गरिरहेको जुवा कम्पनी

नेपालमा अनलाइन जुवा र सट्टेबाजी प्रतिबन्धित भए पनि एनपीएलको आयोजक क्यान आफैँले अनलाइन जुवा खेलाउने कम्पनी बेटिङ साइटको प्रचार गरिरहेको छ ।

खेल मैदानमा राखिएका होडिङबोर्डमा अनलाइन जुवा कम्पनीको लोगो देख्न सकिन्छ । यति मात्र होइन टीम कम्पनीले खेलाडीको जर्सीमा समेत जुवा कम्पनीको लोगो राखेर खुलेआम प्रचार गरिरहेको देखिन्छ ।

वुल्फ ट्रिपलसेभेन नामको जुवा कम्पनीलाई आयोजक क्यानले स्पोन्सर बनाएर मैदानमा उसको विज्ञापनै राखेको छ ।

वुल्फ ट्रिपलसेभेनले नेपालमा एजेन्ट परिचालन गराएको र नेपालीलाई अनलाइन जुवा खेलाइरहेको यसबाट अनुमान लगाइएको छ ।

नेपालमा अनलाइन जुवा र सट्टेबाजी प्रतिबन्धित छ । तर, ‘सरोगेट एडभर्टाइजिङ’ (प्रत्यक्ष रूपमा प्रतिबन्धित सामग्रीको नाम नलिएर अप्रत्यक्ष रूपमा प्रचार गर्ने तरिका) मार्फत अनलाइन जुवा कम्पनीको प्रचार भइरहेको छ ।

‘वुल्फ ७७७न्युज’ नामक बेटिङ साइटको प्रचार गरे पनि खासमा वुल्फ ट्रिपलसेभेनको विज्ञापन भइरहेको छ ।

किनकि ‘वुल्फ ७७७न्युज’ ९ महिनादेखि अपडेट नभएको साइट हो । जहाँ एनपीएलको कुनै न्युज भेट्टिदैँन । कुनै देशमा आधिकारिक दर्तासमेत छैन ।

यसैले ‘वुल्फ७७७न्युज’को प्रचारको नाममा वुल्फ ट्रिपलसेभेनको प्रचार भइरहेको सहजै बुझ्न सकिन्छ । किनकि वुल्फ७७७न्युज’को सरोगेट कम्पनी बेटिङ साइट ‘वुल्फ७७७’ हो ।

जुवा कम्पनीको विज्ञापन राखिएको जर्सी

उदाहरणको लागि नेपालमा मदिराको विज्ञापन गर्न निषेध छ । निषेधपछि एक भोड्काले कम्पनीले त्यही नाममा पानी उत्पादन गरेर बेच्दै आएको छ । खासमा यसो गर्नुको कारण भनेको त्यही नामको भोड्काको प्रचार गर्नु हो ।

यस्तै, एनपीएलमा फेन्टासी गेमिङ एप ‘ड्रिम ११’ को विज्ञापन देखिएको छ । एनपीएल आयोजकले बेटिङ साइटको प्रचार गरिरहँदा फ्रेन्चाइजी टिमले पनि उसैगरी खुलेआम बेटिङ साइटको प्रचार गरेका छन् ।

विराटनगर किंग्सले ‘बिजे८८’ बेटिङ साइटको सरोगेट कम्पनी ‘बिजेस्पोर्ट्स’लाई आफ्नो जर्सीमा राखेको छ । खेलाडीको जर्सीमै त्यसको लोगो देखिन्छ ।

सुदूरपश्चिम रोयल्सले ‘बाबु८८’ बेटिङ साइटको सरोगेट कम्पनी ‘बाबु८८स्पोर्ट्स’लाई आफ्नो जर्सीमा राखेर लाखौँ दर्शकलाई अनलाइन जुवा खेल्न प्रेरित गरिरहेको छ ।

सुदूरपश्चिम रोयल्सले जर्सीको पछाडि मुख्य स्थानमै अनलाइन जुवा खेलाउने कम्पनीको विज्ञापन राखेपछि मंगलबार टिमकै खेलाडी इंग्ल्याल्डका सैफ अलि जैबले भने विज्ञापनलाई टेपले छोपेर खेलेका थिए ।

जुवा कम्पनीको विज्ञापन राखिएको जर्सी

कडा निगरानीमा क्यान र फ्रेन्चाइजी टिम

अनलाइन जुवा खेलाउनेहरू धमाधम पक्राउ पर्न थालेका छन् । सीआईबीले निगरानी पनि बढाएको छ । अनलाइन जुवा, सट्टेबाजीदेखि स्पट फिक्सिङ र म्याच फिक्सिङसम्मको जोखिम कम गर्न प्रहरीले विशेष टोली परिचालन गरेको सीआईबी स्रोतले जनाएको छ ।

एनपीएल आयोजक र फ्रेन्चाइजी टिमले खुलेआम गरिरहेका बेटिङ साइटको प्रचारको बारेमा अनुसन्धान भइरहेको सीआईबी प्रवक्ता बोगटी बताउँछन् ।

उनी भन्छन्, ‘एनपीएलका कुनै/कुनै विज्ञापन शंकाको घेरामा देखिन्छन् । ती विज्ञापन वैध कम्पनीबाट आएका हुन् वा अरू कुनै निकायबाट आएका हुन् भनेर अनुसन्धान अघि बढाएका छौँ । प्रश्न उठेका केही विज्ञापन र त्यसको स्रोतसम्मको खोजी भइरहेको छ ।’

यसको अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्यूरोले एसपीको नेतृत्वमा विशेष टोली नै परिचालित गरेको जनाएको छ । टोलीले यसबारे एनपीएल सुरु हुनुभन्दा अगाडि क्यानका अधिकारीसँग समेत खेलमा हुनसक्ने सम्भावित अपराधबारे छलफल गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register