स्याङ्जामा ५६ लाखको मेसिनबाट सुन्तला ग्रेडिङ

वालिङ । सुन्तला ग्रेडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो । नेपालमा पहिलोपटक २०७५ सालदेखि सुन्तलाको ग्रेडिङ मेसिन जडान गरी काम सुरु भएसँगै सहज भएको बागवानी सञ्चालक एवं अगुवा किसान फणिनारायण अर्यालले बताए । पोष्ट हार्भेष्ट निर्देशनालय काठमाडौं र बागवानी फार्मबीच […]

Dec 4, 2024 - 07:48
 0
स्याङ्जामा ५६ लाखको मेसिनबाट सुन्तला ग्रेडिङ

वालिङ । सुन्तला ग्रेडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो ।

नेपालमा पहिलोपटक २०७५ सालदेखि सुन्तलाको ग्रेडिङ मेसिन जडान गरी काम सुरु भएसँगै सहज भएको बागवानी सञ्चालक एवं अगुवा किसान फणिनारायण अर्यालले बताए । पोष्ट हार्भेष्ट निर्देशनालय काठमाडौं र बागवानी फार्मबीच सम्झौता भएर ८५ प्रतिशत अनुदानमा ५६ लाख रुपैयाँको लागतमा भारतबाट मेसिन ल्याई जडान गरिएको हो ।

‘निर्देशनालयको ८५ प्रतिशत अनुदान र फार्मको १५ प्रतिशत लागत साझेदारीमा सुन्तलाका क्षेत्रमा ग्रेडिङ प्रविधि नेपालमा पहिलोपटक भित्रिएको हो,’ उनले भने, ‘मेसिन जडान भएसँगै सुन्तलाको ग्रेडिङ तथा सफा गर्न सहज भएको छ ।’ प्रतिघण्टा पाँच टनसम्म सुन्तला ग्रेडिङ गर्ने क्षमताको मेसिनले फोहरमैला, कालो टीका सफा गर्ने सञ्चालक अर्यालले बताए ।

सञ्चालक अर्यालले बगैँचामा उत्पादन भएका सुन्तला तथा अन्य किसानबाट खरिद गरेका सुन्तला मेसिनमार्फत ग्रेडिङ गरी बजार पठाउँदै आएका छन् । ‘मेसिनबाट विभिन्न आठवटा आकारमा सुन्तलाको वर्गीकरण गर्दै आएका छौँ,’ उनले भने, ‘मान्छे लगाएर काम गर्दा झण्झटिलो, धेरै कामदार लाग्ने, दाग लाग्ने, थिच्चिनेजस्ता समस्या हुुन्थ्यो, मेसिनको प्रयोगले सहज भएको छ ।’

आठवटा आकारमा सुन्तला ग्रेडिङ गरेर छुट्याइए पनि बजार मागका आधारमा चारवटा आकारमा पठाउने गरिएको उनले बताए । साना सुन्तलाको प्रतिकेजी न्यूनतम मूल्य २५ देखि ठूला सुन्तलाका मूल्य ९० रुपैयाँमा अहिले फार्मबाट बिक्री हुने गरेको छ ।

फार्मले सुन्तलाको बजारीकरणका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालकसँग सम्झौता गरेको छ । उक्त कम्पनीसँग गत वर्षदेखि ५० टन सुन्तला उपलब्ध गराउनेगरी सम्झौता भएको उनले बताए । –रासस–

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register