‘अनुदान’ शब्द हटाएपछि बीआरआई फ्रेमवर्कमा भयो हस्ताक्षर, अब कस्तो ‘सहायता’ ?

हस्ताक्षर भएको फ्रेमवर्कमा परियोजनाहरु सहायता (AID) मा आधारित हुने भनिए पनि थप स्पष्ट पारिएको छैन । सहायता ऋण र अनुदान जे पनि हुन सक्ने भएकाले आ-आफ्नै ढङ्गले अर्थ लगाउन मिल्नेछ ।

Dec 4, 2024 - 12:36
 0
‘अनुदान’ शब्द हटाएपछि बीआरआई फ्रेमवर्कमा भयो हस्ताक्षर, अब कस्तो ‘सहायता’ ?

काठमाडौं । अनुदानमा आधारित परियोजना निर्माण गर्ने प्रस्तावमा काँटछाँट गरेपछि बल्ल नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’मा हस्ताक्षर भएको छ ।

यसअघि मंगलबार नै फ्रेमवर्कमा हस्ताक्षर गर्ने तयारी थियो । तर, चीनले पूर्ण ‘अनुदान’ दिन अश्वीकार गरेपछि सम्भव भएको थिएन । त्यसअघि काठमाडौंमा तयार पारिएको मस्यौदामा अनुदानमा आधारित परियोजना अगाडी बढाउने भनिएको थियो ।

बेइजिङमा चिनियाँ पक्षसँग वार्तामा सहभागी एक अधिकारीका अनुसार चीनले अनुदान (GRANT) शब्दमा मंगलबार असहमति जनाएपछि समस्या भएको थियो । पछि भएका वार्तामा वैकल्पिक शब्दका रुपमा AID (सहायता) राख्ने सहमति भएपछि बुधबार फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।

हस्ताक्षर भएको फ्रेमवर्कमा परियोजनाहरु सहायता (AID) मा आधारित हुने भनिए पनि थप स्पष्ट पारिएको छैन । सहायता ऋण र अनुदान जे पनि हुन सक्ने भएकाले आ-आफ्नै ढङ्गले अर्थ लगाउन मिल्नेछ । दुबै पक्षलाई मान्य हुनेगरी शब्द राखिएको नेपाली अधिकारीहरुले बताएका छन् ।

यही शब्दका कारण अब दुबै पक्षले निहुँ खोज्ने बाटो तयार भएको छ । नेपाल पक्षले अनुदान सहायतामा जोड दिनेछ भने चिनियाँ पक्षले ऋण सहायता पनि सँगै हुनु पर्ने बताउन सक्नेछ ।

बीआरआई सहकार्य फ्रेमवर्कमा १० वटा परियोजना परेका छन् । यसअघि तयार पारिएको मस्यौदामा १२ परियोजना प्रस्ताव गरिएका थिए । त्यसबाट ‘काठमाडौं उपत्यका प्रशारण लाईन’ र ‘हेटौडा काठमाडौं पोड वे’ परियोजना हटाइएको छ ।

अब टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, डडेलधुरास्थित अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एण्ड एथलेटिक्स कम्प्लेक्स बीआरआई अन्तर्गत बन्ने परियोजनामा राखिएको छ ।

कांग्रेस र एमालेले बीआरआई फ्रेमवर्कको मस्यौदा तयार पार्न कार्यदल बनाएका थिए । कार्यदलले प्रस्ताव गरेका परियोजनामा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले आफूखुसी आयोजना थपेर मस्यौदालाई अन्तिम रुप दिएका थिए ।

कार्यदलले बनाएको मस्यौदामा मदन भण्डारी विश्वविद्यालय, दमकको चीन-नेपाल औद्योगिक मित्रपार्क, डडेलधुराको अमरगढी सिटी हल, झापा स्पोर्ट एण्ड एथलेटिक्स कम्प्लेक्स राखिएको थिएन । तर, पछि दुई ठूला नेताले आफ्नो गृहजिल्लाका लागि भन्दै सामान्य खालका योजना थपेर मस्यौदालाई अन्तिम रुप दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register