नमोबुद्धको पर्यटन विकास: ऐतिहासिक र धार्मिक सम्पदालाई विश्वस्तरमा पुर्‍याउने लक्ष्य

नमोबुद्ध । धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वले भरिपूर्ण काभ्रेपलान्चोकको नमोबुद्ध क्षेत्रलाई पर्यटनको मुख्य गन्तव्य बनाउने लक्ष्यसहित पर्यटन प्रर्वदनबारे छलफल भएको छ । नमोबुद्ध नगरपालिकाको गहते सामुदायिक बन क्षेत्रमा शनिबार ‘नमोबुद्ध र पर्यटन’ विषयक अन्तरक्रिया कार्यक्रम भएको हो । ‘क्रियटभ जर्नालिष्ट फोरम’ र ‘स्वर्ण सञ्चार प्रालि’को सयूक्त आयोजनामा भएको कार्यक्रममा डेढ सयभन्दा बढी सञ्चारकर्मीहरूको उपस्थिति थियो […]

Dec 8, 2024 - 10:15
 0
नमोबुद्धको पर्यटन विकास: ऐतिहासिक र धार्मिक सम्पदालाई विश्वस्तरमा पुर्‍याउने लक्ष्य

नमोबुद्ध । धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वले भरिपूर्ण काभ्रेपलान्चोकको नमोबुद्ध क्षेत्रलाई पर्यटनको मुख्य गन्तव्य बनाउने लक्ष्यसहित पर्यटन प्रर्वदनबारे छलफल भएको छ ।

नमोबुद्ध नगरपालिकाको गहते सामुदायिक बन क्षेत्रमा शनिबार ‘नमोबुद्ध र पर्यटन’ विषयक अन्तरक्रिया कार्यक्रम भएको हो ।

‘क्रियटभ जर्नालिष्ट फोरम’ र ‘स्वर्ण सञ्चार प्रालि’को सयूक्त आयोजनामा भएको कार्यक्रममा डेढ सयभन्दा बढी सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

अन्तरक्रिया कार्यक्रममा नमोबुद्धको पूर्वाधार विकास निर्माण र प्रचारप्रसारका साथै आफ्नो ठाउँको ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण विकासमा बारेमा छलफल भयो ।

कार्यक्रममा प्रमुख अतिथि नमोबुद्धका मेयर कुनसाङ लामाले नगरपालिकाले नमोबुद्धको ऐतिहासिक एवम् धार्मिक महत्वका बारेमा प्रचार, संरक्षण, संवर्धनमा कदम चालेको बताए ।

उनले नमोबुद्ध क्षेत्रको पर्यटन विकासलाई चुनौती दिने असोज ११ गतेको बाढी र पहिरोले पुर्‍याएको क्षतिको चर्चा गरे ।

उनले भने, ‘विपद्बाट ७ जनाको ज्यान गयो, धेरै घरहरू भत्किए । बाटोघाटो तथा मन्दिरहरूमा ठूलो क्षति पुग्यो । अहिले पुनर्निर्माण कार्य जारी छ । तर, विपत्तिको घाउबाट माथि उठ्दै नमोबुद्धको प्रचार र विकासमा निरन्तरता दिनेछौँ ।’

मेयर लामाले अवधारणा प्रस्तुत गर्दै थुप्रै चुनौतीका बीच केही सम्भावना पनि भएको उल्लेख गरे ।

उनले थपे, ‘नमोबुद्धको महत्त्व विश्वका धेरै देशमा पुगेको छ, तर नेपालभित्रै पर्याप्त प्रचार हुन सकेको छैन । अब आन्तरिक पर्यटनमा जोड दिएर यो क्षेत्रलाई देशभरका पर्यटकहरूका लागि मुख्य गन्तव्य बनाउने योजना छ ।’

नमोबुद्धको धार्मिक क्षेत्र नगरपालिकाको वडा नं १ र ११ मा पर्छ । नमोबुद्ध क्षेत्रका मुख्य गुम्बा वडा नं १ मै छ । वडा नं १ का अध्यक्ष प्रेमबहादुर तामाङले नमोबद्धलाई धार्मिक, सांस्कृतिक एवं पर्यटकीय रुपमा विकास गर्न स्थानीय सरकारका तर्फबाट काम भइरहेको बताए ।

वडा नम्बर ११ का अध्यक्ष कृष्णबहादुर तामाङले नमोबद्धलाई धार्मिक सांस्कृतिक पर्यटनको प्रवर्द्धनमा जोड दिनुपर्ने भनाइ राखे ।

किन जाने  नमोबुद्ध ?

बौद्ध धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल नमोबुद्ध प्राकृतिक पनि रुपमा निकै सुन्दर छ । बिहान–बेलुका आकर्षक सूर्योदय र सूर्यास्त प्रस्टसँग हेर्न सकिन्छ ।

नमोबुद्धमा पर्यटकीय संरचना निर्माण तीव्र रूपमा निर्माण भइरहेको छ । स्तरीय होटेलहरू खुल्ने क्रममा छन् । पदयात्राका लागि बाटोहरू बन्दैछन् ।

सडक मार्ग राम्रो भएकाले गाडी र मोटरबाइकमा सजिलै पुग्न सकिन्छ । हाइकिङ्गबाट पनि धेरै यात्रु नमोबुद्ध पुग्छन् । नजिकका पर्यटकीय गन्तव्यहरू बल्थली धुलिखेल जाने यात्रुले नमोबुद्ध जान तयार हुन्छन् ।

नमोबुद्ध स्तूप ऐतिहासिक प्रख्यात बौद्ध स्तूप हो । यो स्तूप तिब्बती बौद्ध धर्मावलम्बीहरूले मान्ने तीन महान् चैत्यहरू बौद्धनाथ, स्वयम्भूनाथ र नमोबुद्ध मध्ये एक हो । यहाँ वनको मध्य भागमा बुद्धको चैत्य तथा स–साना बौद्ध गोन्पाहरू छन् ।

पहाडको चुचुरोमा रहेको नमोबद्धबाट चारैतिर हरियाली देखिन्छ । गाउँ पाखा पखेरा हेर्न पाइन्छ । चिसो हावा खाँदै खुल्ला संसारमा रमाउन पाइन्छ । बुद्धकालीन इतिहास बुझन चाहनेका अध्ययनशील विद्यार्थी यहाँ पुग्नैपर्छ ।

तामाङ संस्कृतिप्रति अभिरुचि हुनेहरूका लागि नमोबुद्ध एउटा गतिलो गन्तव्य हो । यहाँबाट हिमाल हेर्न पनि उत्तिकै रमाइलो हुन्छ । उत्तर पूर्वी हिमाली मोहडा सुन्दर देखिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register