मन्त्री खड्काको कम्पनीले स्काउटलाई ५ करोड तिर्न बाँकी, दबाबमा निकालेको थियो झुठो भन्दै विज्ञप्ति

बिहीबारै स्काउटले मन्त्री खड्काको दबाब र प्रभावमा विज्ञप्ति निकालेको थियो । मन्त्री खड्कालाई आफ्नो संस्थासँग जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित समाचार सामग्रीप्रति ध्यानाकर्षण भएको भन्दै आपत्ति प्रकट समेत गरेको थियो ।

Dec 12, 2024 - 12:07
 0
मन्त्री खड्काको कम्पनीले स्काउटलाई ५ करोड तिर्न बाँकी, दबाबमा निकालेको थियो झुठो भन्दै विज्ञप्ति

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको कम्पनीले नेपाल स्काउटको भवन र जग्गा भोगचलन गरेको भाडास्वरुप पाँच करोड १९ लाखभन्दा बढी रकम तिर्न बाँकी रहेको छ ।

मन्त्री दीपक खड्काको दबाबमा नेपाल स्काउटले झुटा समाचार सम्प्रेषण नगर्न भन्दै विज्ञप्ति निकाले पनि उसले संसदीय समितिमा बुझाएको हिसाबमा पाँच करोड १९ लाखभन्दा बढी लिनुपर्ने देखिएको हो ।

त्यसमध्ये २ करोड ४० लाखभन्दा बढी रकम सावाँ र २ करोड ७८ लाखभन्दा बढी रकम जरिवाना वापत तिर्न बाँकी रहेको स्काउटले जनाएको छ ।

यसअघि बिहीबारै स्काउटले मन्त्री खड्काको दबाब र प्रभावमा विज्ञप्ति निकालेको थियो । मन्त्री खड्कालाई आफ्नो संस्थासँग जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित समाचार सामग्रीप्रति ध्यानाकर्षण भएको भन्दै आपत्ति प्रकट समेत गरेको थियो ।

तर, प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्काउटलाई मन्त्री खड्काको कम्पनीले तिर्न बाँकी रकमको विवरण पठाउन निर्देशन दिएको थियो । उक्त निर्देशनअनुसार स्काउटले बिहीबार राज्यव्यवस्थालाई करोडौँ रकम लिन बाँकी रहेको पत्र पठाएको थियो ।

स्काउटका लेखा अधिकृत चूडामणि कार्कीले पठाएको विवरणअनुसार मन्त्री खड्काको कम्पनीले बिहीबारसम्म २ करोड ४० लाख ६६ हजार ३ सय ५१ रुपैयाँ २९ पैसा बुझाउन बाँकी रहेको छ भने जरिवानाबापत २ करोड ७८ लाख ६१ हजार ५०० रुपैयाँ तिर्न बाँकी छ ।

खड्काको कम्पनीले पछिल्लो २ महिनामा स्काउटको खातामा १ करोड ५० लाख रुपैयाँ दाखिला गरेको थियो ।

खड्काको कम्पनी खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले जरिवाना छुट हुनुपर्ने माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । स्काउटले जरिवानासहित बक्यौता असुलको आदेश माग गर्दै मुद्दा दायर गरेको छ । दुवै मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छन् ।

खड्का सञ्चालक रहेको ‘खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि’ ले स्काउटको लैनचौरस्थित ३ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएकामा थप नौ रोपनी हडपेर करार सम्झौता पत्रमा केरमेट गर्दै १५ वर्षसम्म भोगचलन गरेको थियो ।

खड्काको कम्पनीले भाडा नै नतिरेपछि स्काउटले गत वर्ष माघ १४ मा राज्यव्यवस्था समितिमा उजुरी गरेको थियो ।

समितिको आइतबारको बैठकमा सभापति रामहरि खतिवडालाई सांसद दुर्गा राईले स्काउटको निवेदन परेको १० महिनासम्म पनि जानकारी नगराउनुको कारण सोधेकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register