राजनीति : प्रत्यक्ष प्रसारण

पहिलो कुरा त नेपाली कांग्रेसले ऋण लिन हुन्न, चीनसँग त झनै हुन्न भन्ने जस्तो अत्यन्त अव्यावहारिक र मुर्खतापूर्ण 'पोजिशन' किन बनायो भन्ने नै अनौठो छ । यदि उसको यो औपचारिक 'पोजिशन' थियो भने ऊ पछि हट्नैहुन्न थियो ।

Dec 10, 2024 - 07:47
 0
राजनीति : प्रत्यक्ष प्रसारण

एक जना बेलायती क्रिकेट कमेन्टेटर छन्— मार्क निकोलस । हालैको एक टेस्ट म्याचको प्रत्यक्ष प्रशारणको दौरानमा उनले एउटा रमाइलो कुरा उप्काए ।

उनी भन्दै थिए- हामी (उनी लगायतका) कमेन्ट्री रेडियोमा सुनेर हुर्केको र अझै पनि त्यो सम्झिँदा निकै रमाइलो लाग्छ । किनकि, ती कमेन्टेटरले मैदानमा भइरहेको घटना विवरण यसरी प्रस्तुत गर्थे कि सम्पूर्ण चित्र नै आँखा अगाडि आउँथ्यो । टेलिभिजनको युगमा जब सबैले खेल प्रत्यक्ष नै हेरिरहेका हुन्छन्, कमेन्टेटरका लागि चुनौती छन् । त्यसो भए नयाँ कुराचाहिँ के हो त ? दर्शकले हेरिरहेको तर, नदेखेको कुरा कसरी भन्ने अनि कमेन्ट्रीलाई रुचिपूर्ण कसरी बनाउने ? खेलको विविध आयाम, यसको दर्शन, स्क्रीनमा देखिइरहेको खेलाडीको मनस्थिति र रणनीति, टिमको विचार र कार्ययोजना, आदि-इत्यादिका बारेमा दर्शकलाई जानकारी दिने कि ?

क्रिकेट खेल त सकी नै हाल्यो तर, निकोलसले उठाएको कुराचाहिँ दिमागमा अल्झिरह्यो । आखिर राजनीतिभन्दा ठूलो खेल के छ र ?

चीनको चारदिने भ्रमणबाट फर्केपछि प्रधानमन्त्री केपी शर्मा ओली फुलेल छन् । अन्तिम समयसम्मको धुकचुक धुकचुकपछि बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा सम्झौता जो भएको छ । ओली एउटा अभूतपूर्व ‘डिप्लोम्याटिक डिजास्टर’बाट बचेका छन् । बेइजिङमा हस्ताक्षरित फ्रेमवर्क फर बीआरआई को-अपरेशन भन्ने दस्तावेजमा के-के लेखिएको छ भन्ने कुरा सार्वजनिक हुन बाँकी नै छ । विस्तृत विवरण बाँकी रहे पनि नेपालले लिएर गएको ‘ग्रान्ट’ भन्ने प्रस्तावलाई बेइजिङले अस्वीकार गरेको बुझ्न कठिन छैन ।

चाहिन्छ भने ऋण लिन नि पछि पर्नुहुन्न भन्ने ओली र उनको दल नेकपा (एमाले) लाई ‘एड असिस्टेन्स’ भन्ने शब्दावलीले केही फरक पर्ने कुरै भएन । ओलीका लागि चीन भ्रमण त सफल नै भयो । कुरा रह्यो नेपाली कांग्रेसको, जो अहिले ओलीको मुख्य सत्ता साझेदार छ ।

पहिलो कुरा त नेपाली कांग्रेसले ऋण लिन हुन्न, चीनसँग त झनै हुन्न भन्ने जस्तो अत्यन्त अव्यावहारिक र मुर्खतापूर्ण ‘पोजिशन’ किन बनायो भन्ने नै अनौठो छ । यदि उसको यो औपचारिक ‘पोजिशन’ थियो भने ऊ पछि हट्नैहुन्न थियो । अहिले आएर केही कांग्रेस नेताले उक्त सम्झौताको बचाउ गरे पनि वा अरु केहीले अत्यन्त कमजोर तरिकाले विरोध गरे पनि त्यसको सायदै केही औचित्य छ। अहिले आएर कांग्रेस आफू कहाँ र कुन पोजिशनमा छ भन्ने कुरामै अस्पष्ट छ ।

कांग्रेसमा अहिले यस्तो विचार शून्यता छाएको छ कि दलभित्र एक किसिमको सन्नाटा छ । कांग्रेसको बारेमा चर्चा यहाँ किन महत्त्वपूर्ण छ भने अरु दुई (मुख्य भनाउँदा) दलहरू एक किसिमले ‘कम्पनी’मा परिणत भइसके, जहाँ अध्यक्ष मुख्य कार्यकारीको भूमिकामा छन् र उनीहरूको भनाइ नै अन्तिम हुन्छ । त्यस्तो दलमा विचार खोज्नु नै निरर्थक प्रयास हो ।

कुरा बीआरआईको मात्र हैन, देशको सबै भन्दा ठूलो दल कांग्रेस अनेकन् मामिलामा पोजिशन नै नभएको अवस्थामा छ, यो करिब करिब पूर्णत: विचारविहीन छ । उसको देश, जनता, नागरिकका बारेमा केही पनि विचार त छैन नै, अब बीआरआई सम्झौताले के पनि प्रष्ट पारेको छ भने परराष्ट्र मामिलामा पनि एकदमै अस्पष्ट धारणा छ । आफूलाई लोकतन्त्रको पहरेदार भन्ने कांग्रेसलाई अहिले लोकतन्त्र भनेको फगत एक चुनावदेखि अर्को चुनाव र सरकार बनाउने, त्यसमा कसरी सामेल हुने भन्ने बाहेक अर्को केही चिन्ता छैन ।

कांग्रेसमा अहिले यस्तो विचार शून्यता छाएको छ कि दलभित्र एक किसिमको सन्नाटा छ । कांग्रेसको बारेमा चर्चा यहाँ किन महत्त्वपूर्ण छ भने अरु दुई (मुख्य भनाउँदा) दलहरू एक किसिमले ‘कम्पनी’मा परिणत भइसके, जहाँ अध्यक्ष मुख्य कार्यकारीको भूमिकामा छन् र उनीहरूको भनाइ नै अन्तिम हुन्छ । त्यस्तो दलमा विचार खोज्नु नै निरर्थक प्रयास हो ।

हो कांग्रेसले अहिले पनि आफूलाई लोकतान्त्रिकचाहिँ भन्छ र आफ्नो दलमा भएका बहस फरक धारणालाई अघि सार्दै ‘हामी त विचारमा चल्ने दल हो’ भन्ने दाबी गर्छ । तर, उसको विचार, दर्शन के हो त ? कांग्रेसले बुझ्न के जरुरी छ भने उसको ‘विचार’ नै छ भने उसले उक्त ‘विचार’लाई जनतासमक्ष कसरी प्रस्तुत गरिरहेको छ । २०४६ को प्रजातन्त्रदेखि २०६२/६३ पछिको गणतान्त्रिक लोकतन्त्र हुँदै २०७२ को संविधानको दश वर्ष पुग्दा देश, समाज, दुनियाँमा धेरै बदलाव आइसक्यो । हिजो ‘बीपी नै हाम्रो विचार’ हुन् भन्ने नारा मात्र कांग्रेसको लागि आजको दिनमा पक्कै यथेष्ट छैन नै ।

हिजोका दिनमा कांग्रेसका नेताहरूको भाषणले नै पुग्थ्यो होला तर, आज जनताका अगाडि सूचना र श्रोतको खानी छ अनि उनीहरू अब लोकतान्त्रिक अभ्यास कति सुविचारित र असल तरिकाले भइरहेको छ, यसले दिएका उपलब्धि के हुन् र आम नागरिकले यसको लाभ कत्तिको र कसरी पाइरहेका छन् वा छैनन् भनेर प्रश्न सोध्न सक्ने भइसके ।

लोकतन्त्रका मूल्य र मान्यताका बारेमा मात्र कुरा गरेर र आफू यसको लागि सदा लडि नै रहने भन्ने जस्ता भाषणले मात्र कुनै पनि दलले अब आफ्नो राजनीति अघि बढाउन गाह्रो छ । आम सरोकारका विषय, सबल संस्थाहरू, सेवा प्रवाह, आदि इत्यादि पनि लोकतन्त्रसँग जोडिएका मुद्दा हुन् भन्ने जनताले बुझेका छन् । साथै दलहरूकै अगुवाइमा अनवरत बढिरहेको बेथिति र भ्रष्टाचार पनि आम मानिसले प्रत्यक्ष देखिरहेका छन् । नेपालका दलहरू ‘डेलिभरी’को मामिलामा नराम्रोसँग चुकेका छन् नै तर, अझै पनि चेतेका छैनन् ।

अहिलेदेखि नै उनीहरू २०८४ को रटानमा छन् तर, अहिल्यै नै विचार र डेलिभरीमा असफल भइसकेका दलहरूसँग ८४ पछि के गर्ने भन्ने न रणनीति छ न त योजना नै ।

कमेन्टेटर निकोलसले भनेझैँ अब सबैको सामु सबै कुरा प्रत्यक्ष अगाडि नै भइरहेको छ भने नयाँ कुरा विचार, दर्शन प्रवाहितचाहिँ कसरी गर्ने त ? नेपाली दलहरू आत्मतुष्ट किन पनि भए होलान् भने उनीहरूलाई लाग्दो हो, आफ्नो विचार त मिडियाले प्रवाह गरिदिएकै छ नि । सत्य पनि हो, हरेक नेताको जुनसुकै भाषणलाई नेपाली मिडियाले बडो उदारतापूर्वक स्थान दिएकै छ । तर, कुरा के पनि हो भने नेपालमा कुनै बखत यस्ता नेता हुन्थे, जसले कुनै पनि कुरा सार्वजनिक रूपमा भन्दा नै यसरी विश्वास र निष्ठाका साथ भन्थे कि त्यो नै उनको र उनको दलको विचारका रूपमा प्रवाहित हुन्थ्यो । तर, आज के भएको छ भने नेताहरू लफ्फाजी धेरै गर्छन, बेतुकका भाषणमा समय खर्च गर्छन्, तार्किक कुरा कम गर्छन् अनि कार्यकर्तालाई कसरी खुसी पार्ने भन्नेमा बल गर्छन् ।

लोकतान्त्रिक भनिने दलहरूले आफ्ना विचार र ‘न्यारेटिभ’ र आफ्नो उपादेयता डेलिभरीका कुरादेखि लिएर आम सरोकारका कुरासम्म प्रष्ट्याउन नसक्दाकै बेलामा हो उनीहरूप्रति आम मानिसको वितृष्णा बढ्दै जाने। र यस्तै बेलामा हो विचारभन्दा माथि यो, तल त्यो, दाहिने यो वा देब्रे त्यो भन्ने अर्को ‘विचार’ भन्ने कुराले समाजमा स्थान पाउँदै जाने ।

लोकतन्त्रको सम्वर्द्धन र सबलीकरण त तब हुन्छ, जब दलहरूले अझ आफूलाई लोकतान्त्रिक भन्ने दलहरूले समाजमा आफ्नो विचारधारा र ‘न्यारेटिभ’लाई सही तरिकाले आम मानिसको हितमा हुने गरी स्थापित गर्न सक्छन् । त्यसका लागि दलहरूमा विमर्श चाहिन्छ, समाज अध्ययन चाहिन्छ, समयानुसार सामाजिक परिवेशमा आएको परिवर्तनको बारेमा बुझाइ चाहिन्छ । आजका दिनमा दलहरू विचारले गर्दा एकत्रित र सङ्गठित छैनन्, केही नेताहरूको सङ्कीर्ण स्वार्थबाट निर्देशित छन् र दलहरूमा प्रश्न र मन्थन गरेर धारणा संश्लेषित गर्ने अभ्यास नै हराइसकेको छ ।

लोकतान्त्रिक भनिने दलहरूले आफ्ना विचार र ‘न्यारेटिभ’ र आफ्नो उपादेयता डेलिभरीका कुरादेखि लिएर आम सरोकारका कुरासम्म प्रष्ट्याउन नसक्दाकै बेलामा हो उनीहरूप्रति आम मानिसको वितृष्णा बढ्दै जाने। र यस्तै बेलामा हो विचारभन्दा माथि यो, तल त्यो, दाहिने यो वा देब्रे त्यो भन्ने अर्को ‘विचार’ भन्ने कुराले समाजमा स्थान पाउँदै जाने । त्यो पनि खासमा एक प्रकारको विचार नै हो, मन पराउनु या नपराउनु, भन्नेले नै ‘विचार’ हैन भन्नुचाहिँ अर्कै कुरा । यद्यपि, लोकतान्त्रिक समाजमा हरेक किसिमका विचारहरूले स्थान पाउनुपर्छ भन्ने मान्यतामा विमति छैन ।

दलहरूप्रति जनताको वितृष्णा दिनानुदिन बढ्दै जानु भनेको लोकतन्त्रको लागि राम्रो लक्षण पक्कै हैन । नेपालका लोकतान्त्रिक भनिने दलहरूले अब ‘लोकतन्त्र’ उनीहरू को निजी सम्पत्ति हो भन्ने ठान्दै जनतालाई ‘हामीले तिमीलाई दिने हो’ भन्ने मान्यता राख्दै जानु आफू र जनताको बीचको खाडल झन्‌झनै ठूलो बनाउँदै जानु हो ।

बीआरआईमा ‘समान अवधारणा’ बनाएर कूटनीतिमा कोशेढुङ्गो स्थापित गरेको अनि द्विदेशीय सम्बन्धका विषयमा आफू र चीनका बीच पो हो वार्ता भएको, एमाले त मात्र किनाराको साक्षी बसेको हो भन्ने खालका भाष्य स्थापित गर्न खोजेको कांग्रेस, बेइजिङमा गरिएको हस्ताक्षरको मसी सुक्न नपाउँदै त्यही दस्तावेजका बारेमा दलभित्रै एउटै धारणा बनाउन सकिरहेको छैन भने आम जनतासमक्ष प्रस्तुत गर्ने उसको विचारचाहिँ के हो त भन्ने प्रश्न पनि उत्तिकै टड्कारो छ ।

निकोलसले क्रिकेटको टेलिभिजन कमेन्ट्रीका सन्दर्भमा प्रश्न गर्नुभन्दा पनि बहस गर्न खोजेका हुन् कि सबैको अस्तित्वको सान्दर्भिकता समयसँग हुन्छ, समयको मागसँगसँगै प्रत्यक्षदर्शीलाई भन्ने कुरा त केही त सोच्न पर्छ होला । समयको चाल समाउन नसकेका कांग्रेसलगायतका अन्य दलले आफ्नो विचार प्रक्षेपण गर्ने नयाँ तरिका खोज्ने बेला भइसक्यो भन्ने अझै पनि महसुस गरेका छैनन् भने समयक्रममा नै उनीहरुको उपादेयतामा आम मानिसले प्रश्न त उठाउने नै छन् ।

राजनीति पनि हिजोको जस्तो छैन आज, सबैको आँखा अगाडि प्रत्यक्ष छ, प्रत्यक्ष प्रशारण भइ नै रहेको छ । जनताले त देखी/भोगी नै रहेका छन् । दलहरूलाई पारम्परिक रूपमै चलिरहने र जनतालाई मूर्ख ठानिरहने भ्रममा बाँच्ने सुविधा त अब छैन नै ।

एमाले र माओवादीमा विचार भनेकै केपी ओली र पुष्पकमल दाहाल हुन् । कांग्रेस पनि त्यही चाहन्छ ? आजका दिनमा लच्छेदार  भाषणले मात्र विचार प्रवाह हुन्न भन्ने कुरा कांग्रेसीजनभन्दा राम्ररी कसले बुझेका होलान् र किनकि उनीहरूकै सभापति शेरबहादुर देउवा लच्छेदारका त कुरै छोडौँ, भाषण नै गर्न नरुचाउने नेता हुन् ।

राजनीति पनि हिजोको जस्तो छैन आज, सबैको आँखा अगाडि प्रत्यक्ष छ, प्रत्यक्ष प्रशारण भइ नै रहेको छ । जनताले त देखी/भोगी नै रहेका छन् । दलहरूलाई पारम्परिक रूपमै चलिरहने र जनतालाई मूर्ख ठानिरहने भ्रममा बाँच्ने सुविधा त अब छैन नै । उनीहरूको विचार शून्यताले पैदा गर्ने सन्नाटा उनीहरूका लागि नै घातक साबित हुन सक्छ भन्ने पनि हेक्का राख्न आवश्यक छ । यदि कांग्रेसलगायत अरुलाई पनि लाग्दछ कि उनीहरू विचारबाट निर्देशित दल हुन् र उनीहरूको विश्वास, निष्ठा र इमान जनताका हितमा नै छन् भने आम नागरिकलाई त्यो बुझाउने प्रयास त नयाँ ढङ्गले गर्नैपर्छ ।

छापा र डिजिटल मिडियामा मात्र हैन, नेताहरूको अनुहार र उनीहरूको उही बासी भाषण जनताले मोबाइलको सामाजिक सञ्जालमा पनि तारन्तार देखी नै रहेको आजको युगमा आमसभा र लफ्फाजीले मात्र जनतालाई आकर्षित गर्दैन । एमालेको हालैको मूर्खतापूर्ण ‘जनजागरण अभियान’ नाम दिइएको काठमाडौंको सभा नै एक ज्वलन्त उदाहरण हो ।

त्यही भएर त होला, निकोलस उही आँखै अगाडि भइरहेको खेललाई पनि कसरी नौलो तरिकाले भन्नुपर्छ होला भन्दैछन् । नेपाली दलहरू भने आफू नाङ्गिएको तथ्यलाई पनि बेवास्ता गर्दै विचारविहीनताबाट झनै ओरालो यात्रामा छन् । विचार स्खलनको अवस्था यस्तो सम्म छ कि उनीहरू आफ्ना आलोचकलाई ‘हामीले ल्याएको लोकतन्त्र’ भन्दै निषेध गर्न खोज्दैछन् ।

निकोलसको उदाहरण यस मानेमा पनि महत्त्वपूर्ण छ कि जुन बेला उनी चुनौती र नयाँ तरिकाले प्रत्यक्ष प्रशारण कसरी प्रस्तुत गर्नुपर्छ होला भन्ने विषय उप्काउँदै थिए, उनी सँगैका दुई अर्का कमेन्टेटरका रूपमा थिए -अन्तर्राष्ट्रिय क्रिकेटका नामूद खेलाडी सुनिल गावस्कर र म्याथ्यु हेडेन । निकोलस आफैँ विख्यात कमेन्टेटर त हुन् तर, उनले अन्तर्राष्ट्रिय क्रिकेट भने कहिले खेलेनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register