सिरियाली सङ्कटको नालीबेली : गृहयुद्ध अन्त्य भएको हो कि नयाँ चरणमा प्रवेश ?

नयाँ विद्रोही समूहको कब्जापछि १४ वर्ष लामो सिरियाली गृहयृद्धको एक चरण अवश्य पूरा भएको छ । सम्भवत: अबको राजनीतिक सङ्घर्षमा बाथ पार्टी र असद परिवार किनारामा पर्नेछ । तर, इरान र हिजबुल्लाहको सहयोगमा सिया समूह जन्मिन सक्नेछ ।

Dec 15, 2024 - 10:31
 0
सिरियाली सङ्कटको नालीबेली : गृहयुद्ध अन्त्य भएको हो कि नयाँ चरणमा प्रवेश ?

डिसेम्बर ८ मा विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस) ले देशको राजधानी शहर दमास्कस कब्जा गरेसँगै सिरिया विश्व सञ्चारमाध्यममा छाएको छ । साथै, सिरियाली राजनीतिक सङ्कट नयाँ चरणमा प्रवेश गरेको छ । यो घटनासँगै ६१ वर्ष लामो बाथ पार्टी शासन, ५३ वर्ष लामो असद परिवारको शासन र २४ वर्ष लामो बशर अल–असदको शासन अन्त्य भएको छ ।

तर, १४ वर्ष लामो गृहयुद्ध पनि अन्त्य भएको हो वा नयाँ चरणमा प्रवेश गरेको हो, राजनीतिक सङ्कटको लामो श्रृंखलाले विश्राम लिएको हो वा नयाँ ढङ्गले बल्झिने हो भन्ने प्रश्न भने अनुत्तरित नै छ । सिरियामा सन् २०११ यता १४ वर्ष लामो गृहयुद्ध चलिरहेको थियो । गृहयृद्धको पछिल्लो परिणामस्वरुप सन् २०१७ मा पुनर्गठित भएको हयात तहरीर अल–शाम समूहले देशको शासनसत्ता कब्जामा लिएको हो ।

सिरिया कब्जा गर्न यो समूहले केही हप्ता अघिदेखि निर्णायक सङ्घर्ष सुरु गरेको थियो । नोभेम्बर २७ मा विद्रोही लडाकु र राष्ट्रपति असद नेतृत्वको सरकारी सेनाबीच भीषण सङ्घर्ष सुरु भएको थियो । निर्णायक सङ्घर्षको ११औं दिनमा सरकारी सेनाले हार स्वीकार गर्‍यो । राष्ट्रपति असद देश छोडेर रुस भागे । रुसले उनलाई ‘मानवीय आधारमा शरण दिएको बताएको छ ।

गृहयृद्धमा हस्तक्षेप गर्दै सन् २०१५ सेप्टेम्बर ३० मा रुसी सेना सिरिया प्रवेश गरेको थियो । राष्ट्रपति असदको औपचारिक अनुरोधमा रुसी सेना त्यहाँ गएको थियो । असदले अल–कायदा, आईएसआईजस्ता आतङ्कवादी समूह नियन्त्रण गर्न भन्दै रुसी सेनाको सहयोग मागेका थिए ।

गृहयुद्धको १४ वर्षमा सिरियामा ३ लाखभन्दा बढीको मृत्यु भएको र १० लाखभन्दा बढी विस्थापित भएको बताइन्छ । देशको अर्थतन्त्र, भौतिक पूर्वाधार र मानवीय जीवनमा धेरै ठूलो क्षति भएको छ ।

रुसी सेनालाई राष्ट्रपति असदले विपक्षीको दमन गर्न प्रयोग गरेका थिए । रुसी सेनाले सिरियाली सरकारी सेनासँग मिलेर राष्ट्रपति असदको पक्षबाट लड्दै आएको थियो । डिसेम्बर १ मा विद्रोही समूहले देशको दोस्रो ठूलो शहर अलेप्पो कब्जा गरुन्जेलसम्म पनि रुसी सेना राष्ट्रपति असदको पक्षबाट लडेको थियो ।

एलेप्पो विद्रोहीको कब्जामा गएपछि भने रुसी सेनाले लडाइँ छोड्यो । त्यसपछि विद्रोहीलाई देश कब्जा गर्न हप्ता दिन मात्रै लाग्यो । तिनले एकपछि अर्को गर्दै ठूला शहर कब्जा गर्दै गए ।

विद्रोही लडाकु दमास्कस प्रवेश गर्नु अघिल्लो दिन राष्ट्रपति असल देश छोडेर भागे । प्रधानमन्त्री मोहम्मद गाली अल जमालीले दमास्कसको सत्तामा राष्ट्रपतिको नियन्त्रण गुमिसकेको सेना अब उनको निर्देशनमा नरहेको र सरकार विद्रोही समूहलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको सार्वजनिक घोषणा गरेका थिए ।

रुस सिरियाली बाथ पार्टी र असद परिवारको लामो समयदेखिको सहयोगी देश थियो । तर, रुसी सेनाको हस्तक्षेपले पनि सिरियाको अवस्था दीगो ढङ्गले नियन्त्रणमा आउन सकेको थिएन । रुस-युक्रेन युद्धमा प्रवेश गरेपछि सिरियाप्रतिको प्राथमिकता कमजोर हुँदै गयो ।

युक्रेन यृद्धमा सिरियाबाट अपेक्षित सहयोग नपाएको कारणले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन असदसँग असन्तुष्ट थिए । रुसले सिरियाप्रतिको रुचि र सहयोग घटाउँदै गएको थियो ।

पुटिनले भन्न थालेका थिए–‘रुससँग सिरियाली सङ्कटको कुनै समाधान छैन । अब त्यहाँ जे हुन्छ आन्तरिक कारणले नै हुन्छ ।’

एक हप्ताभित्रै अलेप्पो, हमा, हम्सजस्ता ठूला शहर कब्जा गरेपछि विद्रोही समूहले दारालाई आधार बनाएर राजधानी दमास्कसलाई घेर्न थालेको थियो । दारा असदको शासनविरुद्ध सन् २०११ को जनविद्रोह सुरु भएको शहर हो । दारा र दमास्कसको दूरी ९० किमी छ ।

असदलाई रुसका अतिरिक्त इरानको समर्थन थियो । तर, विद्रोही समूहसँग निर्णायक लडाइँको अन्तिम हप्ता इरानले पनि हात झिक्यो । इरानी विदेशमन्त्री अब्बास अराघची विद्रोहीले दमास्कस कब्जा गर्नु ५ दिनअघि सिरिया पुगेका थिए । उनले असद सरकारलाई सहयोग र समर्थन जारी राख्ने प्रतिबद्धता गरेका थिए । तर, इरान यो प्रतिबद्धतामा १ दिन पनि टिक्न सकेन ।

अघिल्लो शुक्रबार बग्दादको पत्रकार सम्मेलनमा उनले सिरियाको भविष्य अनिश्चित रहेको बताए । उनले भनेका थिए– ‘अब अल्लाहले जे चाहनुहुन्छ, सिरियामा त्यही हुन्छ ।’

सिरिया सिया त्रिगुटको एक सदस्य थियो । इरान, सिरिया र लेबननलाई ‘सिया त्रिगुट’ भनिन्छ । अल– कायदा, आईएसआईए भने सुन्नी बहुल सङ्गठन हुन् । लेबनानी हिजबुल्लाह र यमनी हुथी विद्रोही सिया समूह हुन् ।

विजयी विद्रोही समूहका नेता अबु मोहम्मद अल जुलानी ‘सुन्नी’ हुन् । समाचारअनुसार उनले आफ्नो राजनीतिक जीवन अल–कायदाबाट सुरु गरेका थिए । सन् १९८२ मा साउदी अरेबियामा जन्मिएका जुलानी ४२ वर्षका छन् ।

जुलानीका पिता साउदी अरेबियामा पेट्रोलियम इञ्जिनियर थिए । सन् १९८९ मा जुलानी परिवार आफ्नो देश सिरिया फर्किएको थियो । जुलानी राजधानी शहर दमास्कसका बासिन्दा हुन् ।

जुलानी सन् २००३ देखि राजनीतिमा सक्रिय भएका थिए । सन् २००६ मा जुलानी अमेरिकी सेनाको कब्जामा परेका थिए । उनले ५ वर्ष जेल जीवन बिताए । त्यसपछिका दिनमा उनी केही समय आईएसआईएसमा लागे । आईएसआएसको उद्देश्य इराक र सिरियामा सुन्नी वर्चश्व आधारित इस्लामिक शासन पुनर्स्थापित गर्नु थियो । समयक्रममा अल–कायदा र आईएसआईसको सङ्गठन र गतिविधि कमजोर हुँदै गयो ।

सन् २०११ मा जुलानी अल–नुसरा नामको सङ्गठन बनाई असद शासनविरुद्धको प्रदर्शनमा सामेल भएका थिए । सन् २०११ को मार्चमा दारामा असद शासन विद्रोही ठूलो जनविद्रोह भड्किएको थियो । विश्व सञ्चारमाध्यमले त्यसलाई ट्युनिसियाबाट सुरु भएको अरब विद्रोह श्रृंखलाको एक कडी मानेका थिए । दारामा केही दिन दमास्कसको नियन्त्रण गुमेको थियो ।

अन्ततः १० दिन लामो सैन्य कारबाहीपछि दारा नियन्त्रणमा आएको थियो । सैन्य कारबाहीको क्रममा २४४ जना मारिएका थिए । हजारौँ पक्राउ गरी जेल हालिएको थियो । तर, दारा आन्तरिक रुपमा विद्रोहीप्रति सहानुभूति राख्ने प्रमुख शहर बनेको थियो ।

सिरियामा असद परिवारको यति लामो शासन कसरी सम्भव भयो त ? यसको उत्तिकै रोचक इतिहास छ ।

असद पूर्वराष्ट्रपति हाफेज–अल–असदका छोरा हुन् । उनका पिताले सन् १९७१ देखि सन् २००० सम्म २९ वर्ष सिरियामा शासन गरेका थिए । त्यस यता असदको शासन २४ वर्ष पुगेको थियो । तर, असद परिवारको शासनको आधार भने बाथ आन्दोलन र पार्टी थियो ।

सन् १९१७ मा रुसमा भ्लादिमिर इल्युच उल्यानोभ उर्फ लेनिनको नेतृत्वमा संसारकै पहिलो कम्युनिष्ट क्रान्ति भएको थियो । लेनिनले संसारभरि कम्युनिष्ट पार्टी गठन गर्ने र कम्युनिष्ट पार्टीहरुको अन्तर्राष्ट्रिय सङ्गठन ‘कोमिर्न्टन’ नीति लिए । यस कारणले अरब क्षेत्रका इस्लामिक देशमा समेत धमाधम कम्युनिष्ट पार्टी गठन भए तर, ती राम्ररी विकसित हुन भने सकेनन् ।

सन् १९४३ मा सोभियत शासक स्टालिनले कोमिर्न्टन विघटन गरिदिए । त्यसपछिका दिनमा अरब क्षेत्रका पूर्व कम्युनिष्ट नेताहरु नयाँ ढङ्गले सङ्गठित हुन थाले ।

यही क्रममा दोस्रो विश्वयुद्धपछि सन् १९४७ मा बाथ पार्टी स्थापित भयो । भौतिकवादी कम्युनिष्ट दर्शन र विचारधारा इस्लामिक दुनियाँमा स्वीकार्य नहुने भन्दै अरब क्षेत्रका लागि भिन्नै समाजवादी आन्दोलन आवश्यक पर्ने तिनको ठहर थियो । तिनले आफूलाई ‘अरबेली समाजवादी’ भन्थे ।

बाथ पार्टी अरब क्षेत्रको अन्तर्राष्ट्रिय राजनीतिक सङ्गठन थियो । तर, सिरिया र इराकमा भने यो आन्दोलन र पार्टी निक्कै शक्तिशाली भयो । माइकल अफ्लेक, सलाह–अल–दन–अल बतार र जाकी–अल–अलसुजी यसका संस्थापक नेता थिए ।

सन् १९६३ को फेब्रूअरीमा बाथ पार्टीले इराकको सत्ता कब्जा गर्‍यो । सन् २००३ मा सद्दाम हुसेनको पतनसँगै त्यसको शासन अन्त्य भएको थियो । तर, सिरियामा भने बाथ पार्टी शासन कायमै थियो । सन् २०६३ को मार्चमा इराकी सहयोगमा सिरियाली बाथ पार्टीले शासनसत्ता हातमा लिएको थियो । बाथ पार्टी समर्थक यसलाई ‘मार्च क्रान्ति’ भन्ने गर्दछन् ।

बाथ आन्दोलन सोभियत सङ्घको एकदलीय साम्यवादी प्रणाली र अरबेली भावनाको एक राजनीतिक मिश्रण थियो । यसले लेनिनवादी सङ्गठनात्मक सिद्धान्त र एकदलीय शासन प्रणाली अवलम्बन गर्दथ्यो भने विचारधारामा इस्लामिक आस्था र भावनाको समेत समिश्रण गर्दथ्यो ।

बाथ पार्टी शासन एकदलीय प्रणालीमा आधारित हुँदा पार्टीभित्रको वर्चश्वको कारण सिरियामा असद परिवारको दशकौं लामो शासन सम्भव भएको थियो । तसर्थ सिरियामा बशर अल–असदको पतन विश्वमा अन्तिम बाथ पार्टी शासनको पतन पनि हो । विद्रोही समूहले दमास्कस कब्जा गरेसँगै ६१ वर्ष लामो बाथ पार्टीको एकदलीय शासनसमेत अन्त्य भएको छ ।

बाथ आन्दोलनकारी र सोभियत शासकबीच नजिकको सम्बन्ध थियो । त्यसैको निरन्तरतास्वरुप सिरियाली गृहयृद्धमा रुसी राष्ट्रपति पुटिनले असदको सरकारलाई सहयोग गर्दै आएका थिए ।

सिरियाली जनता दशकौं लामो बाथ पार्टी शासनबाट मुक्ति चाहन्थे । सन् २०१० को डिसेम्बरमा ट्युनिसियाबाट अरब विद्रोह सुरु भएको थियो । अरब विद्रोहलाई लोकतान्त्रिक आन्दोलनको नयाँ विश्व लहर मानिएको थियो । इस्लामिक दुनियाँमा बहुदलीय लोकतन्त्र र खुला समाज आवश्यक छैन भन्ने भाष्यलाई यसले चुनौती दिन्थ्यो । तर, अरब विद्रोहपछि पनि इस्लामिक देशहरुको पर्याप्त लोकतान्त्रिकरण हुन सकेन ।

सिरियाको राजनीतिक घटनाक्रम यही दुर्भाग्यको एक दृष्टान्त हो । भनिन्छ– सन् २०११ को दारा जनविद्रोह लोकतान्त्रिक मार्गदर्शनबाट प्रेरित थियो । त्यसले एकदलीय बाथ पार्टी र असद परिवारको शासनको ठाउँमा बहुदलीय लोकतान्त्रिक शासन प्रणालीको आशा गर्दथ्यो ।

तर, अहिलेको सत्ता परिवर्तनपछि सिरियाले लोकतान्त्रिक मार्ग अवलम्बन गर्ने कुरामा विश्वस्त हुन सकिँदैन । किनकि विद्रोही शासनका मूल नेता जुलानी अल–काइदा समूहको सम्पर्क र स्कूलिङबाट राजनीतिमा अघि बढेको देखिन्छ । उनका अल–काईदा र आईएसआईएसकालीन सोचमा के कति परिवर्तन आएका छन् वा छैनन्, प्रष्ट छैन । यद्यपि जुलानीले आफ्नो राजनीतिक विगतलाई बिर्सन र आफूलाई नयाँ ढङ्गले प्रस्तुत गर्न चाहेका समाचार पनि छन् ।

अरब क्षेत्रमा सिरियाको भूराजनीतिक महत्व आफ्नै प्रकारको छ । दमास्कसको नयाँ शासनसँग इरान, रुसका आफ्नै प्रकारको सरोकार हुनेछन् । अमेरिकालगायत पश्चिमा देशहरुको सम्बन्धमा जुलानीको राजनीतिक पृष्ठभूमिले कस्तो प्रभाव पर्ने हो, यो अर्को महत्वपूर्ण पक्ष हो ।

विभिन्न साना समूहसँगको एकतापछि अल–नुसरा फ्रान्टको नाम परिवर्तन गरी सन् २०१७ देखि हयात तहरीर अल–शाम राखिएको र यसका नेता भने निरन्तर जुलानी नै रहेको बताइन्छ । यसै समूहका एक सैन्य कमाण्डर असन अब्दुल घानीले गत आइतबार बिहान दमास्कसबाट सिरिया कब्जा गरेको घोषणा गरेका हुन् ।

सिरिया गाजा र इजरायल युुद्धसँग समेत परोक्ष जोडिएको देश हो । लेबनानको हिज्जबुल्लाह समूहसँग असद परिवारको राम्रो सम्बन्ध थियो । सिरियाको नयाँ शासनले इजरायल र लेबनानसँगको सम्बन्धलाई कसरी डिल गर्दछ, त्यो उत्तिकै महत्वपूर्ण हुनेछ ।

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले असदको पतनलाई स्वाभाविक मानेका छन् । विद्रोही समूहले दमास्कस कब्जा गर्नु केही घण्टाअघि उनले ‘एक्स’ मा लेखेका थिए –‘सिरियाली विपक्षी लडाकु असदलाई हटाउने पक्षमा धेरै ठूलो कदम चाल्ने तयारीमा छन् । रुसले वर्षौदेखि सुरक्षित गरेको यो देशमा यो मार्च रोक्न असक्षम देखिनेछ ।’

उनले सिरियाली गृहयृद्धमा पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा नीतिको चर्को आलोचना समेत गरे । ट्रम्पले भने –‘यो त्यही ठाउँ हो, जहाँ पूर्वराष्ट्रपति ओबामाले मरुभूमिको लक्ष्मणरेखा रक्षा गर्ने आफ्नो प्रतिबद्धतालाई सम्मान गर्न इन्कार गरे । र, रुसभित्र पसेपछि सबैतिर नरक फैलियो । तर, अब तिनीहरु सम्भवत: असदजस्तै जबरजस्ती बाहिर धपाइएका छन् । यो तिनीहरुका लागि सबैभन्दा राम्रो कुरा हुन सक्दछ । ओबामालाई मुर्ख सिद्ध गर्नुबाहेक सिरियामा रुसका लागि अरु कुनै फाइदा थिएन ।’

सिरियाबारे ट्रम्पको निष्कर्ष छ –‘यी कुनै पनि अवस्थामा सिरिया एक गडबडी मात्र हो, हाम्रो मित्र हैन । अमेरिकाले यससँग केही गर्नुपर्दैन । यो हाम्रो लडाइँ हैन । यो खेल्न दिन दिऔँ, संलग्न नहौँ ।’ राष्ट्रपति जो बाइडनले भने विद्रोही समूहले कब्जा गर्नु सिरियाली जनताका लागि एक नयाँ अवसर साबित हुने आसा व्यक्त गरेका छन् ।

सन् २०११ मा सिरियामा असद शासनविरुद्धको जनविद्रोह र गृहयुद्ध भड्किँदा अमेरिकामा ओबामा शासनमा थिए । प्रारम्भमा ओबामाले विद्रोहलाई समर्थन गरी नयाँ निर्वाचनका लागि वातावरण बनाउने प्रयत्न गरे गरेका थिए । तर, रुसी सेनाको प्रवेशपछि ओबामा सिरियामा आफ्नो योजनाबाट फिर्ता भएका थिए ।

नयाँ विद्रोही समूहको कब्जापछि १४ वर्ष लामो सिरियाली गृहयृद्धको एक चरण अवश्य पूरा भएको छ । सम्भवत: अबको राजनीतिक सङ्घर्षमा बाथ पार्टी र असद परिवार किनारामा पर्नेछ । तर, इरान र हिजबुल्लाहको सहयोगमा सिया समूह जन्मिन सक्नेछ । सापेक्षिक शान्ति स्थापित हुने सम्भावना बढेको छ तर, लोकतन्त्रको भविष्यबारे यसै भन्न सकिने अवस्था भने छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register