एनपीएल प्ले अफ : यी हुन् चार टोलीका मुख्य हतियार, कसले जित्न सक्ला उपाधि ?

काठमाडौं । एनपीएलको प्ले अफ समिकरण पूरा भएको छ । सोमबार सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई हराएसँगै प्ले अफमा पुग्ने चार टोलीको टुङ्गो लागेको हो । अब प्ले अफमा पुग्नेमा सुदूरपश्चिम, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली छन् । सुदूरपश्चिमसँग हारेपनि कर्णाली नेट रनरेटको आधारमा प्ले अफमा पुगेको हो । अब अङ्कतालिकाको शीर्षस्थानमा रहेको सुदूरपश्चिम र […]

Dec 16, 2024 - 07:47
 0
एनपीएल प्ले अफ : यी हुन् चार टोलीका मुख्य हतियार, कसले जित्न सक्ला उपाधि ?

काठमाडौं । एनपीएलको प्ले अफ समिकरण पूरा भएको छ । सोमबार सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई हराएसँगै प्ले अफमा पुग्ने चार टोलीको टुङ्गो लागेको हो ।

अब प्ले अफमा पुग्नेमा सुदूरपश्चिम, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली छन् । सुदूरपश्चिमसँग हारेपनि कर्णाली नेट रनरेटको आधारमा प्ले अफमा पुगेको हो ।

अब अङ्कतालिकाको शीर्षस्थानमा रहेको सुदूरपश्चिम र दोस्रो रहेको जनकपुरले पहिलो क्वालिफायर खेल्ने छन् । यसैगरी चितवन र कर्णालीले एलिमिनेटर खेल्नेछन् ।

क्वालिफायरको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ भने एलिमिनेटरको विजेता टोलीले पहिलो क्वालिफायरमा पराजित टोलीसँग खेल्नेछ । सो खेलको विजेता टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ ।

अब हेरौँ, प्ले अफमा पुग्ने कुन टोली कस्तो ?

सुदूरपश्चिम रोयल्स

यो एनपीएलको सबैभन्दा बलियो टोली हो । प्ले अफमा पुग्ने दोस्रो टोली रहेपनि यसले लिग चरणमा ७ मध्ये ६ खेल जितेको छ । टोली चितवन राइनोजसँग मात्र पराजित भएको थियो ।

बलियो अलराउन्डर लाइनअफ रहेको सुदूरपश्चिम एनपीएलको उपाधि उचाल्ने बलियो सम्भावना भएको टोली हो ।

सुदूरपश्चिमको टप अर्डर र मिडिल अर्डर निकै बलियो छ । ओपनर सैफ जैबले गतिलो ब्याटिङ गरेका छन् । उनले लुम्बिनी लायन्सविरुद्ध ९० रनको इनिङ्स खेलेका थिए । उनले कुल १७५ रन बनाएका छन् ।

टोलीलाई गतिलो सुरुवात दिन उनको महत्वपूर्ण भूमिका छ । उनलाई ओपनिङ साथ दिने विनोद भण्डारीले भने खासै गतिलो प्रदर्शन गर्न सकेका छैनन् ।

तेस्रो नम्बरमा आउने विदेशी खेलाडी ब्राण्डन म्याकमुलनले अलराउन्डर प्रदर्शन गर्दै आइरहेका छन् । उनले काठमान्डुविरुद्ध ५३ रनको अर्धशतकीय पारी खेलेका छन् । साथै, उनले ५ विकेट पनि लिएका छन् ।

यता, कप्तान दीपेन्द्रसिंह ऐरीले पनि टोलीलाई बलियो स्थितिमा उभ्याउन महत्वपूर्ण भूमिका खेलेका छन् । उनले विराटनगरविरुद्ध ५७ रनको विस्फोटक पारी खेलेका थिए । साथै, ५ विकेट लिएका छन् । उनी १९८ रनसहित धेरै रन बनाउनेको सूचीमा पाँचौं स्थानमा छन् ।

स्कट कुग्लेइनले बलिङमा लिड गरिरहेका छन् र फिनिसिङको भूमिका दिइएकोमा केही ठूला शट पनि खेल्ने गरेका छन् ।

कुग्लेइनले १५ विकेट लिएका छन् । उनी सबैभन्दा धेरै विकेट लिने खेलाडी हुन् । जैबले ९ विकेट लिएका छन् । नरेन साउदले ६ विकेट लिएका छन् ।

जनकपुर बोल्ट्स

एनपीएल उपाधिको दाबेदार टोलीमध्ये एक हो, जनकपुर । लिग चरणमा लगातार सानदार प्रदर्शन गरेको टोलीले ७ खेलमा ५ खेल जितेको छ भने चितवन र सुदूरपश्चिमसँग हार व्यहोर्यो ।

स्पीनर र मिडल अर्डर बलियो रहेको यस टोलीले जुनसुकै बेलामा पनि विपक्षीलाई हराउन सक्ने क्षमता राख्दछ ।

ओपनर एवं कप्तान अनिलकुमार साहले प्रदर्शनमा एकरुपता छैन । तर, टोलीलाई आवश्यक पर्दा उनी राम्रो खेल्न सक्छन् । उनले कर्णालीविरुद्ध ६२ र लुम्बिनीविरुद्ध ४५ रनको महत्वपूर्ण पारी खेलेका छन् ।

अर्का ओपनर आसिफ शेखको ब्याट त्यति चलिरहेको छैन । राष्ट्रिय टोलीबाट गतिलो प्रदर्शन गर्ने उनको एनपीएलमा प्रदर्शन त्यति गतिलो छैन । उनी पहिलो खेलमा विराटनगरविरुद्ध शून्यमै आउट भएका थिए । उनले त्यसपछिका खेलमा ३६, ३३, १६, ४, २ र २३ रन बनाएका छन् ।

तेस्रो नम्बरमा ब्याटिङ सम्हाल्न आउने लाहिरु मिलान्था भरपर्दो ब्याटर हुन् । उनले उद्घाटन खेलमै विराटनगरविरुद्ध ७५ रनको यादगार इनिङ्स खेलेका थिए । उनले पछि २४, ४५, २४, ७, १६ र १ रन बनाएका छन् । उनी टोलीबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत हुन् ।

अर्का अलराउन्डर हुन्, हर्ष थाकेर । उनी टोलीको आवश्यकताअनुसार मिडल अर्डरमा समेत ब्याट गर्न आउँछन् । तर, उनको ब्याट भन्दा पनि बल बढी चम्किरहेको छ । उनले १० विकेट लिएका छन् ।

न्यूजिल्याण्डका पूर्वखेलाडी जेम्स निशमले पनि विस्फोटक ब्याटिङ  गर्दछन् । उनी एनपीएलकै छिटो अर्धशतक प्रहार गर्ने खेलाडी हुन् । उनले चितवनविरुद्ध १८ बलमा अर्धशतक बनाएका थिए । त्यस खेलमा उनले ६५ रन बनाए ।

टोलीको बलियो पक्ष हो, स्पीनर । स्पीनर ललित राजवंशीले १३ विकेट लिएका छन् । उनी सबैभन्दा धेरै विकेट लिनेको सूचीमा दोस्रो स्थानमा छन् । यस्तै, तीव्र गतिका बलर किशोर महतोले १० विकेट लिएका छन् ।

चितवन राइनोज

यो टोली जायन्ट किलर हो । चितवनले सुदूरपश्चिम र जनकपुरलाई हराएको छ । बलिया मानिएका टोलीलाई हराउन सक्ने क्षमता रहेकोले यसले एनपीएलको उपाधिमा पनि बलियो दाबी पेस गरेको छ ।

चितवनका हरेक खेलाडीमा खेल उल्टाउन सक्ने क्षमता रहेको छ । फास्ट बलर र मिडल अर्डर यस टोलीको हतियार हो ।

ओपनर हसन इस्कानाजीले पनि सुरुवाती गति दिन टोलीमा महत्वपूर्ण भूमिका निभाइरहेका छन् । उनले सुदूरपश्चिमलाई हराउन ६५ रनको अर्धशतकीय पारी खेलेका थिए । उनले अन्य खेलमा भने त्यति गतिलो प्रदर्शन गर्न सकेका छैनन् ।

टोलीका हतियार नै हुन्, कप्तान कुशल मल्ल । उनको ब्याट र बल गज्जबैले चलिरहेको छ । उनले ८ विकेट लिनुका साथै २०२ रन बनाएका छन् । उनी सबैभन्दा धेरै रन बनाउनेको सूचीमा चौथो स्थानमा छन् ।

यस्तै, रवि बोपाराको ब्याटिङमा धेरै एकरुपता छ । उनी टोलीबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । उनले २३३ रनसहित सर्वाधिक रन बनाउनेको सूचीमा दोस्रोमा छन् । सूचीमा पहिलो स्थानमा रहेका रोहितकुमार पौडेललाई उनले पछि पार्ने सम्भावना छ ।

बलिङतर्फको नेतृत्व पाकिस्तानका पूर्वखेलाडी सोहेल तानवीरले गरिरहेका छन् । उनले आफ्नो पहिलो खेलमै काठमान्डुविरुद्ध ५ विकेट लिएर क्षमता देखाइसकेका छन् । उनले अहिलेसम्म १२ विकेट लिएका छन् ।

यस्तै रिजन ढकाल पनि अर्का महत्त्वपूर्ण हतियार हुन् । रिजनले अहिलेसम्म १३ विकेट लिएका छन् । उनी सबैभन्दा धेरै विकेट लिनेको सूचीमा तेस्रो स्थानमा छन् ।

कर्णाली याक्स

यो एनपीएलको सबैभन्दा धेरै चर्चामा रहेको टोली हो । भारतीय पूर्वखेलाडी शिखर धवनको अनुबन्धले चर्चित बनाएपनि प्ले अफमा पुग्न भने अन्तिमसम्म कुर्नु परेको थियो ।

यस टोलीमा टप अर्डरमा सन्तुलन छैन । सुरुका केही खेलमा धवन र देव खनालको जोडी ओपनिङमा आउँथ्यो । तर, उक्त जोडी जम्न सकेन । खनालले विराटनगरविरुद्ध ५३ रन बनाउनुबाहेक सम्झनालायक प्रदर्शन गरेका छैनन् । यता, धवनले भने ४ खेलमा १३६ रन बनाए । उनी स्वदेश फर्किसकेका छन् ।

यस टोलीको बलियो पक्ष मिडल अर्डर र बलिङ हो । विलियक बिस्सोटोले गतिलो प्रदर्शन गर्दै आइरहेका छन् । उनी दुई खेलमा म्यान अफ द म्याच भइसकेका छन् ।

चार खेलमा मात्र ब्याटिङ गरेका उनले ६६, २, ४४ र १६ रन बनाएका छन् साथै ८ विकेट लिएका छन् । बलिङमा उनलाई साथ दिएका नन्दन यादवले ७ विकेट लिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register