माथिल्लो अरूणको काम अघि बढ्यो, पहुँचमार्ग निर्माण गरिँदै

काठमाडौं । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट विद्युत् उत्पादन क्षमताको माथिल्लो अरूण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ । भौगोलिक रूपमा विकट र जटिल रहेको आयोजनाको विद्युत् गृहबाट बाँध स्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच सडक निर्माण धमाधम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । भोटखोला गाउँपालिका–४ गोलाबजार नजिक छोङराङमा […]

Dec 16, 2024 - 08:39
 0
माथिल्लो अरूणको काम अघि बढ्यो, पहुँचमार्ग निर्माण गरिँदै

काठमाडौं । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट विद्युत् उत्पादन क्षमताको माथिल्लो अरूण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ ।

भौगोलिक रूपमा विकट र जटिल रहेको आयोजनाको विद्युत् गृहबाट बाँध स्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच सडक निर्माण धमाधम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

भोटखोला गाउँपालिका–४ गोलाबजार नजिक छोङराङमा प्रस्तावित विद्युत् गृहबाट माथिल्लो तटीय क्षेत्रमा पर्ने सोही गाउँपालिका– २ चेपुवा गाउँ नजिक बाँध निर्माण स्थलसम्म पुग्ने पहुँच सडक निर्माणाधीन छ ।

छोङराङसम्म कोशी राजमार्ग पुगेको छ । कोशी राजमार्गलाई छोडेर आयोजनास्थलतर्फ जान आयोजनाले अरूण नदीमा ७० मिटर लम्बाइ भएको स्टिल आर्क पुल निर्माण गरिरहेको छ ।

भोटखोला गाउँपालिका–४ नामासे र सोही गाउँपालिका–२ रूकुमा जोड्ने २ किलोमिटर सुरुङ मार्ग निर्माणका लागि आवश्यक बुमर, जेसिबी, लोडर, रोबोटिक सटक्रिट, सटक्रिट मेसिन, कङक्रिट पम्प, जेनेरेटरलगायतका हेभी उपकरणहरू एवं निर्माण सामग्री हेलिकप्टरबाट ढुवानी भइरहेको प्राधिकरणले जनाएको छ ।

दुवै स्थानसम्म पुग्न सडक नभएकाले कोशी राजमार्ग हुँदै गोलाबजार पुर्‍याइएका उपकरणलाई खोलेर एमआई–१७ तथा अन्य साना हेलिकप्टरमार्फत ढुवानी गरिएको हो । हालसम्म तीन सय खेपभन्दा बढी ढुवानी भइसकेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवर्द्धक अपर अरूण हाइड्रो–इलेक्ट्रिक लिमिटेड सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ, कम्पनीका प्रबन्ध–सञ्चालक फडिन्द्रराज जोशीलगायतको टोलीले शनिबार र आइतबार निर्माणस्थलको अनुगमन गरी निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परामर्शदाता, निर्माण व्यवसायी र स्थानीय बासिन्दासँग छलफल गरेको छ ।

कार्यकारी निर्देशक घिसिङले पहुँच मार्ग निर्माणमा हालसम्म भएको प्रगतिबाट उत्साहित भएको र यसबाट अपर अरूण आयोजना अगाडि बढेको सन्देश गएको बताए ।

सुरुमा पहुँच मार्गको ट्र्याक खोल्न सकिएमा त्यसपछि निर्माण सामग्री ढुवानी गर्न सजिलो हुने भएकाले एक आपसमा समन्वय गरी सोही बमोजिम काम अगाडि बढाउन आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीलाई उनले निर्देशन दिए ।

पहुँच मार्ग निर्माणका लागि भारतीय कम्पनी गायत्री प्रोजेक्ट लिमिटेड र नेपालको कन्काई इन्टरनेशनल बिल्डर्सको संयुक्त उपक्रम (जेभी)बीच २०७९ फागुन ११ गते रु सात अर्ब ९१ करोडमा ठेक्का सम्झौता भएको थियो ।

उक्त ठेक्का सम्झौता २०८० वैशाख २८ गतेदेखि कार्यान्वयनमा आएको थियो । पहुँचमार्ग २०८२ को माघभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

‘विश्व बैंक पछि हटे, स्वदेशी लगानीमै आयोजना निर्माण’

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले यो आयोजनामा लगानीका लागि विश्व बैंक तयार नभएमा माथिल्लो तामाकोशीकै लगानी ढाँचामा निर्माण गरिने बताए ।

उनले गाउँपालिका र अपर अरूण जलविद्युत् आयोजना आदिवासी जनजाति सल्लाहकार परिषद्का पदाधिकारीसँगको छलफलका क्रममा आकर्षक र मुलुकको ऊर्जा क्षेत्र एवं समग्र अर्थतन्त्रलाई नै रूपान्तरण गर्न सक्ने आयोजना नेपालले निर्माण गर्नुपर्नेमा जोड दिए ।

विश्व बैंकले लगानी नगर्ने अवस्था आएमा देशभित्रका बैंक तथा वित्तीय संस्था र स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको लगानीमा अपर अरूणलाई अगाडि बढाइने उनले प्रस्ट पारे ।

निर्माण अवधिको ब्याज, मूल्य वृद्धि लगायतसहित एक अर्ब ७५ करोड डलर (करिब रु दुई खर्ब १४ अर्ब) अनुमानित लागत रहेको अपर अरूणमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइने छ ।

विश्व बैंकको नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट र  स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाएर वित्तीय व्यवस्थापन गरिने योजना बनाइएको छ ।

यसका लागि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलप्मेन्ट कम्पनी (एचआइडिसिएल)को नेतृत्वमा रु ५३ अर्ब स्वदेशी बैंक तथा वित्तीय स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणमार्फत लगानी जुटाउन समझदारीपत्र (एमओयू) भइसकेको छ ।

इक्विटीमध्ये ५१ प्रतिशत आयोजनाको प्रवद्र्धक अपर अरूण हाइड्रो इलेक्ट्रिक कम्पनीका संस्थापक बाट र ४९ प्रतिशत सर्वसाधारण बाट सङ्कलन गरिने छ । जनताको जलविद्युत् कार्यक्रममा समावेश माथिल्लो अरूणमा प्रदेश सरकार, आयोजना रहेको जिल्ला सङ्खुवासभाका स्थानीय तह, नेपाल विद्युत् प्राधिकरणलगायतका संस्थापक रहने छ ।

आयोजना प्रभावित बासिन्दा, देशभरका सर्वसाधारण लगायतको ४९ प्रतिशत साधारण सेयर रहने छ ।

प्राधिकरणका अनुसार आयोजनाको निर्माण सुपरिवेक्षणका लागि परामर्शदाता नियुक्त भई डिजाइन पुनरावलोकन तथा बोलपत्रसम्बन्धी कागजात तयारीका काम भइरहेका छन् । सन् २०२६ देखि निर्माण सुरु गर्ने लक्ष्यका साथ निर्माण पूर्वका काम भइरहेका छन् । आयोजनाको निर्माण सन् २०३१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजनालाई आवश्यक पर्ने दुई सय ३२ हेक्टर निजी जग्गा प्राप्ति सम्पन्न भएको छ । अधिग्रहण गरिने जग्गाको करिब ९९ प्रतिशत मुआब्जा तथा क्षतिपूर्ति वितरण गरिसकिएको छ । आयोजनाबाट विस्थापितको पुनः स्थापना कार्य जारी छ ।

आयोजनाबाट करिब २२ घरधुरी भौतिक रूपमा विस्थापित हुने छन् । आयोजनाको निर्माणबाट वातावरणीय तथा सामाजिक प्रभाव तुलनात्मक रूपमा न्यून रहने अध्ययनले देखाएको छ ।

आयोजनालाई विद्युत् बढी माग हुने हिउँदका छ महिनामा दैनिक छ घण्टा पूर्ण क्षमतामा चलाउने गरी डिजाइन गरिएको छ । आयोजनाबाट वार्षिक चार अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुने छ । यसमध्ये करिब ३० प्रतिशत ऊर्जा हिउँदमा उत्पादन हुने छ ।

उत्पादित विद्युत्लाई करिब ६ किलोमिटर ४०० केभीको प्रसारण लाइनमार्फत सङ्खुवासभाको हाइटारमा प्रस्तावित सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिनेछ । प्राधिकरणले माथिल्लो अरूणकै अङ्ग रहने गरी ४० मेगावाटको इखुवा जलविद्युत् आयोजना अगाडि बढाएको छ । इखुवा पनि जनता जलविद्युत् कार्यक्रममा समावेश भएको आयोजना हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register