२५ वर्षअघिको आज: काठमाडौंबाट उडेको विमान यसरी भयो अपहरण !

काठमाडौंबाट नयाँदिल्लीका लागि उडेको चालक दलसहित १९० यात्रु सवार इन्डियन एअरलाइन्सको विमान ‘आतङ्कवादी अपहरण’को सिकार बन्यो । अपहरणको २५ वर्ष बित्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा प्रणालीमा धेरै सुधार भएका छन् । तर, सुरक्षाविद्हरूका अनुसार यो सुधार पर्याप्त छैन ।

Dec 24, 2024 - 08:56
 0
२५ वर्षअघिको आज: काठमाडौंबाट उडेको विमान यसरी भयो अपहरण !

काठमाडौं । आजभन्दा ठीक २५ वर्षअघि ९ पुस २०५६ (डिसेम्बर २४, १९९९) का दिन नेपाली भूमिबाट भएको विमान अपहरणको घटना अहिले पनि स्मरणीय छ ।

काठमाडौंबाट नयाँदिल्लीका लागि उडेको चालक दलसहित १९० यात्रु सवार इन्डियन एअरलाइन्सको फ्लाइट आईसी–८१४ ‘आतङ्कवादी अपहरण’को सिकार बन्यो ।

यो घटनालाई केवल नेपाल वा भारतका लागि होइन, अन्तर्राष्ट्रिय स्तरमै एउटा ठूलो ‘आतङ्कवादी अपहरण’को रूपमा लिइन्छ ।

त्यो साँझ काठमाडौंबाट नयाँदिल्लीका लागि उडेको इन्डियन एअरलाइन्सको ‘आईसी–८१४’ विमानलाई इस्लामिक बन्दुकधारीले अपहरण गरेका थिए ।

भारतीय जेलमा रहेका आफ्ना नेताहरूको रिहाइको लागि उनीहरूले जहाज र यात्रु अपहरण गरेका थिए । के थियो त्यो घटना पुन: स्मरण गरौँ ।

***

देशको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलको चहलपहल सामान्य देखिन्थ्यो । पुसको मधुरो घाम अस्ताउने तरखरमै थियो ।

अपराह्न सवा चार बजे रनवेमा कुदिरहेको इन्डियन एयरलाइन्सको ‘आईसी–८१४’ विमानले हेर्दाहेर्दै जमिन छाड्यो ।

भारतीय राजधानी नयाँदिल्लीका लागि उडान भरेको विमानमा थिए – चालक दलका ११ सदस्य र १७९ यात्रु ।

विमानका ‘पाइलट इन कमान्ड’ थिए– देवी शरण ।

राजिन्दर कुमार ककपिटको सेकेन्ड इन कमान्ड थिए भने अनिल कुमार जग्गिया इन्जिनियर ।

त्रिभुवन विमानस्थलबाट उडेको विमान १ घण्टा ४५ मिनेटमा नयाँदिल्ली उत्रने तय थियो । त्यसैको प्रतीक्षामा थिए, यात्रुहरू ।

तर, विडम्बना त्यो समय व्यतीत हुनुअघि नै नयाँदिल्ली उडिरहेका यात्रुहरूले अप्रिय खबर सुन्नुपर्‍यो – विमान अपहरणको ।

केवल १५ मिनेटको उडानपछि करिब ४ बजेर ३९ मिनेटमा भारतीय हवाई क्षेत्रमा प्रवेश गरेलगत्तै पाँच इस्लामिक सशस्त्र अपहरणकारीले विमानलाई नियन्त्रणमा लिए ।

पाँच जनाको प्रत्यक्ष संलग्नतामा गरिएको अपहरणको मुख्य उद्देश्य थियो – भारतीय जेलमा रहेका ‘हर्कत–उल–मुजाहिद्दिन’समूहका नेता मौलाना मोहम्मद महसुद अजहरको रिहाइ ।’ अपहरणकारीहरू सोही सशस्त्र समूहको सदस्य थिए ।

पाकिस्तानमा रहेर कश्मीर स्वतन्त्रताका लागि सङ्घर्षरत सशस्त्र समूह थियो, हर्कत–उल–मुजाहिद्दिन ।

पाइलट देवी शरण नेतृत्वको चालकसहित १९० यात्रुहरूलाई अपहरणकारीले बन्दुकको सहारामा नियन्त्रणमा राखे ।

विमानलाई पटकपटक विभिन्न स्थानमा अवतरण गराउँदै उनीहरूले आफ्नो माग पूरा गराउन दबाब दिन थाले ।

यात्रुहरूको त्रासदीपूर्ण यात्रा पाँच दिनसम्म जारी रह्यो । जसको अन्त्य अफगानिस्तानको कान्धारमा पुगेर भयो ।

***

विमान नियन्त्रणमा लिएपछि अपहरणकारीले जहाज अफगानिस्तानको काबुल पुर्‍याएर भारत सरकारमाथि दबाब दिने योजना बनाए ।

त्यसबीच क्याप्टेन देवी शरणले नेपाल नजिकैको भारतको वाराणसी (बनारस) विमानस्थलको एअर ट्राफिक कन्ट्रोल (एटीसी)सँग सम्पर्क गर्ने प्रयास गरे । तर, अपहरणकारीले यसको भेउ पाएर पाइलटलाई धम्की दिँदै काबुल लैजान चेतावनी दिए ।

विमानमा इन्धन सकिँदै थियो भने अपहरणकारीहरू आफूलाई अनुकूल हुने स्थानमा अवतरण गरेर सौदाबाजी गर्न खोजिरहेका थिए ।

त्यसका लागि पाकिस्तानको लाहोर विमानस्थल रोजे । तर, लाहोर विमानस्थलले अवतरणको अनुमति दिएन ।

पाकिस्तानी अधिकारीहरूलाई विमान अवतरण गराउँदा अपहरणमा आफ्नो संलग्नता भएजस्तो  देखिने डर थियो । यसले भारतसँगको तनाव झन् बढाउन सक्ने खतरा पाकिस्तानले सोच्यो ।

त्यसो हुँदा अन्तर्राष्ट्रिय मञ्चमा भारतले पाकिस्तानविरुद्ध मुद्दा उठाउने अवसर पाउने निश्चित थियो । त्यसैले पाकिस्तानले अपहरित विमान आफ्नो देशभित्र अवतरण गर्ने अनुमति दिएन ।

विमानमा इन्धन घट्दै जाँदा भारतले कश्मीरको अमृतसार विमानस्थलमा अवतरणको अनुमति दियो ।

स्थानीय समयअनुसार करिब साँझ ७ः१५ मा जहाज अमृतसारमा उत्रियो । काठमाडौंबाट सवा ४ बजे उडेको जहाज करिब तीन घण्टापछि त्यहाँ उत्रियो ।

तर, भारतले इन्धन दिन अस्वीकार गर्‍यो । यही क्रममा भारतले अमृतसारमा सुरक्षा कमान्डो परिचालन गरेर अपहरणकारीमाथि कारबाही गर्ने योजना बनायो ।

तर, अपहरणकारीले यसबारे थाहा पाएपछि विमान तत्काल उडाउने सोच बनाए । अपहरणकारीले इन्धन कम भएकै अवस्थामा जहाज उडाउन क्याप्टेनलाई दबाब दिए ।

क्याप्टेनले जोखिम रहेको भन्दै उडाउन अस्वीकार गरे । त्यसपछि अपहरणकारीहरूले यात्रुहरू जर्मन नागरिक सत्नम सिंह र रूपिन कत्यालमाथि चक्कु आक्रमण गरे ।

यात्रुलाई यातना दिएपछि क्याप्टेन जोखिम मोलेरै विमान उडाउन बाध्य भए ।

अपहरणकारीहरूले पाकिस्तानको लाहोरमा अवतरणको प्रयास गरे । पाकिस्तानले बस्न दिन मानेको थिएन । तर, यात्रु जोखिममा परेको भन्दै भारतले पाकिस्तानी सरकारलाई विमान अवतरणका लागि अनुमति दिन आग्रह गर्‍यो ।

भारतको आग्रह मानेर पाकिस्तानले अवतरण अनुमति दियो । साँझ ८ः१५ मा विमान लाहोर पुग्यो ।

लाहोरमा इन्धन भरियो । अपहरणकारीले जहाज अफगानिस्तानको काबुल लैजान दबाब दिए । तर, काबुल विमानस्थलमा राति अवतरणको सुविधा नभएकाले यो योजना असफल भयो । त्यसपछि जहाज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई लाग्यो ।

दुबईस्थित अल मिनहाद सैनिक हवाई अड्डामा विमान अवतरण भयो । दुबईमा इन्धन भर्ने सर्तस्वरूप महिला र बालबालिका यात्रुहरूलाई रिहा गर्न अपहरणकारीहरू राजी भए ।

यस क्रममा गम्भीर घाइते भएका २५ वर्षिया रूपिन कत्यालको ज्यान गयो । उनी हनिमुनका लागि पत्नीसहित नेपाल आएका थिए ।

अपहरणकारी २७ यात्रुलाई रिहा गर्न राजी भए । त्यसपछि इन्धन भरियो ।

अन्ततः चालकसहित १ सय ६३ यात्रु रहेको जहाज अफगानिस्तानको कान्दाहार लगियो । काठमाडौंबाट उडेको विमान अपहरणको नाटकीय घटना पार गर्दै भोलिपल्ट बिहान कान्दाहार पुगेको थियो ।

***

अफगानिस्तानमा विद्रोही समूह तालिबानको शासन थियो । विमान कान्दाहारमा अवतरण भएपछि अपहरणकारीसँग संवाद गर्न भारतले तालिबानसँग सम्पर्क गर्नुको विकल्प थिएन ।

तर, भारतले विद्रोही तालिबानले सत्ता हातमा लिएपछि कुनै आधिकारिक मान्यता दिएको थिएन । विगतमा कुनै समन्वय नभएकाले अलमलमा परेको थियो । भारतलाई तालिबानले सहयोग नगर्ने आशङ्का पनि थियो ।

यसैबीच भारतले पाकिस्तानको इस्लामावादस्थित आफ्नो उच्चायोगका अधिकारीलाई कान्दाहार पठायो । संयुक्त राष्ट्रसङ्घले पनि वार्ता टोली खटायो ।

अपहरणमा परेको जहाज कान्दाहारमा अवतरणपछि तालिवानका सेनाहरू

त्यसपछिका दुई दिन भारत आन्तरिक छलफलमै व्यस्त रह्यो, जबकि यात्रुहरू विमानभित्रै तनावपूर्ण अवस्थामा थिए ।

भारतका तत्कालीन गृहमन्त्री लालकृष्ण आडवाणीले अपहरणकारीको मागअनुसार आतङ्कवादीहरूलाई रिहा नगर्ने अडान लिएका थिए । तर, विदेशमन्त्री जसवन्त सिंहले भने अपहरणकारीसँग वार्ता गर्नुपर्ने सङ्केत गरे ।

अन्ततः डिसेम्बर २७ मा भारत सरकारले गृह मन्त्रालयका सहसचिव विवेक कट्जुको नेतृत्वमा अजित डोभल र सीडी सहायको टोली कान्दाहार पठायो ।

दुबै पक्ष वार्ताको टेबलमा बसे । कान्दाहारमा वार्ता सुरु भयो । अपहरणकारीले विमान र यात्रुको बदलामा भारतीय जेलमा रहेका मौलाना मोहम्मद महसुद अजहरसहित ३५ जनाको रिहाइ गर्नुपर्ने सर्त राखे ।

साथै, २० करोड अमेरिकी डलर रकम माग गरेका थिए । सज्जाद अफगानीको ‘शव’ मागेका थिए । तर, भारतले ६ महिनाअघि नै उनको दाहसंस्कार गरिसकिएको बतायो ।

पछि तालिबानको आग्रहपछि अपहरणकारीहरू लचिलो बने । रकम र शवको माग त्यागे । मात्रै आफ्ना नेताहरूको रिहाइ भए पुग्ने बताए ।

वार्ता चलिरहेका बेला डिसेम्बर ३० मा अपहरणकारीले सबैलाई मार्ने धम्की दिए  । अपहरणकारीले भनेका थिए, ‘अब कुरा मिलेन म एक/एक गरेर सबैलाई मार्छु, ईश्वरको नाम लिऊ । ’

भारतले अन्ततः यात्रुहरूको जीवन बचाउन जैस–ए–मोहम्मदका तीनजना नेतालाई रिहा गर्न सहमति जनायो । तीनै जना अलग/अलग जेलमा थिए ।

मौलाना महसुद अजहर, ओमार सइद शेख र मुस्तक अहमद जरगरलाई आफूसँगै लिएर भारतीय विदेशमन्त्री जसवन्त सिंह कान्दाहार पुगे ।

भारतको जेलमा रहेका आतंकवादी नेताहरू, विमान अपहरण गरेर जसलाई छुटाइएको थियो

अपहरणको ६ दिनपछि ३१ डिसेम्बर १९९९ मा तालिबानको उपस्थितिमा ती आतङ्कवादीहरूलाई भारतले अपहरणकारीहरूसमक्ष सुम्पियो ।

तालिबानको उपस्थितिमा आतङ्कवादी नेताहरु कान्दाहारमा रिहा भए । त्यही दिन आतङ्कवादी र तालिवानले यात्रु फर्काउन अनुमति दिए ।

यात्रु लिन नयाँ दिल्लीबाट विशेष जहाज कान्दहार पुग्यो । भारतले पाँचजना आतङ्कवादीहरूलाई छोडेर चाकल र यात्रुलाई फर्कायो ।

२५ वर्षपछि पनि चुकिरहेको सुरक्षा

विमान अपहरण भएको २५ वर्ष बित्दा पनि त्रिभुवन विमानस्थलमा सुरक्षा प्रणालीमा धेरै सुधार भएका छन् ।

तर, सुरक्षाविद्काअनुसार यो सुधार पर्याप्त भने छैन । सुरक्षाविद्हरू भन्छन् – ‘सुरक्षा चुनौतीको स्तर बढ्दै गएको छ । सुधार जारी राख्नु आवश्यक छ ।’

विमानस्थलमा बारम्बार सुरक्षा त्रुटि हुँदै आएपनि सुधारको पहल भएको छैन । विगतमा पनि विभिन्न अध्ययन समिति बनेका थिए । तर, समितिको सिफारिसअनुसार सुधार नभएको बताइन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register