लन्डन टु सगरमाथाः प्राकृतिक सौन्दर्यमा समर्पणको यात्रा

जब वाल्यकालमा पहिलोपटक सगरमाथाको चित्र देखियो, त्यो क्षण एउटा सपना बनेर मुटुमा बस्यो। लामो समयपछि लन्डनको व्यस्त जीवन, कामको चाप, व्यवसायको जिम्मेवारी र पारिवारिक दायित्वबीच पनि हामी ७ जनाले त्यो सपना साकार पार्ने साहस गर्यौं – सगरमाथा आधार शिविर (एभरेष्ट बेस क्याम्प) यात्रा। हाम्रो टोलीमा म, सन्जीव सुवेदी, जनक पोखरेल, आशिम अधिकारी, युव नेउपाने र […]

May 10, 2025 - 13:00
 0
लन्डन टु सगरमाथाः प्राकृतिक सौन्दर्यमा समर्पणको यात्रा

जब वाल्यकालमा पहिलोपटक सगरमाथाको चित्र देखियो, त्यो क्षण एउटा सपना बनेर मुटुमा बस्यो। लामो समयपछि लन्डनको व्यस्त जीवन, कामको चाप, व्यवसायको जिम्मेवारी र पारिवारिक दायित्वबीच पनि हामी ७ जनाले त्यो सपना साकार पार्ने साहस गर्यौं – सगरमाथा आधार शिविर (एभरेष्ट बेस क्याम्प) यात्रा। हाम्रो टोलीमा म, सन्जीव सुवेदी, जनक पोखरेल, आशिम अधिकारी, युव नेउपाने र पदम कार्की थियौं । सन्जीवजीले यस यात्राको नेतृत्व लिनुभयो। हामीसँगै दुई जना गाइड, चार जना पोर्टर र एक जना क्यामेराम्यान हुनुहुन्थ्यो, जसले हामी सात जनाको टोलीलाई साथ दिनुभयो।

यात्राका क्षण कैद गर्न हामीले काठमाडौंबाटै क्यामेराम्यानलाई साथमा लगेका थियौं। हाम्रा लागि यो यात्रा केवल पदयात्रा मात्र थिएन, यो आत्म–अनुशासन, मित्रता, देशप्रेम र प्राकृतिक सौन्दर्यमा समर्पणको कथा बन्यो । व्यस्त पेशेवर जीवनबाट तीन हप्ता विश्राम लिन सजिलो थिएन । तथापि, हामीले यसका लागि तीन हप्ता समय निकाल्ने तरिका खोज्यौं। ‘जहाँ इच्छा हुन्छ, त्यहाँ मार्ग हुन्छ’ भनेजस्तै भयो हामीलाई ।

यात्रा सुरु अघि योजना, तयारी र प्रतिवद्धता

कोरोना महामारीले रोकिएको हाम्रो योजना अन्ततः २०२४ को सुरुवातमा सम्भव भयो। म र सन्जीवजीले एभरेष्ट बेस क्याम्पको योजना कोभिडअघि नै बनाएका थियौं, तर समय मिलाउन सकेका थिएनौं।

यात्राको निर्णय भएपछि हामीले तुरुन्तै टिकेट बुक ग¥यौं । यस निर्णयले हामीलाई गम्भीर बनायो र पछिल्लो समयमा पन्छाउने मनोवृत्तिलाई टा¥यो। हामी सबैले आ–आफ्नो क्षमताअनुसार फिटनेस यात्रा सुरु ग¥यौं – कसैले दौडिन थाले, कसैले योगा वा फुटबल खेले, कसैले लन्डनको बेक्सली नेपलिज कम्युनिटीद्वारा आयोजित फिटनेस कार्यक्रममा पसिना बगाए। किटहरू तयार पार्न हामीले युट्युब, ब्लग र साथीहरूबाट सुझाव लिएर करिब एक हजार पाउण्ड खर्च ग¥यौं। यस अतिरिक्त आवश्यक औषधि र सुरक्षा किटहरू पनि हामीले साथमै लगेका थियौं। यात्राको हरेक पाइला भावनात्मक, रहस्यपूर्ण र अलिकति डरले भरिएको थियो । तर, हाम्रो उद्देश्य प्रष्ट थियोः सगरमाथासम्म पुग्ने!

नेपाल प्रवेश र मन्थलीसम्मको अनुभव

हाम्रो यात्रा २० मार्चमा सुरु भयो। पाँच जनासँगै यात्रा गरयौं भने दुई जना हामीभन्दा अघि नै गइसकेका थिए। हामी साँझ ५ बजे काठमाडौं पुग्यौं। त्यसपछि, ट्राभल एजेन्सीले मद्दत गरेर हामीलाई डफेल झोला दिएका थिए। सुरुमा हामीले ब्याकप्याक झोला किनेका थियौं, तर पछि थाहा भयो कि ट्राभल एजेन्सीले प्रायः स्ट्यान्डर्ड झोला उपलब्ध गराउँछन्। त्यसैले, आफ्नो ट्राभल एजेन्सीसँग अगाडि नै जानकारी लिनु राम्रो हुन्छ। स्वतन्त्र रूपमा यात्रा गरिएमा भने त्यो फरक कुरा हुन सक्छ।

सडक मर्मतका कारण मन्थली पुग्न ढिलो नहोस् भनेर हामी केही घण्टा घरमा आराम गरेर बिहान ९ बजे भेट्ने निर्णय गरयौं । म भने छिटो हिँड्ने कुराको विपक्षमा थिएँ। मैले सन्जीवसँग पनि यसबारे वहस गरें, तर उसले भन्यो कि त्यसो सोच्ने म मात्रै हुँ। म साथीहरू बेखुसी बनुन् भन्ने चाहन्नथें, त्यसैले म पनि राति ९ बजे भेट्नेमा सहमत भएँ। सगरमाथाको यात्राको पहिलो पाइलामा नै हामीले यात्राको एक गहिरो पाठ सिक्यौं — सपना साकार पार्न थकाइको स्वागत गर्नुपर्छ। रातको अँध्यारोमा हामी काठमाडौंबाट भ्यानमा चढ्यौं– गन्तव्यः मन्थली विमानस्थल।

हामीलाई लिन भ्यान आयो र रिंगरोड वरिपरि रहेका सबै साथीहरूलाई बिस्तारै टिप्दै अघि बढ्यो। बाटोको अवस्था खासै सहज थिएन, अनि हामी पहिल्यै लन्डनदेखि लामो यात्राले थकित थियौं। त्यसैले सबैले बाटोमै चिया पिउँ भन्ने निर्णय गर्यौं। रातको १२ः३० बजेको थियो, अधिकांश पसलहरू बन्द भइसकेका थिए। यत्तिकैमा, हाम्रो ड्राइभर दाईले एक बन्द देखिएको पसलको अगाडि गाडी पार्क गर्नुभयो।

त्यसपछि फोन गरेर पसलको मालिकलाई उठाउनुभयो। मध्यरातमा सुतिरहेको मानिसलाई उठाएर चिया बनाउन लगाउने कुरा हामीलाई केही असहज लाग्यो। तर, त्यहाँको संस्कारमा यो सामान्य नै रहेछ। हामीले चिया मगायौं। त्यसैबीच, केही साथीहरूले “यहाँ त ताजा लोकल माछा पनि पाइन्छ रे!” भनेर उत्साहित हुँदै माछा फ्राई गराउन लगाए। पसलको मालिकले ताजा स्थानीय माछा देखाएपछि हामी प्रलोभनमा प¥यौं । हुन पनि त्यसको स्वाद साँच्चै मनपर्ने खालको थियो। त्यहाँ बस्ने ठाउँ थिएन भन्ने थाहा पाएपछि हामीले समय काट्न तास खेल्ने निर्णय गर्यौं। रमाइलो गफ, चिया, माछा अनि तास सबैले रातको यात्रा रमाइलो बनाइदियो। यसरी रमाइलो गर्दै अन्ततः हामी बिहान ५ः३० बजे मन्थली पुग्यौं।

बिहान मन्थली पुग्दा हामीसँग थकाइ मात्र थिएन, चिन्ता पनि थियो। हामीले चिया खायौं र जहाज हेरेर धेरै उत्साहित भयौं। जहाज देख्नासाथ झनै उत्साह बढ्यो। हाम्रो गाइडले चेक–इन र बोर्डिङमा सहयोग गरे। मौसम धमिलो थियो – ‘दृश्य स्पष्ट छैन, आज उडान नहुन पनि सक्छ’ भन्ने खबरले हाम्रो मुटु ढुकढुक भयो । मन्थलीको बिहान – आशा र अन्योलबीचको संघर्ष थियो । हामीसँग सीमित दिन थिए, योजना एकदम कडा थियो। उडान रद्ध भए सारा तालमेल बिथोलिन्थ्यो। त्यसपछि हामीले दृश्यता (भिजिविलिटी) स्पष्ट नहुँदासम्म पर्खनुप¥यो। हाम्रो उत्साहमा ठेस लाग्यो जब साथीमध्ये एक जनाले भने, “मन्थलीमा एक हप्तासम्म बस्न पर्नु अस्वाभाविक होइन जब दृश्यता खराब हुन्छ।“ बरु उनले वरिपरि घुम्न र स्थानीय ठाउँहरू हेर्न सल्लाह दिए । त्यस्तो कुरा हामीले पहिले कहिल्यै सुनेका थिएनौं। खुलेर भन्नुपर्दा, हामी बाहिर निस्किन लागेका थियौं।

तीन–चार घण्टा लगातार पर्खिएपछि एक कर्मचारीले मुस्कुराउँदै भने – “दृश्यता खुलेको छ, उडान हुन्छ। त्यो खबरले हाम्रो थकित अनुहारमा तुरुन्तै चमक ल्यायो। त्यो क्षण त युद्ध जितेझैँ महसुस भयो। यो चुनौती त हाम्रो पुस्तिकामा नै थिएन । तर, हामीलाई थाहा थियो—अबदेखि चुनौतीहरू आउँदै जान्छन्, र हामी त्यसका लागि बढी तयार थियौं। कहिलेकाहीँ सानो आशाले पनि ठूलो चमत्कार गर्छ।

लामो प्रतीक्षापछि जब सानो विमानले मन्थलीबाट लुक्लातर्फ उडान भ¥यो, त्यो क्षण आफैंमा एक कविता थियो। यो सानो जहाज थियो। मिठाई र कपास पाएर उहिलेकै दिन सम्झना आयो—हामी जहाज चढ्थ्यौं र एयर होस्टेसबाट मिठाइको प्रतिक्षा गथ्र्यौं। अग्ला हिमाल, गहिरा खोल्साहरू र जताततै फैलिएको हरियाली एक चलचित्र झैं।

लुक्ला विमानस्थलमा अवतरण भनेको केवल यात्रा सुरु गर्नु मात्र होइन, आत्मविश्वासको परीक्षा पनि पहाडमाथि उड्दै, संसारकै एक खतरनाक विमानस्थल लुक्लामा पुग्नु रोमाञ्च र त्रासको मिश्रण थियो । जब हामी अवतरण गर्यौं, हामीले बुझ्यौं किन यसलाई संसारको सबैभन्दा खतरनाक एयरपोर्ट भनिंदो रहेछ । सुरक्षित अवतरण हुनु हाम्रा लागि ठूलो सफलता थियो। हामीले एक अर्कालाई बधाई दियौं र पाइलटको लागि ताली समेत बजायौं। हामीलाई लाग्यो यहाँ अवतरण गर्नु नै सगरमाथातर्फको पहिलो विजय हो ।
लुक्लामा थोरै विश्रामपछि हामीले स्थानीय लजमा साधारण तर स्वादिलो खाना खायौं । तातो दालभात, अचार, र चिया । त्यहीँ हामीले हाम्रा चारजना पोर्टरहरूसँग भेट ग¥यौं, जसले हाम्रो भारी बोक्ने जिम्मा लिएका थिए । उनीहरू केवल बोकेको सामान होइन, हामीसँगै सपना बोकिरहेका सहयात्री थिए। ओरालो लाग्दै, डुडे कोशी नदी पार गर्दै, रंगीन प्रार्थना झण्डाले सजिएका झोलुंगे पुलहरू हाम्रो बाटा बनिरहेका थिए। पहाडहरू बोलिरहेझैं लाग्थ्यो– ‘धैर्य गर, यहाँ सौन्दर्य छ, यहाँ संघर्ष पनि ।’

पानीको झरना र हावाको संगीतसँगै साँझ पर्न थालेपछि हामी फाक्दिङ आइपुग्यौं जुन २६५२ मि. उचाईंमा अवस्थित छ । पहिलो रात झिल्किएको तारा हेर्दै, सादा खाना खाँदै, आगो ताप्दै बित्यो। त्यो कुनै साधारण रात थिएन । न निदाउन सजिलो थियो, न उठ्न यद्यपि थकानको गीत सुनाउँदै निदायौं। किनकि भोलि अर्को कथा सुरु हुन बाँकी थियो।

दोस्रो दिन बिहानै हामी फाक्दिङबाट प्रस्थान ग¥यौं । बाटो साँघुरो र उकालो थियो, तर हरेक पाइला प्रेरणाले भरिएका थिए । डुडे कोशी नदीको गर्जन र झण्डै १२५ मिटर अग्लो हिलारी झोलुंगे पुल पार गर्दै हामी मोन्जो पुग्यौं। त्यहाँबाट हामी सगरमाथा राष्ट्रिय निकुञ्ज प्रवेश ग¥यौं जुन युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ । यहाँ प्रवेश गर्दा पर्यटकहरूलाई वातावरणीय जिम्मेवारीबारे सचेत गराइन्छ– यो केवल पदयात्रा होइन, संरक्षणको यात्रासमेत हो । यो खण्ड कठिन थियो– उकालो, पातलो हावा र थकाइ । तर बाटोमा देखिएका प्रार्थना झण्डा, शेर्पा गाउँहरू, र हिमालको झल्कोले थकाइलाई उर्जा बनाउँदै लग्यो । नाम्चे बजार पुग्दा हामी थकित थियौं, तर मन उत्साहित । यद्यपि, हाम्रो एकजना साथी वान्ता र डायरियाले थला परे । उनको अनुहार देख्दा हामीलाई डर लाग्यो । तर नाम्चेको स्वास्थ्य सेवा प्रणाली यति छरितो, व्यवस्थित र मानवीय थियो कि हामी अचम्ममा प¥यौं। स्वच्छ क्लिनिक, अनुभवी स्वास्थ्यकर्मी र तुरुन्त सेवा । यस्तो सेवा प्रायः विकसित देशहरूमा मात्र पाइन्छ भन्ने लाग्थ्यो ।

नाम्चे बजार सगरमाथा क्षेत्रमा रहेको सबैभन्दा ठूलो बजार केन्द्र हो जुन ३४४० मिटर उचाईंमा रहेको छ । यहाँबाट सगरमाथा आधार शिविरको यात्रा गर्ने अधिकांश यात्रुहरू गुज्रन्छन्। तर यो बजार केवल विश्राम गर्ने ठाउँ मात्र होइन, यो एक अद्भुत संस्कृतिको संगम हो । पर्यावरणीय संरक्षणलाई मध्यनजर गर्दै नाम्चे बजारमा नेपालकै दुर्लभ भौतिक सुधार भूमिगत बिजुली लाइन जडान गरिएको छ । यसले हिमाली सौन्दर्यलाई बिग्रन नदिई आधुनिक सुविधा सुनिश्चित गर्छ । ३,४४० मिटर उचाइमा पनि यहाँ वाइ–फाइ, क्याफे, बेकरी र गियर सपहरू सजिलै पाइन्छन्। कहिलेकाहीं लन्डनभन्दा राम्ररी काम गर्ने इन्टरनेट यहाँ पाइन्छ भन्ने यात्रुहरूको भनाइ छ। हरेक शनिबार बिहान यहाँ बजार लाग्छ, जहाँ वरपरका गाउँलेहरू दैनिक आवश्यकता र खाद्यान्न सामग्री किनबेच गर्छन्।

तेस्रो दिन– शरीरलाई उचाइमा समायोजन गराउन अत्यावश्यक दिन थियो । हामीले बिहानै एभरेष्ट भ्यू होटलतर्फ पैदल यात्रा ग¥यौं। करिब ३,८८० मिटर उचाइमा रहेको यो होटलबाट हामीले पहिलोपटक सगरमाथाको स्वर्णिम झल्को देख्यौं – साँचिकै मुटु रोकिने क्षण थियो। त्यसपछि हामी खुम्जुङ गाउँ पुग्यौं। हरिया छाना, सग्ला शेर्पा घर, र बगैंचासँगै उभिएको गाउँ । यहाँको सौन्दर्यले हामीलाई न्यानोपन दियो। गुम्बामा राखिएको ‘यतिको खप्पर’ को कथा सुन्दै हामी शेर्पा संस्कृति र जनजीवनप्रति थप श्रद्धावान भयौं।

खुम्जुङ जाँदा हामीले एउटा अर्को प्रेरणादायी स्थल पनि भेट्यौं – पासाङ ल्हामु शेर्पा प्राविधिक माध्यमिक विद्यालय, जुन नेपालकी पहिलो सगरमाथा आरोही महिलाको सम्झनामा निर्माण गरिएको हो। पासाङ ल्हामुले केवल चुचुरो मात्र जितिनन्, उनले महिला सशक्तिकरण, शिक्षा र समावेशी हिमाली विकासको जग राखिन्।

हाम्रो चौथो दिनको यात्रा नाम्चे बजारबाट सुरु भयो । मनमा सगरमाथाको झल्कोले भरिएको उत्साह, शरीरमा तीन दिनको थकाइ, र आत्मामा अझ अग्लो उचाइ छुने जोश लिएर । आज हामी तेङबुचेतिर लाग्यौं, जुन ३८६७ मिटरको उचाइमा रहेको ठाउँ हो।

सुरुका केही घण्टा समथर र ओरालो बाटो थियो, जहाँबाट आमादब्लम, थामसेरकु, र कुसुम काङ्गरू हिमालको दृश्य अविश्वसनीय देखिन्थ्यो। प्रार्थना झण्डाहरूले सजिएको बाटो, बाक्लो रुखहरू र पाखामा चरिरहेका याकहरूले हाम्रो यात्रा अझ रमाइलो बनाइरहेका थिए । बाटोमा हामीले तस्वीरहरू खिच्दै अघि बढ्यौं। आशिमजीको सेल्फीप्रतिको मोह त हाम्रो रमाइलो कुराकानीको विषय नै बन्यो!

तर ओरालो सकिएपछि सुरु भयो ऊर्जाको परिक्षा– फुंगेथाङ्का झोलुंगे पुल पार गरेर उकालो चढ्ने खण्ड। यो उकालो हाम्रो शरीरलाई मात्र होइन, आत्मालाई पनि परिक्षा लिने ठाउँ थियो। हामी एकअर्कालाई प्रेरणा दिंदै, हौसला बढाउँदै अगाडि बढ्यौं।

पाँचौं दिन हामी ट्याङ्बोचेबाट डिङ्बोचेतर्फ लाग्यौं। डिङ्बोचे ४३५८ मिटरको उचाइमा छ। आजको यात्रा एउटा रूपान्तरणको कथाजस्तै लाग्यो जहाँ बाटो मात्र परिवर्तन भएन, मभित्र केही चलायमान भयो। ट्याङबोचेको बिहान अति शान्त थियो, गुम्बाको आँगनमा उभिएर अमा डब्लाम, थामसेर्कु, र टाढाबाट देखिने ल्होत्से हेर्दै म केही समय मौन बसेँ। त्यति बेला मलाई कुनै तीर्थस्थलमा पुगेजस्तो अनुभूति भइरहेको थियो—कुनै धार्मिकता, कुनै गहिराइ, कुनै अन्तर्यात्रा।

हामी जंगल छिचोल्दै ओरालो लाग्यौं । बाटोमा हरिया रुख, पाइनका गन्ध र हावाको गति शान्त थिए । कहिलेकाँही अचानक घण्टी बज्ने आवाज आउँथ्यो—त्यो याकको झुण्डको सङ्केत हुन्थ्यो। उनीहरूको चाल ढिलो थियो, तर तीव्र निश्चययुक्त—शान्त, शक्तिशाली र अनवरत। थोरै तल झरेपछि खच्चडको एक समूह भेटियो, उनीहरूका पिठ्युँमा चामलका बोरा, ग्यासका सिलिन्डर, र अन्य सामान बाँधिएका थिए। मलाई अचम्म लाग्यो यी पशुहरू बिना त यहाँ जीवन कल्पना गर्न पनि सकिन्न । एक खच्चडको अनुहार हेरेर लाग्यो, ऊ पनि थाकेको छ, तर बोल्न सक्दैन । अनि, हाम्रै बाटोमा देखा परे—ती अद्भूत पोर्टरहरू । सानो जुत्ता, टाउकोमा भारी बाँधिएको नाम्लो, शान्त अनुहार तर तीव्र गती । कतिले ४०–५० किलोभन्दा बढी तौल बोकेका थिए । मैले एक पोर्टरलाई नजिकबाट हेरेँ—घामले पोलिएको अनुहार, पसिनाले भिजेको गन्जी, र आँखामा असीम सहनशीलता। त्यस क्षण मभित्र एक किसिमको सम्मान पैदा भयो—यी मानिसहरू हिमालको मेरुदण्ड हुन्।

फेरेपछिको बाटो खुला हुन थाल्यो, हामी डिङबोचेतर्फ बढ्दै गयौं। चिसो हावा चल्दै थियो, श्वास गह्रौं बन्दै गइरहेको थियो । डिङबोचे पुग्दा म शारीरिक रूपमा थाकिएको थिएँ, तर मानसिक रूपमा एकदमै जागरुक । डिङबोचे खुला मैदानमा फैलिएको, केही काठ र ढुङ्गाका संरचनाले बनेको गाउँ हो। साँझपख बाहिर निस्किएर वरिपरि हेर्दा महसुस भयो—यहाँका हिमालहरु बोल्दैनन्, तर उनीहरूको मौनतामै एक किसिमको शिक्षा छ ।

छैटौं दिन, आज यात्रा होइन भित्रको आफैँसँग संवादको दिन। डिङबोचेमा बस्ने निर्णय शारीरिक आवश्यकता मात्र थिएन, आत्मिक रूपमा पनि आवश्यक लाग्यो। हिजोको यात्रा अलिक डिमाण्डिङ थियो—उचाइको असर विस्तारै महसुस भइसकेको थियो। त्यसैले आजको दिन शरीरलाई हिमाली हावामा अभ्यस्त गराउने, र मनलाई खुला आकाशमा उडाउन दिने।

बिहानको चिया हातमा लिँदै म डिङबोचेको खुला आँगनमा उभिएँ । वरिपरिका हिमशृंखलाहरू जस्ताको तस्तै थिए, तर आज ती अझ नजिक, अझ जीवन्त लागिरहेका थिए । खासगरी अमा डब्लाम, जसलाई म अब “हिमालकी आमा“ भन्न थालेको छु—उहाँको उपस्थितिमा एक किसिमको न्यानोपन छ।

हामी आज एक छोटो हाइकमा गयौं डिङबोचेको माथिल्लो भागतिर, नगार्साङ करिब ५१०० मिटर उचाईंको थियो । माथि पुग्दा श्वास फेर्न गाह्रो भइरहेको थियो, तर त्यहाँबाट देखिएको हिमालयको ३६० डिग्री दृश्यले हामीलाई रोएको जस्तो हर्षित तुल्यायो। उद्देश्य एउटै थियोः शरीरलाई अझ उच्च उचाइको अनुभूति दिनु। बाटो अलिक चट्टानी थियो, श्वास पनि गह्रौं, तर मन एकदम हलुका । उकालो चढेपछि तल डिङबोचे गाउँ हेर्दा लाग्यो—हामी साँच्चै हिमालको काखमा छौं। त्यो क्षण मैले स्वास गहिरो लिएँ र केही बेर आँखा चिम्म गरेर बसें। आज शरीर मात्र होइन, आत्माले पनि विश्राम गरिरहेको थियो।

फिर्ता आएपछि दिउँसो विश्राम गरियो, केही पुस्तकहरू पढियो, साथीहरूबीच हाँसो–ठट्टा भयो। समीयर जी, जनक जीका जोक्सहरूले हाम्रो थकानको घाउ रिकभरी गर्दै थिए। साँझपख भने फेरि म एक्लै बाहिर निस्किएँ—हिउँले ढाकिएका चोटिहरूलाई अन्तिम घामको किरणमा सुनौलो बनिँदै गरेको हेर्न। त्यो दृश्य म जीवनभर बिर्सन सक्दिन। त्यस्तै दिन बेलुका, पदमजीको ५०औं जन्मदिन पनि मनायौं। होटल साहुनीले जन्मदिनको केक र मण्टीहरू व्यवस्थापन गरिदिनु भयो। त्यो सजिलो अनि रमाइलो पनि भयो। हामी प्रायः बेलुका १–२ राउन्ड म्यारिज खेल्ने गथ्र्यौं। यी सबैले हामीलाई दिनभरको थकान मेट्न मद्दत गरेको थियो।

दिन ७ को यात्रा डिङ्बुचेबाट लोबुचेको राही हो। आज बिहान चिया पिउँदै गर्दा मनमा केही चिसो तर गहिरो उत्साह थियो—जसरी बिहानको हावा हिमाली चोटिहरू छुँदै झल्कन्छ, त्यसरी नै मनभित्र एउटा हल्का तर दृढ भावना खेलिरहेको थियोः अब हामी साँच्चै एभरेस्ट बेस क्याम्पको नजिक पुग्दैछौं।

डिङबोचे छाडेर हामी समथर तर विस्तारै उकालो लाग्ने भेग हुँदै अगाडि बढ्यौं। सुरूको एक–दुई घण्टा सहज लाग्यो शरीरले उचाईंलाई केही हदसम्म स्वीकारिसकेको थियो। तर मौसम खुला थियो, आकाश निलो र नीरव, हरेक पाइला एक किसिमको मौन साधना झैं।

आजको बाटोमा मानव जीवनको संघर्ष अझ नजिकबाट देखियो। फेरि ती याकहरू भेटिए, बोरा र भारी बोकेका, शान्त र स्थिर। अनि ती खच्चडहरू, पहाडका राजदूतझैं, सामान ओसारिरहेका। तर सबैभन्दा गहिरो प्रभाव भने ती पोर्टरहरूबाट आयो—साना, दुब्ला शरीर, तर पिठ्युँमा झन् ठूला भारी। कतै–कतै त दुईवटा ग्यास सिलिन्डर बोकेका पोर्टर देखियो। ती अनुहारहरू थाकेका थिए, तर हार खाएका थिएनन्। मभित्र एक किसिमको नम्रता जन्मिएको महसुस भयो—यी मानिसहरूको परिश्रम बिना हाम्रो ‘एडभेन्चर’ अधुरो हुन्थ्यो। बाटोमा पुनः केही याकहरू भेटिए—शान्त, आफ्नो गतिमा। एउटा याकको आँखामा म केही बेर अडिएँ, लाग्यो उसले पनि मलाई हे¥यो। प्रकृतिको यो मौन साक्षात्कार अचम्मको थियो।

बाटो अलिक कठोर हुँदै गयो—पथ चट्टानी र कहिलेकाहीँ साना उकालो। करिब तीन घण्टापछि, हामी थुक्ला पुग्यौं—जहाँ एउटा विशाल स्मारक क्षेत्र छ। यो स्थान ती पर्वतारोहणमा ज्यान गुमाएका साहसीहरूको सम्झनामा बनाइएको हो। म केही बेर त्यहाँ बसेँ, मौन। हरेक पत्थर, हरेक झण्डा, हरेक नामभित्र एउटा कथा थियो—साहस, सपना, र कहिलेकाहीँ अन्तिम सास। ती शिलालेख हेर्दा मन थोरै भिज्यो—यात्रा अब केवल भूगोलको मात्र थिएन, भावना र इतिहासको पनि थियो।

थुक्लाबाट फेरि केही उकालो लागेपछि हामी लुबुचे पुग्यौं। समुद्री सतहदेखि करिब ५ हजार मिटर नजिक, यहाँको हावा साँच्चिकै पातलो छ। सास अलि गह्रौं, शरीर थकित, तर मन अझै पनि अडिग। लुबुचे सानो बस्ती हो—केही टहरा, केही चिया घरहरू, र वरिपरि विशाल पहाडहरूको घेरा।

साँझतिर म फेरि बाहिर निस्किएँ—हिउँले ढाकिएको ल्होत्से पश्चिम, नुप्त्से र अन्य अनाम हिमशृंखलाले मलाई घेरिरहेको थियो। ती क्षणहरूमा म शब्दविहीन थिएँ—केवल सास, धड्कन र ती हिमाली मौनता।

आठौं दिन आज लोबुचेबाट एभरेस्ट बेस क्याम्पतर्फ लागियो। आज बिहान उठ्दा शरीर थकित थियो, तर मन उत्साहले भरिएको—किनभने आज त्यो दिन थियो जुनको सपना मैले वर्षौंदेखि देखेको थिएँ। एभरेष्ट बेस क्याम्प पुग्ने दिन।

लुबुचेको बिहान चिसो थियो, खस्दै गरेको हिउँका झिल्का र उज्यालो झुल्कँदै गरेको ल्होत्से र नुप्त्सेको छायाँले हामीलाई अगाडि बढ्न निम्तो दिइरहेको थियो।
बाटो साँघुरो, चट्टानी, र कहिलेकाहीँ त डर लाग्दो खोंच नजिकै थियो। हामी गोर्खशेपतर्फ बढ्यौं—श्वास गह्रौं हुँदै थियो, तर मन हलुका। बाटोमा फेरि ती याकहरू भेटिए, खच्चडहरू, र ती सदाझैं स्थिर पोर्टरहरू। तर आज म ती सबैभन्दा अलिक पर थिएँ—किनभने मेरो ध्यान त केवल एउटा दिशामा केन्द्रित थियो—बेस क्याम्प।

गोर्खशेप पुग्दा करिब ५,१६४ मिटर उचाइ पुगिसकेको थियौं। अलिक विश्राम गरेर, हलुका खाजा खाई, झोलामा चाहिने मात्र सामग्री बोकेर हामी एभरेष्ट बेस क्याम्पतर्फ लाग्यौं। यो यात्रा कठिन थियो—चट्टानी मार्ग, ग्लेसियरको धार, पातलो हावा। तर यो नै त्यो मार्ग थियो जहाँबाट हजारौं सपनाहरू सुरु हुन्छन्। र, करिब दुई–अढाई घण्टाको कठिन यात्रा पछि—हामी एभरेष्ट बेस क्याम्पमा थियौं। त्यो क्षण म रोकिएँ, मन्द हावामा फर्फराउँदै गरेको प्रार्थनापूर्ण बुद्धिष्ट झण्डाहरू हेरेँ, चट्टानको थुप्रोमा लेखिएको “एभरेष्ट बेस क्याम्प ५३६४ मि” मा हात राखेँ, र गहिरो सास लिएँ। आँखा रसाए तर त्यो खुसीको आँसु थियो।

आफ्नो जीवनका यात्रा सम्झें—काठमाडौँको धुलोबाट सुरु भएको यात्रा, सपना देखेर बढेको साहस, अभ्यास र आत्मविश्वास । त्यो एक क्षणमा लाग्यो—हामी केवल एभरेष्टको फेदमा मात्र होइन, हाम्रो आफ्नै जीवनको एक शिखरमा उभिएको थिएँ । हिमाली हावामा त्यो मौनता… त्यो मौनता शब्दले व्यक्त गर्न सकिन्न । साथीहरू एक–आपसमा अँगालो मार्दै थिए, फोटो खिच्दै थिए, र एक अर्कालाई बधाई दिइरहेका थिए। मचाहिँ केही क्षण मौन रहेँ, केवल सास लिँदै, आफूलाई त्यो वातावरणमा विलीन गर्दै।
एभरेष्ट बेस क्याम्प पुगेर फर्कँदाको त्यो पल्ट साँझ—हामी कालापथ्थरतर्फ सोझियौं । अधिकांश ट्रेक्करहरू भोलिपल्ट बिहान जान्छन्, तर हामीले निर्णय गर्यौं आजै जाने, एभरेष्टको सूर्यास्त हेर्ने। हामी मध्ये दुईजना साथी होटलमा नै जानु भयो।

शरीर थाकेको थियो । हिउँ, ढुङ्गा, पातलो हावा, र निरन्तरको उकालो चढाइले हाम्रो गोडा अविश्वसनीय रूपमा भारी बनिसकेको थियो । अझ, बिहान लुबुचेको हिँडाईदेखि हालसम्म खासै खाना खाएका थिएनौँ—केही चकलेट बार र सानो स्न्याक्स मात्र थियो। पेट खाली थियो, तर मन? त्यो त भरिएको थियो—उत्साह, दृढता, र सपनाले । कालापथ्थरको बाटो साँच्चै नै चुनौतीपूर्ण थियो। हामी विस्तारै अघि बढ्यौं, एक अर्कालाई हौसला दिँदै। प्रत्येक पाइला आत्मबलको अभ्यास झैं थियो। कहिलेकाहीँ लाग्थ्यो—’बस्, यतिमा पुग्यौं होला’, तर त्यो विचारलाई मनमै दबाएर फेरि एउटा पाइला अगाडि…र, अन्ततः—कालापथ्थरको टुप्पो! करिब ५,५५० मिटरको उचाइमा हामी उभिएका थियौं। अगाडि थिइन् एभरेष्ट, नुप्त्से, ल्होत्से।

सूर्य पश्चिमतिर झर्दै थियो, र उसका सुनौला किरणहरू सगरमाथाको टुप्पोमा झल्किरहेका थिए । त्यो दृश्य जीवनभर बिर्सन नसकिने थियो । पूरा आकाश हल्का गुलाबी, पहेंलो र सुनौलो रंगमा रंगिएको थियो। सगरमाथा सधैंको जस्तो टाढा लाग्ने, तर आज अति नजिक महसुस हुने। चरम चिसो, आँधी, भोक अनि थकाइको बाबजुद हामी उभियौं – सगरमाथाको सूर्यास्त हेर्दै। हामी थकित थियौं—शरीरले लगभग हार मानेको थियो । तर, त्यो दृश्यले हामीलाई अर्को स्तरको ऊर्जा दियो। तस्विरहरू खिच्यौं, केही बोल्यौं, धेरै मौन बस्यौं। कहिले काहीँ मौनताले शब्दभन्दा धेरै कुरा गर्छ।

काठमाडौँ फर्कनु साँच्चै एक असाध्यै राहतदायी अनुभव थियो । १० दिनको कठिन यात्रापछि, जहाँ हामीले आफ्नो हिम्मत र सहनशक्ति परीक्षण गरेका थियौं, काठमाडौँको शान्त र सुरक्षित माहौलमा फर्कनाले मनलाई एकदम शान्ति दियो। हाम्रा पाइला, जो हरेक कदमसँग थाकेका थिए, अब आरामसँग विश्राम गर्न सके। त्यो थकान र दुःखकाबीच, काठमाडौँमा फर्किंदा यो सबैको सार्थकता महसुस भयो। हामीले जसरी हरेक दिनको कठिनाइ र संघर्षलाई पार गर्दै एभरेष्ट बेस क्याम्पको बाटो तय गर्यौं, त्यसले हामीलाई जीवनको ठूलो पाठ सिकायो—कठिन यात्रामा सधैं एक दिन आउँछ, जब तिमी आफ्नो लक्ष्यको नजिक पुग्नेछौं। हरेक कदम, हरेक कठिनाई हाम्रो समर्पण र मेहनतको प्रमाण थियो।

हाम्रो पहिलो दिनको यात्रा जस्तै, काठमाडौँ फर्कनका लागि हाम्रो उत्साह कम थिएन । हामीलाई चिन्ता थियो कि हेलिकोप्टर समयमा आउला कि आउँदैन। भगवानको कृपाले हेलिकोप्टर समयमै आइपुग्यो र हामीलाई बिहान काठमाडौँ पुरयायो । काठमाडौँ फर्कनु एकदमै राहतदायी अनुभव भयो। त्यसपछि हामी सबै एउटै होटेलमा बसेर हाम्रो सफलता मनाउने निर्णय गर्यौं। युवाजीलाई यहाँको लिड गर्न भन्यौं। थामेलमा बस्यौं र साउना, स्टिम र मसाज गरेपछि हामीलाई धेरै राहत भयो। १० दिन देखि ननुहाएको शरीर नुहाउन पाउँदा धेरै रिलिफ भयो । त्यसपछि हामी लन्च खाएर न्यूरोडतर्फ घुम्यौं र सांझ दोहोरीमा रम्यौं। हामीले त्यो सांझ उत्सव सांझका रूपमा मनायौं। त्यसपछि मात्रै आ–आफ्नो ठाउँतर्फ बिदा भयौं।

हामीलाई थाहा थियो कि यो यात्रा सरल थिएन, तर हामीले पार गर्यौं। अब हामी सबै एकसाथ भेला भएर, हाम्रो कठिन परिश्रम र संघर्षको उत्सव मनाउन तयार थियौं। यस सफलताले हामीलाई थप बल र प्रेरणा दियो कि कुनै पनि सपना साकार गर्नका लागि मेहनत र समर्पणको आवश्यकता पर्दछ। यस यात्रा जस्तै, जीवनका सबै चुनौतीहरू पार गर्दा अन्ततः हामी आत्मविश्वास र गर्वसँग अघि बढ्न सक्छौं।

सगरमाथा यात्राबाट जीवनमा उत्रन सकिने पाठहरू
१. ‘Slow is smooth, and smooth is fast’– यो सेनाको उक्ति हो तर हिमालमा पनि उत्तिकै लागू हुन्छ। सगरमाथाको यात्रा केवल उचाइ चढ्नको मात्र चुनौती होइन, यो एक आन्तरिक यात्रा हो जहाँ हरेक पाइला सोचेर चाल्नु पर्छ। हिमालका ती तीव्र मार्गहरू, चिसो हावा र हतार नगर्ने वातावरणले हामीलाई धैर्य र सजगताको महत्व सिकाउँछ।

हिमाल कुनै दौडको मैदान होइन; यो आत्मखोज र शारीरिक र मानसिक दृढता परीक्षण गर्ने यात्रा हो। हामीलाई कहिलेकाहीं लाग्न सक्छ कि अर्को साना कदमले हाम्रा लक्ष्यलाई छुन सहयोग पुरयाउनेछ, तर साँचो कुरा भनेको यात्रा सँगसँगै बढ्नु हो, गाह्रो भए पनि प्रत्येक क्षणको कदर गर्दै अघि बढ्नु हो।

उचाइमा गति होइन, धैर्यता सबैभन्दा ठूलो औषधि हो। हामीलाई थाहा थियो कि यदि हामीले आफूमाथि दबाब राख्यौं भने, हाम्रो शरीर र मन दुवै थाक्न थाल्नेछन्। तर जब हामी विस्तारै हिँड्यौं र हरेक पाइला सजग भएर चाल्यौं, तब हामीलाई थाहा थियो कि हामी सही दिशामा अघि बढिरहेका छौं। गति नभए पनि, विस्तारै हिँड्दा हामीले हाम्रो शरीरको संकेत सुन्न सक्यौं र ऊर्जा बचाएर अघि बढ्यौं।

सगरमाथामा सफलताका लागि जित्ने मात्र होइन, सही तरीका अपनाउनु पर्छ। यदि तपाईंले आफूलाई सुन्न सक्नुभयो भने, तपाईं अगाडि बढिरहनुभएको हुन्छ – चाहे त्यो विस्तारै किन नहोस्। प्रत्येक पाइला सचेत, धैर्यपूर्ण र आत्मविश्वासका साथ चाल्नुपर्छ, र यति गर्दा यात्रा तपाईंको लागि सफल र अर्थपूर्ण बन्नेछ।

२. तयारी नै सफलता हो
‘By failing to prepare, you are preparing to fail.’ – Benjamin Franklin

सगरमाथाको यात्रा केवल शरीरको मात्र होइन, मनको पनि परीक्षा हो । यस यात्रामा, शारीरिक तयारीभन्दा पनि मानसिक र भावनात्मक तयारी महत्त्वपूर्ण हुन्छ। तपाईँलाई हरेक चुनौतीसँग जुध्नको लागि मानसिक मजबूती र समर्पण आवश्यक पर्छ। सगरमाथा जस्तो कठिन यात्रा गर्दा, केवल तयारी नगरी अघि बढ्नु भनेको असफलताको मार्गमा जानु हो। त्यसैले आफूलाई मानसिक, भौतिक र भावनात्मक रूपमा तयार पार्नु पर्छ।

जुत्ता फेरेर एक दिनमा यात्रा सफल हुँदैन – तपाईँले हरेक तयारीमा आत्मविश्वास बोक्नुपर्छ। शारीरिक तयारीका साथसाथै मानसिक दृढता र आत्मविश्वास पनि हुनुपर्छ। यस यात्रामा तपाईँको मानसिकता र तयारी नै तपाईँको सफलता र असफलताको कागज पत्र हुनेछ।

तपाईँले यात्रा शुरू गर्नु भन्दा पहिले न्यूनतम ३ हप्ता अघिदेखि हिँड्ने अभ्यास सुरु गर्नु अत्यन्त आवश्यक छ। हरेक दिन ५–७ किमी हिँड्ने बानी बसाल्नुहोस्। सानो झोला बोकेर हिँड्ने अभ्यासले तपाईँको शरीरलाई अनुकूल बनाउँछ र यात्रा गर्नको लागि आवश्यक शारीरिक सुसज्जता प्रदान गर्दछ। यस अभ्यासले तपाईँलाई मानसिक रूपमा पनि तयार बनाउँछ, जसले गर्दा यात्रा दौरानका कठिनाइहरूको सामना गर्न सजिलो हुन्छ।

तसर्थ, तयारी बिना कुनै ठूलो चुनौतीको सामना गर्नु असम्भव हुन्छ। ‘सगरमाथा’ जस्तो ठूलो पर्वतसँग जुध्नका लागि तयारी गर्नु एकदमै महत्त्वपूर्ण छ – शारीरिक र मानसिक दुवै तयार पार्नुपर्छ।

स्वास्थ्यः शक्ति र सीमा दुबै बुझ्नुहोस्
सगरमाथाको यात्रा गर्दा, स्वास्थ्य केवल हाम्रो लक्ष्य प्राप्ति गर्ने साधन मात्र होइन, यो हाम्रो सुरक्षा र यात्रा को सफलता सुनिश्चित गर्ने आधार हो। उचाइमा हिँड्दा, हाम्रो शरीरका शक्ति र सीमाहरू बीचको भेद स्पष्ट हुन थाल्छ। यो कुनै नायकत्व प्रदर्शन गर्ने ठाउँ होइन, यो सजगता र समर्पणको माध्यम हो। शरीरले दिएको संकेत र चेतावनीलाई सुन्नु र यसका आधारमा निर्णय गर्नु अत्यन्त महत्त्वपूर्ण छ।

जब हामी उचाइमा बढिरहेका थियौं, हाम्रो शरीरले विभिन्न प्रकारका संकेतहरू दिन थाल्यो – कहिले अक्सिजनको कमीका कारण श्वासमा गाह्रो, कहिले घाँटी दुखाइ, र कहिले कमजोरी र थकान। यस्ता परिस्थितिहरूमा, हामीले स्वास्थ्यको महत्वलाई बुझ्न थाल्यौं। हाम्रो यात्रामा हामीसँग आवश्यक औषधिहरू जस्तै अक्सिमिटर, एनर्जी ट्याब्लेट, र पेनकिलर हरदम भएका थिए। यी औषधिहरू केवल सहयोगी थिएनन्, उनीहरू अनिवार्य थिए। शारीरिक स्वास्थ्यलाई प्राथमिकता दिनु र शरीरको आवश्यकता अनुसार औषधि प्रयोग गर्नु हाम्रो यात्रा सफल र सुरक्षित बनाउनका लागि अत्यन्त आवश्यक थियो।

स्मरणीय कुरा यो हो कि जब शरीरको संकेतलाई वेवास्ता गरिन्छ वा अन्धो भएर यात्रामा अडिग रहिन्छ भने, त्यसले हाम्रो जीवनको ठूलो जोखिम बढाउँछ। सगरमाथा जस्तै ठूलो र शक्तिशाली पर्वतसँग संघर्ष गर्नु भनेको प्राकृतिक शक्तिहरूसँग तालमेल राख्नु हो। ‘The mountain doesn’t care who you are; respect it, and it might let you in’ भन्ने भनाइले यसै सन्देशलाई स्पष्ट गर्छ। पर्वत हाम्रो शक्ति र शौर्यको कदर नगर्ने हुन्छ, तर यदि हामी यसको सम्मान गर्दै, यसको सीमाहरू बुझेर अघि बढ्ने हो भने त्यो हामीलाई मार्गदर्शन दिन्छ र हामीलाई सुरक्षित राख्छ।

त्यसैले, स्वास्थ्यको सवालमा हामीले आफूलाई सजग राख्नुपर्छ। हाम्रो शक्ति र सीमाको पहिचान गर्नुपर्छ, र शरीरले दिनेका संकेतहरूलाई सुन्नुपर्छ। यो यात्रा केवल शारीरिक साहसको कुरा होइन, यो स्वास्थ्य र सजगता बुझ्न र आफ्नो सीमा र शक्तिबीच सन्तुलन राख्ने कुरा हो।

पोर्टर र गाइडप्रति सम्मान राख्नुहोस्


एभरेस्ट बेस क्याम्प (इबीसी) जस्तो कठिन यात्रा गर्दा हामीले अनुभव गर्यौं कि पोर्टर र गाइडहरूको भूमिका केवल सामान बोकेको र बाटो देखाउने भन्दा धेरै ठूलो हुन्छ। उनीहरू हाम्रो यात्रा साथी मात्रै होइन, उनीहरू नै हाम्रो सुरक्षा र भलाइका अभिभावक हुन्। प्रत्येक पाइला पार गर्दै उनीहरू हाम्रो लागि एक महत्वपूर्ण सहारा बन्ने गर्छन्।

जब हामी उच्च उचाइमा हिँड्दै थियौं, तब पोर्टर र गाइडहरूको साहस र कठिन श्रमले हाम्रो यात्रा सहज र सुरक्षित बनायो। ती व्यक्तिहरू जसले हाम्रो लादिएको भारी बोकेर हिँडिरहेका थिए, उनीहरूको कसम तपाईंलाई कहिल्यै थाहा नहुने गहिरो अनुभव थियो। उनीहरू हाम्रो आत्मबलको साँचो स्रोत थिए, जसले हामीलाई कठिनाइका बेला हिम्मत दिए, र रचनात्मक तरिकामा हामीलाई मार्गदर्शन गरिदिए।

गाइडहरू, जसले केवल बाटो देखाउने मात्र गर्दैनन्, उनीहरूले हामीलाई मानसिक रूपमा पनि तयार पार्थे। हामी कहिलेकाहीं थकित र निराश महसुस गथ्र्यौं, तर उनीहरूको प्रेरणादायक शब्दहरूले हामीलाई हर कदममा उत्साहित बनायो। उनीहरूले हाम्रो मानसिक र शारीरिक दुर्दशामा सहारा पुरयाए र हामीलाई सम्झाए कि के हामी यो यात्रा पूरा गर्न सक्दैनौं।

पोर्टर र गाइडहरूको काम केवल भारी बोक्ने र मार्गदर्शन गर्ने होइन, उनीहरू हाम्रो सुरक्षा र स्वास्थ्यमाथि पनि निरन्तर ध्यान राख्छन्। उचाइका कारणले गर्दा शारीरिक समस्याहरू आउने जोखिम बढेको थियो, तर ती पोर्टर र गाइडहरूले सधैं हामीलाई सुरक्षा दिन र समस्या समाधान गर्ने उपायहरू सुझाउनुभयो।

यस यात्रामा हामीले गहिरो सम्मान र इज्जत पाउन लायक ती सबै मानिसहरूको कदर गर्न थाल्यौं। उनीहरूको कठिन परिश्रम र समर्पण बिना, यो यात्रा सफल हुनु असम्भव थियो। त्यसैले, पोर्टर र गाइडहरूलाई केवल कामदारको रूपमा होइन, तपाईंका साथी र मार्गदर्शकको रूपमा सम्मान गर्नु आवश्यक छ। उनीहरूको योगदान र उपकारको कदर गर्नु र इज्जत गर्नु हामी सबैको कर्तव्य हो।

५. खानपान सजगताः शाकाहारी विकल्प अपनाउनुहोस्

उचाईंमा यात्रा गर्दा हाम्रो शरीरको पाचन प्रणाली पनि धेरै चुनौतीपूर्ण स्थितिमा हुन्छ। हावा पातलो भएर शरीरलाई अक्सिजनको कमी हुने स्थिति हुँदाखेरि हामीले खाएको खाना सजिलो पच्ने र शरीरलाई सजिलो लाग्ने हुनु आवश्यक छ। यस समयमा, हामीलाई पाचन समस्या र अन्य स्वास्थ्य समस्याबाट बच्नका लागि सही खानपान चयन गर्नु अत्यन्त महत्त्वपूर्ण थियो।

मासु विशेष गरी उच्च उचाइमा, पर्याप्त रूपमा पकाइएको नहुन सक्छ र यसका कारण स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ। उच्च उचाइमा मासु प्रायः सजिलै राम्रोसँग पकाइन्न, जसले गर्दा संक्रमणको खतरा बढ्न सक्छ। यी कारणले गर्दा, हामीले शाकाहारी विकल्पहरूलाई प्राथमिकता दिन थालेका थियौं। शाकाहारी भोजनहरूले हाम्रो शरीरलाई आवश्यक पोषण भने दिइरहेका थिए, साथै यो सजिलो पच्ने र हाइजीनको हिसाबले पनि सुरक्षित थियो।

शाकाहारी खाना जस्तै, दाल, चिउरा, आलु, सागपात र फलफूलका विकल्पहरूले हाम्रो शरीरलाई आवश्यक ऊर्जा र पोषण दिन्थे। यी खाना सजिलै पच्ने भएकाले शरीरलाई थकान कम गर्ने र उचाइको चुनौतीहरूको सामना गर्न बलियो बनाउन सहयोग पुर्याउँथे।

साथै, शाकाहारी भोजनमा कम प्रोटिन र मासु भन्दा कम तैल हुन्छ, जसले गर्दा शरीरलाई बढी सजिलो र हल्का अनुभव गराउँछ । यस प्रकारको खाना हाम्रो पाचन प्रक्रियामा कुनै गडबडी नगरीकन शरीरलाई उत्साही र ताजगी प्रदान गरिरहन्थ्यो।

तसर्थ, उच्च उचाइमा यात्रा गर्दा खानपानमा सजगता अपनाउनु अत्यन्त महत्त्वपूर्ण हुन्छ। शाकाहारी विकल्प अपनाउने निर्णय हाम्रो शारीरिक स्वास्थ्यको लागि महत्वपूर्ण थियो, जसले गर्दा हामी यात्रा दौरान राम्रो स्वास्थ्य र ऊर्जा स्तरमा रहन सकेका थियौं। यो हाम्रो अनुभवको एक प्रमुख सिकाइ थियो – शुद्ध, पोषणयुक्त र सजिलो पच्ने खाना हाम्रो सफल यात्राको एक गहिरो हिस्सा बन्यो।

६. पानी र मिनरलः यात्रा साथी
उचाइमा यात्रा गर्दा हाम्रो शरीर विभिन्न किसिमका शारीरिक परिवर्तनहरू भोग्छ। यसको मुख्य कारण भनेको कम अक्सिजन र शरीरको उच्च उचाइमा उचित हाइड्रेशन र खनिजको कमी हो। पानी मात्र तिर्खा मेटाउने साधन होइन, यो जीवन रक्षाको एक महत्वपूर्ण साधन हो, जसले हाम्रो शारीरिक र मानसिक स्थिति सन्तुलित राख्न मद्दत पुर्याउँछ।

उचाइमा यात्रा गर्दा, हावा पातलो हुँदै जान्छ र हाम्रो श्वासप्रश्वासमा कठिनाइ आउन सक्छ। यस कारणले शरीर छिटो सुक्न थाल्छ र हाइड्रेशनको आवश्यकता अत्यधिक हुन्छ। यदि हामी पर्याप्त पानी पिउँदैनौं भने यसले डिहाइड्रेसन, थकान, ज्वरो, र अन्य शारीरिक समस्याहरू उत्पन्न गर्न सक्छ। त्यसैले, पानीको महत्व यस यात्रामा अत्यन्तै ठूलो थियो।
यात्राका हरेक मोडमा हामीलाई पानीको आवश्यकता थियो नै, तर तातो पानीको मूल्य भने लगातार बढ्दै जान्थ्यो। विशेषतः जब हामी उचाइमा जान थाल्यौं, पानीको मूल्य पनि साथै बढ्दै गयो। पिउन योग्य तातो पानीको मूल्य थर्मसको आधारमा रू. ८०० देखि २३०० सम्म पर्न सक्थ्यो, र जति माथि जान्थ्यौं, पानीको मूल्य पनि त्यसैअनुसार महँगो हुँदै जान्थ्यो।

यात्रा गर्दा, पानी केवल तिर्खा मेटाउने कुरा होइन, यो हाम्रो शारीरिक स्वास्थ्यको रक्षामा पनि महत्त्वपूर्ण भूमिका खेल्छ। हामीले त्यहाँका होटेल र गाइडहरूबाट पाइने तातो पानीमा खनिज मिसाइएको पानीको पनि महत्त्व बुझ्यौं, जसले शरीरमा भएको खनिजको सन्तुलनलाई सुधार्न मद्दत पुर्याउँथ्यो। यसले हाम्रा मांसपेशीहरूलाई सन्तुलित राख्न र थकान कम गर्न मद्दत पुर्याउँथ्यो।

‘Water is life – especially when the air is thin and the path is steep’ भन्ने भन्ने भनाइ हाम्रो यात्रामा यथार्थ सावित भयो। त्यसैले, केवल पानी पिउनु मात्र होइन, पानीको साँचो मूल्य बुझ्नु र सही समयमा पिउनु पनि महत्त्वपूर्ण थियो। उचाइमा, शरीरलाई हाइड्रेटेड राख्नु भनेको जीवन रक्षा गर्नु जस्तै थियो। यस कारण पानी र मिनरल हाम्रो सबैभन्दा महत्वपूर्ण यात्रा साथी बने।

७. टिमवर्क – आत्मवलको आर्जन
सगरमाथाको यात्रा केवल व्यक्तिगत लक्ष्य होइन – यो सामूहिक उचाइ हो। यस यात्रामा हरेक कदमको सफलतामा केवल हाम्रो व्यक्तिगत परिश्रम मात्र होइन, साथीहरूको साथ र सहयोग पनि महत्वपूर्ण थियो। हाम्रो एभरेष्ट बेस क्याम्प (इबीसी) को यात्रा, जसले हामीलाई शारीरिक र मानसिक रूपमा चुनौती दिइरहेको थियो, त्यहाँ थकान र कठिनाइलाई पार गर्नका लागि टिमवर्कको शक्तिको महत्त्व अत्यन्त स्पष्ट भयो।

हामीमध्ये हरेकजनाले आफ्नो सीमा र साहसको परीक्षण गर्दै थिए, र कतिपय समयमा थकाइ र शारीरिक कमजोरिताले हामीलाई पन्छाउन खोजे। तर, त्यसै बेलामा अर्को साथीको साथ र प्रेरणाले हामीलाई अगाडि बढ्न हिम्मत दियो। जब कुनै एकजनाले धैर्य गुमाउँथे, त्यसको ठीक विपरीत अर्कैले उसलाई हिम्मत र उत्साह दिन्थे। टिमवर्क मात्र शारीरिक बलको कुरा छैन, यो आत्मबलको आर्जनको कुरा पनि हो।

जुनबेला एकजनाले थकाइ महसुस गर्दै हिँड्न गाह्रो भइहाल्थ्यो, अर्को साथीले उत्साहित पार्ने शब्दहरू भनिदिन्थे, ‘हामी एकसाथ छौं, केही छैन, अगाडि बढौं ।’ यस्ता शब्दहरूले हामीलाई नयाँ उर्जा र जोश प्रदान गर्थे। यो यात्रा केवल हिँड्ने मात्र थिएन, यो एकअर्कामा विश्वास राख्ने, समर्थन गर्ने, र सामूहिक लक्ष्यतर्फ अघि बढ्ने एउटा सामूहिक प्रयास थियो।

सम्भवतः हामीले व्यक्तिगत रूपमा त्यो कठिन यात्रा पार नगरेका हुने थियौं, तर एकसाथ हामीले त्यो ठूलो उद्देश्यलाई पूरा गर्न सक्यौं। हाम्रो यात्रा भन्दा बढी, यो यात्रा हाम्राबीचको विश्वास र समर्पणको एउटा प्रतीक बन्यो। हामीले बुझ्न सकेका थियौं कि कुनै पनि लक्ष्य तब मात्र पुरा गर्न सकिन्छ जब हामी एक अर्कामा सहारा र विश्वास राख्छौं।

८. रमाइलो गर्नुहोस् – हाँसो र गीत बोकिनुहोस्
हाम्रो एभरेस्ट बेस क्याम्प यात्राको क्रममा हामीले धेरै कठिनाइहरूको सामना गर्यौं, तर साथीहरू बीचको हाँसो र रमाइलोले हामीलाई हरेक चुनौतीलाई सजिलो बनाउन मद्दत गरयो ।

हामीलाई थाहा थियो कि शारीरिक थकान, उचाइको समस्या र लामो यात्रा सबै एक साथ सामना गर्नु भनेको ठूलो चुनौती हो। तर त्यसैबीच समीयर जी र जनकजीका जोक्सले हाम्रो मनलाई हलुका बनायो क्ष् हामी एकअर्कासँग रमाइलो गरेर, गाना गाएर, र खेल खेल्दै, हाम्रो यात्रा थप रमाइलो बनाउँदै जान थाल्यौं। एभरेष्ट बेस क्याम्पको यात्रा केवल शारीरिक यात्रा मात्र थिएन, यो हाम्रो मानसिक र भावनात्मक यात्रा पनि थियो। हामीले थाहा पाएका थियौं कि केवल कठिनाइहरूको सामना गरेर मात्रै गन्तव्यसम्म पुग्न सकिन्छ, तर एक–अर्काको साथ र हाँसोले यात्रा थप रमाइलो र सम्झनायोग्य बनाउँछ।

१०. फर्किएपछि – सम्झनाहरू बाँड्नुहोस्

यसले नेपाली पर्यटनमा पनि मद्दत पुरयाउनेछ। तपाईंको अनुभव र यात्रा साझा गर्दा अन्य पर्यटकहरूलाई नेपालका अनौठो स्थानहरूको बारेमा जानकारी मिल्नेछ। यसले नेपाली पर्यटनलाई प्रोत्साहन दिनेछ र विश्वभरिका मानिसहरूलाई नेपालमा आउने आकर्षणको अवसर दिन्छ। साथै, तपाईंको गाइडका अनुभवहरूले नयाँ आगन्तुकलाई राम्रो यात्रा तयारी र मार्गनिर्देशनमा मद्दत पुरयाउनेछ, जसले नेपाली पर्यटन उद्योगलाई अझ सशक्त बनाउनेछ।

अन्त्यमा…
यो यात्रा केवल हिमालसम्मको थिएन – यो आत्मासम्मको थियो। हामीले देख्यौं कि इच्छा, तयारी, साथ, र संयमले असम्भवजस्तै लाग्ने कुरा पनि सम्भव हुन्छ।

यदि तपाईं सगरमाथा आधार शिविरको यात्रामा जान चाहनुहुन्छ भने जानुहोस्। डर होइन, भरोसा बोकेर जानुस् । ती पाइलाहरू केवल उकालो होइनन् – ती तपाईंको जीवनका गौरव हुन्। ‘सपना देख्न नडराऔं – अनि त्यसलाई पूरा गर्न झनै नडराऔं !’

-डा. हरिश ज्ञवाली

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register