श्याम बेनेगल : जसले समानान्तर ‘आर्ट सिनेमा’लाई नै ‘मूलधार’ बनाए

आर्थिक असमानता, वर्गीय सङ्घर्ष र सामाजिक शोषणलाई आफ्ना सिनेमामा उतार्ने भएकाले कतिपयले उनलाई ‘कम्युनिष्ट’ ठान्थे । यसबारे उनको भनाइ थियो – ''म कम्युनिष्ट हैन, यथार्थवादी सिनेमा बनाउने प्रयास गरेको मात्र हुँ ।''

Dec 24, 2024 - 10:59
 0
श्याम बेनेगल : जसले समानान्तर ‘आर्ट सिनेमा’लाई नै ‘मूलधार’ बनाए

काठमाडौं सन् १९५० को दशकमा भारतीय सिनेमालाई दुई धारमा वर्गीकरण गर्न थालिएको थियो । मूलधार मानिने ‘बम्बैया’ सिनेमालाई ‘कमर्सियल फिल्म’ भनिन्थ्यो । सिनेकर्मको अर्को धारको केन्द्र कोलकाता अर्थात् त्यतिखेरको ‘कलकत्ता’ बनेको थियो ।

कलकत्ताका बङ्गाली भाषा र कथावस्तु केन्द्रित सिनेमालाई वैकल्पिक, समानान्तर वा ‘आर्ट सिनेमा’ भनिन्थ्यो । सत्यजित रे, मृणाल सेन, ऋत्विक घातक, तपन सिंह, विमल रोय आदि अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित सिनेकर्मी यो धारका प्रवर्तक थिए । यी लेखक, निर्देशक तथा निर्माता सिनेमामा कला साहित्यको ‘यथार्थवादी’ धारा स्थापित गर्न चाहन्थे । तत्कालीन सामाजिक यथार्थको धरातलमा उभिएर सिने काललाई पस्किन र परिष्कृत गर्न चाहन्थे ।

सिने जगतमा समानान्तर यथार्थवादी धार जन्मिनुका कारण प्रष्ट र बुझिने थिए । बम्बैया मूलधार सिनेमाले यौन, प्रेम, रहस्य, जादुगरी, परिहास, द्वन्द्व, जासुसी, चमकधमक र चकाचौधजस्ता विषयवस्तु पस्किरहेका हुन्थे । सामाजिक यथार्थ र मानवीय भावनाको अतिरञ्जना र व्यावसायिक सफलताको प्राथमिक आकाङ्क्षा यस्ता सिनेमाको मुख्य गुण हुन्थ्यो ।

समानान्तर सिनेमा भने ‘सामाजिक यथार्थ’ बाट प्रभावित हुन्थे । राष्ट्रको ऐतिहासिकता र समाजको यथार्थलाई जस्ताको त्यस्तै चित्रण गर्न चाहन्थे । यो काम व्यावसायिक रुपमा जोखिमपूर्ण थियो । किनकि यस्ता सिनेमाका दर्शक थोरै हुन्थे । लगानी उठने/नउठ्ने निश्चित हुँदैनथ्यो । तसर्थ यस्ता सिनेमा सकेसम्म कम बजेटमा बनाउने प्रयत्न गरिन्थ्यो ।

आर्ट सिनेमालाई सानो बजेटका सिनेमा पनि भन्ने गरिन्थ्यो । यसका दर्शक औसत शास्त्रीय कला, साहित्य र सङ्गीतमा रुचि राख्ने मध्यम वर्गिय शिक्षित हुने गर्दथे । युवा र किसान–मजदुर वर्गका दर्शकको आकर्षण भने मूलधारकै सिनेमातिर हुन्थ्यो ।

बम्बैया सिनेमाको अर्को आकर्षण ‘व्यावसायिक सङ्गीत’ हुन्थ्यो । सुमधुर र कर्णप्रिय गीतद्वारा सिनेमालाई सजाउने र ‘म्युजिकल्ली’ अद्धितीय रुपमा सजाउने चाहना मूलधारका सिनेकर्मीमा प्रबल थियो, यद्यपि छ । समानान्तर सिनेमाले भने शास्त्रीय र लोकसङ्गीतको प्रयोग धेरै गर्थ्यो । साथै, सङ्गीतलाई व्यावसायिक सफलताको मानकबाट नभएर यथार्थवादी औचित्य र आवश्यकताको आधारमा प्रयोग गरिन्थ्यो ।

सन् १९७० को दशकमा यस्तो समानान्तर सिने धारका सबैभन्दा अग्रणी निर्माता/निर्देशक बन्न पुगे – श्याम बेनेगल । उनको परिवार नै सिनेमाप्रति विशेष रुचि राख्थ्यो । उनका पिताले घरमै प्रोजेक्टर राखेर हरेक आइतबार गाउँलेलाई सिनेमा देखाउने गर्थे ।

सिनेमाप्रतिको बेनेगलको रुचि बाल्यकाल देखिकै हो, तर जवान बेनेगलको काँधमा तत्कालको सीमान्तकृत र जोखिमपूर्ण सिनेधारलाई अघि बढाउनु पर्ने जिम्मेवारी आयो । श्याम बेनेगल भने यो धारका अग्रजझैँ ‘बङ्गाली’ नभएर ‘कर्नाटकी’ थिए ।

सन् १९३४ मा जन्मिएका बेनेगलले २५ वर्षको उमेरमा हैदराबादबीच मुम्बई आएर विज्ञापन एजेन्सीका लागि स्क्रिप्ट लेख्न थालेका थिए । सन् १९६२ मा उनले बनाएको पहिलो डकुमेन्ट्री फिल्म गुजराती भाषाको थियो ।

सन् १९६६–१९७३ सम्मको ७ वर्ष उनी पुने इन्स्टिच्युटका विद्यार्थी बने । ठूलो पर्दाको सिनेमा बनाउनुअघि उनले ९ सयभन्दा बढी विज्ञापन र ७० भन्दा बढी डकुमेन्ट्री बनाइसकेका थिए ।

बेनेगलको पहिलो ठूलो पर्दाको सिनेमा सन् १९७३ को ‘अङ्कुर’ हो । उनले यस सिनेमाका लागि नायक–नायिकामा दुबै नयाँ कलाकार अनुबन्ध गरेका थिए – अनन्त नाग र शबाना आजमी । नाग पछि कन्नड सिनेमाका ठूला स्टार बने, आजमीले हिन्दी सिनेमामा अभिनेत्रीका रुपमा एक भिन्न र सफल छवि निर्माण गरिन् । यो सिनेमाको अधिकांश सुटिङ बेनेगलले गृहनगर हैदराबादमै गरेका थिए ।

यस सिनेमामा उनले हैदराबाद वरिपरिको ग्रामीण परिवेश, जमिनदारी प्रथा, बालविवाह, दलित महिलाको दर्दनाक स्थिति, धार्मिक अन्धविश्वास र यौन शोषणजस्ता विषयलाई उतारेका थिए ।

अङ्कुरको अन्तिम दृष्यमा लक्ष्मी बनेकी शबाना आजमीको छोराले जमिन्दारको घरतिर फर्किएर ढुङ्गा हान्छ । दलित महिला लक्ष्मीले आफ्नो पतिबाट सन्तान जन्माउन असमर्थ भएपछि जमिन्दार पुत्रबाट गर्भधारण गर्छे तर, उसको पति भने देवीले पत्नीको मनोकाङ्क्षा पूरा गर्दिएको ठान्दै मन्दिरमा लड्डु चढाउन जान्छ । तत्कालीन सामन्ती परिवेशमा यस्ता कथा अस्वाभाविक थिएनन् ।

त्यसपछि उनले निशान्त, मन्थन, भूमिकाजस्ता फरकधारका सिनेमा बनाए । नसरुद्दिन शाह, स्मिता पाटिल, ओम पुरी, अमरिश पुरीजस्ता धेरै कलाकार जो पछि भारतीय सिने उद्योगका हस्ती बने, तिनले बेनेगलकै सिनेमाबाट आफूलाई बलिउडमा प्रवेश गराएका थिए ।

 सन् १९७६ को बेनेगलको सिनेमा ‘मन्थन’ बारे अनौठो किम्वदन्ती छ । उनले यो सिनेमा ५ लाख गुजराती किसानबाट प्रतिव्यक्ति २ रुपैयाँ चन्दा मागेर बनाएका थिए । यो अवधारणालाई सिनेमाका लागि ‘क्राउड फन्डिङ’ भनिन्थ्यो । किसान यो सिनेमालाई आफ्नो लगानीमा बनेको ठान्थे । गाउँबाट ट्रयाक्टर चढेर हुलका हुल गाउँले ‘मन्थन’ हेर्न आउँथे ।

यो सिनेमा एक युवा पशु चिकित्सकले गाउँका सहकारी संस्थामार्फत डेरी सञ्चालन गरेको र सफल भएको कथामा आधारित थियो । यो सिनेमापछि भारतीय गाउँहरूमा दूग्ध उत्पादक सहकारी संस्था गठनको लहर नै चल्यो । ‘मन्थन’ भारतीय ‘दुग्ध क्रान्ति’को प्रेरक सिनेमा थियो । स्मिता पाटिल बेनेगलको सन् १९७५ को सिनेमा ‘चरणदास चोर’ बाट सिनेक्षेत्रमा प्रवेश गरेकी थिइन् भने ‘मन्थन’ पछि चर्चित भएकी थिइन् । ‘मन्थन’ ओस्कार अवार्डका लागि भारतबाट नामाङ्कन भएको थियो ।

अमरिश पुरी र नसीरुद्दिन शाहले ठूलो पर्दामा लामो भूमिका गरेको पहिलो सिनेमा बेनेगलको सन् १९७५ को ‘निशान्त’ थियो । बेनेगल दर्जनौं स्थापित सिने कलाकारका लागि ‘गडफादर’ जस्तै थिए ।

सन् १९८८ मा बेनेगलले पण्डित जवाहरलाल नेहरुको ‘डिस्कभरी अफ इन्डिया’मा आधारित ‘भारत एक खोज’ नामक ५३ एपिसोडको टिभी शृङ्खलासमेत बनाए ।

आर्थिक असमानता, वर्गीय सङ्घर्ष र सामाजिक शोषणलाई आफ्ना सिनेमामा उतार्ने भएकाले कतिपयले उनलाई ‘कम्युनिष्ट’ ठान्थे । यसबारे उनको भनाइ थियो – ”म कम्युनिष्ट हैन, यथार्थवादी सिनेमा बनाउने प्रयास गरेको मात्र हुँ ।”

सन् १९७८ को ‘जुनुन’ बेनेगलले रस्किन बन्डको उपन्यास ‘पिजन्स आर फ्लाइङ’ मा आधारित भएर बनाएका थिए । यसमा बेनेगलले कमर्सियल सिनेमा जगतको प्रतिष्ठित परिवारका एक सदस्य शशि कपुरलाई नायक लिएका थिए । यो सिनेमा सन् १८५७ को असफल भारतीय विद्रोहको ऐतिहासिकतामा बनेको थियो, जो शशि कपुरको अभिनय यात्रामा एक कोशेढुङ्गा सावित भयो । यही सफलताले उनलाई शशि कपुर र रेखाजस्ता मूलधारका स्टार लिएर ‘कलियुग’ बनाउन प्रेरित गर्‍यो ।

सन् १९९० को दशकमा उनले मुस्लिम महिलामा आधारित ‘ट्रियोलजी’ बनाए – माम्मो, सरदारी बेगम र जुवैदायतिन्जेलसम्म उनको ‘फरक धार’ बलिउड सिने उद्योगको मूलधारजस्तो भइसकेको थियो । सिनेमाको मूलधार र वैकल्पिक धारबीचका भिन्नताका पर्खाल कमजोर भइसकेका थिए । फरक धारका भनिएका साना बजेटमा कला सिनेमा पनि व्यावसायिक रुपमा सफल हुन सक्दछन् भन्ने मान्यता स्थापित हुन थालेको थियो ।

बेनेगलको अन्तिम सिनेमा सन् २०२३ को ‘मुजिव : द मेकिङ अफ नेसन’ बङ्गलादेशका संस्थापक पिता शेख मुजिबर रहमानको जीवनीमा आधारित छ । भनिन्छ – यो सिनेमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना वाजेदको विशेष अनुरोध टार्न नसकेर बनाएका थिए । करिब ९० वर्षको उमेर आसपासमा यसप्रकारको ऐतिहासिक र तथ्यपरक सिनेमा निर्देशन गर्नु आफैँमा कठिन काम थियो । अनौठो के छ भने यो सिनेमामा दुई देशका सरकारले संयुक्त लगानी गरेका छन् । यस दृष्टिले यो संसारकै एक दूर्लभ सिनेमा हो । 

सन् २००४ मा बेनेगलले ‘नेताजी सुवासचन्द्र बोस : एक फर्गेटन हीरो’ बनाएका थिए । बङ्गलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिना यो सिनेमाबाट प्रभावित थिइन् । आफ्ना पिताको बारेमा एउटा यस्तै सिनेमा बनोस् भन्ने चाहन्थिन् । भारत–बङ्गलादेश सम्बन्ध राम्रो भएको बखत हसिनाको यस्तो इच्छा पूरा गर्न मोदीले सहयोग गरेका थिए । यो सिनेमा राजनीतिक रुपमा भने विवादित बन्न पुग्यो ।

१० दिन अघि डिसेम्बर १० मा बेनेगलले आफ्नो ९०औं जन्मदिन मनाएका थिए । जन्मदिनको अवसरमा शुभचिन्तकहरूले उनका लागि विशेष कार्यक्रम आयोजन गरेका थिए । उनी कार्यक्रममा १५ मिनेट बसेर फर्किएका थिए ।

संसारमा आएका सबै मानिस जानै पर्छ । बेनेगलको ९० वर्षको जीवन छोटो हैन । यसबीच उनले सिने जगतमा जे जति काम गरे, तिनको प्रभाव भने झनै लामो समयसम्म रहनेछ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register