स्वतन्त्र उम्मेदवारले दल खोलेर वैकल्पिक राजनीति गर्ने सम्भावना कति ?

हालै रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी काण्डमा पक्राउ परेपछि कतिपयले विशेषगरी बालेन र उनको समूहबाट नयाँ दल गठनको अपेक्षा राखेका छन् ।

Dec 27, 2024 - 10:15
 0
स्वतन्त्र उम्मेदवारले दल खोलेर वैकल्पिक राजनीति गर्ने सम्भावना कति ?

काठमाडौं“हमारा सिस्टम इतना गंदा हो चुका है कि इसमें कोई सुधार नहीँ हो सकताइसे साफ करने के लिए किसी को इसकी जड़ तक जाना होगा” बलिउड फिल्म ‘नायक’मा शिवाजी राव (अनिल कपूर)को यो संवादले राजनीतिमा रहेको खराबीलाई औँल्याउँदै सुधारको आह्वान गर्छ ।

बलिउड र दक्षिण भारतीय फिल्म हेर्न रुचाउने नेपालीमा पनि ती फिल्महरूको प्रभाव परेको देखिन्छ ।

ती फिल्ममा देखाइने चमत्कारमा तत्कालै सबै समस्या समाधान हुन्छ । त्यही जादुयी प्रभावले होला नेपाली समाजका हरेक क्षेत्रमा पनि त्यस्तै चमत्कार खोज्न थालेका छौँ ।

भारतीय फिल्म ‘नायक’मा जस्तै तत्कालै चामत्कारिक काम हुनुपर्ने अपेक्षा अधिकांशमा देखिन्छ ।

धेरै नाम सुनिएको र हेरिएको यो फिल्मका मुख्य पात्र शिवाजी राव, जसको भूमिका अनिल कपूरले निर्वाह गरेका छन् । उनी सामान्य क्यामेराम्यान र टेलिभिजन प्रस्तोताबाट मुख्यमन्त्री बन्छन् ।

पदमा पुगेपछि उनले देखाएको चामत्कारिक कामकै कारण उनी ‘नायक’ बन्छन् ।

पद सम्हालेलगत्तै जनताको जीवन सहज बनाउने प्रभावशाली कदम चाल्छन् । भ्रष्ट कर्मचारीलाई तुरुन्त निलम्बन गर्छन्, ठगी गर्ने व्यापारीहरूको लाइसेन्स खारेज गर्छन्, अन्यायमा परेकालाई न्याय दिलाउँछन् । त्यही कामले उनी नायकको रुपमा कहलिन्छन् ।

राजनीति भने फिल्मजस्तो कल्पना मात्रै होइन तैपनि फिल्मको यस पक्षले दर्शकलाई गहिरो प्रभाव पारेको छ । ‘नायक’ फिल्ममा शिवाजीले रातारात चमत्कार गरे झैँ राजनीतिमा सम्भव छैन ।

यद्यपि, पर्दामा देखाइएको अनिलको भूमिकाले आममानिसमा छाप छोडेको देखिन्छ —‘नेता भनेको शिवाजीजस्तो हुनुपर्छ ।’

यसै फिल्मको प्रभाव भनौँ, नेपाली राजनीतिमा उही शिवाजीकै खोजी भइरहेको छ । साढे दुई वर्षअगाडि भएको स्थानीय चुनावमा केही स्वतन्त्र उम्मेदवारको उदय यसैको उदाहरण मानिन्छ ।

युवा अभियन्ता तथा र्‍यापर इन्जिनियर बालेन शाह काठमाडौं महानगरको मेयर बन्नु, अभियन्ता हर्क साम्पाङ धरानमा विजयी हुनु, स्वतन्त्र उम्मेदवार गोपाल हमालले धनगढीमा जित्नु यस्तै प्रभावको उदाहरण हुन् ।

नयाँ दलको उदय : आशा र असफलता

स्थानीय चुनावको छ महिनापछि भएको संसदीय चुनावमा पनि मतदाताले नायकको अपेक्षासहित भोट गरेका थिए । विसं २०७९ मङ्सिरको संसदीय चुनावमा मतदाताको प्राथमिकता अझ स्पष्ट भएको थियो र यसले नयाँ दलहरूको उदयलाई प्रोत्साहित गर्‍यो ।

पूर्वी तराईमा सीके राउतको जनमत पार्टी र पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टी राम्रो प्रदर्शन गर्दै नयाँ दलको रूपमा उदाए ।

जनमत पार्टीले स्थानीय निकायमा दुई स्थानमा जित हासिल गरेको थियो भने प्रदेशमा अहिले उसकै नेतृत्वमा सरकार बनेको छ । सङ्घीय संसद्‌मा जनमतको ६ सिट छ ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले स्थानीय चुनावमा दुई गाउँपालिका र दुई नगरपालिकामा जित हासिल गरेको थियो । सङ्घीय संसद्‌मा ३ सिट जित्यो ।

थरुहट प्रदेशको मुद्दा बोकेर उदाएको यो पार्टी पनि वैकल्पिक राजनीतिक शक्ति बन्ने लक्ष्यमा छ । थोरै सिट भए पनि मतदाताले उनीहरूको काम हेरिरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट जितेको थियो । पछि उपचुनावमा थप एक सिट बढायो । परिणामलगत्तै कतिपयले रास्वपाले आउँदो चुनावमा बहुमत नै ल्याउने आकलन गरेका थिए ।

यसरी नयाँ दलहरूको उदयले नेपाली राजनीतिमा परिवर्तनको सङ्केत दिएको थियो तर, ती दलले मतदाताको अपेक्षाअनुसार आफ्नो गौरवशाली भूमिका निर्वाह गर्न सकेनन् ।

सीकेको जनमत पार्टीका सांसद विवादमा मुछिए, पटकपटक सरकार बनाउने र ढाल्ने खेलमा सरिक भए ।

नागरिक उन्मुक्ति पार्टी भने श्रीमानश्रीमतीको झगडाबाट बदनाम बन्यो । चौथो ठूलो दल रास्वपाका सभापति भने सहकारी ठगी काण्डमा मुछिए । उनी अहिले पनि प्रहरी हिरासतमै छन् ।

यी दलको असफलता र विवादले मतदातामा निराशा उत्पन्न गरेको छ । अब मतदाता पुनः विकल्पको खोजीमा छन् ।

स्वतन्त्र उम्मेदवार दलको तयारी या अड्कलबाजी

बालेन, हर्क र गोपी हमालजस्ता नेताहरूको सक्रियतामा नयाँ पार्टी खोल्ने विषयले चर्चा पाइरहन्छ ।

यी मेयरहरू सबैले स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लडेका थिए र अहिले उनीहरू भ्रष्टाचार र बेथितिको विरोध गर्दै वैकल्पिक राजनीति अघि बढाउने सोचमा रहेको बताइन्छ ।

केही समयअघि धरानबाट काठमाडौं आएका हर्कले बालेनसँग वैकल्पिक राजनीतिबारे छलफल गरेका थिए । फेसबुकमा प्रश्न राखेका थिए, ‘यदि हामीले राजनीतिक दल खोलेर अघि बढ्न चाह्यौँ भने ककसले साथ दिनुहुन्छ ?’ त्यसपछि विभिन्न टीकाटिप्पणी सुरु भए र नयाँ दलको गठनको सम्भावनालाई लिएर चर्चा चुलियो ।

हालै रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी काण्डमा पक्राउ परेपछि कतिपयले विशेषगरी बालेन र उनको समूहबाट नयाँ दल गठनको अपेक्षा राखेका छन् ।

दुई वर्षअघि बालेनले प्रतिनिधि सभाका नयाँ सांसदलाई ‘नयाँ गफाडी’ भन्दै आलोचना गरेका थिए, जसको अर्थ उनले पुरानो राजनीतिक प्रणाली र दलहरूको असफलता व्यक्त गर्न खोजेका थिए ।

उनले आफ्नो आलोचनात्मक आवाज उठाउँदै सामाजिक सञ्जालमा एमालेको विरुद्ध सङ्घर्ष जारी राखेका छन् । वर्ष दिनअघि उनले स्पष्ट रूपमा भनेका थिए, ‘देश बन्छ तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सकिएर बन्छ, तिमीहरूलाई सकाएर बन्छ !’ यसलाई लिएर उनले पार्टी खोल्ने सङ्केत दिएको कतिपयको बुझाइ छ । 

नयाँ पार्टी खोल्नेबारे विभिन्न चरणमा छलफल भइरहे पनि कहिलेसम्ममा घोषणा हुनेबारे हालसम्म कुनै टुङ्गो नलागेको बालेनका निकटस्थ बताउँछन् ।

बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाह भने पार्टी बनाएर अगाडि बढ्नेबारे नसोचेको दाबी गर्छन् । उनी भन्छन् ‘उहाँले पार्टी बनाएर अगाडि बढ्नेबारे अहिल्यै सोच्नुभएको छैन । तयारी पनि छैन । अहिले मेयरमा जनताले दिएको म्यान्डेटअनुरूप काम गर्ने हो ।’

औपचारिक रूपमा बालेन निकटकाले नकारे पनि भित्रभित्रै तयारी गरिरहेको दाबी कतिपयको छ ।

वैकल्पिक दल बन्न पुरानालाई गाली मात्रै हैन, विचार पनि चाहिन्छ

स्वतन्त्र उम्मेदवारहरूले स्थानीय तहमा राम्रो सुरुवात गरेकाले दल खोलेर आउँदा राम्रो सम्भावना देखिने लेखक तथा विश्लेषक जुगल भुर्तेलको टिप्पणी छ ।

जुगल भुर्तेल, लेखक तथा विश्लेषक

तर, राजनीतिक दलको रूपमा सङ्गठित हुनु सस्तो नाराबाट नभई, दूरदृष्टि, प्रतिबद्धता र सही नेतृत्व विकास हुनुपर्ने उनको तर्क छ ।

पुराना दलप्रति जनताको निराशा र आक्रोशको लहरले नयाँ दललाई अवसर दिएको गाली गरेर मात्र विकल्प बन्न नसक्ने भुर्तेलको टिप्पणी छ ।

भुर्तेल भन्छन् –

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले महत्त्वपूर्ण उपस्थिति जनाउँदै जनताको आशा र विश्वास जितेका छन् । मिडिया र सामाजिक सञ्जालमा उनीहरूको कामको प्रशंसा भइरहे पनि वास्तविक उपलब्धि हेर्नको लागि बजेट खर्च र विकास कार्यको अवस्था बुझ्नुपर्छ ।

स्थानीय तहको मुख्य जिम्मेवारी भनेकै विकास निर्माण र जनताको जीवनस्तर उकास्नु हो । तर, पुँजीगत खर्च प्रभावकारी रूपमा नभइरहेको अवस्थामा स्वतन्त्र जितेका उम्मेदवारले धेरै ठूला परिवर्तन गरेका जस्तो देखिँदैन । तैपनि, स्वतन्त्र उम्मेदवारहरूप्रति आम जनतामा अझै पनि आशा र भरोसा कायम छ ।

स्वतन्त्र उम्मेदवारहरू भ्रष्टाचारमा मुछिएका छैनन्, जुन जनताका लागि सकारात्मक सन्देश हो । यसले केन्द्र सरकार र पुराना राजनीतिक दलमाथि सुधारको दबाब पनि सृजना गरिरहेको छ ।

स्वतन्त्र उम्मेदवारको सफलताले पुराना दललाई सन्देश दिएको छ कि अब जनताले ‘राम्रो उम्मेदवार’ खोजिरहेका छन् । योबाट शिक्षा लिने अवसर दलहरूले आफ्नो सुधार र नयाँ नेतृत्वको विकासका लागि उपयोग गर्न सक्छन् ।

केही स्वतन्त्र सांसदले चुनाव जिते संसद्‌मा जनताको पक्षमा आवाज उठाउने र भ्रष्टाचार तथा विकृतिमाथि खबरदारी  गर्न सक्छन् । तर, सरकार नचलाएसम्म परिवर्तन सम्भव हुँदैन । यसको लागि वैकल्पिक दल चाहिन्छ ।

पुराना दलप्रति जनताको निराशा र आक्रोशको लहरले नयाँ दलहरूलाई अवसर दिएको छ । तर, सिर्फ पुराना दललाई गाली गरेर चुनाव जित्ने कुरा पर्याप्त हुँदैन ।

नयाँ दलले स्पष्ट विचारधारा, दीर्घकालीन दृष्टिकोण र ठोस योजना लिएर आउन सक्नुपर्छ । ‘सबै चोर छन्’ भन्ने पपुलिस्ट नाराले जनतालाई आकर्षित त गर्न सकिएला तर, विकल्प बन्न ठोस भिजन चाहिन्छ ।

स्थानीय तहमा हेर्ने हो भने पुराना दलहरूले पनि उल्लेखनीय काम गरिरहेका छन् । तर, तिनीहरूको कामको चर्चा हुँदैन । सामाजिक सञ्जालमा स्वतन्त्र उम्मेदवारको चर्चा भएजस्तो पुराना दलप्रति निराश देखिने गरेको छ ।

सरकारले स्थायित्वतर्फ ध्यान दिँदै समयमा काम  गर्न सक्न सक्यो भने मात्रै जनताको निराशा हटाउन सकिन्छ ।

स्वतन्त्र उम्मेदवारहरूले स्थानीय तहमा राम्रो सुरुवात गरेका छन् । तर, देशव्यापी रूपान्तरणको लागि यसले मात्र पुग्दैन । यदि स्वतन्त्र उम्मेदवारहरू वैकल्पिक शक्ति बन्न चाहन्छन् भने उनीहरूले राजनीतिक दलको रूपमा सङ्गठित हुनुपर्छ ।

त्यसका लागि स्पष्ट विचार, यथार्थपरक नीति, र दीर्घकालीन सोचका साथ अघि बढ्न जरुरी छ । वैकल्पिक दल सस्तो नाराबाट होइन, दूरदृष्टि, प्रतिबद्धता र सही नेतृत्वको विकासबाट मात्र सम्भव छ ।

वैकल्पिक शक्ति बन्ने सपना र सम्भावना

स्वतन्त्र उम्मेदवारमा विशेषगरी चर्चा र लोकप्रिय नेता बालेनप्रति आममानिसको अपेक्षा रहेको लेखक तथा विश्लेषक डा. इन्द्र अधिकारी बताउँछिन् ।

डा. इन्द्र अधिकारी, लेखक तथा विश्लेषक

एक व्यक्तिको प्रयासले मुलुकको व्यापक परिवर्तन सम्भव नभएकोले मुलुक परिवर्तनका लागि वैकल्पिक सङ्गठित राजनीतिक दलको आवश्यकता रहेको उनको तर्क छ ।

यसका लागी उनीहरूले दल खोलेर पुराना दलका कमजोरी नदोहोर्‍याई वैकल्पिक सोच र नीतिगत स्पष्टताका साथ अघि बढे मात्र नयाँ दलले सफलता पाउन सक्ने अधिकारी बताउँछिन् । नत्र नयाँ दलले पनि पुराना दलजस्तै परिणाम नदिन नसक्ने उनको तर्क छ ।

अधिकारी भन्छिन्-

स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको विजय लोकतान्त्रिक अभ्यासका लागि महत्त्वपूर्ण कोसेढुङ्गा बन्यो । स्थानीय तहको कार्यकारी प्रमुख बन्ने अवसर पाएका स्वतन्त्र उम्मेदवारले एक्लै भए पनि आफ्नो एजेन्डालाई आंशिक रूपमा कार्यान्वयन गर्ने मौका पाए ।

उनीहरूले जितेको नगरमा आफ्ना योजना लागू गरेर राम्रो काम गर्ने अवसर पाए । तर, एक व्यक्तिको प्रयासले मात्र मुलुककै व्यापक परिवर्तन सम्भव छैन ।

यदि मुलुक नै रूपान्तरण गर्ने लक्ष्य लिएर राजनीतिमा प्रवेश गरेको हो भने दल खोलेर सङ्गठित शक्ति निर्माण गर्नुको विकल्प छैन ।

पालिकामा जितेको एक स्वतन्त्र मेयरले काम गरेर सीमित क्षेत्रको समस्या समाधान गर्न सक्छ । तर, मुलुकको सामूहिक परिवर्तनका लागि यस्तो प्रयास अपर्याप्त देखिन्छ । सबै क्षेत्रमा सुधार गर्न सांसद बन्नुपर्छ, संसद् छिर्नुपर्छ ।

तर, संसद्‌मा पनि एकजना मात्रै सांसदको प्रयासले कानून निर्माण र सरकार गठन जस्ता कार्यहरू गर्न सकिँदैन । त्यसका लागि सङ्गठित र बलियो दल चाहिन्छ, जसले धेरैभन्दा धेरै सांसद संसद्‌मा पुर्‍याउन सक्नुपर्छ ।

यसको देशमा साँच्चै केही गर्न चाहने नेतृत्वले एकल सङ्घर्षभन्दा ठूलो राजनीतिक दल निर्माण गर्नुपर्छ ।

अहिलेका स्वतन्त्र उम्मेदवारलाई स्थानीय सरकारमा ‘टेस्ट’ गरियो । उनीहरूले राम्रो काम गरेर राम्रो परिणाम दिन सके भने जनताले विश्वास र आशा गर्नेछन् । पुराना दलप्रति जनतामा आक्रोश छ, निराशा छ ।

खासमा अलि बढी चर्चा र लोकप्रियताको शिखरमा छन्, बालेन । यदि उनको नेतृत्वमा स्वतन्त्र उम्मेदवारहरूले आफूलाई वैकल्पिक शक्तिको रूपमा स्थापित गर्न चाहन्छन् भने राजनीतिक पार्टी विकास गर्नैपर्छ । तर, यो बार्गेनिङको राजनीति गरेर टिक्ने प्रयासको लागि होइन ।

काम गरेर देखाउने र सकारात्मक परिवर्तनको उदाहरण बन्न सक्नुपर्छ । सबै क्षेत्रमा वैकल्पिक शक्तिको रूपमा उभिने प्रतिबद्धता हुनुपर्छ ।

समस्याको वास्तविक समाधान खोज्ने चिन्तनका साथ राजनीतिमा प्रवेश गरे मात्र नयाँ दलले वैकल्पिक शक्तिको रूपमा पहिचान बनाउनेछ ।

आचरण आनीबानी, सोच सबै वैचारिक हिसाबले वैकल्पिक हुनुपर्छ । नत्र नयाँ दल खोल्दैमा र चुनाव जित्दैमा मात्र केही परिवर्तन हुँदैन । 

यदि अरू दलमा रहेको संरचनागत कमजोरी नयाँ दलमा दोहोर्‍याइयो भने, नयाँ दलको परिणाम पनि पुराना दलसरह हुने खतरा हुन्छ ।

त्यसैले अरू दलको जस्तै कमजोरी दोहोर्‍याउने होइन, समस्याको समाधानमा वैचारिक र नीतिगत स्पष्टताका साथ अघि बढ्नुपर्छ ।

अरू दलमा नीतिगत संरचना कहाँ समस्या छ त्यहाँ समाधान गर्ने गरी आएमा मात्र वैकल्पिक शक्ति हुन्छ । नत्र अर्को कम्युनिस्ट, अर्को काङ्ग्रेस, अर्को राप्रपा पार्टी हुन्छ । कुनै नयाँ वैकल्पिक दल हुँदैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register