गाजामा भोकमाथि राजनीति, खानाका लागि तड्‍पिरहेका प्यालेस्टाइनी

एजेन्सी । गाजामा खाद्य वितरणको मामिला जटिल बन्दै गएको छ । मंगलबार, एक विवादास्पद् संगठनले त्यहाँ काम सुरु गर्‍यो तर स्थिति चाँडै बिग्रियो । हजारौं प्यालेस्टिनीहरूले दक्षिणी गाजामा खुलेको गाजा ह्युमनिटेरियन फाउन्डेसन (जीएचएफ) नामक संगठनको आधारलाई तहसनहस पारे । संगठनले  खाद्य लिन आउनेहरूको ठूलो संख्याका कारण उनको टोलीलाई पछाडि हट्नुपरेको बताएको छ । इजरायली सेनाले  […]

May 28, 2025 - 07:01
 0
गाजामा भोकमाथि राजनीति, खानाका लागि तड्‍पिरहेका प्यालेस्टाइनी

एजेन्सी । गाजामा खाद्य वितरणको मामिला जटिल बन्दै गएको छ । मंगलबार, एक विवादास्पद् संगठनले त्यहाँ काम सुरु गर्‍यो तर स्थिति चाँडै बिग्रियो ।

हजारौं प्यालेस्टिनीहरूले दक्षिणी गाजामा खुलेको गाजा ह्युमनिटेरियन फाउन्डेसन (जीएचएफ) नामक संगठनको आधारलाई तहसनहस पारे ।

संगठनले  खाद्य लिन आउनेहरूको ठूलो संख्याका कारण उनको टोलीलाई पछाडि हट्नुपरेको बताएको छ । इजरायली सेनाले  संगठनको सुरक्षामा खटिएकाहरूले चेतावनी स्वरूप गोली चलाएको जनाएको छ ।

यो संगठनलाई अमेरिका र इजरायलको समर्थन छ र यो संयुक्त राष्ट्रलाई बाइपास गरेर गाजामा सहायता पुर्‍याउने उद्देश्य राख्छ । तर, संयुक्त राष्ट्रले यसलाई अनैतिक र अव्यवहारिक भन्दै अस्वीकार गरेको छ ।

यसअघि जीएचएफले भनेको थियो कि खाद्य सामग्रीले भरिएका उसका ट्रकहरू गाजाका सुरक्षित स्थानहरूमा पुगेका छन् र मानिसहरूलाई खाना वितरण पनि सुरु गरिएको छ । तर, कति र कहाँ सहायता पुर्‍याइयो भन्ने खुलाएको थिएन ।

यो संगठनले हतियारधारी सुरक्षा गार्डहरूको प्रयोग गरिरहेको छ ।

विशेषज्ञहरूले गाजामा विगत ११ हप्तादेखि चलिरहेको नाकाबन्दीका कारण ठूलो अनिकालको चिन्ता व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्र र गाजामा सहायता पुर्‍याउने अन्य संगठनहरूले जीएचएफसँग सहकार्य गर्न अस्वीकार गरेका छन् । यी संगठनहरूले जीएचएफको कार्यशैली मानवतावादी सिद्धान्तविपरीत रहेको र सहायतालाई हतियारको रूपमा प्रयोग गर्न खोजिएको जस्तो देखिएको बताएका छन् ।

जीएचएफले सोमबार पत्रकारहरूलाई पठाएको वक्तव्यमा  गाजामा आफ्नो ‘अपरेसन’ सुरु गरेको बताएको थियो ।

संगठनले जारी गरेका तस्वीरहरूमा केही मानिसहरू कुनै अज्ञात स्थानबाट बाकस बोकेर हिँडिरहेको देखिन्छ ।

बीबीसीले जीएचएफलाई  हालसम्म गाजामा कति सहायता ट्रकहरू आए र कति मानिसले सहायता प्राप्त गरे भनी सोधेको छ । तर, जीएचएफबाट जवाफ आउन बाँकी छ ।

जीएचएफको वक्तव्यअनुसार जोन एक्री संगठनको अन्तरिम कार्यकारी निर्देशक छन् । एक्री पहिले USAID मा वरिष्ठ प्रबन्धक थिए, जो अमेरिकाको विदेशी सहायता गर्ने सरकारी एजेन्सी हो ।

एक्रीले जेक वुडको स्थान लिएका छन्, जसले आइतबार उक्त पदबाट राजीनामा दिएका थिए ।

वुडले भनेका थिए, ‘जीएचएफको सहायता वितरण प्रणालीले ‘मानवता, तटस्थता, निष्पक्षता र स्वतन्त्रताको सिद्धान्तमा आधारित रहेर आफ्नो उद्देश्य पूरा गर्न सक्तैन ।’

जीएचएफले यो आलोचनालाई खारेज गर्दै भनेको छ, ‘केही मानिसहरू सहायता आउन दिनुभन्दा यो व्यवस्थालाई भत्काउनमा केन्द्रित छन् ।’

गाजा  ह्युमनिटेरियन फाउन्डेसनले भनेको छ, ‘उसको प्रणाली पूर्ण रूपमा मानवतावादी सिद्धान्तमा आधारित छ । यो हप्ताको अन्त्यसम्ममा १० लाख मानिसहरूसम्म राशन पुर्‍याइसक्नेछ ।’

संयुक्त राष्ट्र र अन्य एजेन्सीहरू यो संगठनको सहायता वितरणको तरिकासँग पूर्ण असहमत छन् ।

जीएचएफबाट सहायता लिन आउनेहरूको सुरक्षा जाँच गरिन्छ । त्यसपछि मात्र उनीहरूलाई खाना र सरसफाइका सामग्रीका बाकसहरू दिइन्छ ।

यी सामग्रीहरू जीएचएफका वितरण केन्द्रहरूमा उपलब्ध छन् । संगठनका अधिकांश केन्द्रहरू दक्षिणी गाजामा छन् ।

संगठनका खाद्य वितरण केन्द्रहरू निजी सुरक्षा गार्डहरूको संरक्षणमा छन् र यिनको वरिपरि इजरायली सैनिकहरू गस्ती गरिरहेका छन् ।

संयुक्त राष्ट्र र अन्य सहायता एजेन्सीहरूले जोड दिएका छन् कि उनीहरूले मानवतावादी आधारभूत सिद्धान्तहरू पालना गर्न असफल हुने कुनै पनि सहायता योजनालाई समर्थन गर्नेछैनन् ।

यी एजेन्सीहरूले जीएचएफको प्रणालीले केन्द्रहरूमा पुग्न नसक्ने मानिसहरूलाई सहायताबाट वञ्चित गर्ने बताएका छन् ।

यसमा घाइते, अशक्त र वृद्धहरू समावेश छन् । संगठनका आलोचकहरूले यो प्रणालीले विस्थापनलाई बढावा दिने बताएका छन् ।

आलोचकहरूले यो संगठनले सहायताका लागि सर्तहरू राखिरहेको र यसका राजनीतिक र सैन्य उद्देश्यहरू भएको दाबी गरेका छन् । यो संगठनले सहायता वितरणको यस्तो उदाहरण प्रस्तुत गरिरहेको छ जुन स्वीकार्य छैन ।

यी एजेन्सीहरूले बताएका छन् कि उनीहरूका हजारौं ट्रकहरू गाजाबाहिर उभिएका छन् । उनीहरूसँग मानिसहरूलाई सुनिश्चित रूपमा सहायता पुर्‍याउने र लुटपाट कम गर्ने विस्तृत योजना छ ।

नर्वेजियन रिफ्युजी काउन्सिलका महासचिव जे एजल्यान्डले सोमबार बीबीसीलाई भने, ‘जीएचएफको सैन्यीकरण, निजीकरण र राजनीतिकरण भएको छ । यो तटस्थतासँग काम गरिरहेको छैन । यसका पछाडि सैन्य र पूर्व सीआईए कर्मचारीहरू छन् ।’

यसैबीच, हमासले प्यालेस्टिनीहरूलाई जीएचएफसँग सहकार्य नगर्न भनेको छ ।

हमासले एक वक्तव्यमा भनेको छ, ‘यो संगठनले व्यवस्थाको सट्टा अव्यवस्था सिर्जना गर्नेछ । यसले यस्तो नीति लाद्नेछ जसले प्यालेस्टाइनीमा मानिसहरूलाई भोकमरीको सिकार बनाउनेछ र युद्धको समयमा खानालाई हतियारको रूपमा प्रयोग गर्नेछ ।’

तर, गाजा ह्युमनिटेरियन फाउन्डेसनले हमासको यो वक्तव्यको निन्दा गरेको छ ।

संगठनले भनेको छ, ‘हमासले जीएचएफका सहायता कार्यकर्ताहरूलाई मृत्युको धम्की दिएर निशाना बनाइरहेको छ । जीएचएफका सुरक्षित स्थानहरूलाई निशाना बनाउने प्रयास भइरहेको छ । साथै, हमासले गाजाका मानिसहरूलाई सहायताका लागि वितरण केन्द्रमा आउनबाट पनि रोक्दै छ ।’

इजरायलले मार्च २ मा गाजामा आउने सहायताको पूर्णनाकाबन्दी गरेको थियो । दुई हप्तापछि उसले हमाससँगको दुई महिनाको युद्धविराम समाप्त गरेर गाजामा सैन्य आक्रमण सुरु गर्‍यो ।

इजरायलले यो कदम गाजामा अझै हमासको कब्जामा रहेका ५८ बन्धकहरूको रिहाइका लागि उठाएको बताएको छ । यीमध्ये २३ जना जीवित रहेको अनुमान छ ।

मे १९ मा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले व्यापक आक्रमणलाई स्वीकृति दिँदै सेनालाई गाजाका सबै क्षेत्र नियन्त्रणमा लिन चाहेको बताएका थिए ।

यो योजनामा उत्तरी गाजालाई पूर्ण रूपमा नागरिकविहीन बनाएर उनीहरूलाई जबरजस्ती दक्षिणी गाजामा विस्थापित गर्ने समावेश छ भनिएको छ ।

यद्यपि, सहयोगी देशहरूको दबाबपछि नेतन्याहूले इजरायलले गाजामा ‘आधारभूत’ मात्रामा खाद्य सामग्री ल्याउन अनुमति दिने र अनिकालको स्थिति नआउने बताए ।

इजरायली अधिकारीहरूले त्यसयता आटा, बेबी फूड र मेडिकल सामग्रीसहित ६६५ ट्रकहरूलाई गाजामा प्रवेश गर्न अनुमति दिएको बताएका छन् ।

संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रमका प्रमुखले ‘गाजामा भयावह भोकमरी, आधारभूत खाद्य सामग्रीको अभाव र आकाश छुने मूल्यहरूका बीच यो सहायता ‘ऊँटको मुखमा जिरा’ बराबर छ’ आइतबार चेतावनी दिए  ।

संयुक्त राष्ट्रका अनुसार, आगामी महिनाहरूमा गाजामा करिब ५ लाख मानिसहरूले भोकमरीको सामना गर्नुपर्नेछ ।

अक्टोबर ७, २०२३ मा हमासले सीमा पार गरेर इजरायलमा आक्रमण गरेको थियो । यसमा १२०० मानिसको मृत्यु भएको थियो र २५१ जनालाई बन्धक बनाइएको थियो ।

त्यसपछि इजरायलले गाजामा आक्रमण सुरु गरेको थियो । हमास सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, हालसम्म यी आक्रमणमा गाजामा ५३,९९७ मानिस मारिएका छन् । यीमध्ये ३,८२२ जना युद्धविरामपछिको १० हप्ताअघिको इजरायली पुन: आक्रमणका सिकार भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register