रोहित शर्माले लेलान् त सन्यास ?

काठमाडौं । भारत र अष्ट्रेलियाबीचको बोर्डर–गावस्कर ट्रफीको पाँचौं र अन्तिम टेस्ट सिड्नीमा भइरहेको छ तर, कप्तान रोहित शर्मा भने यो खेलबाट बाहिर छन् । उनको स्थानमा फास्ट बलर जसप्रित बुमराहले टोलीको नेतृत्व गरिरहेका छन् । खेल सुरू हुनुअघि जसप्रित बुमराहले भनेका थिए – हाम्रो कप्तान (रोहित शर्मा)ले टोलीको उत्कृष्ट नेतृत्व गर्नुभएको छ  र उहाँले यो […]

Jan 3, 2025 - 07:47
 0
रोहित शर्माले लेलान् त सन्यास ?

काठमाडौं । भारत र अष्ट्रेलियाबीचको बोर्डर–गावस्कर ट्रफीको पाँचौं र अन्तिम टेस्ट सिड्नीमा भइरहेको छ तर, कप्तान रोहित शर्मा भने यो खेलबाट बाहिर छन् ।

उनको स्थानमा फास्ट बलर जसप्रित बुमराहले टोलीको नेतृत्व गरिरहेका छन् ।

खेल सुरू हुनुअघि जसप्रित बुमराहले भनेका थिए – हाम्रो कप्तान (रोहित शर्मा)ले टोलीको उत्कृष्ट नेतृत्व गर्नुभएको छ  र उहाँले यो खेलमा आराम गर्ने निर्णय गर्नुभएको छ ।

तर, बिहीबार पत्रकार सम्मेलनमा टीम इन्डियाका मुख्य प्रशिक्षक गौतम गम्भीरले रोहितको बारेमा गरेको टिप्पणीपछि कप्तानलाई पाँचौं टेस्टबाट बाहिर राख्नसक्ने अड्कलबाजी बढेको थियो ।

अब चर्चा छ कि रोहित आफैँले यो खेलबाट बाहिरिने निर्णय गरेका हुन् वा उनलाई यो सिरिजमा खराब प्रदर्शनका कारण बाहिर राखिएको हो ?

यसबीच रोहितले टेस्ट म्याचलाई अलबिदा भन्न सक्ने र उनले आफ्नो अन्तिम टेस्ट म्याच मेलबर्नमा खेलेको पनि चर्चा छ ।

वास्तवमा भारतीय क्रिकेट टोली बोर्डर-गावस्कर ट्रफीको पाँच टेस्टको शृङ्खलामा १-२ ले पछि छ ।

सिड्नीमा शुक्रबारदेखि सुरू भएको पाँचौं खेलमा पनि भारतको सुरूवात खराब रह्यो । रोहितको स्थानमा खेलिरहेका शुभमन गिल मात्र २० रन बनाएर आउट भए ।

भारतको पहिलो इनिङ्स १८५ रनमा मात्र सीमित भएको छ ।

चौथो टेस्टमा पराजय र शृङ्खला १-२ ले पछि परेपछि भारतीय टोलीको ड्रेसिङ रूमबाट विवादका खबर मिडियामा आउन थालेका छन् । यी रिपोर्टहरूमा चौथो खेलमा पराजयपछि रोहितलाई जिम्मेवार ठहराएर ‘दण्ड’ दिएको बताइएको छ ।

बिहीबार कप्तान रोहित शर्माको स्थानमा मुख्य प्रशिक्षक गौतम गम्भीर पत्रकार सम्मेलनमा आएपछि यी समाचारले थप बल पाएका छन् ।

गम्भीरले भनेका थिए – रोहितसँग सबै ठीक छ । मुख्य प्रशिक्षक यहाँ छु, त्यो पर्याप्त हुनुपर्छ । टसअघि पिच हेरेपछि कप्तान प्लेइङ इलेभेनमा रहने वा नहुने भन्ने निर्णय हुनेछ ।

रोहितलाई सिड्नी टेस्ट म्याच खेल्न नदिने सङ्केत ‘द टाइम्स’ले यसबारेमा रिपोर्ट प्रकाशित गरेपछि देखिन थालेको थियो ।

नयाँ वर्षको लागि अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भारतीय क्रिकेटरहरूलाई निम्तो दिएको अखबारले लेखेको छ । त्यहाँ रोहित शर्माले सम्बोधन गर्ने थियो तर, अन्तिम समयमा उनी पछि हटेका थिए ।

अखबारका अनुसार यसपछि भारतीय टोलीको ड्रेसिङमा सबै ठीक नरहेको सङ्केत आउन थालेको छ । अस्ट्रेलियामा भारतीय टोलीको निराशाजनक प्रदर्शनलाई लिएर मुख्य प्रशिक्षक र कप्तानबीच तनाव छ ।

रोहितबारे के भन्छन् पूर्व क्रिकेटर ?

रोहितलाई हटाइयो वा आफैँले यो म्याच नखेल्ने निर्णय गरे भन्नेमा फरक फरक मत देख्न सकिन्छ ।

अस्ट्रेलियाका पूर्व कप्तान मार्क टेलरले भने – “वास्तविक कुरा यो हो कि कुनै पनि देशको कप्तानले सिरिजको अन्तिम निर्णायक टेस्टबाट बाहिर रहने निर्णय गर्दैन । पक्कै पनि उसलाई हटाइयो । मलाई थाहा छैन किन उनीहरूले उसलाई हटाइयो भनेर सीधै भन्दैनन् ।”

“यसको अर्थ उनलाई सदाका लागि हटाइयो भन्ने होइन,” उनले भने । यसको मतलब उनी खराब फर्मका कारण यो टेस्ट खेल्न नसक्ने भएका छन् ।

“खराब फार्म अपराध होइन । दुर्भाग्यवश यो व्यावसायिक खेल हो र यस्तै भयो ।”

समाचार एजेन्सी पीटीआईका अनुसार सुनिल गावस्करले रोहित शर्मा खेलबाट बाहिर भएकोमा टिप्पणी गर्दै भने, “मेरोअनुसार यदि भारत विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न सकेन भने मेलबर्न टेस्ट रोहित शर्माको अन्तिम खेल हुनेछ ।”

उनले भने, “विश्व टेस्ट च्याम्पियनसिपको चक्र इङ्ल्यान्ड सिरिजबाट सुरू हुनेछ र चयनकर्ताहरू २०२७ को फाइनलका लागि उपलब्ध गराउन चाहन्छन् । भारत फाइनलमा पुग्ने कि नपर्ने त्यो फरक कुरा हो तर छनोट समितिले त्यसो गर्न सक्छ । सायद हामीले रोहित शर्मालाई अन्तिम पटक टेस्ट क्रिकेटमा खेलेको देखेका छौँ ।”

पीटीआईका अनुसार यस खेलको कमेन्ट्रीका क्रममा भारतीय टोलीका पूर्व प्रशिक्षक रवि शास्त्रीले आफू पनि यसमा सहमत रहेको बताएका छन् ।

उनले यो सिरिजपछि रोहित शर्माले आफ्नो टेस्ट करियरलाई अलबिदा भन्न सक्ने बताए ।

उनले भने, ‘मैले सोध्न अघि नै जसप्रित बुमराहले मलाई यो कुरा भने ।

रोहितको खराब फर्म

रोहित आफ्नो फर्म फर्काउन सङ्घर्ष गरिरहेका छन् । पछिल्लो नौ टेस्ट खेलमा रोहितले १०.९३ को औसतमा रन बनाएका छन् । यस सिरिजका पाँच इनिङ्समा उनको औसत ६.२ मात्रै छ ।

रोहितका प्रशिक्षक दिनेश लाडले उनी अझै धेरै खेल्न चाहेको र बाँकी रहेको बताएका छन् । उनी यस्ता ब्याट्सम्यान हुन्, जो जुनसुकै बेला फर्ममा फर्किन सक्छन् ।

पक्कै पनि उनको विचारमा रोहितको फुटवर्कमा केही समस्या छ । तर, यो स्थायी समस्या भने होइन । तर, गम्भीरको भनाइ सुनेपछि रोहितको अवस्था राम्रो देखिएको छैन ।

पछिल्ला दुई वर्षमा उनी आउनेबित्तिकै बलरमाथि हाबी हुने प्रयासमा विकेट गुमाउने गरेको देखिएको छ । यसमा स्लिपको करिडोरबाहेक उनी आउट पनि भइरहेका छन् ।

यो विश्वास गरिन्छ कि जब पनि भारतीय क्रिकेटमा कुनै परिवर्तन हुन्छ, पूर्व क्रिकेटर र विशेषज्ञ सुनील गावस्कर सधैँ यसको सङ्केत गर्दछन् ।

मेलबर्न टेस्टमा टीम इण्डियाको ठूलो पराजयपछि गावस्करले कमेन्ट्रीको क्रममा रोहित एक बुद्धिमान क्रिकेटर हो, उनी कहिले पनि टोलीका लागि बोझ बन्न चाहँदैनन् र उनी भारतीय क्रिकेटप्रति समर्पित र सम्मान गर्ने खेलाडी हुन् भनी बताएका थिए ।

गावस्करले थप भनेका थिए, “यस्तो अवस्थामा यदि उनले आगामी केही खेलहरूमा रन बनाउन सकेनन् भने मलाई लाग्छ कि आफैँले सन्यास लिनेछन् ।”

मेलबर्नमा पराजयपछि रोहितले ब्याट्सम्यानको हैसियतले टिमलाई चाहेजति योगदान दिन नसकेको स्वीकार गरेका थिए । उनले भनेका थिए, “यो मानसिक रूपमा विचलित हुने कुरामा कुनै शङ्का छैन ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register