विवेकशील साझाको यात्रा : उल्झन, भोगाइ र लक्ष्य निर्धारणको नयाँ बाटो  

भिजन र मिसन क्लियर नहुँदा हामी बहकिन पुग्यौँ । त्यस बेलाको विवेकशील साझाले मत प्राप्त त गर्‍यो, तर त्यसपछि कता जाने भन्ने लक्ष्य निर्धारण गर्न सकेन । अझ ड्राइभिङ सिटमा बसेकै व्यक्ति बरालिएर हिँड्दा त्यत्रो अभियानले उठाएका एजेन्डा कुल्चिन पुग्यो ।

Jan 11, 2025 - 08:57
 0
विवेकशील साझाको यात्रा : उल्झन, भोगाइ र लक्ष्य निर्धारणको नयाँ बाटो  

नेपालको सन्दर्भमा वैकल्पिक राजनीतिलाई दुई हिसाबले बुझ्नुपर्ने हुन्छ । पहिलो, वैकल्पिक राजनीतिको प्रयास कहाँसम्म आइपुग्यो ? दोस्रो, वैकल्पिक राजनीतिको स्पेस कत्रो छ ? सँगै, थप केही महत्त्वपूर्ण विषयमा पनि बहस जरुरी छ । जस्तै, वैकल्पिक राजनीतिको नारा दिने अन्य दलहरूको स्थिति कस्तो छ ? झ्याप्पै उदाएर आएका वैकल्पिक भनेर दाबी गर्ने ती दल वैकल्पिक हुन् कि हैनन् ?

समकालीन राजनीतिको सन्दर्भमा ०६२/६३ सालपछि नयाँ भनिने वैकल्पिक दलको सुरुवात कहाँबाट भयो भन्ने बहस म यो आलेखमा डा.बाबुराम भट्टराईको चर्चाबाट सुरु गर्न चाहन्छु । डा. भट्टराईले नेकपा माओवादी छाडेर नयाँ शक्ति गठनको बहस सुरु गर्दै गर्दा वैकल्पिक राजनीतिक शक्तिको एउटा आशालाग्दो अध्यायको सुरुवात भएको थियो । त्यही बेलादेखि नै नागरिकमा वैकल्पिक राजनीतिको तरङ्ग पलाएको हो ।

नयाँ शक्ति घोषणाका क्रममा उच्च तहका पूर्वप्रशासक, व्यापारी, बुद्धिजीवी, कलाकार सबै एकै ठाउँमा उभिएपछि त्यसले वैकल्पिक राजनीतिलाई एउटा नयाँ माहोल दिएको थियो । तर, जुन आक्रामकताले माहोल तातियो, त्यसले गति भने लिन सकेन र केही समयको अन्तरालमा त्यही रफ्तारका साथ त्यो शक्ति सेलाएर पनि गयो ।

तर, डा. भट्टराईको त्यो प्रयास नेपालको राजनीतिमा एउटा ऐतिहासिक कदम थियो, नवीन थियो । प्रश्न, उहाँले व्यवहारमा त्यो नवीनता ल्याउन सक्नुभयो कि भएन भन्ने हो । विद्यमान पार्टीहरूमा जस्तो व्यवहार थियो/छ, नयाँ बनेको शक्ति पनि कताकता उस्तैउस्तै भद्दा देखिँदै थियो । जसका कारण पार्टी गठन भएको केही समयमा नै विवाद देखिन थाले । नेता कार्यकर्ताले पार्टी छाड्ने क्रम धमाधम सुरु भयो । ठूलै शक्तिको रूप धारण गर्न सक्नेछ भनी हेरिएको पार्टी, अडिनै सकेन ।

ठीक त्यही बेला एउटा सानो झिल्कोको रूपमा ससाना अभियानमा केन्द्रित भएर काम गरिरहेको विवेकशील नेपाली दलको गतिविधि सतहमा देखिँदै थियो । डा. गोविन्द केसीको आन्दोलनमा समर्थन, भ्रष्टाचारको विरोध, नेपाल खुला छ जस्ता सामाजिक अभियान र संविधान सभाबाट संविधान कहिले बन्छ ? जस्ता विषयमा गरिने दबाबमूलक प्रदर्शनले युवामाझ चर्चा बटुलिरहेको थियो ।

नागरिकको बीचमा विद्यमान राजनीतिक दलप्रति व्यापक असन्तुष्टि छँदै थियो । संविधान सभाबाट संविधान प्राप्त भैसकेको थियो । पहिलो स्थानीय तहको निर्वाचनका क्रममा वैकल्पिक एजेन्डाले नयाँ स्वरूप धारण गरिसकेको अवस्था थियो । संविधानले प्रत्याभूत गरेका आधारभूत आवश्यकता दलहरूले सम्बोधन गर्न सके कि सकेनन् ? सरकार र संयन्त्रमा नागरिकको पहुँच छ कि छैन ? विशेषतः यस्तै सन्दर्भले पहिलो स्थानीय तह निर्वाचनमा वैकल्पिक दलले अर्थपूर्ण प्रश्न उठाउन थालिसकेको थियो ।

०६२/६३ सालमा संविधान लेख्ने कुरा महत्त्वपूर्ण थियो । तर, ०७४ सालसम्म आइपुग्दा लेखिएका विषयमा सामान्य नागरिकका हिसाबले हामीले पहुँच पायौँ कि पाएनौँ भन्ने कुरा महत्त्वपूर्ण भइसकेको थियो । त्यो कुरा ‘डेलिभरी’सँग जोडिन्छ । मुद्दा र एजेन्डा हामीले गहन उठाइरहेका थियौँ, तर डेलिभरीको कुरा गर्दा आम जनता शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, सार्वजनिक यातायात जस्ता महत्त्वपूर्ण अधिकारबाटै पनि बञ्चित भइरहेको अवस्था थियो ।

अर्को, सर्वत्र व्याप्त भ्रष्टाचारले देशलाई सग्लै निलेको थियो (छ) । आम निराशाले युवालाई ‘ब्रेनड्रेन’ तर्फ लगेर गयो । उज्ज्वल भविष्यको खोजीमा थप अध्ययनको लागि वा आर्थिक सबलीकरणका लागि आम नेपाली युवाको विदेश पलायन दिनदिनै बढ्दो थियो । ग्रामीण क्षेत्रमा सशस्त्र द्वन्द्वका बेलादेखि नै धेरै घर रित्तिएका थिए, खेतबारी बाँझो बसिरहेका थिए । संविधान निर्माणपछि समेत यो कहालीलाग्दो अवस्थाले विकराल रूप लिने क्रम जारी नै थियो । यसलाई कसले रोक्ने भन्ने प्रश्न गहनरूपमा उदाएको थियो । त्यही बेला रवीन्द्र मिश्रले नेपालमा वैकल्पिक राजनीतिको आवश्यकतालाई अझ सशक्त रुपमा औँल्याउँदै साझा पार्टी ल्याउनु भयो । त्यसमा सूर्यराज आचार्य र मुमाराम खनालसमेत सामेल हुनुहुन्थ्यो ।

आम जनताले गरेको वैकल्पिक राजनीतिको सुरुवाती मूल्याङ्कनलाई ०७४ सालको पहिलो स्थानीय तह निर्वाचनबाट केलाएर हेर्नुपर्छ । सबै दल आआफ्नै बाटो तय गर्ने गरी अभ्यासमा थिए । विवेकशील नेपाली दलले काठमाडौंमा रञ्जु दर्शना र साझा पार्टीले किशोर थापालाई मेयर पदको उम्मेदवार बनाउँदा प्राप्त गरेको मत ठूलै थियो । त्यसलाई भोट स्वीङ, पुराना दलप्रतिको फ्रस्ट्रेसन र असन्तुष्टि भने पनि वा नयाँ दलप्रति देखाएको आशा, जेसुकै भने पनि त्यसले समग्रतामा वैकल्पिक अभियानलाई एउटा महत्त्वपूर्ण उर्जा दिएको थियो ।

यी मिलेर एक ठाउँमा उभिएको भए वैकल्पिक राजनीतिक पक्षधर दलले सुरुवाती चरणमा नै चुनावी नतिजा आफ्नो पक्षमा ल्याउन सकिने अवस्था थियो भन्ने धेरैलाई लाग्यो । अनि, विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएर ‘विवेकशील साझा’ को जन्म भयो । ०७४ सालको सङ्घीय चुनावमा ठूला कम्युनिस्ट पार्टी एक ठाउँमा आएर चुनाव लड्दा पनि विवेकशील साझाले दुई लाख १२ हजार मत प्राप्त गर्न सफल भयो । विवेकशील साझाले बागमती प्रदेशमा तीन सांसद पनि पठायो । ‘यस पटक राष्ट्रिय पार्टी, अर्को पटक  देशको नेतृत्व’ भन्ने अपेक्षा लिएर हिँडेको दल, त्यसअनुसारको नतिजा ल्याउन भने असमर्थ रह्यो । म आफैँ पनि यही चुनावमा प्रदेश सभाको निर्वाचनमा क्षेत्र नम्बर १ बाट उम्मेदवार भएर विवेकशील साझा पार्टीमा जोडिएँ ।

पहिलो चुनावमै त्यत्रो जनमत पाएपछि हौसिएको विवेकशील साझा, पार्टी निर्माण गर्दै अगाडि बढ्ने तयारीमा जुट्यो । ठूलो बन्दै गएको पार्टीमा एकातिर विवेकशील अभियानबाट आएको र आन्दोलनको नौलो सृजनात्मक विधिमार्फत आम जनताको मनमा बसेको जोसिलो युवा जमात थियो । अर्कोतिर, साझा पार्टीमा अनुभवी सामाजिक व्यक्तिका साथै राजनीतिमा समर्पित हुने अठोट लिएर आएका युवाको सन्तुलित सम्मिश्रण थियो । दुवै पक्ष एकअर्काका लागि परिपूरक बनेको अवस्था थियो ।

चुनावी नतिजा हेर्दा राजनीतिमा वैकल्पिक दलको स्पेस राम्रै रहेछ भन्ने देखियो, तर पार्टी निर्माणसम्बन्धी बुझाइमा हाम्रो व्यापक कमी रह्यो । फलस्वरुप केही समयपछि विवेकशील साझा पनि विभाजनको प्रक्रियाबाट गुज्रिन पुग्यो । फर्किएर हेर्दा यी दुईथरी प्रवृत्तिलाई मिलाएर लैजान विवेकशील साझा नेतृत्वले नसकेको हो भन्ने लाग्छ ।

मैले विवेकशील साझा, बागमती प्रदेशको नेतृत्व सम्हालेँ । म आफैँ पनि प्रमुख भूमिकामै रहेको बेला पार्टी फुटेको अवस्थामा उक्त फुटको आरोप अरुलाई मात्र लगाउने पक्षमा म छैन । तर, विकल्प दिन्छौँ भनेर राजनीतिमा पसेका हामीलाई सही मानेमा समायोजन गर्दै लैजान सक्ने नेतृत्वदायी क्षमतायुक्त व्यक्तिको अभाव नै त्यस बेलाको द्वन्द्वको प्रमुख कारण थियो ।

पार्टीको शीर्ष तहको नेतृत्वमा बसेर काम गर्दैगर्दा, छोटो पार्टीगत जीवनमा विभिन्न राजनीतिक आरोहअवरोह भोग्ने मौका जो मिल्यो, के पनि थाहा भयो भने राजनीतिमा हामीले सामूहिक नेतृत्वभन्दा पनि एउटा व्यक्ति विशेषको वरिपरि बसेर पार्टी निर्माण गर्न खोजेका रहेछौँ । दुई उच्च नेतामध्ये उज्ज्वल थापा प्रायः निष्क्रिय रहेको र रवीन्द्र मिश्र एक्लै पार्टीको सक्रिय नेता जस्तो बनेको अवस्थामा उनैले लिएको दूषित निर्णयले अन्ततोगत्वा पार्टीले निकै ठूलो नोक्सानी व्यहोर्नुपर्‍यो । यस पार्टीप्रति विश्वास राख्ने मजस्ता तमाम कार्यकर्ता र शुभचिन्तकलाई ठूलो आघात पुग्यो । त्यो लोकरिझ्याइँ अर्थात् पपुलिज्मका आधारमा एउटा व्यक्तिलाई संस्था मानेर हामीले वैकल्पिक राजनीतिको स्पेस बनाउन खोज्नु नै घातक सिद्ध भयो ।

महाधिवेशनसमेत हुन नसकेको संस्थामा विभिन्न विचार छरपस्ट भएर आउनु स्वाभाविक थियो । भ्यालिड विचारहरू सबैलाई एकीकृत गर्नुपर्ने थियो । तर, पार्टीको सामान्य सिद्धान्तसँग मेल नखाने ‘इन्भ्यालिड’ विचार र ‘भेस्टेड’ स्वार्थ तेर्साएर पार्टीलाई नै निमिट्यान्न पार्ने अभिप्रायसहित उत्पन्न भएका व्यक्ति, समूह र तरङ्गलाई विवेकशील साझाको नेतृत्वले थेग्न सकेन । एउटा ठूलो जमात ‘युटर्न’ लिएर हिँड्यो, अझ भनौँ निस्कियो ।

पिल्लर र केही झ्याल ढोका मक्किएर भुईँमा ढलेको घर जस्तै बनेको विवेकशील साझा भौतिक, मानसिक र राजनीतिक रुपमा खडा नै पो हुन नसक्ने हो कि भन्ने अवस्थामा पुग्यो, पार्टीको अस्तित्व नै सङ्कटमा पर्‍यो । हुनलाई सुरुदेखि सूर्यराज आचार्य र मुमाराम खनालहरू पार्टीको अभिभावक र पथप्रदर्शक समेत हुनुहुन्थ्यो । तर, उहाँहरूले बाटो कहाँनेर फेर्नु भयो भन्ने नै बुझ्न नसकेको स्थितिमा वैकल्पिक राजनीति गन्जागोलको भुमरीमा ‘न यता न उताको’ अवस्थामा तैरिन पुग्यो । पार्टी ‘क्र्यास’ भयो । तर, देश र जनतालाई विकल्प दिन्छौँ भन्ने अठोट लिएका हामीसँग हारेर भाग्ने सुविधा थिएन । एकएक गर्दै हामी उठ्यौँ । विकल्पको यात्रा निरन्तर चलिरहेको छ ।

अगाडि बढ्दै जाँदा देख्छु, विवेकशील साझाले युवालाई राजनीतिमा बनिरहनका लागि आशा जगाउने काम गरेको छ । राजनीतिभन्दा बाहिरबाट कसैले बोलेर मात्रै चाहिँ केही हुँदैन, राजनीतिको फोहोर सफा गर्न आफैँ उत्रेर आउनुपर्छ भन्ने उदाहरण यसले प्रस्तुत गरेको छ । समाज रूपान्तरणमा म र म जस्ता हरेक सचेत नागरिकले भूमिका प्रष्ट पार्दै सानो नै भए पनि योगदान दिन सक्नुपर्छ भन्ने वातावरण बनेको छ । सायद सबैभन्दा महत्त्वपूर्ण, भ्रष्टाचार र कुशासनको दलदलमा मनपरी हालीमुहाली गर्दै आएका पुराना दलको भ्रष्ट प्रवृत्तिविरुद्ध राजनीतिक जवाफ दिनसक्ने वैकल्पिक शक्तिको मूल जग बनेको छ, विवेकशील साझा पार्टी ।

विकल्पविहीन वैकल्पिक राजनीति

हामी विकल्प प्रदान गर्न राजनीतिमा आएको हौँ । तर, हामीसँग विकल्पका के कस्ता खाका छन् ? जस्तै, शिक्षामा के छ ? स्वास्थ्यमा के गर्ने ? सार्वजनिक यातायातलगायतका विषयमा हाम्रो खाका के छ ? नागरिकलाई कसरी सेवा डेलिभरी सुनिश्चित गर्ने ?

हो, हामी मुद्दा र एजेन्डा विशेषमा बोल्यौँ, समस्याका बारेमा कुरा गर्यौं । शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ भन्यौँ । तर, विवेकशील साझाले अहिले के गर्दैछ भन्दा ठोस जवाफ सायद हामीसँग थिएन । पार्टी ‘क्र्यास’ हुने बेलासम्म पनि हामीसँग त्यो खाका नै थिएन । पहिलेका कोही नेतृत्वमा के गर्ने भन्ने ‘ब्ल्यू प्रिन्ट’ थियो होला, सायद । तर, त्यो ‘ब्ल्यू प्रिन्ट’ हामीसम्म आइपुगेन ।

अहिलेको विवेकशील साझा यही अर्थमा फरक छ । पहिलेको नेतृत्वको विवेकशील साझाले जे छुटायो, त्यही काम अहिलेको विवेकशील साझाले गरिरहेको छ । वैकल्पिक राजनीति समस्या औँल्याउने अभियान मात्रै होइन, यो त ‘सोलुसन बेस्ड’ अर्थात्  समाधानमा आधारित राजनीतिक शक्ति हो । यसले विद्यमान राजनीतिले दिन नसकेको समाधान दिन सक्नुपर्छ । त्यसैले पहिले हामीले समस्या ‘के’ हो भनेर औँल्यायौँ, अहिले हामी त्यसको समाधान ‘कसरी’ दिने भनेर काम गरिरहेका छौँ ।

आज हामी हाम्रो समाजले के खोजेको छ भन्ने कुरालाई मूल प्रश्न बनाएर हिँडेका छौँ । अहिलेको नेपालको आवश्यकता सेवाको सहज र सार्थक डेलिभरी हो । समस्या र त्यसको समाधानलाई लिएर जबसम्म स्पष्टता हुँदैन तबसम्म तपाईंसँग जनमत नै रहेछ भने पनि त्यसले राजनीतिक दिशानिर्देश गर्न सक्दैन । उदाहरणका रुपमा हामीलाई नै हेर्न सक्छौँ । भिजन र मिसन क्लियर नहुँदा हामी बहकिन पुग्यौँ । त्यस बेलाको विवेकशील साझाले मत प्राप्त त गर्‍यो, तर त्यसपछि कता जाने भन्ने लक्ष्य निर्धारण गर्न सकेन । अझ ड्राइभिङ सिटमा बसेकै व्यक्ति बरालिएर हिँड्दा त्यत्रो अभियानले उठाएका एजेन्डा कुल्चिन पुग्यो । त्यसले समग्र वैकल्पिक राजनीतिभित्र कति इमान्दारिता थियो र कति प्रयास गरियो भनेर एउटा समीक्षा गर्न योग्य ठाउँमा पुर्‍यायो ।

वैकल्पिक राजनीतिको नौलो लक्ष्य

एउटा सानो कम्पनी खोल्दापनि आफ्नो निश्चित समयको लक्ष्य के हो भनेर निर्धारण गरिन्छ । राजनीति गर्नेले पनि लक्ष्य निर्माण गर्नुपर्छ । यसअघिको विवेकशील साझामा राजनीतिक लक्ष्य के थियो भन्ने नै थाहा हुन सकेन, संस्थागत तहमा । यो कसैका प्रति आग्रह राखेर भनेको होइन । अनुभवका आधारमा भन्दैछु ।

साथै, नयाँ भनिएका सबै दल वैकल्पिक हुन् कि होइनन् भन्ने प्रश्न पनि छ । मेरो दृष्टिकोणमा अहिले खुलेका सबै दल नयाँ हुन्, तर वैकल्पिक राजनीतिको लाईनमा उहाँहरू हुनुहुन्न । वैकल्पिक राजनीतिले माग्ने आधारभूत शर्त व्यवहारिकता हो, निष्ठा हो । आज राजनीतिभन्दा बाहिर हुँदा बोलेको कुरा, भोलि राजनीतिमा होमिएपछि आफूले आफैँमाथि लागू गर्न सकिन्छ कि सकिन्न भन्ने इमानदारीता हो ।

यदि वैकल्पिक राजनीति गर्ने हो भने जुन नैतिक आधारमा टेकेर मैदानमा प्रवेश गरिन्छ, त्यसैमा अडिग रहेर ‘एक्जिट’ हुन सक्नुपर्छ । पुरानै दलका मान्छेबाट नयाँ दल किन खुल्छन् भन्दा हाम्रा राजनीतिक दलमा ‘एक्जिट प्लान’ नै छैन । जबकि म आफैँ राजनीतिमा आएर एउटा पार्टीको नेतृत्व गर्ने अवस्थामा पुगिसकेँ, म ६-७ कक्षामा पढ्दा जसको अनुहार टेलिभिजनमा देखिरहेकी हुन्थेँ अहिले पनि तिनै नेता छन् यहाँ ।

एउटा व्यक्ति कहिलेसम्म अध्यक्ष भइरहने र बाँकी युवा पङ्क्तिले कहिलेसम्म नेतृत्व गर्नका लागि पर्खिएर बसिरहने भन्ने सीमा तोकिनुपर्छ । एकजना व्यक्ति कहिलेसम्म सांसद बनिरहन पाउने भन्ने सीमा पनि कोर्नुपर्छ । हामी युवा हौँ भनेर भन्नेहरू नै चार पाँच पटकभन्दा बढी सांसद भइसक्नु भयो । तर, पनि उहाँहरू ती पार्टीभित्र अवसर नै पाएनौँ भन्दै हुनुहुन्छ । त्यसो हुँदा कसले कतिपटक जनप्रतिनिधि भएर काम गर्न पाउने भनेर पनि सीमा तोकिनुपर्छ ।

साथै, नयाँ भनिएकाहरूले पुराना वा विपक्षीलाई गाली मात्रै गर्ने प्रवृत्ति देखिन्छ । समाजमा नकारात्मकता व्याप्त छ । नकारात्मक कुराले सधैँ सकारात्मक नतिजा ल्याउन सक्दैन । नेगेटिभिटी, भाइरलिज्म वा पपुलिज्मको अवधि सीमित हुन्छ । त्यो समयलाई क्यास गरिहाल्ने, आफ्नो इच्छा पूरा गरिहाल्ने, तर नागरिकको अवस्था जस्ताको तस्तै हुने राजनीति वैकल्पिक हुन सक्दैन । त्यस्तो राजनीतिको भविष्य पनि छैन ।

संविधान संशोधनको बारेमा

हामीसँग संविधान छ । संविधान कतै अपर्याप्त छ भने त्यसलाई संशोधनमार्फत नै नागरिकलाई अधिकार सम्पन्न बनाउने र डेलिभरी गर्ने हो । यदि त्यसो होइन, भागबन्डाका लागि हो भने संविधान संशोधन गरे पनि वा नगरे पनि आम नागरिकलाई त्यसले कुनै अर्थ राख्दैन । त्यसका लागि वर्तमान समाजको आवश्यकता के हो र त्यसलाई कसरी सहज गर्ने भन्ने एजेन्डा आजको वैकल्पिक राजनीतिसँग हुनुपर्छ ।

त्यसका लागि विवेकशील साझाले चारवटा खम्बा अगाडि सारेको छ । दिगो आत्मनिर्भर अर्थतन्त्रका चार खम्बा, जसलाई हामी THAT भन्छौँ, पर्यटन, हाइड्रो, कृषि र प्रविधि वा टेक्नोलोजीको क्षेत्रमा हामीले काम गर्नुपर्छ । पर्यटन क्षेत्रमा हामी १० लाख पर्यटक आएको खबरले पुलकित छौँ । तर, हामीले हिमालकै मार्केटिङ गर्न सकेका छैनौँ । ६७ प्रतिशत कृषिमा आधारित भन्छौँ, तर आधारभूत कृषिजन्य उपज नै आयात गरिरहेका छौँ । ५ प्रतिशत मात्रै कृषि भएको मुलुकले संसारलाई खुवाउन सक्ने, तर ६७ प्रतिशत कृषक भएको मुलुकले किनेर खानुपर्ने स्थिति कहाँबाट आयो ?

हाइड्रोपावरको अवस्था त्यस्तै छ । प्रविधिको कुरा गर्छौँ, कुनै डाँडामा बसेर लाखौँ कमाउने सपना पनि बाँड्छौँ तर, सामान्य नियम नबनाइदिँदा टुटल जस्ता स्वदेशी राइडिङ शेयर कम्पनी बन्द गर्नुपर्ने अवस्थामा पुर्‍याइदिन्छौं । जुन समीक्षा गर्न आजको राजनीति चुकिरहेको छ, विकल्प दिन सक्ने वैकल्पिक शक्ति नै वैकल्पिक राजनीति हो । यस्ता विषय बुझ्न सक्ने नेतृत्वले मात्रै वर्तमान समाजका समस्या हल गर्न सक्छ ।

कुनै पनि शक्तिको आवश्यकता त्यतिबेलासम्म मात्रै हुन्छ, जतिबेलासम्म उसले उठाएका एजेन्डाको औचित्य रहन्छ । जस्तो कि, माओवादी । माओवादीले घरघरमा सिंहदरबार पुर्‍याउने भनेर अधिकार र शक्तिको विकेन्द्रीकरणको एजेन्डा उठाएको थियो । गणतन्त्रको एजेन्डा उठायो । संविधान निर्माणसँगै त्यो पूरा भएको छ । भनेपछि अब नयाँ एजेन्डा र त्यसको नेतृत्व गर्ने शक्तिको आवश्यकता हुन गएको छ । त्यो भनेको ‘डेलिभरी’ नै हो । त्यसमा चाहे ०४६ सालको काङ्ग्रेस र एमाले हुन् वा ०६२/६३ पछिको माओवादी, सबै डेलिभरीमा नै चुकेका हुन् ।

जसले एउटा आन्दोलनको नेतृत्व गर्छ, उसले त्यसलाई मात्रै सम्पन्न गर्न सक्ने रहेछ । त्यसपछि अर्को आवश्यकता पूरा गर्न नयाँ भिजन र मिसन भएको शक्ति नै चाहिन्छ । आजको विवेकशील साझा सैद्धान्तिक र राजनीतिक विषयमा स्पष्ट छ । सैद्धान्तिक नारा दिनु मात्र आजको आवश्यकता होइन । आजको आवश्यकता त समाधानमा आधारित राजनीति हो, आजको आवश्यकता नागरिकको जीवनस्तरमा परिवर्तन गराउने राजनीतिको हो । प्रश्न भाइरल कि भाईटल भन्ने नै हो । भाईटल हुनका लागि अहिलेको प्रमुख राजनीतिक एजेण्डा सिफ्ट हुन जरुरी छ । यहाँनेर विवेकशील साझाले गर्ने भनेको डेलिभरीको राजनीति नै हो ।

(अध्यक्ष, विवेकशील साझा पार्टी)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register