यस्तो छ ट्रम्पले ग्रीनल्याण्डमाथि आँखा गाड्नुको कारण

आर्टिक क्षेत्रमा पर्ने ग्रीनल्याण्ड संसारकै सबैभन्दा ठूलो टापु हो तर, यहाँका बासिन्दा भने करिब ५७ हजार मात्र छन् । अधिकांश भूभाग मानवरहित यो टापुमा खनिज, तेल र ग्यासको विशाल भण्डार छ ।

Jan 13, 2025 - 12:35
 0
यस्तो छ ट्रम्पले ग्रीनल्याण्डमाथि आँखा गाड्नुको कारण

काठमाडौं । एकातिर रुसले युक्रेनमाथि युद्ध जारी राखेको २ वर्षभन्दा बढी भयो । अर्कोतिर, चीन ताइवान पुन:एकीकरण कार्ययोजना कार्यान्वयन गर्न उपयुक्त भूराजनीतिक तथा वैश्विक अवसरको प्रतीक्षामा छ ।

यता अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औं राज्य बन्न, डेनमार्कको टापु ग्रीनल्याण्ड आफूलाई बिक्री नगरे सैन्य नियन्त्रण गर्ने धम्की दिइरहेका छन् । ट्रम्पले पानामा नहरमा पनि कब्जा गर्ने मनसाय राखिरहेका छन् ।

विश्व राजनीतिका जानकार भन्दछन् – यो परिदृष्यले आगामी हप्ता सुरु हुन लागेको ट्रम्पको दोस्रो कार्यकाललाई निकै अर्थपूर्ण बनाउँछ ।

ट्रम्पको कार्यकालमा कतै यी ३ महाशक्ति राष्ट्रबीच कुनै घोषित वा अघोषित सम्झौता त हुने हैन, जसले गर्दा रुसले युक्रेनलाई, चीनले ताइवानलाई र अमेरिकाले ग्रीनल्याण्ड गाभ्दा एकअर्काको समर्थन हासिल गरुन् ?

ट्रम्पको सजिलै अनुमान गर्न नसकिने सोच र कार्यशैली हेर्दा यस्तो नहोला भन्न सकिन्न । शक्ति राष्ट्रले साना छिमेकीमाथि गर्ने यस्तो अतिक्रमणको प्रतिरक्षा गर्नसक्ने अरु कुनै शक्ति संसारमा अहिले छैन । शक्ति राष्ट्र एकअर्काको भय र सन्तुलनले त्यसो गर्न सकिरहेका छैनन् । यदि उनीहरुको स्वार्थ मिल्यो र एकअर्कालाई सहयोग वा समर्थन गर्ने शर्तमा ‘तै चुप मै चुप’ भए भने स्थिति के होला ?

यदि अमेरिका र नाटोको भय नहुने हो भने चीनलाई ताइवानमाथि कब्जा जमाउन केही महिनाभन्दा बढी नलाग्न सक्छ । भलै कि जनताले गर्ने प्रतिवाद र भविष्यमा आन्दोलनको सम्भावना बाँकी रहन्छ । सैन्य हारजितले मात्र कुनै पनि राष्ट्रको भविष्य सधैँका लागि निर्धारण गर्न सक्दैन ।

ठीक, त्यसैगरी अमेरिका र नाटोको सैन्य सहायता नभएको भए युक्रेन सायदै यतिञ्जेल रुससँगको युद्धमा टिक्न सक्ने थियो । रुस-युक्रेन युद्धको मध्यममार्गी समाधान पनि छ भनिन्छ । जस्तो कि रुसी भाषी बहुल क्षेत्र क्रिमिया, दोनेस्क, लुहान्स्क र दोनबासको रुसी विलयलाई विश्वले मान्यता दिने । यो विकल्पमा भने युक्रेनको अस्तित्व पूर्णतः समाप्त हुँदैन ।

सन् २०१४ मा क्रिमिया गाभेपछि रुसको आत्मविश्वास यस अर्थ बढेको थियो कि पश्चिमले त्यसको शाब्दिक विरोध त गर्‍यो, तर शक्तिसहित कुनै प्रतिवाद गरेन । क्रिमियाको इतिहास विवादास्पद पनि थियो ।

क्यानडाको प्रश्नलाई एक क्षण छोड्ने हो भने ट्रम्पको ग्रीनल्याण्ड सोच रुसको युक्रेनप्रतिको र चीनको ताइवानप्रतिको दृष्टिकोणभन्दा धेरै भिन्न हैन ।

क्यानडालाई अमेरिकामा गाभ्ने ट्रम्पको इच्छा पछाडि धेरै ठूलो महत्वाकाङ्क्षा देखिन्छ । दुई देश गाभिने हो भने रुसभन्दा पनि विशाल संसारकै पहिलो ठूलो देश बन्ने छ । रुसको क्षेत्रफल १ करोड ७० लाख ९८ हजार २४६ वर्गकिमि छ । अमेरिका र क्यानडाको क्षेत्रफल जोड्दा त्योभन्दा पनि धेरै १ करोड ९५ लाख ९ हजार ३३७ वर्गकिमि हुन्छ ।

यद्यपि, ट्रम्पको क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने इच्छापूर्ति सहज देखिँदैनन् । यदि त्यसो भयो भने समकालीन विश्वको मानचित्र नै अलगअलग हुन सक्दछ । तर, ग्रीनल्याण्डमाथिको अमेरिकी गिद्धे नजर भने त्यति असम्भव हैन । अमेरिकाजस्तो शक्ति राष्ट्रले सैन्य शक्तिको परिचालनसहित चाहेमा डेनमार्कलाई ग्रीनल्याण्डमाथिको दाबी छोड्न बाध्य गर्न सक्दछ । सन् १९५१ देखि नै ग्रीनल्याण्डको पितुफिकमा अमेरिकी सैन्य शिविर छ ।

ट्रम्पले गत हप्ता ‘स्वतन्त्र विश्व व्यापार’ का लागि ग्रीनल्याण्ड माथिको नियन्त्रण जरुरी भएको बताएका थिए । ठीक त्यही दिन ट्रम्प जेठा छोरासहित हवाईजहाज लिएर ग्रीनल्याण्डको राजधानी नुक पुगेका थिए । त्यहाँ उनले पृथकतावादी स्थानीयसँग बैठक र भेटघाट गरेको समाचार छ ।

छोरा ट्रम्प जुनियरलाई डोनाल्डको मुख्य सल्लाहकार मानिन्छ । ट्रम्प जुनियरको भ्रमण र ट्रम्पको प्रतिक्रियापछि ग्रीनल्याण्डमा अमेरिका समर्थित पृथकतावादी गतिविधि बढ्न थालेका समाचार छन् । ट्रम्प जुनियरले त्यहाँ ‘मेक अमेरिका ग्रेट अगेन’ लेखेको क्याप लगाएर केही भेटघाट गरेको बताइन्छ । उनले भेटघाटमा सहभागीबीच ‘मेक ग्रीनल्याण्ड ग्रेट अगेन’ को नारासमेत लगाएका थिए ।

स्वायत्तता चाहने ग्रीनल्याण्डका बासिन्दाले भने सामाजिक सञ्जालमा ‘याङ्की गो होम, ग्रीनल्याण्ड न बिक्रीमा छ, न तिम्रो आधिपत्य स्वीकार छ’ लेखेर प्रतिक्रिया दिएका थिए ।

सन् २०१९ मै ट्रम्पले ग्रीनल्याण्ड अमेरिकालाई बिक्री गर्न डेनमार्कसँग अनुरोध गरेका थिए । त्यतिखेर डेनमार्कले भनेको थियो –‘ग्रीनल्याण्ड त्यहाँकै बासिन्दाको हो, यो न अमेरिकाले किन्न सक्दछ न डेनमार्कले बेच्न सक्दछ ।’ डेनमार्कले फेरि एकपटक त्यही भनाई दोहोर्‍याएको छ, ‘ग्रीनल्याण्ड बरु स्वतन्त्र हुन सक्दछ तर, अमेरिकाको हुन सक्दैन ।’

त्यसो त ग्रीनल्याण्डमाथिको अमेरिकी नजर ट्रम्पकालीन मात्र हैन । शीतयुद्धकालमा राष्ट्रपति ह्यारी ट्रुमेनले पनि डेनमार्कसँग ग्रीनल्याण्ड बिक्रीको प्रस्ताव गरेका थिए । यसो गर्नुको कारण भने तत्कालीन सोभियत सङ्घले त्यस नजिकको सामुद्रिक मार्गबाट सैन्य सामग्री ओसारपसार गर्नु थियो । अहिले पनि रुसले यो प्रयोजनका लागि यो जलमार्ग प्रयोग गर्दछ ।

आर्टिक क्षेत्रमा पर्ने ग्रीनल्याण्ड संसारकै सबैभन्दा ठूलो टापु हो तर, यहाँका बासिन्दा भने करिब ५७ हजार मात्र छन् । अधिकांश भूभाग मानवरहित यो टापुमा खनिज, तेल र ग्यासको विशाल भण्डार छ । यस क्षेत्रमा हिउँ पग्लिने क्रम बढ्दो छ । उपयोग योग्य जमिन बढ्दै गएको छ । कम लागतमा खनिज उत्खनन गर्न सकिने सम्भावना छ ।

ग्रीनल्याण्डमा हिमक्षेत्र पग्लिदै जाँदा खनिज पदार्थको उत्खनन सहज र व्यावसायिक दृष्टिले बढी मुनाफाकारी हुन सक्ने सम्भावनाले यसको महत्त्व बढ्न थालेको हो ।

इतिहासमा यस टापुको विषयलाई लिएर नर्वे र डेनमार्कबीच शताब्दीऔं लामो विवाद र सङ्घर्ष भएको थियो । सन् १९५३ देखि ग्रीनल्याण्ड डेनमार्कमा आएको थियो र सन् १९७९ मा स्वायत्त  प्रदेशको मान्यता दिइएको थियो । ग्रीनल्याण्डले डेनिस संसद्‌मा २ सिटको प्रतिनिधित्व गर्दछ । तर, यहाँका बासिन्दामा डेनमार्कबाट पनि स्वतन्त्र हुने भावना बलियो छ । बेलाबेला त्यहाँ स्वतन्त्रता आन्दोलन भइरहने गर्दछ ।

सन् २००९ को संसद्ले ग्रीनल्याण्डबारे एक यस्तो ऐन पारित गरेको छ, जसअनुसार त्यहाँका बासिन्दाले चाहेमा जनमत सङ्ग्रह गरेर डेनमार्कबाट स्वतन्त्र हुने अधिकारसमेत पाएका छन् ।

अहिलेसम्म यहाँका बासिन्दाले यो अधिकार प्रयोग नगर्नुको मुख्य कारण भने डेनमार्कमाथिको आर्थिक निर्भरता हो । डेनमार्कले ग्रीनल्याण्डका बासिन्दालाई प्रतिनागरिक वार्षिक १८ हजार अमेरिकी डलर सरकारी खर्च गर्दछ । यसको उपयुक्त विकल्पबिना ग्रीनल्याण्ड स्वतन्त्र राष्ट्र बन्न सहज हुने छैन ।

ग्रीनल्याण्डको राजधानी शहर नुक टापुको दक्षिणमा छ । नुक डेनमार्कको राजधानी कोपनहेगेनभन्दा अमेरिकाको न्यूओर्कबाट नजिक पर्दछ । नुक ‘संसारकै सबैभन्दा सानो राजधानी शहर’ को उपनामले चर्चित छ । टापुका कुल बासिन्दामध्ये करिब २० प्रतिशत राजधानी शहर नुकमा बसोबास गर्दछन् ।

ग्रीनल्याण्डलाई अमेरिकामा गाभ्ने ट्रम्पको धम्कीलाई डेनमार्कले मात्र हैन, युरोयिन युनियन र सदस्य राष्ट्रले समेत विरोध गरेका छन् । तिनले भनेका छन् – अमेरिकाले युरोपेली सीमा र सार्वभौमसत्ताको सम्मान गर्न सक्नुपर्दछ ।

ग्रीनल्याण्डमाथि नियन्त्रण गर्दा अमेरिकालाई युरोपसम्मको व्यापारमा छोटो सामुद्रिक मार्ग प्राप्त हुनेछ । यो जलमार्ग पश्चिम युरोपदेखि पूर्वी एसियासम्मको व्यापारका लागि स्वेज नहरको विकल्प पनि हो ।

प्राकृतिक स्रोत र जलमार्गपछि ग्रीनल्याण्डमाथि ट्रम्पको आँखा लाग्नुको तेस्रो महत्त्वपूर्ण कारण भने सुरक्षा रणनीतिसँग जोडिन्छ । आर्टिक क्षेत्रमा रुसले आफूलाई मजबुत बनाउँदै लगेको छ । ग्रीनल्याण्डमा जडान गरिने क्षेप्यास्त्र प्रतिरोध सावधानी प्रणाली (एन्टी मिसाइल वार्निङ सिष्टम) अमेरिकाका लागि सैन्य रणनीतिका दृष्टिले उपयुक्त हुन्छ ।

ट्रम्पको धम्की र ट्रम्प जुनियरको नुक भ्रमणपछि ग्रीनल्याण्डका बासिन्दाको धारणा भने विभाजित हुँदै गएको छ । ग्रीनल्याण्डबाट डेनिस संसद्‌मा प्रतिनिधित्व गर्ने एक सांसद आजा चेमनिजले भने – हाम्रो देशसम्म आफ्नो साम्राज्य फैलाउने ट्रम्पको चाहना स्वीकार्य हुने छैन ।

तर, ग्रीनल्याण्डका प्राइमर म्युट बि. इजे भने स्वतन्त्रताको पक्षमा उभिएका छन् । उनले आगामी अप्रिलमा हुने ग्रीनल्याण्डको चुनावलाई ‘स्वतन्त्रताको रणमैदान’ बनाउने उद्घोष गरेका छन् । ग्रीनल्याण्डले आफूलाई एक स्वतन्त्र राष्ट्र घोषणा गरे कुनै अनौठो हुने छैन ।

यस क्षेत्रको भूराजनीतिका जानकार भन्छन् – ग्रीनल्याण्ड स्वतन्त्र राष्ट्र भयो भने पनि टिक्न सक्ने सम्भावना रहन्छ । किनकि, डेनमार्कको विकल्पमा यसले अमेरिकाबाट सैन्य तथा आर्थिक सहायता प्राप्त गर्ने सम्भावना रहन्छ ।

तर, ट्रम्पको अहिलेसम्मको इच्छा भने स्वतन्त्रताको पक्षमा हैन, ग्रीनल्याण्डमाथि अधिपत्य जमाउने रहेको छ । प्रतिरक्षा प्रणाली, प्राकृतिक स्रोत र छोटो सामुद्रिक मार्ग ट्रम्पले ग्रीनल्याण्डमाथि आँखा गाड्नुका ३ मुख्य कारण हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register