सम्झनामा राम दाइ : थुनाका अभिभावक

अग्लो, गोरो, बलियो बाङ्गो शरीर, फुर्तिलो चाल, रवाफिलो अनुहार र थुना बस्दा पनि किञ्चित कुनै भय नदेखिने शानदार व्यक्तित्व थियो– राम दाइको । उनको निर्भीकताले हामी कम उमेरका थुनुवाको मनोवैज्ञानिक भय कम गर्न मद्दत गर्थ्यो । ‘राम दाइ भएपछि पुलिसले पनि केही गर्न सक्दैन’ भन्ने भरोसाको भाव मनमा पैदा हुन्थ्यो ।

Jan 21, 2025 - 08:12
 0
सम्झनामा राम दाइ : थुनाका अभिभावक

काठमाडौं । सोमबार बिहान चिया समयमा फेसबुक खोलेँ । पहिलो पोष्टमै राम दाइको फोटो आयो । करिब १ दशकदेखि राम दाइसँग भेटघाट भएको थिएन । अघिल्लो पुस्ताका राम दाइ फेसबुकमा सक्रिय थिएनन् । राम दाइको फोटो आज बिहानै किन आयो ?

श्रद्धाञ्जली पोष्ट रहेछ । पोष्ट सुदीप अधिकारीको थियो । उनी हाम्रो सुनसरी, रामधुनीका नेपाली काङ्ग्रेसका नगर सभापति हुन् । गत स्थानीय निर्वाचनमा मेयर पदका उम्मेदवार पनि थिए । अरु कसैको पोष्टमा भए मलाई विश्वास गर्न गाह्रो पर्थ्यो । सुदीपको पोष्ट आधिकारिक हुने नै भयो ।

राम दाइ अर्थात् रामबहादुर बस्नेत, वर्ष–७८ । सोलुखुम्बुको सल्यान गाउँबाट सुनसरी झरेर जमेका एक व्यक्तित्व । २०४६ सालको परिवर्तनपछि सुनसरी जिल्ला विकास समितिका पहिलो सभापति ।

पारिवारिक रूपमा मेरो चिनचान दाइ र उनका कान्छा छोरा विनयसँग मात्र थियो । विनय एक बेला साथीजस्तै थिए । जिल्ला सदरमुकाम इनरुवाको राजनीतिक र सामाजिक क्रियाकलापमा खुबै सक्रिय थिए । तर, बुबाभन्दा अगाडि नै उनी केही वर्ष पहिले बितिसकेका थिए ।

सुदीप अधिकारीको पोष्टले मन अस्थिर भयो । कसलाई सोधौँ, कसलाई सोधौँ जस्तो भयो ।

पोष्टकुमार नेपाललाई इनरुवा फोन लगाएँ । नेपाल एमाले सुनसरीका नेता हुन् । तुरुन्तै फोन लागेन । उनले मैले ‘सेभ’ गरेको पुरानो नम्बर प्रयोग गर्न छोडेका रहेछन् । त्यसपछि म्यासेन्जरमा गरेँ ।

सोधेँ, के राम दाइ बितेकै हुन् पोष्टजी ?

राजा ज्ञानेन्द्र शाहको शासनकालमा थुनामा राम दाइ, पोष्ट जी, म लगायत थुप्रै साथीसँगै थियौँ । इनरुवा नै बस्ने हुँदा पोष्टजीलाई पक्कै थाहा होला भन्ने लाग्यो ।

उनले ‘हो’ भने । केही बेर हामीले थुना बस्दाका पुराना दिन सम्झना गर्यौँ । जनआन्दोलन २०६२-२०६३ का १९ दिन इनरुवाको सडकमा बिताएका पल स्मरण गर्यौं । पोष्टजीलाई मैले सोधेँ– कसरी त्यस्तो भए छ ?

पोष्टजीलाई पनि धेरै जानकारी थिएन । घटना काठमाडौंमा भएको रहेछ । राम दाइ केही दिन अघि घरमै ओच्छ्यानबाट लड्दा चोटपटक लागेको थियो रे ।

उनको भौतिक देहलाई सोमबार काठमाडौंबाट इनरुवा लाने र मङ्गलबार बिहान सुनसरी घाटमा दाहसंस्कार गर्ने योजना रहेछ ।

मेरा व्यक्तिगत परिस्थिति तत्काल त्यहाँ पुग्न सक्ने रहेन । तर, मनमस्तिष्कमा जिल्ला, जिल्ला राजनीति र रामबहादुर दाइको सम्झनाको तस्वीर सजीव भएर सरसर्ती बग्न थाल्यो ।

राम दाइको जीवनका अनेक पाटा होलान् । मैले सङ्गत गरेको राम दाइ एउटा सानो हिस्सा मात्र हो । मेरा लागि भने उनी थुना बस्दाका साथी, साथीभन्दा बढी अभिभावकजस्ता थिए । मैले राम दाइलाई पहिलोपटक २०४६ साल माघ २७ गते बिहान जिल्ला प्रहरी कार्यालय इनरुवामा थुनाभित्र देखेको थिएँ ।

त्यो बेला राम दाइ प्रतिबन्धित नेपाली काङ्ग्रेसको जिल्ला नेताका रुपमा चर्चित थिए । र, त्यही दिन बिहान ५ बजे मलाई प्रहरीले पक्रिएर थुन्न जिल्ला प्रहरी कार्यालय लगेको थियो । अग्लो, गोरो, बलियो बाङ्गो शरीर, फुर्तिलो चाल, रवाफिलो अनुहार र थुना बस्दा पनि किञ्चित कुनै भय नदेखिने शानदार व्यक्तित्व थियो– राम दाइको ।

उनको निर्भीकताले हामी कम उमेरका थुनुवाको मनोवैज्ञानिक भय कम गर्न मद्दत गर्थ्यो । ‘राम दाइ भएपछि पुलिसले पनि केही गर्न सक्दैन’ भन्ने भरोसाको भाव मनमा पैदा हुन्थ्यो ।

त्यो एउटा भिन्नै युगको कुरा थियो । निरङ्कुश निर्दलीय पञ्चायती व्यवस्था र सक्रिय राजतन्त्रको युग थियो । त्यो बेलाको प्रहरी दमन र यातनाको भिन्नै कथा हुन्थ्यो । प्रहरीले राजनीतिक थुनुवा र बन्दीलाई चरम यातना दिने सम्भावना हुन्थ्यो । मेरो चिनजानका थुप्रै साथीले त्यस्तो यातना खेपेका थिए । र, ती कथा सुनाएका थिए ।

राजनीतिक रूपले म दृढ थिएँ । तर, शारीरिक हिसाबले ठूलो यातना देला भन्ने डर चाहिँ मनमा आउँथ्यो । 

पञ्चायतविरुद्ध लडेको जनसङ्ख्या अनुपात अहिले निक्कै कम भइसकेको होला । म पञ्चायतविरुद्ध लड्ने त्यो बेलाको सबैभन्दा नयाँ वा कान्छो पुस्ताको एक प्रतिनिधि पात्र थिएँ । भर्खरै आइकम दोस्रो वर्षको परीक्षा दिएको १९ वर्षको थिएँ । कान्छा उमेरका थुनुवामा पर्थेँ ।

राम दाइसँग थुनामा मेरै उमेरका केही नेविसङ्घका साथी थिए । उमेशजँग रायमाझी, थलकुमार लिङ्खा, सरोज वाग्ले, विष्णुहरि मानन्धर आदि । म त्यो बेला भूमिगत कम्युनिष्ट पार्टी नेकपा (माले) लाई समर्थन गर्थेँ । त्यतिखेरको सत्ताले प्रयोग गर्ने चल्तीको भाषामा ‘झापाली नक्सलाइट’ लाई समर्थन गर्थेँ ।

तसर्थ, राम दाइ र उनीसँगका काङ्ग्रेसी बन्दीको तुलनामा म व्यवस्थाको नजरमा झन बढी खतरनाक थिएँ । प्रहरीले मलाई सबै थुनावाभन्दा भिन्दै एक साँघुरो कोठामा थुनेको थियो ।
राम दाइहरूलाई इन्स्पेक्टरको अफिस कोठा खाली गराएर राखेको थियो । मलाई हिरासतभित्रको पनि हिरासत भनिने सिँढी मुनिको छिँडीमा कोचेको थियो ।

चिनजान हुनुभन्दा अगाडि नै राम दाइले प्रहरी हाकिमसँग, ‘यो भाइलाई किन भिन्नै राखेको, अरु कुनै अपराध गरेको छ भने भन, हैन हामीजस्तै आन्दोलनकारी हो भने हामीसँगै राख’ भनेका थिए ।

राम दाइले मेरै अगाडि प्रहरी हाकिमलाई यसरी थर्काउँदा मेरो मनोविज्ञान उत्साहित भएको थियो । निरङ्कुश राजतन्त्रको थुनाभित्र पनि नचिनेका मान्छे सहयोगी हुने रहेछन् भन्ने भरोसा जागेको थियो ।

खाना खाने बेला प्रहरी मेसमा राम दाइले, ‘भाइलाई कसरी, किन र कहाँबाट समात्यो’ भनेर बेलीविस्तार सोधेका थिए । मैले सबै कथा सुनाएपछि चिनचान बढेको थियो ।

इनरुवाबाट लौकही बन्दी शिविर अरु थुनुवासँगै लगेको थियो । बन्दी शिविरका अरु पात्र र कथा थुप्रै छन् । आज राम दाइको बारेमा मात्र लेख्छु । लौकही बन्दी शिविरमा एक साँझ तत्कालीन अञ्चल प्रहरी प्रमुख एसपी गयाप्रसाद साहु र बन्दीबीच भनाभन र एक प्रकारको झगडा नै भयो । ठूलो हल्लीखल्ली भयो ।

एसपी साहु रक्सीले मातेका थिए । उनले हामी बन्दीलाई मनपरी गाली गरे । राम दाइ र एसपी साहुको ‘तँ, तँ म म’ भनाभन भयो । साहुले त सिपाहीलाई ‘गोली हान’सम्म आदेश गरेका थिए । डीएसपी किरण गौतमले कसोकसो स्थितिलाई साम्य पारे । त्यसको भोलिपल्ट राम दाइलाई शिविरका अरु बन्दीबाट एक्ल्याएर धरान लगेर राखेको थियो ।

कारण– उनी प्रशासकहरूसँग सिधै भिड्थे । पञ्चायतकालको हिरासत, बन्दी शिविर वा ज्ञानेन्द्र शाहको थुना राम दाइलाई कसैसँग कुनै डर वा मोलाहिजा मैले कहिल्यै देखिन ।
बन्दीलाई भाँडेर अनुशासनमा राख्न गाह्रो भएको भन्दै एसपी साहु र डीएसपी किरण गौतमले उनलाई हामीबाट छुटाएर एक्लै धरान लगेर थुनेका थिए ।

हामी एकै दिन छुटेका थियौँ । पञ्चायतको अन्त्यपछि केही महिनासम्म काङ्ग्रेस–वाममोर्चाका साझा कार्यक्रम हुन्थे । बन्दी अभिनन्दन कार्यक्रम हुन्थे । त्यस्ता कार्यक्रममा राम दाइसँग जिल्लाका विभिन्न ठाउँमा सँगै भइन्थ्यो । तर, दलीय राजनीतिक ध्रुवीकरण बढ्दै गएपछि भेटघाट पातलियो ।

राम दाइ सुनसरी काङ्ग्रेस र जिल्ला विकास समितिको सभापति भए । मेरो कहिल्यै कुनै काम परेन । यदाकदाको भेटघाट, सन्चोबिसन्चो र हाइहेल्लो मात्र भयो ।

राम दाइसँग उठ्बस र सङ्गत गर्न फेरि त्यतिखेर पाइयो, जब ज्ञानेन्द्र शाहले २०६१ माघ १९ गतेको ‘कु’ गरे । फेरि एकपटक विपक्षी राजनीतिक कार्यकर्तालाई खोजीखोजी पक्राउ गर्न थालियो । फेरि एकपटक हामी १५ वर्षपछि इनरुवा प्रहरी कार्यालयको हिरासतमा सँगै भयौँ ।

यसपटक सायद करिब ३ महिना सँगै थुना बस्यौँ । तीन महिना एउटै कोठामा बस्दा, त्यो पनि बन्दी स्थितिको निकटता हुने नै भयो ।

२०४६ सालमा थुना बस्दाका एसपी गयाप्रसाद साहु र डीएसपी किरण गौतम ठीक विपरित चरित्र र स्वभावका प्रशासक थिए । साहु रक्सी खाएर साँझ बन्दीसँग मनपरी बोल्थे । सकेसम्म दबाबमा राख्न, हेप्न, अपमान गर्न चाहन्थे । गौतम भने बिल्कुलै भद्र र शालीन मान्छे थिए ।

२०६१ सालको थुना पनि त्यस्तै भयो । एसपी श्यामकुमार खड्कालाई बेलाबेला बन्दीसँग अनावश्यक निचोरिएका कुरा गर्न पर्थ्यो । त्यो बेला माओवादी विद्रोह उत्कर्षमा थियो, उनी कुनै न कुनै प्रकारको हतारो, दबाब र चिन्तामा हुन्थे । त्यसको रिस हामी थुनुवामाथि पोख्न खोज्थे ।

डीएसपी योगेन्द्र कटवाल भने बिल्कुलै भद्र । उनी हाम्रा गाउँले दाइसमेत भएको हुँदा नराम्रो व्यवहार गर्ने कुरै भएन ।

यसपटक पनि राम दाइको एसपी खड्कासँग चर्काचर्की परिरहन्थ्यो । निहुँ ससाना हुन्थे । पत्रिका पढ्ने, रेडियो सुन्ने सुविधा, मेसमा खानाको गुणस्तर, बन्दीसँग भेट्न आउने मान्छेलाई भेटघाट दिने समय आदि । बन्दीलाई सकेसम्म कठोर व्यवहार गर्न राजावादीको उर्दी हुन्थ्यो ।

प्रहरी हाकिम दोहोरो मारमा पर्थे । एकातिर उनीहरूलाई आदेश पालना गर्नु थियो । अर्कोतिर स्थिति २०४६ सालको जस्तो थिएन । बहुदलीय लोकतन्त्रकालमा चिनेका वा सङ्गत गरेकै मान्छे प्रहरी हाकिम हुन्थे । उनीहरू बन्दीसँग कठोर व्यवहार गर्न सक्दैनथे ।

राम दाइ, हामी करिब ३५ जनामा सबैले मानेका सायद उमेरले पनि जेठा बन्दी थिए । हाम्रो थुनुवा जीवनचर्या र समयतालिका उनलाई अगुवा मानेर चल्थ्यो ।

त्यो बेला थुना बसेर जेल भर्दा आन्दोलन बलियो हुन्छ कि, बन्दीप्रत्यक्षीकरण रिटबाट छुटेर बाहिर जानु उचित हो भन्ने बहस थियो । विराटनगर कानुनी सहायता परियोजनाका वकिल साथीहरूले हाम्रो तर्फबाट रिट हालेका थिए ।

अन्ततः बन्दीप्रत्यक्षीकरण रिटबाट हामी सँगै छुटेका थियौँ । सँगसँगै क्षतिपूर्तिको मुद्दा हालेका थियौँ । सँगै क्षतिपूर्ति मुद्दा जितेका थियौँ । १९ दिने जनआन्दोलनका दिन इनरुवाका सडकपेटीमा सँगै बिताएका थियौँ ।

र, जनआन्दोलन सफल भएको, क्षतिपूर्तिको मुद्दा जितेको खुशियालीमा मनोजकुमार मेन्याङ्बोको संयोजनमा सँगै भेडेटारमा पिकनिक मनाएर दिनभरि नाचेका थियौँ । जीवनकै सबैभन्दा धेरै खुशी भएको दिन थियो त्यो । राम दाइसँगको दोस्रो पटकको सङ्गत यो पिकनिकको दिनपछि फेरि छुट्यो ।

एक दशक पुग्न लागेको थियो भेट नभएको । इनरुवाका साथीभाइसँग भेटघाट हुँदा सन्दर्भवश धेरै पटक राम दाइको चर्चा चल्यो । राम दाइको खबर केकस्तो छ भनेर सोध्ने गर्थेँ । राम दाइको राजनीतिक सक्रियता घट्दै र स्वास्थ्य कमजोर हुँदै गएको सुन्थेँ । नमज्जा र नमीठो लाग्थ्यो ।

सुनसरीको राजनीतिमा उनी एक समयका हस्ती थिए । पञ्चायत र निरङ्कुश राजतन्त्र विरोधी लोकतान्त्रिक आन्दोलनलाई उनले जिल्लामा सधैँ उत्प्रेरित गरे । नेपाली काङ्ग्रेसलाई जिल्लामा बलियो बनाउन सकेसम्म सबै गरे ।

२०३६–२०४६ बीच उनी जिल्लामा ठूला क्रान्तिकारी मानिन्थे । २०४६–२०५६ बीच जिल्लाको सत्तापक्षजस्तो भए । काङ्ग्रेसी विवादका बेला जिल्लामा उनलाई गिरिजाप्रसाद कोइरालाका दाहिने हात भनिन्थ्यो ।

मेरो सङ्गत भने दुवै पटक थुनामा, क्रान्तिकारी राम दाइसँग भयो । सत्तापक्षीय राम दाइसँग भने कहिल्यै कुनै काम परेन, कुनै सरोकार पनि रहेन ।

जीवनको उत्तरार्धमा विशेषतः २०६४ को संविधानसभा निर्वाचनमा पराजयपछि भने उनको राजनीतिक जीवन ओरालो लागेजस्तो भयो । संसार यस्तै हो, सधैँ एकनास कसको हुन्छ र ?

हार्दिक श्रद्धाञ्जली राम दाइ । मान्छेले तपाईंलाई सङ्घर्ष र साहसको प्रतीकका रुपमा सम्झने छन् । लोकतान्त्रिक आन्दोलनमा तपाईंको योगदान नेपाली काङ्ग्रेसले मात्रै हैन, हामी कसैले बिर्सन नमिल्ने प्रकारको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register