सोनाम ल्होछारका लागि १० वर्षपछि लन्डन आइपुगे प्रशान्त तामाङ

लन्डन । बेलायतका तामाङ जातीले यो सप्ताहन्त आफ्नो प्रमुख मौलिक राष्ट्रिय पर्व सोनाम ल्होछार धुमधाम मनाउने तयारी गरेका छन् । बेलायतमा क्रियाशील पांच तामाङ समाजहरु ल्ह म्हेंदो समाज लन्डन, तामाङ समाज यूके, म्हेंदोमाया समाज यूके, तामाङ घेदुङ रेडिङ र तामाङ ह्युल्बा केन्टले एकता नै बल हो भन्ने नारासहित पहिलोपटक संयुक्त ल्होछार मनाउन लागेका हुन् । […]

Jan 24, 2025 - 20:54
 0
सोनाम ल्होछारका लागि १० वर्षपछि लन्डन आइपुगे प्रशान्त तामाङ

गायक प्रशान्तलाई गेटवीक विमानस्थलमा स्वागत गर्दै आयोजक

लन्डन । बेलायतका तामाङ जातीले यो सप्ताहन्त आफ्नो प्रमुख मौलिक राष्ट्रिय पर्व सोनाम ल्होछार धुमधाम मनाउने तयारी गरेका छन् ।

बेलायतमा क्रियाशील पांच तामाङ समाजहरु ल्ह म्हेंदो समाज लन्डन, तामाङ समाज यूके, म्हेंदोमाया समाज यूके, तामाङ घेदुङ रेडिङ र तामाङ ह्युल्बा केन्टले एकता नै बल हो भन्ने नारासहित पहिलोपटक संयुक्त ल्होछार मनाउन लागेका हुन् ।

२५ जनवरी शनिबार लन्डनस्थित ह्यारो लिजर सेन्टरमा हुन लागेको तामाङ जातिको महान राष्ट्रिय सांस्कृतिक पर्व २८६१ औं डुल ल्हो (सर्प वर्ग) सोनाम ल्होछारका लागि नेपालका राष्ट्रिय कलाकारहरु बेलायत आइसकेका छन् ।

शुक्रबार दिउसो इन्डियन आइडल सिजन ३ विजेता प्रशान्त तामाङ लन्डन आइपुगेका छन् । गायक प्रशान्तलाई गेटवीक विमानस्थलमा संयुक्त ल्होछार मूल समारोह समितिका सदस्य तथा ल्हाम्हेंदो समाज लन्डनका अध्यक्ष आइतसिंह तामाङ, महासचिव विशाल तामाङ, ल्हाम्हेंदो समाज लन्डनका गान्वा जग बहादुर स्याङबो, बिना तामाङ लगायतले पुष्पगुच्छा र खादा लगाई स्वागत गरे ।

विमानस्थलमा अवतरण भए पश्चात गायक प्रशान्त तामाङले आफू करिब १० वर्ष पछि लन्डनमा आएको बताउंदै त्यसमा पनि तामाङ जातीको ल्होछारमा उपस्थित हुन पाउंदा अत्यन्त खुशी लागेको प्रतिक्रिया दिए ।

उनले सोनाम ल्होछारमा असंख्य प्रशंसकहरुसंग भेट हुने विश्वास गर्दै सबैलाई कार्यक्रममा आइदिन अपिल गरेका छन् ।

चर्चित सेलो गायक चन्द्र कुमार दोङको स्वागत गर्दै आयोजकहरु

हिजो बिहीबार नेपालका चर्चित सेलो गायक चन्द्र कुमार दोङ पनि बेलायत आइसकेका छन् ।

सोनाम ल्होछारमा प्रशान्त तामाङसहित चन्द्रकुमार दोङ, सिङ्गीङ स्टार सिजन १ विजेता ऋतु लामा, कुमार योन्जन, कृष्ण पाख्रिन, सानु वाइबा, रश्मी तामाङ, कमला पाख्रिन घले, सुसन तामाङ र संगीता मगरको प्रस्तुतिका साथ म्हेंदोमाया र सेलो नृत्य विशेष आकर्षण रहने आयोजकमध्ये एक समाज म्हेंदोमाया परिवार यूकेका सल्लाहकार वरिष्ठ समाजसेवी धन तामाङले जनाए ।

संयुक्त ल्होसार मूल समारोह समितिका संयोजक हरिसिंह वाइबा र सदस्य सचिव बम ब्लेन्थेन छन् । सबै पाँच समाजका अध्यक्षहरु सदस्य रहने गरि १०१ सदस्यीय मूल समारोह समिति बनाएर कार्यक्रम भव्य बनाउने तयारी छ ।

विशाल तामाङका अनुसार, शनिबार बिहान ११ः३० देखि लामा गुरु कर्म वान्ग्देल र उाको टिमले पूजा सुरु गर्नेछन् भने वाङ्ग वितरण पूजा पाठ ढोकभेट पश्चात दिउसो २ बजे देखि औपचारिक कार्यक्रम सुरु हुनेछ । मिठा तामाङ परिकार छोहोका साथै भोजनको व्यवस्था साथै सांस्कृतिक कार्यक्रम राती अबेरसम्म चल्ने आयोजकले जनाएका छन् ।

सेलो गायक चन्द्र कुमार दोङ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register