भद्रपुरका मूल सडक अतिक्रमणमा पर्दा समस्या

द्रोण अधिकारीभद्रपुर, २० माघ । पछिल्ला वर्ष फराकिला सडक बन्ने क्रम तीव्र भए पनि भद्रपुर नगर क्षेत्रका मूल सडक अतिक्रमणमा पर्दा आवतजावतमा नागरिकले सास्ती व्यहोर्नु पर्ने अवस्था अन्त्य हुन सकेको छैन । झापा सदरमुकाम समेत रहेको भद्रपुरका सरकारी कार्यालय क्षेत्र तथा वजार क्षेत्रका मुख्य सडकमा हुने अवैध व्यापार तथा व्यक्तिगत उपयोगका नामा अतिक्रमित हुँदा स्थानीयले [...] The post भद्रपुरका मूल सडक अतिक्रमणमा पर्दा समस्या appeared first on Jhapa Online.

Feb 2, 2025 - 13:37
 0
भद्रपुरका मूल सडक अतिक्रमणमा पर्दा समस्या

द्रोण अधिकारी
भद्रपुर, २० माघ ।
पछिल्ला वर्ष फराकिला सडक बन्ने क्रम तीव्र भए पनि भद्रपुर नगर क्षेत्रका मूल सडक अतिक्रमणमा पर्दा आवतजावतमा नागरिकले सास्ती व्यहोर्नु पर्ने अवस्था अन्त्य हुन सकेको छैन ।

झापा सदरमुकाम समेत रहेको भद्रपुरका सरकारी कार्यालय क्षेत्र तथा वजार क्षेत्रका मुख्य सडकमा हुने अवैध व्यापार तथा व्यक्तिगत उपयोगका नामा अतिक्रमित हुँदा स्थानीयले सास्ती व्यहोर्नु पर्ने अवस्था आएको हो । स्थापनाको ७२ वर्ष पूरा हुदै गर्दा भद्रपुर नगरपालिकाले कुशल नेतृत्व र इमान बोकेको प्रशासक नपाउँदा निकै ठूलो उथपुथलको सामना गरिसकेको छ ।

नेपालकै पुराना नगरपालिकाको इतिहासको पानामा सुरक्षित यस नगरपालिकाको भौतिक पूर्वाधार विकासदेखि मानव विकास र जनजीविकाको अवस्थासम्म हेर्दा परिवर्तनका सवै संभावनाले यथोचित ठाउँ पाउन सकेका छैनन् ।

जुन समयमा यस नगरको गठन भयो त्यस बेलाको रूप सही र व्यवस्थित थियो तर अहिले स्थापनाको सात दशक पार गरिसकेको अवस्थामा यस नगरको स्वरूप अव्यवस्थित बजार र सडकका रूपमा रूपान्तरण हुँदै गइरहेको छ भने सडक अतिक्रमण गरेर व्यपार व्यवसाय गर्नेहरूका कारण वजार क्षेत्र र सरकारी कार्यालय क्षेत्रमा आवतजावतको निकै ठूलो समस्या छ ।

झापा जिल्लाको सदरमुकाम समेत रहेको भद्रपुरमा बिगतको जस्तो सानो स्वरूपले अहिले नगरको बजारीकरणको सज्जा सुँहाउँदैन । सदरमुकाम रहेको चन्द्रगढी क्षेत्रमा नियम विपरित सडक मिचेर सरकारी कार्यालय आसपासका सडक हिड्नै नसक्ने गरी अतिक्रमण भइरहेका कारण आवागमनमा सर्वसाधारणलाई निकै सास्ती व्यहोर्नु परिरहेको छ । नागरिकको घर आँगनको पहिलो सरकार स्थानीय सरकारले आफ्नो मातहतका सडक आवगमन विपरित अन्यत्रै प्रयोग भइरहँदा समेत देखेको नदेखै गरिरहेको छ ।

संघीय सरकारको नेतृत्व गर्ने प्रमुख जिल्ला अधिकारी आफ्नै कार्यालय अगाडिको सडक तथा खाली सरकारी भवनमा भइरहेका अवैध कृयाकलाप रोक्ने प्रतिबद्धता जनाएर कार्यभार संहाल्ने कार्यान्वयनमा नपुगी नागरिकका समस्या अव्यवस्थित सडकमै छोडेर कार्यकाल पूरा गरेर जाने परम्परा नै स्थापित भइसकेको छ ।

मेची पुल निर्माण अगाडि भद्रपुर बजारको मूल सडक सहज नै मान्नु पर्ने अवस्थामा थियो । तर, अहिले मेची पुल निर्माण पश्चात मुख्य बजारको सडक असहज बन्दै गइरहेको छ । साँघुरो सडकका कारण आवतजावतमा समस्या थपिँदै छ । न्युनतम मापदण्ड समेत नपुगेको बजारको मूल सडक व्यापारका नाममा आफै अतिक्रमणमा छ । जसको असर भद्रपुर बजारबाट आवतजावत गरिरहेका यात्रुले भोगिरहेका छन् । यस समस्याको निराकरणका लागि स्थानीय सरकारले समेत ठोस कार्योजना ल्याउन सकेको छैन । राजनीतिक मखुण्डोधारीले वजार क्षेत्रको मूल सडक फराकिलो बनाउन अवरोध गरिरहेका छन् भने नगरको नेतृत्व अनिर्णयको बन्दी बन्दा समस्यामा स्थानीय परिरहेका छन् ।

एक दशकयता भद्रपुर बजारलाई व्यवस्थित बनाउन सडक सहज बनाउने काममा नगरपालिका र झापा उद्योग वाणिज्य संघले समेत संयुक्त रूपमा चासो देखाएर विगत वर्षहरूमा सर्वपक्षीय भेला गरेका थिए । संस्थागत रूपमै विभिन्न समयमा आठ बुँदे निर्णय समेत गरेका थिए । तर, त्यो निर्णय कागजमै सीमित बन्दा भद्रपुर बजारप्रति न त नगरपालिकाले उल्लेख्य प्रगति हुने गरी चासो देखायो, न त वाणिज्य संघले नै यहाँका व्यापारीको पक्षमा आवाज उठायो ।

नगरपालिकाले सार्वजनिक गरेको पछिल्लो निर्णय अनुसार जनता चोकदेखि भद्रपुर भन्सार कार्यालय सम्मको सडकमा खुद्रा तथा थोक व्यवसायीहरूले आफ्नो पसल क्षेत्रभित्रका सामग्री व्यवस्थापन गर्न तथा पसलको बरण्डा वा सडक पेटीको क्षेत्र निर्धारण गर्नुपर्ने भएमा नगर प्रहरीमार्फत सहजीकरण गर्ने, साविक रहेको जिल्ला हुलाक कार्यालयको पश्चिम तर्फको बाटोबाट उत्तर हुँदै प्रदीप वस्त्रालयसम्मको २ नम्बर सडकमा लाग्ने हाटबजार व्यवस्थापन गर्न कृष्ण हलदेखि झिम्की चोकसम्म ३ नम्बर सडकको प्रयोग (नालामाथि स्ल्याबको प्रयोग) लगायत अन्य विकल्पको बारेमा ५ नम्बर र ६ नम्बर वडा कार्यालय, भद्रपुर बजार व्यवस्थापन समिति, उद्योग वाणिज्य संघ र स्थानीय व्यवसायीहरूबाट स्थलगत अवलोकन अनुगमन गरी नगरपालिकामा सिफारिस गर्ने, बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न तत्कालका लागि वान वे वा क्रसिङ आदि विधिको प्रयोग गर्ने तथा भन्सार पछाडिका खाली सडक र पुरानो सिनेमा हल जाने सडकलाई प्रयोग गर्नका लागि ट्राफिक प्रहरी र अन्य सुरक्षा निकायसँग समन्वय गर्ने, विद्यालय बस, एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यक सवारीसाधनबाहेक अन्य मालवाहक ठुला सवारी साधनहरूलाई बजार क्षेत्रमा हटिया लागेका दिन बुधवार र शनिवार बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म प्रवेश निषेध गर्ने निर्णय गरिएको थियो ।

त्यस्तै भद्रपुर बसपार्क प्रयोगमा ल्याउनको लागि मेची राजमार्गमा आवतजावत गर्ने सार्वजनिक यातायातका सवारी साधनलाई व्यवस्थापन गर्ने सन्दर्भमा बनियानी, बगान लगायत दक्षिणी भेगबाट आउने सवारीसाधनहरूलाई झापा चोकबाट भद्रपुर बसपार्क छिराउँदै गिरी चोकबाट जान पाउने र बिर्तामोडबाट आउने सवारीसाधनको हकमा पनि त्यही रूट प्रयोग गर्नुपर्ने, भद्रपुर बजार व्यवस्थापन समितिलाई बजार व्यवस्थापनका लागि सक्रिय बनाउने र आवश्यकता अनुसार पुनर्गठन गर्ने, बजार क्षेत्रमा रहेको जिल्ला हुलाक कार्यालयको पुरानो भवनलाई पार्किङ स्थलको रूपमा प्रयोग गर्न संघीय सरकारको सम्बन्धित निकायमा आवश्यक समन्वय गर्ने र नगरपालिकाको स्वामित्वमा बजारमा रहेको पुरानो भवन जीर्ण बन्दै गएकोले त्यसलाई भत्काएर अन्डरग्राउन्ड पार्किङ, पसल, सभा हलसहितको भवन निर्माणका लागि नगर विकास कोष लगायत ऋण प्रदायक संस्था, नेपाल सरकार र प्रदेश सरकाका अन्य निकायहरूसँग सहकार्य र समन्वय गर्ने निर्णय गरिएको थियो ।

यी निर्णयहरू कार्यान्वयन गर्न निर्णयकर्ताहरू हाल नेतृत्व गरिरहेका नगर सरकारका जिम्मेवार पक्ष आफैंले कार्यान्वयन गर्ने छाँटकाट देखाएको अवस्था छैन । बजारको मूल सडक अस्तव्यस्त बन्दा आवतजावत असहज छ । नागरिकको घरआँगनको शक्ति सम्पन्न नगर सरकारले चासो राखेर काम गर्ने हो भने भद्रपुर बजार तथा सरकारी कार्यालय क्षेत्रका मूल सडकको अस्तव्यस्तता हट्ने थियो । सडकमा अवैध रूपमा व्यपार गर्ने कार्य रोकेर महत्वपूर्ण सरकारी कार्यालय तथा वजार क्षेत्रका सडक फराकिला बनाउँदा जल्दोबल्दो समस्या हल हुनसक्थ्यो ।

The post भद्रपुरका मूल सडक अतिक्रमणमा पर्दा समस्या appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register