अमेरिका र रुसको वार्ता गराएर साउदीले देखाउन खोजेको शक्ति

पत्रकार जमाल खशोग्जीको हत्यापछि साउदी अन्तर्राष्ट्रिय समुदायबाट टाढिएको थियो । उच्चस्तरीय  मध्यस्थकर्ताको भूमिकामा उसको उदय डोनाल्ड ट्रम्पसँगको निकटतालाई प्रमुख मानिएको छ ।

Feb 18, 2025 - 10:33
 0
अमेरिका र रुसको वार्ता गराएर साउदीले देखाउन खोजेको शक्ति

काठमाडौं साउदी अरबले अमेरिका र रुसबीच उच्चस्तरीय वार्ता गराएर दुई  कुरा प्रमाणित गर्न खोजेको छ ।

पहिलो, अन्तर्राष्ट्रिय द्वन्द्व समाधानको सफलतापूर्वक मध्यस्थताका लागि मुलुक सक्षम छ । दोस्रो, युद्धपछि गाजाको भविष्यबारेको वार्ताबाट आफ्नो लाभ रियादले सुनिश्चित गर्नेछ ।

साउदी टोलीको नेतृत्व राष्ट्रिय सुरक्षा सल्लाहकार र अमेरिकाबाट विदेशमन्त्री मार्को रुबियोले गरेका छन् । उनीसँगै अमेरिकाका लागि राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जपनि त्यहाँ पुगेका छन् । रुसको नेतृत्व भने विदेशमन्त्री सर्गेइ लाभरोभले गरेका छन् । लाभरोभले आफूसँग राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सल्लाहकार युरी उसाकोभलाई पनि सँगै लगेका छन् ।

अमेरिका र रुसबीचको वार्ता आयोजकका रूपमा मात्रै नभएर कुशल मध्यस्थकर्ताका रूपमा साउदीले आफूलाई प्रमाणित गर्न खोजेको साउदीका अधिकारीहरूले सीएनएनसँग बताएका छन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्तकोभले पनि यो स्थान वार्ताका लागि अति उपयुक्त भनेका छन् । साउदीका राजकुमार मोहम्मद बिन सलमानको जितका रूपमा पनि यसलाई हेरिएको छ । कट्टरपन्थी इस्लामवादी छवि बदलेका सलमानले मुलुकलाई सफ्ट पावरका रूपमा नयाँ परिचय थप्न खोजेको विश्लेषण भइरहेको छ ।

यो वार्ता साउदीका लागि आफ्नो सफ्ट पावर क्षेत्रीय र विश्वव्यापी रूपमै विस्तार गर्न महत्त्वपूर्ण रहेको साउदी मामिलाका जानकार अली शाहिबी बताउँछन् । “साउदीसँग पुटिन र ट्रम्प दुवैसँग राम्रो सम्बन्ध छ । यो वार्ता उसका लागि आफ्नो सफ्ट पावर क्षेत्रीय र विश्वव्यापीरूपमा विस्तारको उपयुक्त मौका हो,” उनले भने ।

साउदीको फराकिलो परिवर्तनको रूपमा यसलाई बुझिएको छ । हालैका वर्ष साउदीले विश्वका द्वन्द्वमा आफूलाई  तटस्थतातर्फ अग्रसर गर्दै लगेको छ । तटस्थताको नीतिबाट भिजन २०३० का लागि अर्बौं लगानी भित्र्याउने ध्याउन्नमा साउदी रहेको छ ।

साउदीका राजकुमार पेट्रोलियममा मात्रै निर्भर मुलुकको अर्थतन्त्र विविधिकरणमा लागेका छन् । हुथी विद्रोहीसँगको लामो युद्धपछि यमनबाट साउदीले हात झिकिसकेको छ । उसले पश्चिमासँग खटपट नहुनेगरी चीन र रुससँग निकट सम्बन्ध रहेको आफ्नो प्रतिद्वन्द्वी इरानसँग पनि सम्बन्ध सुधार गरिरहेको छ ।

पुटिन र ट्रम्प दुवैसँग सम्बन्ध बनाएको साउदी

अन्तराष्ट्रिय बक्सिङ वा सङ्गीत महोत्सव आयोजना गरिरहेको साउदीले आफ्नो छवि विश्व शान्ति दूतका रूपमा विकास गर्न खोजेको छ । यसका लागि उसले दातृ निकायको बैठकदेखि शान्ति सम्मेलनका बैठक राखिरहेको छ । सन् २०२३ अगस्टमा उसले युक्रेनमा शान्तिको पहल गर्दै ४० राष्ट्रलाई सहभागी गराएको थियो । उसले २०२३ को फेब्रुअरीमा युक्रेनका लागि ४०० करोड डलर सहायताको वाचा पनि गरेको थियो  ।

पत्रकार जमाल खशोग्जीको हत्यापछि साउदी अन्तर्राष्ट्रिय समुदायबाट टाढिएको थियो । उच्चस्तरीय  मध्यस्थकर्ताको भूमिकामा उसको उदय डोनाल्ड ट्रम्पसँगको निकटतालाई प्रमुख मानिएको छ । सन् २०१७ मा अन्तर्राष्ट्रिय भ्रमणको परम्परा तोड्दै ट्रम्पले आफ्नो पहिलो विदेश भ्रमणका लागि  साउदी रोजेका थिए । सन् २०२० मा राष्ट्रपतीय निर्वाचनमा ट्रम्प पराजित भएपनि साउदीले उनीसँगको व्यापारिक सम्बन्ध कायमै राख्यो । साउदीमा टावर बनाउन ट्रम्पले आफ्ना ज्वाइँको कम्पनी जरेड कुश्नरमार्फत २ अर्ब डलर लगानी गरेका थिए ।

साउदी राजकुमार सलमानको रुसी राष्ट्रपति पुटिनसँग पनि उत्तिकै राम्रो सम्बन्ध छ । खशोग्जीको हत्यापछि साउदीलाई एक्ल्याउने पहलको पुटिनले विरोध गरेका थिए । यस्तै, सलमानले पनि युक्रेन हमलालाई लिएर रुसलाई एक्ल्याउने पश्चिमा नीतिको विरोध गरेका थिए । जो बाइडनको चेतावनीबीच पेट्रोलियम व्यापारमा सलमानले पुटिनसँग सहकार्य जारी राखेका थिए ।

सन् २०२३ मा रियाद पुगेर पुटिनले साउदीलाई ब्रिक्समा जोडिन आग्रह गरे । ब्रिक्स अर्थतन्त्रमा अमेरिकी प्रभावलाई चुनौती दिन गठन गरिएको संस्था हो । ध्रुवीकृत विश्वमा साउदीको नीति निकै लाभदायक भएको विश्लेषकको मत छ । रुसबाट अमेरिकी शिक्षक मार्क फोगललाई रिहा गर्न राजकुमार सलमानले नै पहल गरेको मध्यपूर्वका लागि अमेरिकी विशेष दूत  स्टिफ विटकोफको भनाइ छ । युक्रेन र रुसबाट एकअर्काका बन्दी रिहाइमा पनि साउदीको विशेष भूमिका थियो ।

सोमबारमात्रै मध्यपूर्वका लागि अमेरिकी विशेषदूत विटकफ र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जसँगै विदेशमन्त्री मार्को रुबियोले राजकुमार सलमानसँग भेट गरेका छन् ।

मङ्गलबारको वार्तामा युक्रेन सहभागी छैन । तर, यूएईमा रहेका युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की आगामी साता साउदी अरब जाने तयारीमा छन् । उनले साउदीसँग छुट्टै छलफल गर्दैछन् ।

यता, अमेरिका र रुसबीच रियादमा हुने वार्तामा साउदीको समन्वयात्मक भूमिका र त्यसको परिणामबारे छलफलका लागि युरोपेली नेताहरू पेरिसमा भेला हुँदैछन् । युक्रेनबारेको वार्तामा आफूलाई बेवास्ता गरेको तथा युरोपको सुरक्षा अमेरिकी प्राथामिकतामा नरहेकोबारे उनीहरूले छलफल गर्नेछन् ।

गाजामा नजर

अमेरिका र रुसबीच वार्ताको मध्यस्थकर्ता गरेको साउदीको दीर्घकालको लक्ष्य अर्कै छ । उसले क्षेत्रीय मामिलामा आफूलाई शक्तिशाली बनाउन खोज्नेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका बासिन्दालाई स्थायी रूपमै स्थानान्तरण गर्ने र गाजाको स्वामित्व आफूले लिने बताएका थिए । गत महिना ट्रम्पले मध्यपूर्वमा शान्ति स्थापना गर्दै गाजामा विशेष आवास निर्माण गर्ने र त्यहाँका २० लाख मानिसको स्थायी स्थानान्तरण गरिने अभिव्यक्ति दिएका थिए ।

अरब राष्ट्रहरूले ट्रम्पको यो योजनाको तत्कालै विरोध गरेका थिए । यो साताको अन्त्यमा साउदी अरबमा गाजाबारे ट्रम्पको प्रस्तावउपर छलफल हुनेछ । गाजाको आगामी भविष्यको मामिलामा अरब र अमेरिका बीचको खाडल पुर्न साउदीले भूमिका निर्वाह गर्नसक्ने अपेक्षा गरिएको छ । 

युक्रेन युद्ध अन्त्य गर्ने ट्रम्पको घोषित योजनालाई सघाउँदै साउदीले वासिङ्गटनबाट गतिलो सद्भाव बटुल्दै मध्यपूर्वमा आफ्नो भूमिका बलियो बनाउन खोजेको विश्लेषकको मत छ ।

बहराइनस्थित रणनीतिक अध्ययनका लागि अन्तर्राष्ट्रिय संस्थामा कार्यरत हसन अल हसन भन्छन्, “साउदीले शुक्रबार अरब शिखर सम्मेलन पनि गर्दैछ । ट्रम्प प्रशासनसँग आफ्नो सम्बन्धको फाइदा उठाउँदै साउदीले गाजाको भविष्यलाई लिएर अरब र अमेरिकाबीचको खाडल पुर्नसक्ने सम्भावना छ ।”

आगामी चारवर्ष सलमानले ट्रम्पसँगको सम्बन्धको भरपूर लाभ लिनेछन् । तर, ट्रम्पको आक्रामक माग र क्षेत्रीय हितका स्वार्थ सन्तुलनमा सलमानलाई कठिनाइ पर्नेछ । ट्रम्पले साउदी र इजरायलबीचको सम्बन्ध सामान्य देख्न चाहन्छन् । गाजामा इजरायली सैन्य अभियानलाई लिएर मध्यपूर्व आक्रोशित बनिरहेको समयमा प्यालेस्टाइन राज्यविरुद्धको वार्ता  राजनीतिक रूपमा सलमानका लागि अस्वीकार्य छ । 

“अन्तर्राष्ट्रिय प्रस्तावअनुसार प्यालेस्टाइनको वैध अधिकार प्राप्त नभएसम्म त्यहाँ न्यायपूर्ण शान्ति स्थापना असम्भव छ । विगतमा अमेरिकी पहलको असफलताले नै यसको पुष्टि भइसकेको छ,” गाजा मामिलामा गत महिना ट्रम्पले अघि सारेको योजनामा प्रतिक्रिया दिँदै साउदीले भनेको थियो ।

-सीएनएनबाट

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register