प्रजातन्त्र ल्याउने २४ पुसको सम्झौता

काठमाडौं । दिल्ली निर्वासनबाट फर्किएर ७ फागुन २००७ मा तत्कालीन राजा त्रिभुवनले नेपाल प्रजातान्त्रिक मुलुक भएको औपचारिक घोषणा गरे । विसं १९९० देखि नै नेपालमा राणाविरोधी आवाज सुनिन थालेपनि २१ कार्तिक २००७ मा त्रिभुवनले भारतीय राजदूतावासमा शरण लिएको घटना प्रजातन्त्र घोषणाको तात्कालीक कारण बन्न पुग्यो । विसं १९९७ पछि नै नेपाली काङ्ग्रेसका नेताहरु भारतमा बसेर […]

Feb 19, 2025 - 08:58
 0
प्रजातन्त्र ल्याउने २४ पुसको सम्झौता

काठमाडौं । दिल्ली निर्वासनबाट फर्किएर ७ फागुन २००७ मा तत्कालीन राजा त्रिभुवनले नेपाल प्रजातान्त्रिक मुलुक भएको औपचारिक घोषणा गरे ।

विसं १९९० देखि नै नेपालमा राणाविरोधी आवाज सुनिन थालेपनि २१ कार्तिक २००७ मा त्रिभुवनले भारतीय राजदूतावासमा शरण लिएको घटना प्रजातन्त्र घोषणाको तात्कालीक कारण बन्न पुग्यो ।

विसं १९९७ पछि नै नेपाली काङ्ग्रेसका नेताहरु भारतमा बसेर राणा शासनविरोधी आन्दोलन चर्काइरहेका थिए । यता नेपालमै पनि गणेशमान सिंहलगायतका नेताहरु राणाविरोधी अभियानमा सक्रिय थिए ।

१९९७ सालको काण्डमै त्रिभुवनको संलग्नता देखिएको थियो । अर्कोतिर काङ्ग्रेसलाई पनि त्रिभुवनले सहयोग गरेका राणाहरुको बुझाइ थियो । आफूविरुद्ध उठिरहेको आवाज साम्य पार्न राणाहरुले त्रिभुवनलाई गोरखा धपाउने षडयन्त्र रचे । त्रिभुवनलाई मानसिक रुपमा अत्याउन भनेर राणाहरुले नारायणहिटी वरपर पहरा बढाए ।

राणाहरुका यी गतिविधिले त्रिभुवनलाई भारतीय दुतावासको शरणमा जान बाध्य बनायो । रानीवनमा शिकार गर्न जाने बहाना बनाएर २१ कार्तिक २००७ को बिहान पौनो दश बजेतिर त्रिभुवन सपरिवार शितल निवासमा रहेको भारतीय दुतावासमा शरण लिन पुगे ।

गोरखा धपाउन खोजिएका त्रिभुवन दूतावासको शरणमा गएपछि राणाहरुलाई पनि हाइसञ्चो भयो । त्रिभुवनलाई तह लगाउन भनेर मोहन शमसेरले ४ वर्षे बालक ज्ञानेन्द्रलाई राजा घोषणा गरे ।

ज्ञानेन्द्रलाई राजाको मान्यता दिन भनेर मोहन शमसेरले बेलायतीसँग आग्रह गरे । तर, पाकिस्तानबाहेक कसैले पनि ज्ञानेन्द्रलाई राजाको मान्यता दिएन ।

उता भारतले त्रिभुवनलाई भारत आउने अनमुति दिनु भन्दै राणाहरुलाई दबाब दिन सुरु गर्‍यो । तर, राणाहरुले त्रिभुवन भारत भागिहाल्छन् कि भन्ने डरले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (तत्कालीन गौचर) नै बन्द गर्न लगाए । हप्ताको एकदिन हुने कलकत्ता काठमाडौं उडान पनि राणाहरूले रोकेका थिए ।

त्रिभुवनलाई भारत आउन नदिएपछि भारतमा बसेर राणाविरोधी आन्दोलन गरिरहेको काङग्रेसले सशस्त्र आन्दोलन सुरु गर्‍यो । २४ कार्तिकमा काङ्ग्रेसको सशस्त्र फौज मुक्ति सेनाले विरगञ्ज कब्जा गर्‍यो ।

त्यसपछि दबाबमा परेका राणाहरुले २६ कार्तिकमा त्रिभुवनलाई दिल्ली जाने अनुमति दिए । त्रिभुवनलाई लिन भनेर भारतीयले आफ्ना वायु सेनाका दुई वटा जहाज काठमाडौं पठायो । त्रिभुवन भारत उडेकै राति मुक्ति सेनाले विराटनगर पनि कब्जा गर्‍यो ।

आफूले गोरखा धपाउन चाहेका त्रिभुवन भारत पसेकोमा राणा सरकार खुशी थियो । सरदार भीमबहादुर पाँडेले आफ्नो किताब त्यसबखतको नेपालमा लेखेका छन्, “२००७ साल कार्तिक २६ गते भाइटीकाको दिन, दिनको १२ः३० बजे श्री ५ महाराजाधिराज त्रिभुवन स–परिवार भारतीय एअरफोर्सको दुई डकोटा हवाईजहाजमा चढी काठमाडौंबाट दिल्लीतर्फ प्रस्थान गरिबक्स्यो । राणा सरकार त श्री ५ त्रिभुवनलाई नेपालभित्र बस्नुभन्दा बाटो तताई दिए बढी होला भन्ने निष्कर्षमा पुगेकोले नेटै काटेर सवारी भएकोमा खुशी थियो ।”

त्रिभुवनलाई दिल्ली धपाइसकेपछि माहोल आफ्नो पक्षमा हुन्छ भन्ने ठानेको राणा सरकार एकपछि अर्को सङ्कटमा पर्न थाल्यो ।

अन्तर्राष्ट्रिय समुदायबाट ज्ञानेन्द्रलाई राजाको मान्यता दिलाउन सकेमा त्रिभुवनलाई भारततिरै सडाउने राणाहरूको योजना थियो । तर, पाकिस्तानबाहेक ज्ञानेन्द्रलाई राजाको मान्यता दिन कोही तयार भएनन् ।

एकातिर अन्तर्राष्ट्रिय समुदायले ज्ञानेन्द्रलाई राजाको मान्यता नदिनु र अर्कोतिर मुक्ति सेनाले लगातार शहर कब्जाको कदमले मोहन शमसेरलाई सङ्कटले घेर्न थाल्यो ।

१ मङ्सिरमा मोहन शमसेरले सङ्कटकालको घोषणा गरे । सङ्कटको मुकाबिला गर्न आफ्नै नेतृत्वमा ‘विशेष सङ्कटकालीन काउन्सिल’ बनाए । ‘सङ्कटकालीन काउन्सिल’ले सङ्कटको पार लगाउनुको सट्टा सङ्कट झनै बढायो ।

भारतको ‘ग्रीन सिग्नल’ नपाइकन अन्तर्राष्ट्रिय समुदायले ज्ञानेन्द्रलाई राजाको मान्यता दिदैँन भन्ने चाल पाएपछि मोहन शमसेरले ११ मङ्सिरमा भारतलाई फकाउन एक टोली पठाए ।

१० दिनसम्म भारतमा बसेको मोहन शमसेरको टोलीले केही पार लगाउन सकेन । यतातिर मुक्ति सेनाले पूर्वदेखि पश्चिमसम्मका शहर गौँडा कब्जा गर्न सुरु गर्‍यो । ज्ञानेन्द्रलाई राजा मान्नुपर्ने नेपाली टोलीको प्रस्ताव भारतले स्वीकार्ने कुरै थिएन । उल्टै भारतले नेपाली टोलीसमक्ष नयाँ प्रस्ताव राख्यो ।

२३ मङ्सिरमा नेपाल फर्केको टोलीले भारतले राखेको पाँच बुँदे प्रस्ताव लिएर नेपाल आयो ।

१. नेपालको नयाँ विधान तयार गर्ने, बालिगमतको आधारमा एक वैधानिक सभा (कन्स्टीच्यूएण्ट एसेम्ब्ली) गठन गर्ने,
२. राणा प्रधानमन्त्रीको अध्यक्षतामा जनप्रतिनिधि (काङ्ग्रेस) सहितको नयाँ सरकार गठन गर्ने,
३. श्री ५ त्रिभुवनलाई नै नेपालको राजा मान्ने,
४. सबै राजनीतिक बन्दीहरूलाई छाड्ने,
५. नेपालमा राजनीतिक सङ्गठन बनाउने अधिकार प्रदान गर्ने ।

भारतबाट आएको प्रस्ताव मान्ने कि नमान्ने भनेर राणा सरकार अन्योलमा पर्‍यो । यही प्रस्तावमाथि छलफल गर्दा राणा सरकार नै तीन गुटमा विभाजित भयो ।

मतभेदका बावजुद ११ पुसमा मोहन शमसेरले विजय शमसेरको नेतृत्वमा एउटा टोली भारत पठाए । विजयको टोलीले भारतले पहिले पठाएको प्रस्ताव खारेज गर्दै नयाँ प्रस्ताव लिएर गएको थियो ।

तर, भारतले विजयले लिएर गएको प्रस्तावमाथि छलफल गर्नु त परै जाओस् सुन्नसमेत चाहेन । पाँडेले आफ्नो किताबमा लेखेका छन्, “भारत सरकार आफ्नो पाँच सूत्रे योजनाबाट कति पनि टिग्दैन भन्ने कुराको अब पक्कापक्की भएपछि मे.ज. विजयले सो अक्षरशः मानियोस्, अर्को विकल्प छैन भनी २००७ साल पौष २२ गते श्री ३ मोहनलाई दिल्लीबाटै कोडमा आकाशवाणी सिंहदरबारमा पठाए ।”

यसको दुई दिनपछि मोहनले भारतको प्रस्ताव जस्ताको त्यस्तै स्वीकार गरे । पाँडेले लेखेका छन्, “२००७ साल पौष २४ गते श्री ३ मोहनले भारतीय पाँच सूत्रे प्रस्ताव मानेको घोाषणा गरे । २५ गतेदेखि श्री ५ ज्ञानेन्द्र श्री ५ त्रिभुवनको रिजेन्ट(प्रतिनिधि) होइबक्सियो ।”

यसपछि १ माघबाट काङ्ग्रेसले पनि सशस्त्र आन्दोलन रोक्यो ।

“यसरी एक सय चार वर्ष पुरानो नेपालको राणा शासन सकियो । ढिलो चाँडोको मात्र कुरा हो, चोखो जनप्रतिनिधिरहित र प्रतिपक्ष बिनाको राणा सरकारको एकदिन अन्त त हुन्थ्यो–हुन्थ्यो,” पाँडेले लेखेका छन् ।

काङ्ग्रेसले सशस्त्र आक्रमण रोकेपछि भारतमा राणा, काङ्ग्रेस र त्रिभुवनसहितको वार्ता भयो । यो वार्तामा कुनै लिखित सम्झौता भएन । मोहन शमसेरले स्वीकार गरेको पाँच बुँदे सम्झौताको व्याख्या भएको कुरा बीपी कोइरालाले आफ्नो आत्मकथामा बताएका छन् ।

यो छलफलमा मोहनको नेतृत्वमा पाँच जना काङग्रेसका र पााँच जना राणा परिवारका सदस्य राखेर अन्तरिम सरकार बनाउने विषयमा छलफल भयो । भारतमा यो छलफल सुरु भएसँगै नेपालको जेलमा रहेका कैदी, बन्दी रिहा गर्ने काम सुरु भयो ।

फागुन ४ मा त्रिभुवनसहित काङ्ग्रेसका नेताहरु नेपाल फर्किए । त्रिभुवन र काङ्ग्रेस नेतामध्ये को पहिले नेपाल आयो भन्नेमा इतिहासकारहरु एकमत छैनन् । सरदार भीमबहादुर पाँडेले ३ फागुनमा काङ्ग्रेसका नेता र ४ फागुनमा त्रिभुवन नेपाल फर्किएको कुरा लेखेका छन् ।

तर, इतिहासकार डा. राजेश गौतमले ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस’मा त्रिभुवन र काङ्ग्रेसका नेताहरु एकैदिन ४ फागुनमा नेपाल फर्किएको लेखेका छन् । गौतमकाअनुसार त्रिभुवन ४ फागुनको साढे दुई देखि तीन बजेको बीचमा नेपाल पुगे । त्रिभुवन नेपाल ओर्लिएको करिब डेढ घण्टापछि काङ्ग्रेसका नेताहरु नेपाल ओर्लिएको गौतमले उल्लेख गरेका छन् ।

अनि सुरु भयो “जय नेपाल”

त्रिभुवन र काङ्ग्रेसका नेताहरु नेपाल ओर्लेकै दिनबाट नेपालमा ‘जय नेपाल’ भन्न सुरु भयो । त्यस अगाडि राणाहरुलाई ‘सलाम’ वा ‘स्वस्ती’ भन्ने गरिन्थ्यो ।

गौतमले लेखेका छन्, “सोही दिन(४ फागुन) बेलुकी नारायणहिटी राजदरबारबाट निस्कने प्रत्येक उच्च कर्मचारीहरु र भारदारहरुलाई नीरविक्रम प्यासी, बद्रीनाथजस्ता नवयुकहरुले जय नेपाल नभनाई ढोकाबाट अगाडि बढ्न नै दिएनन् ।”

सरदार पाँडेले पनि ४ फागुनदेखि नै नेपालीको मुखमा जय नेपालको नारा झुण्डिएको लेखेका छन् । उनी लेख्छन्, “जय नेपालको नारा नेपालीको मुखमा झुण्डिएको पनि त्यसै दिनदेखि(४ फागुन) हो ।”

४ फागुनबाट नेपालीहरुले एक आपसमा भेट हुँदा ‘सलाम’ ‘स्वस्ती’को सट्टा ‘जय नेपाल’ भन्न सुरु गरे । “गौचरनमा हवाई जहाजबाट श्री ५ त्रिभुवन ओर्लिबक्सदा सबलाई प्रणाम गरिबक्सेकाले अनि त्यसै दिनदेखि नेपालमा सलाम स्वस्तीको सट्टा नमस्कार गर्ने र भेट हुँदा ‘जय नेपाल’ भन्ने चलन सुरु भयो ।”

५ र ६ फागुनमा मन्त्रालयको भागबन्डा भयो । राणा र काङ्ग्रेसमा कसले कुन मन्त्रालय लिने भनेर माथापच्ची भयो । ६ फागुनकै दिन राणाहरुको निजी निवास रहेको सिंहदरबार नेपाल सरकारको सचिवालय घोषित गरियो ।

अनि ७ फागनुमा त्रिभुवनले घोषणा गरे, “औ अब हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरुले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएकाले….”

यो घोषणासँगै औपचारिक रुपमा नेपालमा राणाशासन अन्त्य भयो ।

तर, प्रजातन्त्र कस्तो हुन्छ भनेर त्यतिखेरसम्म नेपालीहरुलाई थाह थिएन । पाँडे लेख्छन्, “प्रजातन्त्र आयो भन्ने कुराले नै त्यसदिन नेपाली जनता हर्षोल्लास थिए : । तर, प्रजातन्त्र त कसैले पनि देखेका थिएनन् । कहिलेकाहीँ त देख्नुभन्दा पनि देखिन लाग्यो भन्ने प्रतीक्षा बढी हर्षदायी हुँदोरहेछ ।”

एक्लिएका मोहन 

प्रजातन्त्र घोषणाको समयसम्म पुग्दा मोहन गलिसकेका थिए । उनी शक्तिहीन भइसकेका थिए । पाँडे मोहनको अवस्थाबारे लेख्छन्, “वास्तवमा २००६/७ सालको मोहन शमसेर १९८६ सालतिरको मोहन शमसेर थिएनन् । उनी प्रधानमन्त्री भएपछि लखतरान परेको मानिस जस्तो देखिन्थे र कुरा गर्दागर्दै उनी उँग्दथे ।”

मोहनशसमेर मानसिक रुपमा पनि गलिसकेका थिए । पाँडे लेख्छन्, “श्री ३ मोहनमा अब देखा पर्न थालेको मानसिक परिवर्तन ।”

२४ पुसमा भारतले पठाएको प्रस्ताव मान्न बाध्य भएपछि मोहन शमसेर एक्लिएका थिए । उनकै भाइभारदार पनि अनेक गुट–उपगुटमा बाँडिएका थिए ।

उनको एक्लोपनबारे पाँडेले लेखेका छन्, “पौष २४ गतेपछि हावा खानलाई सिंहदरबारबाट बाहिर श्री ३ मोहन गएनन् । आजन्म उनको चाकरी गर्दै आएका कति चाकरीदारहरुले एक– दुई र आज–भोली गर्दै उनको चाकरीलाई सिंहदरबार धाउन पनि त्यसपछि छाडे ।”

अनि विस्तारै मोहन शमसेर एक्लिए । सिंहदरबार सुनसान हुन थाल्यो । पाँडेले सुनसान सिंहदरबारमा टहलिरहेका मोहन शमसेरको अवस्थाको वयान यसरी गरेकाछन्, “लाग्दो फागुनताका सिंहदरबार सुनसान, मसानघाटजस्तो देखिन्थ्यो । भकारीमा धान सकिएपछि, मुसाले घर छाडेझैँ स्वार्थी चारीदारीले सिंहदरबारमा आउन छाडेकाले, मोहन शमसेर एक्लै झण्डा कौसीको लामो बरण्डा र बार्दलीमा आफ्ना नमुसारिएका लामा जुँगा र नियाउरो मुख लगाएर एक्लै टहलीएको देखिन्थे । चिडियाखानामा एक्लो बुढो बाघ यता–उती हिँडेझैँ गरी ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register