उमेरले साढे नौ दशक पार गरेपछि नागरिकता !

चैनपुर । वडाभरिकै पाको मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, उमेर साढे नौ दशक पार गरेकी तुलसीदेवी जोशीको । बझाङको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी ९६ वर्षीया तुलसीदेवी अहिले पनि बारीमै भेटिन्छिन् । यो उनको बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो । ‘घरभित्रै बसिरहन मन मान्दैन,’ उनले भनिन्, ‘बारीमा के–कस्तो उम्रियो, पानी […]

Feb 24, 2025 - 07:40
 0
उमेरले साढे नौ दशक पार गरेपछि नागरिकता !

चैनपुर । वडाभरिकै पाको मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, उमेर साढे नौ दशक पार गरेकी तुलसीदेवी जोशीको । बझाङको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी ९६ वर्षीया तुलसीदेवी अहिले पनि बारीमै भेटिन्छिन् । यो उनको बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो ।

‘घरभित्रै बसिरहन मन मान्दैन,’ उनले भनिन्, ‘बारीमा के–कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि पुगेन भन्ने मनमा खेल्छ । त्यसपछि कुटो बोकेर गइहाल्छु ।’

थाहा भएदेखि कृषिमा जीवन समर्पित गरेकी तुलसीदेवी अहिले पनि गाउँमा अगुवा कृषकको रूपमा चिनिन्छिन् । ‘गाउँमा दलहन, धानबाली, तरकारी गाउँमा हुने सबै किसिमको तथा बीउ कतै नपाए गाउँले अझै म कहाँ आउँछन्,’ उनले भनिन् ।

तर यो उमेर बितिसक्दा पनि उनलाई नागरिकतालगायतका सरकारी कागजातको आवश्यकताबारे ज्ञान थिएन । उनलाई गत शनिबार जिल्ला प्रशासन कार्यालयले घरमै गएर नागरिकता प्रदान गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले सबै कागजात तयार गरी उनको घरमै पुगेर नागरिकता प्रदान गरिन् ।

थलारा गाउँपालिका–७ घोडादाउनामा विसं १९८६ साल साउन ११ गते जन्मिएकी जोशीलाई नागरिकता प्रदान गर्दै सहायक प्रजिअ जोशीले अनागरिक भएर जीवन बिताइरहेको अवस्थामा भेट भएको बताइन् । उनले तुलसीदेवीले सय वर्षको हाराहारीमा पनि नागरिकता नपाएको भन्ने सुन्नेबित्तिकै कागजात बनाउन अनुरोध गरेको र कागजात तयार हुनासाथ नागरिकता उपलब्ध गराएको बताइन् ।

बुवा जयलाल उपाध्याय र आमा हरिनादेवी उपाध्यायको कोखबाट जन्मिएकी तुलसीदेवीको विसं १९९४ मा ८ वर्षको उमेरमा खप्तडछान्ना गाउँपालिका–५ का पदमराज जोशीसँग विहे भएको थियो । विहे भएको ५७ वर्ष अर्थात् २०५१ सालमै पदमराजले संसार छोडेपछि उनी एकल भएकी थिइन् ।

सदरमुकाम चैनपुरबाट चार घण्टाको दूरीमा पर्ने पिठातोला र त्यो ठाउँबाट देखिने भू–भाग नै तुलसीका लागि संसार भयो । ‘मेरा लागि त यही संसार हो,’ तुलसीदेवीले भनिन्, ‘माइतीगाउँ जाने बिप्रा डाँडा र छिमेकी जिल्ला बाजुरा जाने थामलेकबाहेक अन्त देखेको छैन । यही संसार आँखी झ्यालबाट हेरिरहन्छु । त्यो पनि पुरै घुमेको छैन ।’ –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register