केपी ओली कपको फाइनल : मछिन्द्र र आर्मीको ‘ब्याटल’

काठमाडौं । केपी ओली कप फुटबलको उपाधिका लागि मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब सोमबार आमने सामने हुँदैछन् । आइतबार आयोजना गरिएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीले बलियो प्रतिद्वन्द्वीलाई पराजित गरेर उपाधि जित्ने बताएका छन् । मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले फाइनलका लागि केही परिवर्तन गरेर अघि बढ्ने बताए । उनले भने, ‘हामीले बनाएको योजनालाई शतप्रतिशत उतार्न चुनौती छ […]

Mar 2, 2025 - 08:46
 0
केपी ओली कपको फाइनल : मछिन्द्र र आर्मीको ‘ब्याटल’

काठमाडौं केपी ओली कप फुटबलको उपाधिका लागि मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब सोमबार आमने सामने हुँदैछन् ।

आइतबार आयोजना गरिएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीले बलियो प्रतिद्वन्द्वीलाई पराजित गरेर उपाधि जित्ने बताएका छन् ।

मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले फाइनलका लागि केही परिवर्तन गरेर अघि बढ्ने बताए । उनले भने, ‘हामीले बनाएको योजनालाई शतप्रतिशत उतार्न चुनौती छ । खेलाडीहरू केही थाकेकाले सेटमा परिवर्तन गरेर उपाधिका लागि प्रतिस्पर्धा गर्नेछौँ । यद्यपि, भोलिको लागि टोली र योजना तयार छ ।’

उनले टोलीको स्वरूप राम्रो भए पनि आर्मीलाई कम नआँक्ने बताए । ‘आर्मीका अनुभवी खेलाडी पनि लयमा फर्किसकेका छन् बलियो टोलीको रुपमा लिने गरेका छौँ, ’ उनले भने ।

कप्तान विशाल श्रेष्ठले मछिन्द्र र आर्मीबीचको खेल कडा हुने बताए । ‘हरेक पटक मछिन्द्र र आर्मी भिड्दा हरेक खेल ब्याटल हुने गर्छ,’ विशालले भने, ‘आर्मी नयाँ टिम हो । तर नयाँ र अनुभवी खेलाडीको राम्रो कम्बिनेसन बनेको छ । फाइनल राम्रो हुनेछ ।’

फाइनलमा इटालियन खेलाडी जिजा बुफोनको आगमनले थप उत्साहित भएको कप्तान विशालले बताए । उनले भने, ‘हामीले बच्चाको बेला बुफोनलाई हेदै हुर्केका हौँ । उनको खेलदेखि सन्याससम्म सबै देखेर आएका हौँ । आफू गोलकिपर समेत भएकोले थप उत्साहित छु । नेपाली फुटबलका लागि खेलाडी समर्थक खुसी छौँ । नेपाली फुटबलको लागि राम्रो क्षण हो ।’ 

यस्तै, एन्फाले लिग नगराउँदा आफूहरूले नयाँ टोली बनाउन समय पाएको त्रिभुवन आर्मी क्लबका मुख्य प्रशिक्षक मेघराज केसीले बताए ।

उनले भने, ‘आर्मीले नयाँ खेलाडीलाई तयार गरेर बलियो टोली बनाउन पायो । एन्फाले प्रतियोगिता आयोजना गर्न नसक्दा हामीले टिम तयार गर्ने मौका पायौँ । तयारीको नतिजा दिने बेला हो ।’

बलियो मछिन्द्रविरुद्ध आफ्नो टोली तयार भएको पनि उनले बताए । ‘राष्ट्रिय र विदेशी खेलाडीको मिश्रणले मछिन्द्र बलियो देखिएको छ । आर्मी भने युवा खेलाडी तयार गरेर उत्कृष्ट हुने लाइनमा छ,’ उनले भने ।

आर्मीका कप्तान जिलेस्पी जङ्ग कार्कीले आफूहरू लगनशीलताले नै फाइनल पुगेको भन्दै त्यही अनुसार खेल्ने बताए । 

प्रतियोगिताको प्रथम हुनेलाई रु १५ लाख ११ हजार एक सय ११ रुपैयाँ, द्वितीय हुनेलाई रु पाँच लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै उत्कृष्ट खेलाडीलाई रु एक लाख, उत्कृष्ट गोलरक्षकलाई रु ५० हजार, उत्कृष्ट गोलकर्तालाई रु ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५० हजार, म्यान अफ द म्याचलाई रु १५ हजार नगदको साथै ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने बताइएको छ । 

केपी ओली कपको आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले फाइनल खेल हुने दिन फागुन १९ गते दिउसो ४ बजेदेखि बेलुकी ८ बजेसम्म थापाथली देखि त्रिपुरेश्वर सडक खण्डमा सवारी साधन आवत जावतमा कठिनाइ हुने देखिएकाले वैकल्पिक मार्गको व्यवस्था गर्न ट्राफिक प्रहरीलाई विशेष अनुरोध गरेको छ ।

सोमबार खेल बेलुकी ६ बजे सुरु हुनेछ । त्रिपुरेश्वर स्थित वल्ड ट्रेड सेन्टरको डिजिटल बोर्डबाट समेत खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको छ ।

यस प्रतियोगिताको समापन समारोहमा चर्चित राष्ट्रिय कलाकारहरू कुमा सागर, पूर्ण राईलगायतको प्रस्तुति रहने आयोजकले बताएको छ ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register