बलोच विद्रोह पाकिस्तान राज्य असफल भएको प्रमाण हो !

यो तनावको प्रक्रिया बलोच विद्रोही र पाकिस्तानी सेनाबीच मात्र सीमित हुने छैन । पाकिस्तानले देशभित्रका बलोच नागरिकका अतिरिक्त सीमा पारिबाट हुने निशाना समेत सामना गर्नु पर्नेछ । यो प्रक्रियाले भविष्यमा एक ठूलो युद्धलाई जन्म दिने त हैन ?

Mar 14, 2025 - 11:50
 0
बलोच विद्रोह पाकिस्तान राज्य असफल भएको प्रमाण हो !

पाकिस्तानमा जाफर एक्सप्रेस रेल अपहरणको निहितार्थ धेरै महत्त्वपूर्ण छ । पाकिस्तानमा यस प्रकारको अपहरण कुनै नयाँ कुरा हैन । बलोच विद्रोहीले विगतमा पनि पाकिस्तानी सेनाका कयौँ महत्त्वपूर्ण प्रतिष्ठानमाथि कब्जा जमाएका थिए । सन् १९८८ मा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको उडान ५४४ लाई केहीसमय अपहरण गरेका थिए ।

जाफर एक्सप्रेसले क्वेटा र पेशावर शहरबीच १६०० किमि दूरी तय गर्दछ । यो रेलको अपहरणमा कति बन्धक, विद्रोही र प्रतिरक्षा कारबाहीमा सेनाका कति सिपाही मारिए यसको सही तथ्य जानकारी पाउन गाह्रो छ । यस सम्बन्धी सही तथ्य सायद कहिल्यै भनिने छैन । अनुमान छ कि यो घटनामा कम्तीमा २०० जनाको मृत्यु भएको छ ।

विद्रोहीलाई रेल अपहरण गर्नुका आफ्नै नाफानोक्सान हुन्छन् । विमानमा भन्दा रेलमा कयौँ गुणा बढी मानिस सवार हुन्छन् । तर, यसको नकारात्मक पाटो पनि हुन्छ । दक्षिण एसियामा विमानको तुलनामा रेलको यात्रा गर्ने मानिस कम महत्त्वपूर्ण मानिएका र गरिब हुन्छन् । अर्को अर्थमा भन्दा सरकारका लागि रेलका यात्रुको जीवन त्यति धेरै महत्त्वपूर्ण हुँदैन, जति विमानको हुन्छ ।

विमान अपहरण गर्दा देश बाहिर पनि लैजान सकिन्छ । रेललाई त्यसो गर्न सकिदैन । रेल अपहरणले अन्ततः सरकार पक्षलाई नै फाइदा पुर्‍याउँछ । अक्सर विमान अपहरणमा सरकार कमजोर र विद्रोही पक्ष बलियो हुन्छ ।

भारतीय विमान बारम्बार अपहरण भएको छन् । तीमध्ये कम्तीमा ६ अपहरणमा पाकिस्तानी नागरिक जिम्मेवार भएको मानिन्छ । पाकिस्तानमा भने तिनलाई नायक तथा स्वतन्त्रता सेनानीको दर्जा दिने गरिन्छ ।

ठीक यही कुरा बलोच विद्रोहीको हकमा पनि लागू हुन्छ । पाकिस्तानी सरकारले तिनलाई अपहरणकारी भन्छ । तर, बलोच विद्रोही आफूलाई स्वतन्त्रता सेनानी ठान्दछन् । त्यसो भए पाकिस्तानले बलोच विद्रोहीलाई कसरी आतङ्कवादी करार गर्न सक्दछ ?

रणनीतिक रुपमा यो घटना पाकिस्तानका लागि एक दुस्वप्न हो । पाकिस्तानका रेलमार्ग अत्यन्त शुष्क, निर्जन र दुर्गम इलाका भएर गुज्रिन्छन् । यी मार्गलाई चौबीसै घन्टा र पुरा दूरीमा निरन्तर रखवाली गर्न असम्भव छ ।

भारतको रेलमार्ग ‘स्मल–डाइमन्ड प्याट्रन’ मा देशभरि घुम्दछ । तर, पाकिस्तानको रेलमार्ग भने उत्तरको पेशावरबाट दक्षिणको कराँचीसम्म चल्ने एक मुख्य उत्तरदक्षिण धुरीमा निर्मित छ । यो एक मात्र यस्तो रेलमार्ग हो, जसको दुवै दिशामा यात्रा गर्न सकिन्छ ।

कसैलाई क्वेटाबाट पेशावर जानु छ भने पहिले ७०० किमि दक्षिण पश्चिम रोहडी जानु पर्दछ र त्यहाँबाट फेरि उत्तरतिर पेशावर जान सकिन्छ । यसको अर्थ–बलोच विद्रोहीसँग रेल अपहरणमार्फत क्वेटालाई सम्पर्कबाट टुटाउने मात्र हैन, पाकिस्तानको उत्तरदक्षिण धुरीलाई नै गम्भीररूपमा अवरोध गर्ने जस्ता कयौँ विकल्प हुन्छन् ।

यही कारण हो– अफगान तालिवान र बलोच विद्रोही दुवैले पाकिस्तानको यो ठूलो कमजोरीलाई उजागर गर्दिएका छन् । तर, यसलाई मर्मत गर्न पाकिस्तान सरकारसँग ठूलो लगानी गर्ने क्षमता हुनु पर्नेछ ।

तालिवान र बलोच विद्रोहीले जति बढी पाकिस्तानी रेल गाडीलाई अवरोध गर्न सक्दछन्, पाकिस्तानी सेनाको प्रतिक्रियात्मक कारबाही उत्तिकै उग्र र घातक हुन्छ । त्यसले हताहत हुने सङ्ख्यामा वृद्धि गर्दछ ।

पाकिस्तानी सेना त्यही सेना हो, जसले बङ्गलादेशमा नरसंहार मच्चाएको थियो । सन् २०१५ सम्म पाकिस्तानी सेनाले बलोच विद्रोहीलाई दमन गर्ने नाममा गाउँमा आगो लगाउन एफ-१६ विमान प्रयोग गरेको थियो । १ हजार किलोसम्मका बम गाउँमा खसालिएका थिए ।

दुर्भाग्यको कुरा के छ भने पाकिस्तानी सेनाको असफलता र विद्रोहीको दुस्साहस दुवैको मूल्य भने बलोच जनताले भुक्तान गर्नु परेको छ ।

रमाइलो कुरा– बलोच विद्रोही नेतृत्वको एउटा ठूलो हिस्सा अफगानिस्तानमा बस्दछ । यदि समाचारमा आएका कुरा सत्य हुन् भने अफगानिस्तानबाटै उमर मजीदले यो पूरै कारबाहीको समन्वय गरिरहेका थिए ।

बलोच विद्रोहीको भनाइ छ कि यो बलुचिस्तानमा पाकिस्तानी सैन्य अभियानविरुद्ध एक प्रतिरोध कारबाही थियो । सायद अफगान तालिवानको यो कारबाहीमा समर्थन र सहयोग थियो । किनकि, पाकिस्तानी जासुसी संस्था आएएसआईद्वारा भर्खरै आफ्ना एक नेताको हत्या गरिएको विषयलाई लिएर तालिवान पाकिस्तानसँग असन्तुष्ट थियो ।

यसको अर्थ, यो तनावको प्रक्रिया बलोच विद्रोही र पाकिस्तानी सेनाबीच मात्र सीमित हुने छैन । पाकिस्तानले देशभित्रका बलोच नागरिकका अतिरिक्त सीमा पारिबाट हुने निशाना समेत सामना गर्नु पर्नेछ । यो प्रक्रियाले भविष्यमा एक ठूलो युद्धलाई जन्म दिने त हैन ?

अर्को ध्यान दिन योग्य कुरा के भने क्वेटामा बलोचभन्दा बढी पस्तुनहरूको सङ्ख्या छ । पस्तुनहरू अफगानिस्तानमा पाकिस्तानी सहभागिताको विरुद्धमा हुन्छन् ।

समग्रमा यो घटनाले पाकिस्तानी राज्यले बलोच मनोभावनाको एकीकरण गर्न नसकेको सङ्केत गर्दछ । एक राज्यका रुपमा यो पाकिस्तानको असफलताको प्रमाण हो ।

-भाष्कर हिन्दीबाट अनूदित ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register