छानबिन समितिका सदस्य नै आरोपित सङ्ग्रौलाको पक्षमा

काठमाडौं । पूर्व महान्यायाधिवक्ता तथा काठमाडौं स्कुल अफ ल (केएसएल) का कार्यकारी निर्देशक युवराज सङ्ग्रौलामाथि लागेको यौन दुर्व्यवहारको आरोप छानबिन गर्न एक समिति गठन गरिएको छ । पूर्व जिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईको संयोजकत्वमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामी सदस्य रहेको समिति बनाइएको छ । केएसएलले आइतबार पत्रकार सम्मेलन गरेर यो समिति […]

Mar 16, 2025 - 12:26
 0
छानबिन समितिका सदस्य नै आरोपित सङ्ग्रौलाको पक्षमा

काठमाडौं पूर्व महान्यायाधिवक्ता तथा काठमाडौं स्कुल अफ ल (केएसएल) का कार्यकारी निर्देशक युवराज सङ्ग्रौलामाथि लागेको यौन दुर्व्यवहारको आरोप छानबिन गर्न एक समिति गठन गरिएको छ ।

पूर्व जिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईको संयोजकत्वमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामी सदस्य रहेको समिति बनाइएको छ । केएसएलले आइतबार पत्रकार सम्मेलन गरेर यो समिति गठन गरिएको जानकारी दिएको हो ।

निष्पक्ष र केएसएलसँग कुनैपनि रूपमा नजोडिएका व्यक्ति राखेर समिति बनाउने भनिए पनि समितिमा रहेका एक सदस्यले आरोपित सङ्ग्रौलाको पक्षमा फेसबुकमा स्टाटस लेखेको पाइएको छ ।

अधिवक्ता सीमा धामीले सङ्ग्रौलामाथि लागेको आरोपलाई ‘असभ्य’ भन्दै लामो स्टाटस लेखेकी छन् । छानबिन समितिकी सदस्य बनाइएकी धामीले लेखेकी छन्, यस कलेजमा सन् २००२ देखि आबद्ध भई शैक्षिक तथा व्यावसायिक यात्राको कखरा सिकेको प्राज्ञिक संस्था तथा त्यसका अभिभावक श्रद्धेय गुरु डा. युवराज सङ्ग्रौलामाथि लगाइएका अशोभनीय आरोपले म लगायत यस कलेजका पूर्व विद्यार्थीको समेत अपमान भएको महसुस गरेका छौँ ।’

यति मात्र होइन, उनले आफू केएसएलप्रति ऋणी रहेको बताउँदै सङ्ग्रौलाको प्रशंसा गरेकी छन् । उनले लेखेकी छिन्, ‘हाम्रो ज्ञानोदयका आदर्श, गुरु युवराज सङ्ग्रौला ज्यूसँग हामी रहने नै छौँ । अभिभावक गुरु तथा यस गुरुकुलबाट कलेजको तथा विद्यार्थीको सर्वोत्तम हितका लागि हामीलाई सम्झेका बखत सँगै छौँ ।’

धामीले शनिबार फेसबुकमा लेखेकी थिइन् । अहिले भने उनले उक्त स्टाटस फेसबुकबाट हटाएकी छन् ।

यसबाहेक, छानबिन समितिका संयोजक बनाईएका पूर्व न्यायाधीश भट्टराई बहुविवाह मुद्दामा तानिने भएपछि पदबाट राजीनामा दिएका व्यक्ति हुन् ।

यो समितिलाई १५ दिनभित्र छानबिन गरी प्रतिवेदन दिन भनिएको छ । तर, कलेजका पूर्व विद्यार्थीले भने यो छानबिन समितिको निष्पक्षतामाथि प्रश्न उठाएका छन् ।

पूर्व विद्यार्थी भन्छन्, समितिका सदस्यहरू नै आरोपितको पक्षमा स्टाटस लेख्छन्, अनि संयोजक बहुविवाह गरेका व्यक्ति हुन्छन् भने यसको निष्पक्षतामाथि हामीलाई शङ्का छ।’

केएसएलमा अध्ययनरत एक छात्राले सङ्ग्रौलाले यौन दुर्व्यवहार गरेको आरोप सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । उनकाअनुसार कलेजमा उजुरी दिए पनि सुनुवाइ नभएपछि सामाजिक सञ्जालमा बोल्नु परेको हो ।

यता, सङ्ग्रौलाले भने आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो र कलेजको बदनाम गर्न यस्तो आरोप लगाइएको दाबी गरेका छन्।

पूर्व महान्यायाधिवक्ता युवराज सङ्ग्रौलाले ‘यौन दुर्व्यवहार’ गरेको विद्यार्थीको आरोप

पत्रकार सम्मेलनमा उनले सामाजिक सञ्जाल नै अनुसन्धानकर्ता र न्यायालय बनेको भन्दै आफ्नो र केएसएलको अपमान भएको बताए । आफूमाथि लागेको आरोपबारे प्रहरी वा अदालतमा छानबिन गर्न चुनौती दिँदै सङ्ग्रौलाले आफ्नो परिवार पनि पीडित भएको बताएका छन् ।

आफू कलेजका विद्यार्थीहरूको मात्र नभई देशभरका कानूनी व्यवसायीहरूको गुरु भएको दाबी गर्दै उनले ३७ वर्षे आफ्नो कानूनी व्यवसायको करियरमाथि आक्रमण गरिएको आरोप लगाए।

छात्राले लगाएका आरोपमाथि छानबिन गर्न कलेजले समिति बनाईसकेको बताउँदै संग्रौलाले भने, ‘समितिले काम गरुन्जेल म न्यूट्रल बस्छु। कलेजमा मेरो हस्तक्षेप हुँदैन।’

सामाजिक सञ्जालमार्फत आफू र केएसएलको साखमाथि प्रहार गरिएको तथा केएसएललाई ध्वस्त पार्न खोजिएको आरोप उनले लगाए।

उनले केएसएल ‘राम्रा मूल्य र मान्यता’ भित्र रहेर चल्ने बताउँदै अर्को समाजका मूल्य र मान्यता ल्याएर द्वन्द्व बढाउन खोजिएको आरोप लगाए।

छात्राका अनुसार संग्रौलाले एकपटक उनलाई प्रेमी नबनाउन सुझाएका थिए। उनले संग्रौलाले भनेको कुरा उल्लेख गर्दै लेखेकी छिन्, ‘पुरुषसँग नसुत्नु, विवाह गर्नु र सम्बन्धबाट टाढै रहनु किनभने सबै प्रेमी यौन चाहन्छन्।’

यसै विषयमा प्रष्टिकरण दिँदै संग्रौलाले भने, ‘तिमीहरू विवाह गर अनि व्यवसाय गर। किनभने मैले तिमीहरूका छोराछोरीलाई पनि पढाउनु छ भनेको थिएँ। त्यसैले राम्रा मूल्य र मान्यता भित्र रहेर चल्ने कलेजभित्र कुनै अर्को समाजको मूल्य र मान्यता ल्याएर द्वन्द्व गराउनु राम्रो होइन। १० वर्षअघि भएका कुराकानीलाई अहिलेको सन्दर्भमा हेरेर गलत भन्नु उचित होइन।’

समाज परिवर्तनशील छ भन्दैमा पुराना मूल्य र मान्यतालाई समाप्त पार्न नहुने पनि उनले बताए। ‘समाज सापेक्षिक छ। समाज परिवर्तनशील छ। समाजले नयाँ कुराहरू लिनुपर्छ, तर यसको अर्थ हाम्रा सबै मान्यता समूल रूपमा समाप्त गर्नुपर्छ भन्ने होइन।’

केएसएलका पूर्व विद्यार्थीहरूले भने उक्त कलेजमा निकै पहिलेदेखि नै विद्यार्थीहरूले यस्तो दुर्व्यवहार भोग्नु परिरहेको बताएका छन्।

पूर्व विद्यार्थीहरूले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कानूनी व्यवसायी, मानव अधिकारकर्मी र न्यायप्रेमीहरूलाई केएसएलमा भइरहेका यौन दुर्व्यवहारविरुद्ध बोल्न आह्वान गरेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register