टेस्टमा ९ हजार रन पूरा गर्न चौथो भारतीय खेलाडीको अधुरो सपना

काठमाडौं । भारतको क्रिकेट टोलीमा विराट कोहलीलाई कीर्तिमानको खानीभन्दा गलत पर्दैन । भारतका लागि खेलेको अन्तर्राष्ट्रिय एकदिवसीय, टी–२० वा टेस्ट तीनवटै फर्म्याटमा उनको कीर्तिमानको सूची लामो नै छ । मे १२ मा कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा इन्स्टाग्राममार्फत गरे । जहाँ उनले २६९ लेख्दै आफ्नो टेस्ट क्याप नम्बर संकेत गरेका थिए । यसले भारतीय […]

May 13, 2025 - 09:35
 0
टेस्टमा ९ हजार रन पूरा गर्न चौथो भारतीय खेलाडीको अधुरो सपना

काठमाडौं । भारतको क्रिकेट टोलीमा विराट कोहलीलाई कीर्तिमानको खानीभन्दा गलत पर्दैन ।

भारतका लागि खेलेको अन्तर्राष्ट्रिय एकदिवसीय, टी–२० वा टेस्ट तीनवटै फर्म्याटमा उनको कीर्तिमानको सूची लामो नै छ ।

मे १२ मा कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा इन्स्टाग्राममार्फत गरे । जहाँ उनले २६९ लेख्दै आफ्नो टेस्ट क्याप नम्बर संकेत गरेका थिए । यसले भारतीय क्रिकेटमा एउटा युगको अन्त्य भने पक्कै गरेको छ ।

यही फर्म्याटमा पनि उनले बिताएको सुन्दर १४ वर्षमा बनाएका कीर्तिमान केलाउँदा निकै रोचक देखिन्छ ।

कोहलीले २०११ मा टेस्ट डेब्यू गरेपछि १४ वर्षको करिअरमा १२३ टेस्ट खेल्दै ९ हजार २३० रन बनाए । जसमा ३० शतक र ७ दोहोरो शतक समावेश छन् ।

कोहलीको सात दोहोरो शतक भारतीय खेलाडीहरूमा सबैभन्दा धेरै हो र टेस्ट इतिहासमा चौथो स्थानमा पर्छ । तीमध्ये छ दोहोरो शतक उनले जुलाई २०१६ देखि डिसेम्बर २०१७ सम्मको १८ महिनाको अविश्वसनीय ३३ इनिङ्‌समा बनाएका थिए – त्यो समय उनी टेस्ट क्रिकेटमा नम्बर एक ब्याटर थिए ।

भारतीय क्रिकेटमा कोहली सफल टेस्ट कप्तानको रुपमा चिनिन्छन् । उनले टेस्टमा कुल ६८ खेलमा भारतको कप्तानी गरेका छन् । जसमध्ये ४० मा भारतले जित हासिल गरेको छ । विश्वको टेस्ट कप्तानको सफल सूचीमा कोहली चौथो नम्बरमा पर्छन् ।

सफल कप्तानको सूचीमा १०९ खेलमध्ये ५३ मा जित हासिल गरेका दक्षिण अफ्रिकाका ग्यारेम स्मिथ, ७७ मध्ये ४८ मा जित हासिल गरेका अष्ट्रेलियाका रिकी पोन्टिङ र ५७ मध्ये ४१ मा जित हासिल गरेका अष्ट्रेलियाका स्टिभ वाघपश्चात कोहलीको नाम आउने गर्दछ ।

भारतीय कप्तानहरुको सूचीमा ४० टेस्ट खेलमा जित सबैभन्दा सर्वाधिक हो, जुन कोहलीले प्राप्त गरे । उनले २०१९–२१ र २०२१–२३ वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनलसम्म भारतलाई पुर्‍याएका थिए ।

९ हजार रन पूरा गर्ने चौथो भारतीय खेलाडी

१२३ खेलबाट कोहलीको ९ हजार २३० रनको उपलब्धिसँगै उनी सचिन तेन्दुलकर, राहुल द्रविड र सुनील गावस्करपछि भारतका चौथो सर्वाधिक टेस्ट रन बनाउने खेलाडी हुन् ।

यद्यपि, उनले सो कोशेढुङ्गा ढिला पूरा गरे । उनले १९७ इनिङ्समा सो आङ्कडा पूरा गरे ।

सन् १९८५ मा गावस्करले ९ हजार रन १९२ इनिङ्समा पूरा गरेका थिए । सन् २००४ मा तेन्दुलकरले १७९ इनिङ्समा पूरा गरे । सन् २००६ मा द्रविडले भने सो आङ्कडा सबैभन्दा छिटो १७६ इनिङ्समा पूरा गरेका थिए ।

महारथीको सूचीमा आफ्नो नाम दर्ता गरेका कोहलीले ९ हजार रनको कोशेढुङ्गा न्युजिल्याण्डविरुद्धको टेस्ट खेलमा पूरा गरेका थिए ।
कोहलीले मार्च २०२२ मा ८ हजार टेस्ट रन पूरा गरेका थिए, तर त्यसपछि थप १ हजार रन बनाउन उनलाई दुई वर्षभन्दा बढी समय लाग्यो ।

सन् २०२४ को अक्टोबर १८ मा न्युजिल्याण्डविरुद्ध कोहलीले टेस्ट खेलमा उनले आफ्नो ३१औं अर्धशतक ७० बलमा पूरा गरे । जुन डिसेम्बर २०२३ पछिको उनको पहिलो अर्धशतक थियो ।

हालैको बङ्गलादेशविरुद्धको टेस्ट शृङ्खलामा कोहली २७ हजार अन्तर्राष्ट्रिय रन पुर्‍याउने सबैभन्दा छिटो ब्याटर बने, उनले यो कीर्तिमान जम्मा ५९४ इनिङ्‌समा हासिल गरे ।

कोहलीको अधुरो सपना

कोहलीको सन्याससँगै अहिले कोहलीको एउटा पुरानो अन्तवार्ता निकै चर्चामा छ । सन् २०१३ मा सिधी बातसँगको कुराकानीमा कोहलीले आफूले कीर्तिमान धेरै ध्यान नदिने तर आफ्नो टेस्टमा १० हजार रन पूरा गर्ने सपना भएको बताएका थिए ।

‘मेरो रेकर्डमा ध्यान हुँदैन । जब कुनै खेलमा म शतक बनाउँछु । मलाई पछि मात्र थाहा हुन्छ । खेलपछि मात्र थाहा हुन्छ । खेल अगाडि यति रन बनायो भने यो रेकर्ड टुट्छ भनेर म सोच्दिनँ । त्यसमा मेरो ध्यान हुँदैन । तर, मेरो एउटा उद्देश्य छ – टेस्ट क्रिकेटमा १० हजार रन बनाउने, जुन म अवश्य पूरा गर्न चाहन्छु, ’ कोहलीले भनेका थिए ।

कोहली आफ्नो सपना पूरा गर्न केवल ७७० रन मात्र टाढा थिए । तर, कोहलीको सन्यासको घोषणासँगै १० हजा रन पूरा गर्ने सपना भने अधुरो नै भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register