गणतन्त्र र राजतन्त्रको युद्ध !

राजेश ढुंगाना झापा, ५ चैत । यतिबेला राजतन्त्र र गणतन्त्रको बीच ‘युद्ध’ चलिरहेछ मुलुकमा । राजाको पक्षमा मुलुकभर, विशेषतः राजधानीकेन्द्रित भीड जम्मा पारेर राजा, आफ्नो शक्ति देखाउँदैछन् भने यही बहानामा तीन वटै ‘ठूला’ राजनीतिक दलहरू अप्रत्याशित रूपले एक ठाउँमा आएका छन् ! यस अर्थमा दलहरूले आफैं भन्ने गरेको चिहानमा पु¥याएको राजतन्त्र फेरि तीन वटै प्रमुख [...] The post गणतन्त्र र राजतन्त्रको युद्ध ! appeared first on Jhapa Online.

Mar 18, 2025 - 00:39
 0
गणतन्त्र र राजतन्त्रको युद्ध !

राजेश ढुंगाना

झापा, ५ चैत । यतिबेला राजतन्त्र र गणतन्त्रको बीच ‘युद्ध’ चलिरहेछ मुलुकमा । राजाको पक्षमा मुलुकभर, विशेषतः राजधानीकेन्द्रित भीड जम्मा पारेर राजा, आफ्नो शक्ति देखाउँदैछन् भने यही बहानामा तीन वटै ‘ठूला’ राजनीतिक दलहरू अप्रत्याशित रूपले एक ठाउँमा आएका छन् ! यस अर्थमा दलहरूले आफैं भन्ने गरेको चिहानमा पु¥याएको राजतन्त्र फेरि तीन वटै प्रमुख दलहरूको बराबरीमा आइसक्यो । नभए चिहानमा पु¥याइसकिएको भनिएको राजसंस्थासँग डराएर यत्तिसारो कोकोहोलो मच्चाउन जरूरी छँदै थिएन – सडकदेखि सदनसम्म; पार्टीदेखि सरकारसम्म ।

केही वर्ष अघि अत्यन्त अलोकप्रिय भएर नेपाली जनताले डाँडो कटाएका राजा निश्चित रूपमा आज बलियो भएको कुरा नकार्न सकिन्न । यसको पुष्टि पहिले धनुषा र पोखरा, त्यसपछि राजधानीमा नांगा आँखाले स्पष्ट देखिएको राजाको पक्षमा उर्लेको जनसमूहले उनको लोकप्रियता ह्वात्तै बढेको छ – दृश्यमा यही छ ।

दुनियाँको सबैभन्दा राम्रो राजनीतिक व्यवस्था गणतन्त्र (प्रजातन्त्र ?) नै हो भन्ने कुरामा कुनै विवाद र द्विविधा छैन । तर किन नेपाली जनता आफैंले ल्याएको गणतन्त्र केही वर्षमै यति सारो निरीह भएको छ ?–यो प्रश्न महŒवपूर्ण छ । राजसंस्थाको विरुद्धमा उत्रिएको जनसागर किन आज राजतन्त्र बोलाउँदै छ ? गणतन्त्रवादी हामीहरूले समयमै सोच्नु पर्ने थियो – राजनीतिक दलहरूबाट त्यो सोचिएन । समयमै सोचिएन मात्र होइन, अझै सोचिने सम्भावना पनि देखिंदैन । जसरी भ्रष्टाचारको फाइल खुल्ने डरले ओली सरकार बन्यो, त्यसरी नै अब यतिबेला माओवादी, जो प्रतिपक्षमा छ, सरकारमा गएको देख्नु नपरोस्; राजाको प्रतिरोधमा भनेर ।

मुलुकमा ‘कपडा’ नलगाएका ‘नांगेझार’ शासकहरू रहेको अवस्थामा माओवादी सरकारमा गयो भने त्यो कुनै आश्चर्य हुने छैन । किनकि अब उनीहरूलाई राजावादीहरूसँग ‘सशक्त’ मुकाबला गर्नु छ ! तर, तीन वटै शक्ति (पार्टी !) एक भएर राजाका विरुद्ध लड्नु पर्ने यो दिन किन र कसका कारणले आयो, उनीहरू चुइँक्क बोल्दैनन् ।

समाप्त भएको भनिएको राजतन्त्रसँग किन यत्रोविधि त्रास ? बारम्बार पालैपालो सत्तामा रहेका कांग्रेस, एमाले र माओवादीलाई भन्न लाज लागे पनि जनतालाई थाहा पनि छ र भन्दै पनि छन् – उनीहरूकै कारणले यो स्थिति आएको हो । हो, नेपालमा राजतन्त्र दुई वटा स्थितिमा फर्कन सक्छ । एउटा– सेना राजाको समर्थनमा उत्रिनु प¥यो । अर्को, राजावादीले क्रान्ति नै गर्नु प¥यो । यद्यपि सेना उत्रने सम्भावना न्यून छ भनिन्छ । तर, क्रान्ति नै भएमा राजतन्त्र ब्यूँतन सक्छ । तथापि अहिले नै यो ‘क्रान्ति’को पीडादायी स्थितिको कामना त के, सोच समेत नबनाऔं ।

हो, गणतन्त्र कमजोर भएको छ – यिनै नेता र दलहरूका कारणले । जनताका कारणले होइन । जनता त नेताहरू भन्दा अग्रभागमा थिए– गणतन्त्र मांग्न । तर, गणतन्त्र–गणतन्त्र भनेर त्यो निरपेक्ष हुँदैन । त्यसलाई पनि सापेक्षतामै हेरिनु पर्दछ । गणतन्त्रका नाममा तीन वटै पार्टी र त्यसका नेता–कार्यकर्ताहरूका लागि निरन्तर असीमित ‘भोजन’ नै ‘गणतन्त्र’ हो त ? गणतन्त्रका यतिका वर्षमा त यही त देखियो ! विधिको शासनको समाप्ति र चरम भ्रष्टाचार (त्यो पनि गणतन्त्रवादी भनिने दलहरूबाटै) नै ‘गणतन्त्र’ हो त ? त्यो त पक्कै नहुनु पर्ने हो । तर, भइरहेछ यही !

यही भएकोले यतिबेला जनआक्रोश तीव्र छ – कथित ‘गणतन्त्रवादी’ नेता र पार्टीहरूसँग । गणतन्त्रको समर्थनमा निस्किएको जनसागर मुर्झाएको छ, निरीह र निराश छ – उनीहरूसँग । यसैले राजा क्रमशः बलियो भएका हुन् । यी राजनीतिक दलहरूलाई समयमै चेतना भएन भने अग्रगामी निकास खोजिएको बेला मुलुक पछाडि पनि फर्कन सक्छ । त्यसैले यतिबेला सबैले अग्रगामी निकास नखोज्ने हो भने, राजावादी शक्तिहरू अझ बलियो हुने कुरा पक्का छ ।

त्यो अग्रगामी निकास भनेको के त ? यसको प्रारम्भ विधिको शासन स्थापना र चरम भ्रष्टाचारको अन्त्यबाट गरिनु पर्दछ । तर त्यो विधिको शासन स्थापना गर्न र भ्रष्टाचारको अन्त्य गर्न यिनै विधि तोड्ने र भ्रष्टाचारमय नेताहरूबाट सम्भव छ ? छैन । त्यसका लागि पनि राजनीतिमा, गणतन्त्रवादीहरूभित्र रहेका इमानदार र सक्षम नेतृत्वले पहिला आफ्नै नेतृत्व विरुद्ध ‘क्रान्ति’ गर्नु पर्छ । यिनीहरू अब के सुध्रनु ? जसले सिङ्गो मुलुक बिगारे ! अर्थात्, नयाँ निकास खोज्न मुलुकमा नयाँ सोच भएको राजनीतिक नेतृत्व आउनै पर्दछ । त्यो बाहिरबाट पनि हुन सक्छ र राजनीतिक पार्टीहरू बीचबाटै पनि हुन सक्छ, हुनु प¥यो ।

मुलुक प्रसव–वेदनामा छ । अब यो प्रसवलाई कसैले रोक्न सक्दैन । वर्तमानको नेतृत्व अब सच्चिन सक्दैन । सम्पूर्णमा समाप्त भइसकेको कुरा फेरि ब्युँतन सम्भव छैन । अहिलेकै नेताहरूले जनआक्रोशको तीव्रतालाई रोक्न सक्दैनन् । राजतन्त्रको विरोध र गणतन्त्रको मौखिक जपनाले अब मुलुक थेगिनेवाला छैन । गणतन्त्रवादीहरूले यसमा ढुक्क भए हुन्छ । नभए निश्चित रूपमा दुर्घटना हुने कुरा कसैले रोक्न सक्ने छैन ।

The post गणतन्त्र र राजतन्त्रको युद्ध ! appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register