राजावादीको प्रदर्शनमा राष्ट्रगान बज्दा स्टेजमा अश्रुग्याँस : भिडियो ‘deepfake’ हो ?
काठमाडौं । तीनकुने क्षेत्रमा चैत १५ गते भएको राजावादीहरूको प्रदर्शनका बारेमा जानकारी दिन प्रहरीले त्यसको छ दिनपछि चैत २० गते पत्रकार सम्मेलन गर्यो । पत्रकार सम्मेलनमा प्रहरीले प्रदर्शनका क्रममा भएका घटना विवरणलाई राखेर सुरक्षा व्यवस्थालाई कामयाबी बनाउन आफूले गरेको प्रयासबारे जानकारी दियो । हालसम्म सार्वजनिक गरिएको सूचनाअनुसार प्रदर्शनका क्रममा दुई जनाको ज्यान गयो भने १२८ जना […]

काठमाडौं । तीनकुने क्षेत्रमा चैत १५ गते भएको राजावादीहरूको प्रदर्शनका बारेमा जानकारी दिन प्रहरीले त्यसको छ दिनपछि चैत २० गते पत्रकार सम्मेलन गर्यो ।
पत्रकार सम्मेलनमा प्रहरीले प्रदर्शनका क्रममा भएका घटना विवरणलाई राखेर सुरक्षा व्यवस्थालाई कामयाबी बनाउन आफूले गरेको प्रयासबारे जानकारी दियो ।
हालसम्म सार्वजनिक गरिएको सूचनाअनुसार प्रदर्शनका क्रममा दुई जनाको ज्यान गयो भने १२८ जना घाइते भए । प्रहरीले ५८ राउन्ड गोली चलाएको र प्रहरीले चलाएको गोलीबाट २० जना घाइते भए । भाटभटेनी सुपर मार्केटलगायत व्यापारिक भवन र एकीकृत समाजवादीको पार्टी कार्यालयसहित दर्जनौँ भवनमा क्षति पुग्यो । यी सबै विवरणलाई प्रहरीले पत्रकार सम्मेलनका क्रममा पनि स्वीकार गर्यो ।
तर, सो प्रदर्शनमा सुरक्षा प्रशासनले सम्भावित घटनाका विषयमा जानकारी राखेर आवश्यक सजगता अपनाउन चुकेको भनेर आलोचना समेत भइरहेको छ । पत्रकार सम्मेलनमा पनि यस्ता केही प्रश्न उठे । त्यसको जवाफ भने प्रहरी प्रशासनले चित्त बुझ्दो तवरले दिन सकेन ।
त्यसमध्येको एउटा विषय हो, राजावादीहरूको कार्यक्रममा राष्ट्र गान बजिरहँदा प्रहरीले अश्रुग्याँस प्रहार गरेको भिडियो । जसलाई प्रहरीले ‘deepfake’ भनेर पन्छिएको छ ।
राष्ट्र गान बज्दा अश्रुग्याँस हानेको भिडियो
राजावादीको कार्यक्रमको स्टेजमा प्रहरीले अश्रु ग्याँस हानेको भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ ।
भिडियोमा हेर्दा राष्ट्र गान बजिरहेको बेला स्टेजमा अश्रुग्याँस पुगेपछि राष्ट्र गान रोकिन्छ । त्यहाँ रहेका मान्छेहरू तितरबितर हुन्छन् । राजावादीहरूले यही भिडियो देखाउँदै ‘राष्ट्र गान बजिरहँदा प्रहरीले स्टेजमै अश्रुग्याँस हानेर ज्यादती सुरु गरेको’ आरोप लगाइरहेका छन् ।
यो प्रश्न प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि उठ्यो ।
पत्रकार सम्मेलनमा जवाफ दिने क्रममा प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महाननिरिक्षक (DIG) दिनेशकुमार आचार्यले राष्ट्र गान बजिरहँदा स्टेजमा अश्रुग्याँस हानिएको भिडियो डिपफेक (deepfake) भएको दाबी गरे ।
उनले भनेका छन्, ‘उहाँहरूले कार्यक्रम सुरु गर्नु अगाडि नै हो । त्यहाँनेर राष्ट्र गान कहीँ बजेको छैन । त्यो deepfake भिडियो हो ।’
त्यसो भए राष्ट्र गान बज्दा स्टेजमा देखिएको अश्रुग्याँसको भिडियो प्रहरीले दाबी गरे जस्तै deepfake हो त ?
भिडियोहरूमा जे देखिन्छ
पहिले deepfake बुझौँ । deepfake भिडियो भनेको कृत्रिम बौद्धिकता (Artificial Intelligence – AI) र यान्त्रिक सिकाई (Machine Learning) प्रविधिको प्रयोग गरेर बनाइएको नक्कली भिडियो हो । यसमा कुनै व्यक्तिको अनुहार वा आवाजलाई यथार्थ जस्तो देखिने गरी अर्को व्यक्तिको शरीर वा परिस्थितिमा जोडिन्छ ।
अब लागौं, तिनकुनेको भिडियोतर्फ । हामीले विश्लेषण गर्दा उक्त भिडियो प्रहरीले दाबी गरे जस्तो deepfake भएको देखिँदैन ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका सोही समयका अन्य भिडियोहरू हेर्दा राष्ट्रगान बजिरहेकै समयमा स्टेजमा अश्रुग्याँस पुगेको छ । सचित राईडस नामको युट्युब च्यानलमा तीनकुनेमा भएको प्रर्दशनको करिब १ घण्टा १३ मिनेटको भिडियो छ ।
उक्त भिडियोमा देखिए अनुसार प्रहरीले सबभन्दा पहिले बागमती पुलबाट तीनकुनेतर्फ अश्रुग्याँस प्रहार गर्छ । प्रहरीले हानेको अश्रुग्याँस तीनकुनेमा रहेको श्री राज भवन अगाडि पुगेर खस्छ । अश्रुग्याँस आएपछि त्यस क्षेत्रमा रहेको भिड स्टेज रहेको क्षेत्र तीनकुने चौरतिर सोझिन्छ ।
नेपाल प्रहरीका केन्द्रिय प्रवक्ताले पनि प्रहरीले सबभन्दा पहिले बागमती पुलतिरबाट अश्रुग्याँस हानेको स्वीकार गरेका छन् ।
उनले पत्रकार सम्मेलनमा भनेका छन्, ‘स्टेजबाट मान्छेहरू भड्काएर त्यसलाई अब हामीहरू बानेश्वर कब्जा गर्न जानुपर्छ । हामी यहाँ बस्ने उदेश्य होइन भन्ने सुरुमै एक किसिमले अनाउन्सीङ्ग भएका थियो । त्यसपछि, अवस्था यतातिर आएपछि पुलनेर गएर झडप (confrontation) भएको थियो । सोही झडपको क्रममा अश्रुग्याँस प्रयोग गरिएको थियो ।’
त्यसपछि तीनकुनेको माहोल बिग्रन थाल्छ । प्रर्दशनकारी र प्रहरीबीच तनाव सिर्जना हुँदै गएपछि प्रहरी प्रर्दशनकारीलाई पेल्दै स्टेज आसपाससम्म पुग्छ ।
सचित राईडस युट्युब च्यानलमा भएको भिडियोको ३६ मिनेट ०१ सेकण्डमा पृष्ठभूमिमा राष्ट्रगान बज्न सुरु हुन्छ । भिडियोमा ‘त्यहाँ हान्यो (अश्रुग्याँस) हान्यो’ भनेको सुनिन्छ ।
भिडियोको ३६ मिनेट २६ सेकेण्डमै राष्ट्रगान बज्न रोकिन्छ । त्यसपछि ३६ मिनेट ३१ सेकेण्डमा स्टेजमा अश्रुग्याँसको धुवाँ देखिन्छ । पृष्ठभूमिमा अश्रुग्याँस प्रहार गरेको आवाज सुनिन्छ । स्टेजबाट मान्छेहरू तितरबितर हुन थाल्छन र भिडियो खिच्नेले अश्रुग्याँसको धुवाँले भरिएको स्टेज देखाउँदै भन्छन्, ‘यी(स्टेज) हाल्देछ अनि… । यहाँ पनि हाल्देछन । अब त लास्टै गारो हुन्छ । अब यहाँ बस्नुहुन्न।’ यति भनेर भिडियो खिच्ने मान्छे दौडिन्छन् ।
उनी दौडेर रोयल ब्याङक्वेट अगाडि पुग्छन् र भिडियोमा देखिए अनुसार त्यहाँ सुरक्षाकर्मी नै अश्रुग्याँसले पीडित भएको देखिन्छन् । अश्रुग्याँसको असर कम गर्न प्रहरीहरू नै आँखामा पानी छ्यापीरहेको भिडियोमा देखिन्छ ।
‘ए यहाँ उहाँहरू (प्रहरी) लाई पनि गाह्रो भइ’रा रहेछ । उहाँहरूको अवस्था पनि गम्भीर छ । सबैले आँखामा पानी हाल्दै हुनुहुन्छ,’ प्रहरीलाई देखाउँदै भिडियो खिच्नेले भन्छन् ।
विवेक प्रसाई नाम गरेका व्यक्तिले ३ मिनेट २५ सेकेण्डको भिडियो फेसबुकमा राखेका छन् । उक्त भिडियोको २ मिनेट ३९ सेकेण्डमा राष्ट्रगान बज्न सुरु हुन्छ । र, ३ मिनेट ४ सेकेण्डमा स्टेजमा अश्रुग्याँसको धुँवा देखिन्छ ।
सार्वजनिक भएका भिडियोहरु अनुसार स्टेजमा अश्रुग्याँस पुगेपछि राष्ट्रगान रोकिन्छ । अश्रुग्याँस आएपछि स्टेजबाट राप्रपा नेता रविन्द्र मिश्र र राजा फर्काउने आन्दोलनका संयोजक नवराज सुवेदी खोक्दै, आँसु प्छ्दै बाहिरिँदै गरेको भिडियो पनि सामाजिक सञ्जालमा आएका छन् ।
स्टेजमा अश्रुग्याँस आएपछि बिथोलिएको कार्यक्रम सम्हाल्न पुग्छन दुर्गा प्रसाईं । खबर स्टेशन नामको युट्युब च्यानलमा राखिको १२ मिनेट १ सेकेण्डको भिडियोमा देखिए अनुसार मुख पखाल्दै दुर्गा प्रसाई प्रर्दशनमा सहभागिलाई स्टेजतिर आउन आग्रह गर्छन् ।
त्यसपछि प्रसाईंले राप्रपा नेता धवल शमशेसर, रविन्द्र मिश्र र राजा फर्काउने आन्दोलनका संयोजक नवराज सुवेदीलाई स्टेजमा बोलाउँछन् ।
अनि स्टेजमा देखिन्छन मिश्र । र, प्रसाईले भन्छन, ‘हामी अघि बढ्छौं, हामी संसद भवन कब्जा गर्छौ । एयरर्पोट कब्जा गर्नुपर्छ पहिला, संसद कब्जा गर्नुपर्छ ।’
प्रसाईंले यसो भनिरहँदा मिश्रले माइक खोस्छन् । र, प्रसाईं मञ्चबाट बाहिरिन्छन् । मञ्चबाट बाहिरिएर उनी गाडि लिएर प्रहरीतिर सोझिन्छन् ।
र, मिश्रले सहभागिलाई उक्साँछन्, ‘पर पर बसेर हेर्ने होइन । अगाडि बढ्नुहोस्, अगाडि बढ्नुहोस् । तपाईंहरू अगाडि हिड्नुहोस, यहाँ बसेर गर्ने होइन ।’
त्यसपछि मिश्रले हातले इसारा गर्दै भीडलाई अगाडि बढ्न भन्छन् ।
राप्रपा नेता धवल शमसेरले भीडलाई थप उत्तेजित बनाउँछन्, ‘हामी सबै साथ छौं । यो गणतन्त्र, यो संघियतालाई समाप्त पार्ने आज यो दिन हो । तपाईहरू नडराउनुहोस् ।’
प्रहरी नै कन्फ्युज
हामीले हेरेका भिडियोमा राष्ट्रगान बजिरहेको समयमा स्टेजमा अश्रुग्याँस पुगेको देखिन्छ । तर, स्टेजमा अश्रुग्याँस प्रहरीले ताकेर हानेको हो वा झुक्किएर पुगेको भन्ने यकिन छैन । प्रर्दशनकारीहरूले प्रहरीले हानेको अश्रुग्याँस समातेर प्रहरीतिरै हान्ने क्रमममा झुक्किएर स्टेजतिर पुग्ने सम्भावना पनि रहन्छ ।
प्रहरी प्रवक्ताले चैत २० को पत्रकार सम्मेलनमा पनि राष्ट्रगान बजिरहँदा स्टेजमा अश्रुग्याँस पुगेको भिडियोलाई घरि डिप फेक भनेका छन भने घरी झुक्किएर पुगेको हुनसक्ने भनेका छन् ।
सुरुमा प्रहरी प्रवक्ता आचार्यले भने, ‘प्रहरीले वास्तवमा सुरु गरेकै होइन । उहाँहरूले कार्यक्रम सुरु हुनुभन्दा अगाडि नै हो । त्यसमाथि राष्ट्रिय गान बजेकै छैन । त्यो डिपफेक भिडियो हो । त्यहाँ कार्यक्रम नै सुरु भएको छैन । राष्ट्रिय गान कसरी बज्छ ?’
त्यसपछि पत्रकारले थप प्रश्न गरेपछि आचार्य स्टेजमा अश्रुग्याँस पुगेको हुनसक्ने स्विकार्छन । बागमती पुलतर्फबाट प्रहरीले अश्रुग्याँस चलाउँदा त्यही ग्याँस स्टेजसम्म पुगेको हुनसक्ने पनि उनले भनेका छन् । माथि नै उल्लेख भइसकेको उनको भनाइलाई पुन: हेरौँ । ‘त्यसपछि, अवस्था यतातिर आएपछि पुलनेर गएर झडप (confrontation) भएको थियो । सोही झडपको क्रममा अश्रुग्याँस प्रयोग गरिएको थियो । त्यही अश्रुग्याँसको केही भाग स्टेजसम्म पुगेको हुनसक्छ,’ पवक्ता आचार्यले प्रत्रकार सम्मेलनमा भनेका छन् ।
प्रवक्ता आचार्य अगाडि भन्छन, ‘टियर ग्यास एक ठाउँबाट अर्को ठाउँमा पुग्छ । हान्ने बेलामा कहिले एंगल मिल्दैन । हतारमा भागिरहेको होला, ढुंगा लागिरहेको होला टियर ग्याँस हान्ने बेला, जे पनि हुन सक्छ नि !’
What's Your Reaction?






