बनटारको चेपाङ बस्तीमा तीन वर्षदेखि खानेपानी आयोजना अलपत्र

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–६ बनटारस्थित चेपाङ बस्तीको खानेपानी आयोजना तीन वर्षदेखि अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ अभियानअन्तर्गत बनटारमा आर्थिक वर्ष २०७८–७९ देखि आयोजनाको काम सुरु भएको थियो । आयोजनाअन्तर्गत संरचना निर्माण दुई वर्षअघि सम्पन्न भइसके पनि हालसम्म धारामा पानी भने नआएको स्थानीय बिन्दास चेपाङले बताए । हरेक वर्षको […]

Apr 20, 2025 - 02:02
 0
बनटारको चेपाङ बस्तीमा तीन वर्षदेखि खानेपानी आयोजना अलपत्र

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–६ बनटारस्थित चेपाङ बस्तीको खानेपानी आयोजना तीन वर्षदेखि अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ अभियानअन्तर्गत बनटारमा आर्थिक वर्ष २०७८–७९ देखि आयोजनाको काम सुरु भएको थियो ।

आयोजनाअन्तर्गत संरचना निर्माण दुई वर्षअघि सम्पन्न भइसके पनि हालसम्म धारामा पानी भने नआएको स्थानीय बिन्दास चेपाङले बताए । हरेक वर्षको सुख्खायाममा गाउँमा खानेपानीको हाहाकार मच्चिने गरेको जानकारी दिँदै उनले भने, ‘घरमा धारा जोडेको दुई वर्ष भइसक्यो तर पानी छैन । पाहुना आउँदा दिने पानी पनि हुँदैन ।’

बनटारवासीले हाल खानेपानीको ट्याङ्कीमा जम्मा भएको धमिलो पानी खाएर गुजारा चलाइरहेका बिन्दासले जानकारी दिए । ‘रिजर्भ ट्याङ्कीमा जम्मा भएको पानी पाइप टाँगेर खाएका छौँ । कहिलेकाहीँ पानीको निहुँमा गाउँमा झगडा हुन्छ । पानी पर्दा पाइपमा भल पस्छ,’ उनले थपे, ‘धारामा पानी आए आनन्द हुन्थ्यो । कसैसँग झगडा गर्नुपर्दैनथ्यो ।’

गाउँमा खानेपानीको व्यवस्था नहुँदा बनटारका ५५ परिवारले कुवाको धमिलो पानी खान बाध्य भएका बनटार खानेपानी उपभोक्ता समितिका सचिव धनबहादुर गुरुङले बताए । रकम अभाव तथा थानीयले श्रमदान नगरेकाले निर्मित आयोजनाले पूर्णता पाउन नसकेको उनको भनाइ छ ।

‘खानेपानीको ट्याङ्की, धारालगायत संरचना निर्माण भएर पनि आयोजना अलपत्र अवस्थामा छ,’ गुरुङले भने, ‘यो आयोजना पहिले नै सम्पन्न भइसक्नुपर्ने थियो । हामीसँग बजेट अभाव छ, यहाँका चेपाङ समुदायबिना पैसा काम गर्न खोज्दैनन् त्यसैले अहिलेसम्म नबनेको हो ।’

चेपाङ समुदायले श्रमदान गरी सहयोग गर्नुपर्नेमा सचिव गुरुङले जोड दिए । ‘यहाँ खानेपानीको धेरै समस्या छ । त्यसैले जिल्लाबाट एक घर, एक धारा खानेपानी आयोजना सञ्चालन भएको थियो । स्थानीयले श्रमदान नगरेपछि रकम अभावले काम रोकिमएको हो’ उनले भने, ‘अहिले गाउँले स्वच्छ खानेपानीबाट बञ्चित छन् । निर्माण सम्पन्न भइसकेको खानेपानीको मुहान पनि हाल जीर्ण अवस्थामा छ ।’

खानेपानी समितिले आवश्यक समन्वय गरे पनि चेपाङ समुदायका कोही पनि श्रमदानका लागि तयार नभएका गुरुङले बताए । उनले भने, ‘यहाँ ५५ घरधुरीमा ७० प्रतिशत चेपाङ छन् । उहाँहरू पैसा नभए काम गर्नुहुँदैन, त्यसैले पनि समस्या भएको हो ।’

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका सबइञ्जिनीयर दीपक खनालले रकम अभाव तथा स्थानीयले श्रमदान नगरेकाले आयोजना सम्पन्न हुन नसकेको बताए ।

‘खानेपानी आयोजनामा पानी वितरणको काम श्रमदानबाट गर्नुपर्ने प्रावधान छ । यहाँ संरचना निर्माण सम्पन्न भई भुक्तानीसमेत भइसकेको छ । श्रमदानको पाटोले गर्दा रोकिएको हो,’ उनले भने । कार्यालयले स्थानीयहरूसँग आवश्यक समन्वय गरी चालु आर्थिक वर्षभित्र आयोजनालाई पूर्णता दिने गरी काम गरिरहेको खनालले बताए । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register