बङ्गलादेशमा भावेशचन्द्र रायको हत्या र अल्पसङ्ख्यकको सुरक्षा चासो

बिहीबार बङ्गलादेशको दिनाजपुरमा एक प्रतिष्ठित हिन्दू नेता तथा समाजसेवी ५८ वर्षीय भावेशचन्द्र रायको कुटपिटबाट हत्या भएपछि हिन्दू अल्पसङ्ख्यक समुदायको सुरक्षाबारे विश्वव्यापी चिन्ता उत्पन्न भएको छ । अपराह्न ४:३० बजे दुईवटा मोटर साइकलमा आएका ४ जना व्यक्तिले उनलाई बासुदेबपूरबाट जबरजस्त छिमेकी गाउँ नारिबारी लगेका थिए । त्यहाँ उनीमाथि निर्घात कुटपिट भएको थियो । कुटपिटले मुर्छित रायलाई […]

Apr 20, 2025 - 08:29
 0
बङ्गलादेशमा भावेशचन्द्र रायको हत्या र अल्पसङ्ख्यकको सुरक्षा चासो

बिहीबार बङ्गलादेशको दिनाजपुरमा एक प्रतिष्ठित हिन्दू नेता तथा समाजसेवी ५८ वर्षीय भावेशचन्द्र रायको कुटपिटबाट हत्या भएपछि हिन्दू अल्पसङ्ख्यक समुदायको सुरक्षाबारे विश्वव्यापी चिन्ता उत्पन्न भएको छ ।

अपराह्न ४:३० बजे दुईवटा मोटर साइकलमा आएका ४ जना व्यक्तिले उनलाई बासुदेबपूरबाट जबरजस्त छिमेकी गाउँ नारिबारी लगेका थिए । त्यहाँ उनीमाथि निर्घात कुटपिट भएको थियो । कुटपिटले मुर्छित रायलाई भ्यानमा हालेर घर पठाइएको थियो । उपचारका लागि स्थानीय बिराल जिल्ला अस्पतालमा पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो ।

राय बङ्गलादेशी हिन्दू समाजमा प्रतिष्ठित थिए । उनले हिन्दू अनुष्ठानहरूको सामूहिक आयोजनमा भूमिका गर्दै आएका थिए ।

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यो घटनाको निन्दा गर्‍यो । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘भावेशचन्द्र रायको अपहरण र क्रूर हत्या अन्तरिम सरकारअन्तर्गत हिन्दू अल्पसङ्ख्यक समुदायको व्यवस्थित उत्पीडनकै हिस्सा हो । यसअघि पनि यस्ता घटना भएका छन् । अपराधी खुलेआम हिँडिरहेका छन् ।’

विज्ञप्तिमा हिन्दू अल्पसङ्ख्यक समुदायको सुरक्षामा विशेष ध्यान दिन बङ्गलादेशको अन्तरिम सरकारलाई आग्रह समेत गरिएको छ ।

सन् २०२४ को अगस्टमा भएको विद्रोहले शेख हसिना बाजेदको सरकारलाई अपदस्थ गरेपछि त्यहाँ अहिले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको अन्तरिम सल्लाहकार सरकारले सत्ताको बागडोर सम्हालेको छ ।

भरखरै सम्पन्न बिमस्टेक शिखर सम्मेलनमा बैङ्ककमा मोहम्मद युनुस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘साइड लाइन’ भेटवार्ता भएको थियो । यस भेटघाटमा समेत प्रधानमन्त्री मोदीले हिन्दू अल्पसङ्ख्यकको सुरक्षाबारे चिन्ता प्रकट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अगस्ट विद्रोहपछि अपदस्थ तत्कालीन प्रधानमन्त्री शेख हसिना बाजेद भारतमा निर्वासित जीवन बिताइरहेकी छन् ।

मोहम्मद युनुस सरकारले अल्पसङ्ख्यक समुदायको अधिकारको रक्षा गर्न नसकेको भन्दै विश्वव्यापी चिन्ता व्यक्त गरिँदै आएको छ ।

सन् २०२४ को नोबम्भर २५ मा बङ्गलादेश सरकारले हिन्दू धर्म गुरु चिन्मोई कृष्ण दासलाई पक्राउ गरेको थियो । विद्रोह र हिंसा भड्काउन उत्तेजक अभिव्यक्ति दिएको आरोपमा अहिले पनि उनी जेलमा छन् ।

त्यस क्रममा इस्लामिक अतिवादी समूहहरूले ‘इस्कोन’ को मन्दिरमा तोडफोड गरेका थिए भने लाखौँ हिन्दूहरूले सडकमा आएर अल्पसङ्ख्यक अधिकार र सुरक्षाको माग गर्दै प्रदर्शन गरेका थिए ।

ढाकास्थित एक मानव अधिकारवादी संस्था ‘आश्क’का अनुसार पछिल्लो ६ महिना मात्र बङ्गलादेशमा हिन्दू परिवारका ३९६ घरमा आगजनी, ११३ व्यावसायिक भवनमा आक्रमण र ९२ हिन्दू मन्दिर तथा देवस्थलमा तोडफोड भएका छन् ।

मोहम्मद युनुसको अन्तरिम सरकारले यथाशीघ्र नयाँ निर्वाचन गराएर लोकतान्त्रिक सरकारलाई सत्ता हस्तान्तरण गर्नुपर्नेमा ढिलो गरिरहेको चिन्तासमेत बढ्दो छ । देशमा निर्वाचित लोकतान्त्रिक सरकार बहाल हुन नसक्दा धार्मिक कट्टरपन्थ र इस्लामिक अतिवाद फस्टाउँदै गएको छ । हिन्दू, बौद्ध, इसाईलगायतका अल्पसङ्ख्यक समूह यसको मारमा परेका छन् ।

हिन्दू बङ्गलादेशको सबैभन्दा ठूलो अल्पसङ्ख्यक समुदाय हो । बङ्गलादेशमा करिब ९१ प्रतिशत मुस्लिम, ८ प्रतिशत हिन्दू र बाँकी १ प्रतिशत बौद्ध, इसाईलगायत अन्य समुदाय छ ।

बङ्गलादेश भारत र नेपालपछि विश्वमै तेस्रो ठूलो हिन्दू जनसङ्ख्या भएको देश हो । बङ्गलादेशमा कम्तीमा १ करोड ४० लाख हिन्दू जनसङ्ख्या भएको विश्वास गरिन्छ ।

तर, हिन्दू जनसङ्ख्या अनुपात निरन्तर घट्दो क्रममा छ । भारत–पाक स्वतन्त्रता र विभाजनअघि यो क्षेत्रमा करिब २७ प्रतिशत हिन्दू जनसङ्ख्या थियो । सन् १९५१ मा पूर्वी पाकिस्तानमा २२ प्रतिशत हिन्दू जनसङ्ख्या थियो ।

सन् १९४७ मा भारत–पाक विभाजन हुँदा बङ्गालको विभाजन गरी भारतको पश्चिम बङ्गाल प्रदेश र पूर्वी पाकिस्तान बनाइएको थियो ।

सन् १९७१ मा पूर्वी पाकिस्तान स्वतन्त्र भई बङ्गलादेश बन्दासमेत २२ प्रतिशत जनसङ्ख्या कायमै थियो । बङ्गलादेशका ६४ जिल्लामध्ये २१ जिल्लामा १० प्रतिशतभन्दा बढी हिन्दू जनसङ्ख्या छ ।

बङ्गलादेश स्वतन्त्र भएपछि भने त्यहाँ हिन्दू जनसङ्ख्या अनुपात निरन्तर घट्दोक्रममा छ । यसका मुख्य ३ वटा कारण भएको बताइन्छ ।

पहिलो– हिन्दूको तुलनामा मुस्लिम समुदायको प्रजनन दर बढी छ ।

दोस्रो– अल्पसङ्ख्यक बङ्गलादेशी हिन्दूहरुले राज्य र समाजबाट संरचनागत दमन र अत्याचारको सामना गर्नु पर्ने भएकाले अवसर प्राप्त हुँदा अन्तर्राष्ट्रिय बसाइँसराइ गर्ने गरेका छन् ।

तेस्रो– बङ्गलादेशी हिन्दू असुरक्षा र अवसरको अभावले ठूलो सङ्ख्यामा भारतमा शरणार्थी बन्ने गरेका छन् । भारतीय गृह मन्त्रालयका अनुसार करिब ४० लाख बङ्गलादेशी हिन्दू भारतमा छन् ।

बिहीबारको हत्यापछि बङ्गलादेशी हिन्दू समुदायको सुरक्षा र भविष्यलाई लिएर थप चिन्ता उत्पन्न भएको हो । कोलकतालगायत पश्चिम बङ्गालका विभिन्न क्षेत्रमा प्रदर्शन भएका समाचार छन् ।

अल्पसङ्ख्यक हिन्दू समुदायका अतिरिक्त मुस्लिम समुदायकै धर्मनिरपेक्षतावादी, मानवअधिकारकर्मी, पत्रकार, लेखक, बुद्धिजीवीले समेत बङ्गलादेशमा इस्लामिक अतिवादीहरूको बारम्बारको आक्रमण सामना गर्नु परेको छ ।

यस्ता घटनाले मोहम्मद युनुस सरकारको आलोचना बढ्दै गएको छ ।

तर, यो युनुस सरकार बने यताको मात्र भने समस्या होइन । इस्लामिक कट्टरतावाद बङ्गलादेशको दशकौँ लामो समयदेखिको समस्या हो ।

सन् १९९० को दशकमा भएका इस्लामिक अतिवादी घटनाको विरोध गरेबापत लेखिका तसलिमा नसरिनविरुद्ध त्यहाँ ‘फतवा’ जारी भएको थिए । सन् १९९४ यता उनी भारतमा निर्वासित जीवन बिताई रहेकी छन् ।

भारतमा बाबरी मस्जिदको ध्वंसपछि बङ्गलादेशी हिन्दू परिवारले भोग्न परेको अवस्थालाई चित्रण गर्दै उनले सन् १९९१ मा ‘लज्जा’ उपन्यास लेखेकी थिइन् ।

निर्वासित लेखिका नसरिन ठान्दछिन् कि बङ्गलादेशको स्थितिमा आज पनि आधारभूत भिन्नता आएको छैन । त्यसयता बनेका बेगम खालिदा जिया, शेख हसिना वाजेद वा मोहम्मद युनुस कुनै पनि सरकारले नसरिनलाई स्वदेश फर्किने अनुमति दिएनन् ।

हसिना शासनकालमा पनि धार्मिक स्वतन्त्रता पक्षधर लेखक, ब्लगर र स्तम्भकारको हत्या हुने गरेको थियो । सन् २०१३–२०१७ का बीचमा अभिजित रोय, अहमद राजीव हैदर र अनन्त विजय दासजस्ता लोकप्रियदर्जनौँ ब्लगरको इस्लामिक अतिवादीले हत्या गरेका थिए । अन्य दर्जनौँले ‘ज्यान मार्ने धम्की’को सामना गरिरहेका छन् ।

तीन दशकभन्दा बढी समयदेखि भारतमा निर्वासित जीवन बिताइरहेकी तसलिमा नसरिनले बङ्गलादेशको पछिल्लो अवस्थाबारे लेखेकी छन्– ‘धर्मको नाममा फैलाइने अराजकता, अल्पसङ्ख्यकमाथिको दमन, मानव अधिकार उल्लङ्घन, अभिव्यक्ति स्वतन्त्रताको हनन् र स्त्री जातिको शोषणको अवस्थामा कुनै राष्ट्र लोकतान्त्रिक हुन सक्दैन । लोकतन्त्रलाई वास्तविक जमिनमा उतार्न सरकारी र निजी संस्थाहरू कट्टरताबाट मुक्त हुनु पर्दछ । बङ्गलादेशमा आज सद्भावको सबैभन्दा अभाव छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register