श्रम गरी जीविकोपार्जन गर्नेलाई नै थाहा छैन श्रमिक दिवस

रौतहट । ढल्किदो उमेरसँगै यो चर्को गर्मीमा भारीका बोरा बोकेर निधारभरी पसिना बगाउँदै मजदुरी काम गरी रहेकी रामकलीलाई श्रमिक दिवसका बारेमा केही थाहा छैन । उनलाई जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता मात्र छ । दिवसका बारेमा केही नबुझेकी उनलाई आफूले गरेको कामको ज्याला समयमा नै पाए हुन्थ्यो भन्ने छ । यति मात्र नभए र ज्यालाको […]

May 1, 2025 - 05:58
 0
श्रम गरी जीविकोपार्जन गर्नेलाई नै थाहा छैन श्रमिक दिवस

रौतहट । ढल्किदो उमेरसँगै यो चर्को गर्मीमा भारीका बोरा बोकेर निधारभरी पसिना बगाउँदै मजदुरी काम गरी रहेकी रामकलीलाई श्रमिक दिवसका बारेमा केही थाहा छैन । उनलाई जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता मात्र छ । दिवसका बारेमा केही नबुझेकी उनलाई आफूले गरेको कामको ज्याला समयमा नै पाए हुन्थ्यो भन्ने छ ।

यति मात्र नभए र ज्यालाको रकम पनि बढी दिए घर खर्च टार्न सहज हुने उनको भनाइ छ । दुई सन्तानकी आमासमेत रहेकी रामकलीलाई यो महँगीमा कसरी जीविकोपार्जन गर्ने ठूलो चिन्ता छ ।

‘बजार महँगीले आकासीएको छ,’ उनले भनिनु, ‘ज्यालाको रकमले खान लाउनसमेत मुस्किल भैइसक्यो । श्रमिक दिवस कहिले, किन र के का लागि मनाइन्छ थाहा छैन । हामी जस्ताले एक दिन काम गरेन भने बेलुका के खाने चिन्ता हुन्छ ।’

यो पीडा रामकलीको मात्र नभई यहाँ ज्यालामा काम गर्ने हरेक महिला श्रमिक वा मजदुरको हो । पुरुष सरह नै काम गर्दा पनि ज्याला कम दिने गरेको यहाँका महिला श्रमिकको गुनासो छ । पुरुषको भन्दा एक सय ५० रुपैयाँसम्म कम पाउने गरेको उनीहरू बताउँछन् ।

तर यो किसिमको विभेद भएको आफूले अहिलेसम्म थाहा नपाएको स्थानीय युवा ध्रुव घिमिरेले बताए । ‘केही वर्ष पहिले भए पनि अहिले महिला पुरुष दुवैले समान ज्याला पाउँछन्’, उनले भने । अहिले घर निर्माणको काम गर्ने ज्यालादारी मजदुरले दैनिक ६ सयदेखि ७ सय रुपैयाँसम्म पाउने गरेको उनको भनाइ छ । महिलाले पनि श्रम गरेअनुसार उत्तिकै र समान ज्याला पाएको उनले बताए ।

‘गाउँ घरमा श्रमिक पाउन मुस्किल छ’, उनले भने, ‘प्रायः पुरुष जति विदेशीने हुँदा श्रमिकको अभाव छ । पुरूष कामदार नपाएपछि महिलाबाट काम लिन थालेको पाइन्छ ।’ प्रायः निर्माण क्षेत्र, ईंटा उद्योग, होटल तथा निजी क्षेत्रबाट सञ्चालित उद्योगमा महिला पुरुष दुवै कामदार काम गरिरहेको भेटिन्छन् । ईंटा उद्योगी व्यवसायी संघका अध्यक्ष रामविनोद साहले अहिले श्रमिक पाउन मुस्किल भएकाले ज्यालामा कमि नगरेको बताए ।

ईंटा उद्योगीले महिला पुरुषको ज्यालामा समान र उत्तिकै दिएको उनको भनाइ छ । आफ्नो उद्योगमा महिला कामदार नरहेको र यो किसिमको विभेद गर्न नदिने उनको भनाइ छ । ‘यहाँका अन्य ईंटा उद्योगमा महिला पुरुष दुवैले काम गर्छन्’ उनले भने; ज्यालामा अन्तर छैन ।’ ईंटा बनाउने, धुने, सुकाउने र चाङ बनाएर राख्नेलगायतका काम महिला र पुरुष दुवैले गर्दै आएको उनले बताए ।

एक महिनामा दैनिक ज्यालाअनुसार २२ हजार रुपैयाँँभन्दा बढीसम्म बुझ्ने गरेको संघका अध्यक्ष साहले बताए । आर्थिक अवस्था कमजोर र पहाडका बिकट गाउँका श्रीमान÷श्रीमती दुवै आएर काम गर्ने गरेको उनले बताए ।

चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदयनारायण सापकोटाले श्रमिकको काम गरेअनुसारको ज्याला नभएको बताए । श्रमिकको श्रमको उचित मूूल्यांकन गरिनुपर्नेमा उनले जोड दिए । यसका लागि नगर उद्योग वाणिज्य संघले यहाँका उद्योगी व्यवसायीसंँ छलफल गर्ने उनले बताए ।

हरेक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ । सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो । रौतहटमा पनि मजदुर संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register