चीनले दुनियाँलाई देखाउने समृद्धि

कुनै समय चीन भन्नु र रहस्य भन्नु-स्तै उस्तै थियो, तर अब भने उस्तै रहेन । पछिल्लो समय चीन र चीनका वास्तविकता सतहमा आउन थालेसँगै अब त्यो रहस्य एक प्रकारको आश्चर्यमा परिणत हुन थालेको छ । चीन आफैँले आफ्नो प्रगतिलाई दुनियाँलाई देखाउन थालेको छ । यसपटक मलाई पनि चीनले हासिल गरिरहेको समृद्धिसँग साक्षात्कार गर्ने अवसर प्राप्त […]

May 17, 2025 - 02:08
 0
चीनले दुनियाँलाई देखाउने समृद्धि

कुनै समय चीन भन्नु र रहस्य भन्नु-स्तै उस्तै थियो, तर अब भने उस्तै रहेन ।

पछिल्लो समय चीन र चीनका वास्तविकता सतहमा आउन थालेसँगै अब त्यो रहस्य एक प्रकारको आश्चर्यमा परिणत हुन थालेको छ । चीन आफैँले आफ्नो प्रगतिलाई दुनियाँलाई देखाउन थालेको छ ।

यसपटक मलाई पनि चीनले हासिल गरिरहेको समृद्धिसँग साक्षात्कार गर्ने अवसर प्राप्त भयो । गत महिना म चीनको तीनहप्ते भ्रमणमा थिएँ । त्यो भ्रमण मेरा लागि एक ‘सामान्य घुमफिर’ मात्र थिएन, त्यसभित्र ‘जियाङसी कलेज अफ फोरेन स्टडिज’ (जेएक्ससीफएस) द्वारा आयोजित सेमिनारमा सहभागिता अवसरसमेत समावेश थियो ।

सेमिनार ‘बेल्ट एन्ड रोड’ मा आबद्ध देशका ‘वित्तीय व्यवस्थापक वरिष्ठ कर्मचारी’हरूका लागि केन्द्रित गरिएको थियो । मेरा लागि यो सिकाइ र अनुभव संवृद्ध पार्ने अवसर थियो । नेपालको निजी क्षेत्रको प्रतिनिधिका रूपमा सेमिनारमा भाग लिनु साँच्चै गर्वको विषय थियो ।

जियाङसी प्रान्तीय वाणिज्य विभागसँग अनुबन्धित ‘जेएक्ससीफएस’ साधारण संस्था मात्रै होइन, चीनका अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित र प्रभावशाली मानिएका शीर्ष ५० वटा व्यावसायिक कलेजमध्ये एक हो । विश्व व्यापार र शासकीय परिदृश्यलाई आकार दिन ‘जेएक्ससीफएस’ ले महत्त्वपूर्ण भूमिका खेल्ने गरेको छ ।

यो संस्थाले शिक्षा, कूटनीति र विकाससँग सम्बन्धित काम गरिरहेको छ । यसले ‘नेसनल सुपेरियर क्वालिटी हाइयर भोकेसनल कलेज’ र अन्तर्राष्ट्रिय व्यापारसँग जोडिएका अधिकारीहरूलाई तालिम उपलब्ध गराउँछ । यो कलेजलाई बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को बृहत दृष्टिकोणअन्तर्गत जनस्तरको सम्बन्ध आदानप्रदान र पारस्परिक समझदारी प्रवर्द्धन गर्ने चिनियाँ प्रतिबद्धताको प्रतीक मानिन्छ ।

यस कलेजबाट विश्वका १२६ देशका १६४ वैदेशिक सहायता परियोजना अन्तर्गत कार्यरत ४२०० भन्दा बढी विदेशी अधिकारी प्रशिक्षित भइसकेका छन् । यसको सबै सहयोग त्यहाँको वाणिज्य मन्त्रालयले गर्छ ।

यसपटकको कार्यक्रममा बहामस, बुर्किनाफासो, मङ्गोलिया, जोर्डन, युगान्डा, इरिट्रिया, पूर्वी टिमोर, इथियोपिया र अवश्य पनि नेपालबाट जम्मा २० जना सहभागी थियौँ ।

सबै सहभागीको प्रतिनिधित्व गरेर धारणा राख्ने अवसर प्राप्त गर्नु पक्कै पनि मेरा लागि महत्त्वपूर्ण व्यक्तिगत उपलब्धि भयो । साथै, नेपालको प्रतिनिधित्व गर्नु, विभिन्न महाद्विपका वित्तीय क्षेत्रका व्यवसायीबीच निजी क्षेत्रको आवाज बन्न पाउनु पनि सौभाग्य नै थियो ।

अप्रिल १७ देखि मे ५ सम्म सेमिनारमा चीनको आतिथ्यता, खुल्लापनको भावना, आफ्नो विकास यात्रालाई अन्य देशसँग साझा गर्ने उत्सुकता साँच्चै नै उल्लेखनीय लाग्यो ।

कार्यक्रमलाई सैद्धान्तिक र व्यावहारिक हिसाबले फलदायी हुने गरी तयार गरिएको थियो ।  यसले गर्दा नीति र नवप्रवर्तनमा दुनियाँमा चीनले गरेका विकासका शृङ्खलाहरूलाई बुझ्न पाइयो । यो मेरा लागि वास्तवमै बहुमूल्य सिकाइ अनुभव थियो । किनकि, यसबाट मैले चीनको रणनीतिक दृष्टिकोण, नवीनता र अन्तर्राष्ट्रिय सहकार्यलाई नजिकबाट नियाल्ने मौका पाएँ ।

चोङकिङ व्यावसायिक तालिम विद्यालय– एक भविष्यमुखी संस्था थियो । यसको भ्रमण अनुभव मेरा लागि सबैभन्दा अविस्मरणीय अनुभवमध्ये एक रह्यो ।

१ हजार किलोग्रामभन्दा बढी तौलका भारी बोकेर दुर्गम क्षेत्रमा सामान पुर्‍याउने ड्रोनले एकैपटक दूर भविष्यमा पुर्‍याएको अनुभूति गराए । प्राविधिक नवीनतालाई दैनिक जीवनमा कसरी एकीकृत गरिन्छ भन्ने बारेमा प्रत्यक्ष ज्ञान प्राप्त गर्नु निक्कै प्रेरणादायी थियो ।

बसाइको क्रममा हामीलाई चीनको अग्रणी ‘सफ्टवेयर’ र ‘डिजिटल इन्टेलिजेन्स’ सेवा प्रदायक संस्था  इन्टरप्राइजेज रिसोर्स प्लानिङ (ईआरपी) भएको योनयोउको भ्रमण गराइयो । निजी, सरकारी र अन्य तथ्याङ्क आवश्यक पर्ने क्षेत्रका ८० लाखभन्दा बढी कम्पनीलाई सेवा प्रदान गर्नु कुनै चानचुने उपलब्धि होइन ।

योनयोउले उन्नत समाज निर्माण गर्न नवप्रवर्तन, डाटा र डिजिटल इकोसिस्टमहरू कसरी उपयोग गरिन्छन् भन्ने राम्रो उदाहरण पस्किएको छ । तिनीहरूको व्यवस्थापनले चीनको अग्रगामी सोच र निजी उद्यमहरू कसरी राष्ट्रिय लक्ष्यसँग जोडिएका छन् भनेर देखाउँछन् ।

सरकार  र निजी क्षेत्रबीचको सहकार्य देख्न पाउनु उत्तिकै प्रभावित गर्ने कुरा थियो । विशेष गरी कृषिजस्ता मुख्य क्षेत्रमा नवप्रवर्तनलाई अगाडि बढाउन सरकार र निजी क्षेत्रबीच स्पष्ट समन्वय र साझा दुरदृष्टि राखेको देखिन्छ । नीतिगत सुधार, रणनीतिक लगानी र नवप्रवर्तन–प्रेरित विकासमा सरकारले दिएको महत्वले मलाई निकै प्रभाव पा¥यो ।

यो कार्यक्रम प्रविधि र वित्तीय क्षेत्रभन्दा पर चीनको भित्री स्वरूपमा छिर्ने प्रवेशद्वारजस्तो थियो । जिङगानसान क्रान्तिकारी स्मारक र मिन्ट कारखानाको भ्रमणले चिनियाँ जनता आफ्नो विगतमाथि गर्ने गौरव र इतिहासलाई झल्काउँछ ।

चिनियाँ विकासको कथाले इतिहास र सामूहिकतालाई सँगसँगै अघि बढाइरहेको देखाउँछ ।

एउटा विकसित गाउँ क्षेत्रको भ्रमणले हामीलाई चीनको ग्रामीण पुनरुत्थान कार्यक्रमको व्यावहारिक प्रभाव बुझ्न मद्दत गर्‍यो । त्यहाँ जाँदा ग्रामीण क्षेत्रको रूपान्तरण र भुईँ तहका मानिसप्रति चिनियाँ कम्युनिस्ट पार्टीले देखाएको जिम्मेवारी साँच्चिकै प्रशंसनीय छ । त्यहाँ  पूर्वाधार, सरसफाइ र जीवन–गुणस्तर सुधारमा उनीहरूको प्रतिबद्धता देख्न बुझ्न सकिन्छ ।

चीनले विश्वभरिका व्यवसायीहरूलाई विश्व स्तरकै सिकाइ मञ्च मात्र प्रदान गरिरहेको छ । त्यो ज्ञानलाई व्यावहारिक प्रयोगमा कसरी परिणत गर्ने भन्ने अनुभवलाई बाँडेको छ ।

प्रत्येक वर्ष विश्वभरिका थुप्रै नेता र वरिष्ठ अधिकारीहरूले सिक्नका लागि चीनको भ्रमण गर्छन् । तर, ती सिकाइलाई हामीले आ–आफ्ना देशमा व्यावहारिक उपयोग गर्न सक्यौँ भने मात्र त्यो साँच्चैकै रूपान्तरणकारी हुनेछ ।

स्वतन्त्रता, दूरदर्शी योजना र एकीकृत राष्ट्रिय प्रयासले देशको दिशा परिवर्तन गर्न सक्दछ भन्ने प्रमाण चीनको भ्रमणबाट पाउन सकिन्छ । दीर्घकालीन लक्ष्य निर्धारण गर्ने, नीतिगत समायोजन–पुनर्समायोजन गर्ने, क्षेत्रगत आधारमा मिलेर काम गर्ने चिनियाँ क्षमता साँच्चै नै प्रेरणादायी छ ।

यसले नेपाल र अन्य विकासशील राष्ट्रहरूले स्थानीय आवश्यकताअनुरूप दिगो परिवर्तन ल्याउन चिनियाँ  प्रारूपको कसरी अर्थपूर्ण प्रयोग गर्न सक्छन् भनेर सिकाइरहेको छ ।

यो यात्रा सम्भव बनाई दिएकोमा म चीन सरकारको वाणिज्य मन्त्रालय, ‘जियाङसी कलेज अफ फोरेन स्टडिज’, नेपालस्थित चिनियाँ  दूतावास र नेपाल–चीन मैत्री मञ्चलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

आफ्नो विगतलाई भबिष्यउन्मुख बनाइरहेको देशबाट, भविष्यका नेताहरू तयार गरिरहेको कलेजबाट नयाँ कुरा सिक्न पाउनु साँच्चै अद्भुत र अद्वितीय अवसर हो ।

खतिवडा नेपाल उद्योग वाणिज्य महासङ्घकी सहायक निर्देशक हुन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register