गलेश्वर बजारमा अनुगमन, म्याद सकिएका सामान नष्ट गरियो

म्याग्दी।  म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा बिहीबार बजार अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा गलेश्वर बजार क्षेत्रमा सञ्चालित विभिन्न पसलहरुको अनुगमन गरी म्याद सकिएका सामान जफत गर्नुका साथै नष्ट गरिएको हो । अनुगमन टोलीले गलेश्वरको शुद्ध शाकाहारी भोजनालय, लक्ष्मी पुजा सामग्री पसल, ओजन किराना सप्लायर्स, कुमारी किराना पसल, लक्ष्मी […]

May 22, 2025 - 17:34
 0
गलेश्वर बजारमा अनुगमन, म्याद सकिएका सामान नष्ट गरियो

म्याग्दी।

 म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा बिहीबार बजार अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा गलेश्वर बजार क्षेत्रमा सञ्चालित विभिन्न पसलहरुको अनुगमन गरी म्याद सकिएका सामान जफत गर्नुका साथै नष्ट गरिएको हो ।

अनुगमन टोलीले गलेश्वरको शुद्ध शाकाहारी भोजनालय, लक्ष्मी पुजा सामग्री पसल, ओजन किराना सप्लायर्स, कुमारी किराना पसल, लक्ष्मी खाजाघर, सुमित्रा किराना पसल, केलेन किराना पसल, कृतिका किराना स्टोर्स, आकृति किराना पसलसहित विभिन्न १२ वटा खुद्रा तथा किराना, होटल एवं रेष्टुरेण्ट, पुजा सामग्री तथा फलफुल पसलहरुको संयुक्त रुपमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा अधिकांश पसलहरुमा म्याद सकिएका दैनिक उपभोग्य सामग्रीहरु भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले जनाएको छ । अनुगमन गरिएका पसलहरुबाट म्याद सकिएका चिसो पेयपदार्थ, मिठाई, बत्ती बाल्ने तेल, भुजा, कुरकुरे, आटालगायत दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरु जफत गरी नष्ट गरिएको कार्यालयका खाद्य निरीक्षण अधिकारी सहन्साकुमार मेहताले जानकारी दिनुभयो । अनुगमनमा केही पसल तथा रेष्टुरेण्टमा सरसफाइ गर्न र म्याद सकिएका सामग्रीलाई अलग्गै व्यवस्थापन गर्न सुझाव दिइएको छ ।

अनुगमनको क्रममा गलेश्वरका विभिन्न पसलहरुबाट गरी कुल १६ हजार नौसय पाँच रुपैयाँ बराबरको म्याद सकिएका दैनिक उपभोग्य सामग्रीहरु जफत गरेर नष्ट गरिएको खाद्य निरीक्षण अधिकारी मेहताले बताउनुभयो । अनुगमनमा एउटा नामको पसल दर्ता गरेर अन्य प्रकृतिको सामानहरु बिक्री वितरण गरेको, मूल्यसुची नटाँसेको, लेबल नराखेका मिठाइलगायत सामानहरु बिक्री गरेको, पसल दर्ता नगरेको, प्याकेजिङ गरी सामान बेचेको, साईनबोर्ड नराखेको जस्ता कमीकमजोरीहरु भेटिएका छन् । पसल सञ्चालक तथा प्रोप्राइटरलाई अनुगमनको क्रममा भेटिएका सबै कमजोरीहरु सुधार गर्न समेत निर्देशन जारी गरिएको छ ।

अनुगमन कार्यक्रममा म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्य, पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख अमृतप्रसाद कँडेल, बेनी नगरपालिकाका वरिष्ठ प्रशासन सहायक प्रकाश आचार्य, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष अमृत बास्कुनेलगायत सहभागी थिए । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको विभिन्न स्थानमा सञ्चालित पसलहरुको समय समयमा अनुगमन भइरहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register