युद्धबन्दी आदानप्रदान जारी रहेका बेला किभमा रुसको मिसाइल आक्रमण

एजेन्सी । रुसले युक्रेनको राजधानी किभमाथि लगातार दोस्रो रात मिसाइल र ड्रोनहरू प्रयोग गरी घातक हवाई आक्रमण गरेको छ । जबकि दुवै पक्षले यो अवधिमा सयौं युद्धबन्दीहरूको आदानप्रदान गरेका छन् । किभ क्षेत्रीय सैन्य प्रशासनका अनुसार, आइतबार रातभरको आक्रमणमा किभ क्षेत्रमा तीन जनाको मृत्यु भएको छ । यसअघि शनिबार, रुसी आक्रमणका कारण युक्रेनभर कम्तीमा १३ […]

May 25, 2025 - 07:32
 0
युद्धबन्दी आदानप्रदान जारी रहेका बेला किभमा रुसको मिसाइल आक्रमण

एजेन्सी । रुसले युक्रेनको राजधानी किभमाथि लगातार दोस्रो रात मिसाइल र ड्रोनहरू प्रयोग गरी घातक हवाई आक्रमण गरेको छ । जबकि दुवै पक्षले यो अवधिमा सयौं युद्धबन्दीहरूको आदानप्रदान गरेका छन् ।

किभ क्षेत्रीय सैन्य प्रशासनका अनुसार, आइतबार रातभरको आक्रमणमा किभ क्षेत्रमा तीन जनाको मृत्यु भएको छ । यसअघि शनिबार, रुसी आक्रमणका कारण युक्रेनभर कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका थिए ।

किभका अधिकारीहरूका अनुसार १० जना घाइते भएका छन् । जसमा दुई बालबालिका छन् । धेरै जिल्लाहरूमा नागरिक भवनहरूमा क्षति पुगेको छ ।

आइतबार बिहानैदेखि हवाई आक्रमणको सायरन बजिरहेको थियो र अधिकारीहरूले आक्रमणकारी ड्रोनहरू राजधानीतर्फ आइरहेको बताएपछि बासिन्दाहरूलाई आश्रयमा बस्न चेतावनी दिइएको थियो ।

किभका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राम पोस्टमा भनेका छन्, ‘किभ अर्को विशाल आक्रमणको चपेटामा छ ।’

यो राजधानीमाथिको आक्रमण यस्तो समयमा भइरहेको छ जब रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि युद्धविराम प्रस्ताव स्वीकार गरी तीन वर्षभन्दा लामो युद्ध अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब बढिरहेको छ । यस महिनाको सुरुमा किभ र मस्कोबीच तीन वर्षमा पहिलो प्रत्यक्ष वार्ता भएको थियो, जुन युद्धबन्दी आदानप्रदानको सम्झौतामा टुंगिएको छ । यो सम्झौता शुक्रबार सुरु भई तीन दिनसम्म चल्ने अपेक्षा गरिएको छ ।

युक्रेनको वायुसेनाका अनुसार, बन्दी आदानप्रदान सुरु भएदेखि रुसले किभलाई ‘मुख्य निशाना’ बनाएर युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण गरिरहेको छ । शनिबार, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घाइते र मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै भनेका थिए, ‘यो सम्पूर्ण युक्रेनका लागि कठिन रात थियो ।’

शनिबार रातमा किभमा भएका आक्रमणमा कम्तीमा १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

युक्रेनी संसद सदस्य रुडिकले शनिबार सीएनएनसँग कुरा गर्दै रातभरको बमबारीमा किभमा ‘सीढीमुनि’ लुकेर बिताएको बताइन् । ‘यो डरलाग्दो थियो, यो साँच्चै आर्मागेडनजस्तो महसुस भयो, विस्फोटहरू सर्वत्र थिए,’ उनले भनिन् ।

युक्रेनको वायुसेनाले आइतबार  ड्रोन, ब्यालिस्टिक मिसाइल र क्रूज मिसाइलहरू विमानहरूबाट प्रक्षेपण गरिएको बताएको छ ।

युद्धबन्दी आदानप्रदान

शनिबार सहमति भएको युद्धबन्दी आदानप्रदानको दोस्रो चरणमा ६०० भन्दा बढी रुसी र युक्रेनी सैनिकहरू रिहा गरिए ।

युक्रेनको युद्धबन्दी व्यवहार समन्वय केन्द्रले जारी गरेको भिडियोमा रिहा गरिएका सयौं पुरुषहरू, धेरैजसो टाउको खौरिएका र युक्रेनी झण्डामा बेरिएका, एकअर्कालाई अँगालो मार्दै र आफ्ना प्रियजनहरूलाई फोन गर्दै गरेको देखिन्छ ।

शुक्रबार पहिलो चरणमा करिब ८०० जना रिहा गरिएका थिए ।

प्रत्येक पक्षले १,००० युद्धबन्दी रिहा गर्ने सम्झौता गत हप्ता इस्तानबुलमा भएको किभ र मस्कोको बैठकको एक मात्र महत्त्वपूर्ण नतिजा थियो, जुन रुसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि आक्रमण गरेको केही समयपछि भएको पहिलो प्रत्यक्ष भेट थियो ।

ओलेना, एक युक्रेनी महिला, जसको पति युरी छ महिनादेखि रुसी बन्दीमा थिए । शनिबार युद्धबन्दी आदानप्रदानमा रिहा भएपछि अन्ततः उनसँग पुनर्मिलन भयो । युक्रेनको रक्षा मन्त्रालयले पोस्ट गरेको भिडियोमा उनले आफ्नो पतिलाई खोज्दै दौडिएको र भेटेपछि कसिलोसँग अँगालो मारेको देखिन्छ ।

‘यो सबैभन्दा राम्रो दिन हो । म दौडिरहेकी थिएँ, उनलाई खोज्दै, चिच्याउँदै । म धेरै कृतज्ञ छु,’ ओलेनाले भिडियोमा भनिन् । रिहाइको अघिल्लो दिन, उनले रिहा भएका केही युक्रेनी युद्धबन्दीहरूलाई आफ्नो पतिलाई चिन्छन् कि भनेर सोधेकी थिइन्, तर कसैले पनि चिन्न नसकेपछि उनी निकै तनावमा थिइन् ।

युक्रेनी विदेशमन्त्री आन्द्रि सिबिहाले शनिबार भने, ‘इस्तानबुल बैठक भएको एक हप्ता बितिसकेको छ, र रुसले अझै आफ्नो ‘शान्ति मेमोरन्डम’ पठाएको छैन । बरु, रुसले नागरिकहरूमाथि घातक ड्रोन र मिसाइलहरू पठाइरहेको छ ।’

यसैबीच, रुसले पनि युक्रेनी ड्रोनहरूबाट आक्रमण भएको दाबी गरेको छ ।

रुसको रक्षा मन्त्रालयले आइतबार करिब १०० आक्रमणकारी ड्रोनहरू रोकेको वा नष्ट गरेको रोयटर्सले जनाएको छ । तीमध्ये धेरैजसो रुसको मध्य र दक्षिणी क्षेत्रमा नष्ट भए, र दुईवटा मस्को नजिकै ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले टेलिग्राममा राजधानी नजिकै नष्ट गरिएका वा रोकेका ड्रोनहरूको संख्या ११ पुगेको बताएका छन् । रक्षा मन्त्रालयले एक दिनअघि रुसी भूभागमा ९४ युक्रेनी यूएभीहरू नष्ट गरेको दाबी गरेको थियो, जसमध्ये धेरैजसो बेलगोरोद र ब्रायान्स्क क्षेत्रमा थिए । केही यूएभीहरू कुर्स्क, लिपेत्स्क, भोरोनेझ र तुला क्षेत्रमा पनि खसालिएको रक्षा मन्त्रालयले दाबी गरेको छ ।

तुला क्षेत्रका गभर्नर दिमित्री मिलियाएभले शनिबार तीन जना घाइते भएको बताए । जसमध्ये दुई जनालाई अस्पताल भर्ना गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register