मुस्ताङ, अहो मुस्ताङ !

मार्फाका ढुंगेघरको लहर टुकुचेको जस्तो ‘सुधारिएका र सभ्रान्त’ छैनन् । मार्फा गाउँमाथि डरलाग्दो ढुंगेभिर छ । लाग्छ– यो गाउँ यही भीरका ढुंगाले बनेको हो । मार्फाका गल्लीहरू हिँड्दै ठोकिएलाझैं साँघुरा छन् । तर, तिनले अद्भूत, अनौठोपनको अनुभूति दिन्छन् ।

May 10, 2025 - 04:58
 0
मुस्ताङ, अहो मुस्ताङ !

‘हिमालपारि’ को जिल्ला मुस्ताङबारे नाम सुनेदेखिकै उत्सुकता र जिज्ञासा थियो । तर, पुग्ने र बुझ्ने अवसर भने आधा उमेर बित्दा भरखरै मात्र जुर्‍यो ।

‘हिमालपारि’ शब्दसँग कैयौँ वालसुलभ र रोमाञ्चक कल्पना पैदा हुन्थे । के मुस्ताङ पुग्न हिमालको टुप्पोमा चढेर फेरि तल फेदीतिर ओर्लिन पर्ने हो ? के हो हिमालपारि ? सधैँ उत्तरमा र अग्ला देखिने हिमालका सेता चुचुरा कुनै दिन दक्षिणमा र आफूभन्दा होचाजस्ता देख्न सकिएला ?

हिमालसँग मेरा अनुभव र अन्तरक्रिया एकदमै थोरै छन् । रसुवाको स्याउबारी, सोलुखुम्बुको सल्लेरी, पताले डाँडा र चौलाखर्क, कास्कीको ल्वाङ घलेल, धादिङको सेम्जोङभन्दा माथि कहिल्यै उक्लेको थिइनँ । यसअघि हिमालको ‘काखकाख’ सम्म पुगेको थिएँ, यसपटक ‘हिमालपारि’ जानु थियो ।

खै, कुन संयोगले यसपटक भर्खरै खुलेको कोरला नाकासम्म जाने टोली बन्यो । वैशाख १४ गते बिहान हामी काठमाडौंबाट कोरलाका लागि हान्नियौँ । हामी अर्थात्, मित्रहरू, केशब दाहाल, प्रशान्त सिंह, मुमाराम खनाल, डा. रोशन शेरचन र म ।

मुस्ताङ जाने हाम्रो ‘रहर’ का केही साझा र केही व्यक्तिगत कारण थिए ।

केशब दाहाल– देशकै एक लोकप्रिय राजनीतिक स्तम्भकार हुन् । उनका तीन किताब– १.राजनीतिको पुनगर्ठन, २.माधबी ओ ! माधबी ३. मोक्षमूभि प्रकाशित भइसकेका छन् ।

उनको पहिलो उपन्यास ‘मोक्षभूमि’ मदन पुरस्कारको संक्षेपीकरण सूचीमा परेर पनि पद्यमश्री पुरस्कार पाइकन खुबै चर्चित भयो । उनको चौँथो किताब र दोस्रो उपन्यास ‘इथा’ सायद यस वर्षभित्रै प्रकाशित हुनेछ ।

उनी अहिले आफ्नो तेस्रो उपन्यासको विषयवस्तु, पात्र र पृष्ठभूमिको अध्ययनमा डुबेका छन् । उनी नेपालको हिमालय क्षेत्रलाई आधार बनाएर नयाँ उपन्यास लेख्ने सोचमा छन् ।

तसर्थ, भ्रमणमा उनको मुख्य उद्देश्य हिमाल क्षेत्रको जनजीवन, इतिहास र संस्कृति बुझ्नु हो । विशेषतः महागुरु पद्य्मसम्भव कालको बुद्धिष्ट र बोन संघर्षको इतिहास र त्यसपछिको सांँस्कृतिक प्रभाव बुझ्न उनी तल्लिन देखिन्थे । उनको रुचि, गुम्बा, गुफा, म्हाने र छोर्तेनहरू, मुस्ताङका मिथ, कथा र किम्बदन्तीमा बढी थियो ।

प्रशान्त सिंह नेपाल पर्यटन बोर्डको कार्यकारी निर्देशक र विश्व वन्यजन्तु कोषको नेपाल निर्देशक हुँदा दुईपटक जोमसोमसम्म हवाई जहाजबाट पुगेका थिए । तर, सडक यात्राबाट जोमसोम र उपल्लो मुस्ताङसँग उनका जिज्ञासा कायमै थिए । विश्व वन्यजन्तु कोषमा काम गर्दा भएको सम्लग्नता र सहकार्यको कारण अन्नपूर्ण क्षेत्र संरक्षण परियोजना (एक्याप) को क्रियाकलापसँग उनको विशेष लगाव भएको थियो ।

प्रकृति संरक्षण, भूराजनीति र वैश्विकता उनको मुख्य रुचि हो । मुस्ताङ नेपालका लागि सधैँ रणनीतिक महत्वको जिल्ला थियो । कोरला नाका खुलेपछि यो झनै बढेको छ ।

तिब्बत, खाम्पा विद्रोह, खाम्पा विद्रोहमा अमेरिकी गुप्तचर संस्था सीआईएको भूमिका, तत्कालीन राजा महेन्द्र शाहको अमेरिका ‘नेक्सस’ तथा निर्दलीय पञ्चायती व्यवस्थाको सुरुवातबारे प्रशान्तजीका फरक अध्ययन र निष्कर्षहरू छन् । यस कारणले यो क्षेत्रको अध्ययन भ्रमण उनका लागि धेरै महत्वपूर्ण थियो ।

मुमारामजी कै भनाइमा उनको रुचि हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर, क्षति र अवसरबारे थियो । उनी यो जान्न चाहन्थे कि लवायु परिवर्तन चुनौती मात्र बन्छ कि अवसर पनि ? साथै, मुस्ताङको भ्रमणसँगै उनी ७७ जिल्लाकै ‘देश–दर्शन’ पूरा गर्दै थिए । उनी पुग्न मुस्ताङ जिल्ला मात्र बाँकी थियो ।

डा. रोशन शेरचनको पुर्खेउली थलो मुस्ताङको थासाङ गाउँपालिको कोवाङ गाउँ हो । उनी कोवाङबाट म्याग्दीको तातोपानी, पोखरा, भैरहवा, भारतको गोरखपुर हुँदै बढेका, पढेका थिए । मुस्ताङ, म्याग्दी, मनाङ र लमजुङलाई कार्यक्षेत्र बनाएर ‘एक्याप’ र ‘डब्लूडब्लूएफ’ मार्फत् प्रकृति संरक्षणमा समुदाय परिचालनको काम गरेका थिए ।

रुचिले उनी मुख्यतः निबन्धकार हुन् । ‘चम्पारण ब्लुज’ र ‘गल्ली संसार’ समेत उनका ६ वटा किताब प्रकाशित छन् । यसपटक उनी ५ वर्षपछि हामीसँगै आफ्नो पुर्ख्यौउली गाउँ कोवाङ जाँदै थिए । कोवाङमा उनको अहिले पनि घर र स्याउबारी छ । रोशनलाई गाउँलेहरूले बिरलै चिने पनि बुबा बसन्त शेरचनको नाउँ लिएपछि सबैले सजिलै चिन्दा रहेछन् ।

मेरा लागि भने मुस्ताङ भ्रमण जीवनमा पहिलोपटक हिमालपारि पुग्ने, नयाँ ठाउँ हेर्ने रहरका अतिरिक्त त्यहाँको राजनीतिक, आर्थिक र सामाजिक परिवेश र मनोदशालाई बुझ्ने इच्छा थियो ।

हाम्रा यी भिन्न उद्देश्यबीच थुप्रै समानता र साझापन थिए । हामी मुस्ताङको सामुदायिक मनोविज्ञानलाई बुझ्न, स्थानीय सम्पर्क बनाउन, भविष्यमा जोडिने, जोड्ने आधार तयार गर्न चाहन्थ्यौँ ।

काठमाडौंदेखि बेनीसम्मको यात्रा यसपटक हाम्रो प्राथमिकताभित्र थिएन, छिचोल्नुपर्ने बाटो मात्र थियो । बेनीसम्म हामी सबै बारम्बार पुगेका थियौँ । १५ गते बिहान म्यादीको ‘दाना’ मा खाना खाएर जब बाटोमा पर्ने रुप्से झरना हुँदै अघि बढ्यौँ, त्यसको केही बेरमै घासा गाउँ आयो । हाम्रो उत्सुकताको क्षेत्र ठीक त्यहीँबाट सुरु भयो ।

घासाबाट मुस्ताङ र थाकखोला क्षेत्र प्रारम्भ हुन्छ । भलै कि मध्यकालीन लोमान्थाङ राज्यको दक्षिणी सिमाना म्याग्दीको तातोपानीसम्म थियो । यसका केही भाग जिल्ला निर्धारण गर्दा म्याग्दीतिर परे । मुस्ताङ भने घासाबाट सुरु हुने भयो ।

यहीँबाट रोशन शेरचनले मुस्ताङलाई हाम्रा लागि ‘न्यारेट’ गर्न थाले । हुन त उनी ‘निबन्धकार’, तर यसपटक उनले मुस्ताङका कथा भन्नु थियो । ‘कथावाचक’ बन्नु थियो ।

मुस्ताङलाई राम्रो गरी बुझ्न पहिले यसलाई ४ भागमा बाँड्न पर्ने रहेछ । १३ गाउँले, ५ गाउँले, १२ गाउँले क्षेत्र र उपल्लो मुस्ताङ ।

यात्राको अन्त्य–अन्त्यतिर मैले यी भागलाई वनस्पतिका आधारमा यसरी मनमनै प्रतिबिम्बित गर्ने प्रयास गरेँ ।

एक– सल्लो मुस्ताङ ।

दुई– धुपीसल्लो मुस्ताङ ।

तीन– जंगली गुलाफ र स्थानीय भाषामा ‘तलाङ’ भनिने भूइँ पोथ्राले घुंघुएिको कपाल भएका अफ्रिकीको टाउकोजस्ता डाँडा भएको क्षेत्र । तलाङ मुस्ताङ ।

चार– वनस्पतिका नाममा ‘भोटे पिपल’ मात्र हुने हिमाली मरुभूमिजस्तो क्षेत्र । भोटे पिपल मुस्ताङ ।

घासादेखि टुकुचेसम्मलाई १३ गाउँले क्षेत्र भनिँदो रहेछ । यहाँ सल्लाका ठूलठूला रुख र स्याउका बगान छन् । स्याउँबारी लगाउने १२ प्रयास ताङ्बे गाउँसम्मै पुगेको छ ।

घासा, लेते, लार्जुङ, सौरु, कोवाङ, खन्ती, मार्फा, नाहुरीकोटआदि १३ गाउँले क्षेत्रका मुख्य गाउँ हुन् । यी क्षेत्रमा इतिहासको कुनै कालखण्डमा ४ थरका ७०० घर ‘थाकखोला बासी’ थिए । यिनैलाई कालक्रममा ‘थकाली’ भन्न थालियो ।

‘थकाली’ आज देशविदेशमा छरिएका छन् । ‘थकाली भान्छाघर’ चर्चित व्यावसायिक ब्रान्ड बनेको छ । तर, मुस्ताङका घरखेत भने सायद कसैले बेचेका छन् । थाकखोला बाहिर निस्केकाले घरखेत रुङ्न ‘कुरिया’ राखेका छन् । मुस्ताङमा ‘घरकुरिया’ औसत रोल्पाली छन् । त्यसका अतिरिक्त म्याग्दी, बाङ्लुङ र रुकुमका पनि ।

यसर्थ, मुस्ताङमा ‘म्होन्’ वा ‘रोङ्वा’ जनसंख्या बढ्दो छ । १३ गाउँले थकालीले ‘बाहिरिया’ लाई ‘म्होन्’ भन्छन् । उपल्लो मुस्ताङका ‘लोवा’ ले थकालीलाई समेत ‘रोङ्वा’ भन्छन् ।

१२ वर्षमा आउने ‘थाक ७००’ थकालीको मुख्य चाड ‘ल्हफेव’ लाग्ने मैदान कालीगण्डकीको किनारमा रहेको लार्जुङ गाउँमा छ । संसारको जुनकुनै ठाउँमा बसे पनि १३ गाउँले थकाली भरसक १२ वर्षे मेला छुटाउन चाहँदैनन् । संसारको जुनकुनै कुनामा मरे पनि आफ्नो अस्तु यतैकतैका ‘खिमी’ मा ल्याइयोस् भन्ने उनीहरूको अन्तिम इच्छा हुन्छ ।

१३ गाउँले थकालीका ४ थर– शेरचन, गौचन, तुलाचन र भट्टचन हुन् ।

टुकुचेदेखि जोमसोमससम्मको क्षेत्रलाई ५ गाउँले भनिँदो रहेछ । यो क्षेत्रमा पनि स्याउबारी त छन्, तर मार्फाजस्तो प्रसिद्ध होइन ।

५ गाउँले थकालीका थर पनि ४ वटै हुँदा रहेछन्– ज्वारचन, लालचन, हिराचन र पन्नाचन ।

जोमसोमदेखि कागबेनीसम्मको क्षेत्रलाई ‘१२ गाउँले’ भनिन्छ । यहाँ भने थकाली, गुरुङ, घले, लोवा–बिष्ट र ठकुरीका मिश्रित वस्ती हुन्छन् । यही क्षेत्रमा पदर्छ प्रसिद्ध मन्दिर ‘मुक्तिनाथ’ । कालीगण्डकीको किनार कागबेनी स्थानमा पितृ श्राद्ध गर्नुलाई हिन्दुहरू उत्तम मान्दछन् ।

घिलिङबाट उपल्लो मुस्ताङ सुरु हुन्छ । यो लोमान्थाङ राज्यका शासक जातिको क्षेत्र हो । यस क्षेत्रका बासिन्दा झट्ट हेर्दा पूर्वी हिमालका ‘शेर्पा’ जस्तै देखिन्छन् । तिब्बती बोल्छन् र बख्खु लगाउँछन् । तर, यिनले आफूलाई ‘लोवा’ भन्छन् र अधिकांशले ‘विष्ट’ थर लेख्छन् ।

मुस्ताङ बुझ्न हाम्रो यात्रा १३ गाउँले क्षेत्रको घासाबाट सुरु भयो । मोटर बाटो खुल्नुअघि पनि घासा नै मुस्ताङको प्रवेशद्वार थियो । पोखराबाट हिँडेर मान्छे घोडेपानीको बाटो हुँदै ३–४ दिन लगाएर घासा पुग्थे । घासा पैदल यात्री बास बस्ने गुल्जार गाउँ थियो ।

घासामा अब त्यो कान्ति छैन । आधुनिकता र मोटर बाटोले घासाको अवसर खाइदिएको छ । मान्छे घासामा रोकिनुको साटो सिधै अघि बढ्छन् । लेते, मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथ पुग्छन् ।

‘लेते’ साँच्चै सुन्दर भएको छ । नेपालको गाउँको होइन, स्वीट्जरल्याण्डतिरको कुनै सानो शहरको फोटो हेरेजस्तो आनन्दको दृश्य सृजना गर्छ, लेतेले । तर, कोवाङ पुगेर बस्ने सोचमा भएको हुँदा हामी लेतेमा रोकिएनौँ । गाडीबाट झ्यालको सिसा खोलेर ‘लेते’ हेर्‍यौँ  मात्रै । र, सबैको मुखबाट एकैपटक एउटै बाक्य निस्कियो– ‘क्या राम्रो ठाउँ !’

कोवाङ पुग्नुअघिको घट्टेखोला किनारमा ‘चौरीको रगत खाने’ मेला अघिल्लो दिन मात्र सकिएको थियो । ‘याक महोत्सब’ नाम दिइएको थियो यसलाई । चौरीको घाँटीमा छेडेर गिलासमा रगत थाप्ने र खाने गर्नाले स्वास्थ्य बलियो हुन्छ भन्ने विश्वास थकाली समुदायमा छ ।

‘चौरीको रगत खाने’ काम सकिएको भए पनि मेला उठेको थिएन । गीतसंगीत प्रतियोगिताको पुरस्कार वितरण र ‘तारा खेल्ने’ खेल भइरहेका थिए ।

धनुषवाँणले तारो हान्ने प्रगतियोगितालाई यहाँ ‘तारा खेल्ने’ भनिँदो रहेछ । निगालोको डन्डीबाट बनेका वाँणको चुच्चोमा भने तीखो फलामको टुप्पो खाँदिएको थियो । मेला भर्न आएका युवती स्थानीय पोशाकमा सजिएका थिए । पुरुष भने सर्ट, पैन्ट र ज्याकेटजस्ता सामान्य पोशाकमै थिए ।

लेतेबाटै जाडो सुरु भइसकेको थियो । मध्य वैशाखमा पनि १० डिग्री सेल्सियस मुनिको जाडो थियो ।

मेलाबाट निस्किएर लार्जुङको ‘ल्हफेव’ मैदान र रोशनजीको कुलवंशको ‘खिमी’ जानो बाटो हुँदै हामी कोवाङ पुग्यौँ । मुस्ताङको दुलर्भ र अनौठो भूगोलले हामीलाई घासापछिको छोक्ताङ खर्कदेखि नै मोहित गर्न थालेको थियो ।

‘बाहिरिया’ का लागि मुस्ताङले सृजना गर्ने पहिलो आकर्षण यहाँको अनौठो भूगोल नै रहेछ । मुस्ताङको भौगोलिक बनोट नै यस्तो छ कि मैले अहिलेसम्म देखेका देशका जुनकुनै भागभन्दा बिल्कुलै फरक लाग्छ ।

कोवाङमा रोशनजीले आफ्नै परिचय दिनुपर्ने रहेछ– म बसन्त शेरचनको जेठो छोरो । अनुहारले नचिन्ने गाउँलेहरूले पनि त्यसपछि सजिलै भन्दा रहेछन– ए, ठूलो बाबु रोशन पो !

रोशनजी आफन्तहरूसँग भेट गर्न लाग्दा हामी आफैँ एकक्षण गाउँ डुल्यौँ । गाउँलेले सोधे– फिल्म सुटिङ गर्न आएको हो ? हामीले भन्यौँ– होइन । त्यसो भए कुइरे घुमाउन लिएर आएको हो ? त्यो पनि होइन ।

एक होटल्नी दिदीले भनिन्– त्यसो भए मेरो दुवै ‘गेस’ मिलेन, किन आउनु भएको त ?

हामीले भन्यौँ– ‘आफैँ कुइरे भएर आएका, डुल्न । रोशनका साथी हौँ ।’ होटल रोशनजीका साथी अनिल भट्टचनका दाई–भाउजूको रहेछ ।

‘कब्बडी’ श्रृंखलाका सिनेमाको सफलतापछि यहाँ फिल्म सुटिङ गर्नेहरूको भीड लाग्दो रहेछ । रामबाबु गुरुङको निर्देशन र दयाहाङ राई–मिरुना मगरको अभिनयले प्रसिद्ध बनाएका यो श्रृंखलाको सुटिङ कोवाङमाथि डाँडाको गाउँ नाहुरीकोटमा भएको रहेछ ।

कुनै अर्को सिनेमाको सुटिङ टोली कोवाङमा घुमिरहेको थियो । ‘कब्बडी’ सँग मान्छे खुसी सुनिन्थे । यसले मुस्ताङलाई ब्रान्डिङ गरी सिनेमा सुटिङ हबसमेत बनाएर यहाँको पर्यटन उद्योगलाई सहयोग गरेको स्थानीयको बुझाइ छ । सिनेमा सुटिङ टोली आउँदा स्थानीय होटल मज्जाले भरिदा रहेछन् ।

कोवाङ पहिलो तल्लो गाउँ हो, जहाँबाट मुस्ताङको स्याउखेती सुरु हुन्छ । कोवाङ मुनिका गाउँमा स्याउ फल्दैन ।

लाग्थ्यो– स्याउ मुस्ताङको परम्परागत रैथाने वनस्पति हो । मुस्ताङका गाउँघार, खेतवारीका डिल, खोलाकिनार र वनजङ्गल जताततै स्याउका बोट हुँदा हुन् । हैन रहेछ । सन् १९६० को दशकमा बाहिरबाट ल्याएर प्रवर्द्धन गरिएको फलफूलबाली रहेछ-स्याउ । बढो मिहिनेतले स्याउबारी बगैँचा लगाउनुपर्ने रहेछ ।

मार्फाको बागबानी केन्द्र रहेछ, यस अभियानको मुख्य अभियन्ता । मुस्ताङमा स्याउ बगैँचा अभियानका लागि बुद्धिरत्न शेरचन र मदन राईको योगदान अहिले पनि स्मरण गर्दछन्, गरिन्छ । ती मार्फा बागबानी केन्द्रका हाकिम थिए, जसले मुस्ताङे स्याउ बगैँचाको जग बसाए ।

तर, स्याउँ बगैँचा अहिले फेरि संकटमा पर्न थालेका छन् । स्याउका बोट सुक्न र मर्न थालेका छन् । फूल्न कम भएको छ । फलेका दाना पनि राम्ररी फष्टाउँदैनन् । बोक्रामा दाग देखिने समस्या आएको छ । पहिले–पहिलेभन्दा कम रसिलो फल्छन् ।

कोवाङका वडाअध्यक्ष गौतम शेरचन भन्छन्,  ‘यो जलवायु परिवर्तनको प्रभाव हुन सक्छ । हिउँ पर्न कम भएपछि ‘चिलिङ पिरियड’ पुग्दैन । स्याउ सप्रिन कम्तीमा १०० दिनको ‘चिलिङ पिरियड’ चाहिन्छ । त्यही भएर मान्छे अब स्याउ हटाएर दाँते ओखरतिर आकर्षित हुन थालेका छन् ।’

हिमाली क्षेत्रको जलवायु परिवर्तन र प्रभावबारे कुनै पनि संस्था र निकायले आधिकारिक अध्ययन गरेका छैनन् । न त मार्फा बागबानी केन्द्रले नै कुनै निष्कर्ष निकालेको छ । स्याउका पुराना बोट मर्न थालेपछि ३ वर्षमै फल्ने ‘लहरे स्याउ’ जातका बोट लगाउन थालिएको छ । तर, यसको प्रतिफलबारे किसान आस्वस्त छैनन् ।

‘१३ गाउँले’ थकाली समाजमा परम्परागत लोकतान्त्रिक अभ्यास ‘मुखिया प्रचलन’ कायमै छ । प्रत्येक गाउँमा ३ वर्षका लागि प्रतिघर धुरीको सहभागिता हुने भेलाबाट १ मुखिया चुनिन्छन् । १३ मुखियाले १ मुख्य मुखिया चुन्छन् । जसलाई ‘मीर मुखिया’ भनिन्छ ।

पर्यटन, होटल व्यवसाय र रेमिटेन्सलाई छोडेर मुस्ताङको मुख्य स्थानीय कृषि आयस्रोत स्याउ, दाँते ओखर, आलु, जौ र उवा हुन । यी बाली संकटमा परे मुस्ताङको जनजीवनमा ठूलो असर पर्ने निश्चित छ ।

‘१३ गाउँले’ थकाली समाजमा परम्परागत लोकतान्त्रिक अभ्यास ‘मुखिया प्रचलन’ कायमै छ । प्रत्येक गाउँमा ३ वर्षका लागि प्रतिघर धुरीको सहभागिता हुने भेलाबाट १ मुखिया चुनिन्छन् । १३ मुखियाले १ मुख्य मुखिया चुन्छन् । जसलाई ‘मीर मुखिया’ भनिन्छ ।

कुनै व्यक्ति ३ पटकसम्म अर्थात्, बढीमा ९ बर्ष मात्र मुखिया चुनिन सक्दछ । मुखिया चुनिन महिला पुरुषमा कुनै भेद हुँदैन । अहिले १३ मध्ये २ गाउँमा महिला मुखिया छन् । ‘मीर मुखिया’ भने कोवाङकै ७९ वर्षीय जवाहर भट्टचन छन् । मुखियाको कार्यालयलाई ‘ह्यूल फिम’ अर्थात्, ‘गाउँको घर’ भनिन्छ ।

रमाइलो त के छ भने अहिले वडा कार्यालय नै त्यही घरमा छ, जो परम्परागत ‘मीर मुखिया’ को ‘ह्यूल फिम’ हो ।

जवाहर भन्छन्– ‘थकाली समाजको मुखिया प्रथा कुनै समान्तवाद वा रुढीवाद होइन । लोकतन्त्रको परम्परागत अभ्यास हो ।’ वडाध्यक्ष गौतम शेरचन मीर मुखिया जवाहर भट्टचनको भनाइमा सहमत देखिन्छन् । उनको भनाइमा परम्परागत मुखिया प्रथाले पालिका र वडा कार्यालयलाई काम गर्न कुनै अप्ठ्यारो परेको छैन । बरु कार्यबोझ घटेको छ । काम गर्न सहयोग नै पुगेको छ ।

मुखिया प्रथाको मुख्य प्रभाव न्याय र संस्कृति संरक्षणमा छ । मुस्ताङ जिल्ला अदालतमा बिरलै मुद्दा पर्छन् । कुनै वर्ष त त्यहाँ कुनै मुद्दा नै हुँदैन । ल्हफेव, तोरन्ल, आदि चाडपर्वका अनुष्ठान आयोजन गर्न सहज हुन्छ ।

१३ गाउँले थकाली समुदायका मुख्य देवता ‘ल्ह नरिच्ह्योव’ हुन् । ‘ल्ह नरिच्ह्योव’ को गुम्बा खन्ती गाउँको माथि डाँडामा छ । किम्बदन्तीअनुसार ‘ल्ह नरिच्ह्योव’ ले थकाली समुदायलाई वाचा गराएका थिए– ‘मलाई त्यस्तो ठाउँमा राख्नु जहाँबाट धौलागिरि, नीलगिरि दुवै हिमाल र कालीगण्डकीको बगर प्रष्टै देख्न सकिन्छ ।’

‘ल्ह नरिच्ह्योव’ गुम्बा छ पनि ठीक त्यस्तै ठाउँमा । पश्चिममा धौलागिरि र पूर्वमा नीलगिरि छर्लङ्ग देखिन्छन् । दक्षिणमा कालीगण्डकीको विशाल बगर, पारिको सौरु गाउँ र गोसारे वन ।

मौसम उघ्रेको बिहान खन्ती गाउँमा धौलागिरि हिमाल हातले छुन सकिएलाझैं गरी नजिक आउँछ । नीलगिरि भने अलिक टाढै हुन्छ । जब हिमाल उघ्रिन्छन्, धौलागिरि ग्लेसियरको दूर्लभ दृश्य आँखा अगाडि हुन्छ । हो, यही ग्लेसियरमा पहिरो आएर केही वर्षअघि घट्टेखोलामा बाढी आएको थियो । खोलाको किनारमा हिउँ पहिरोको बाढीले बनाएको विचित्रको भूबनोट हेर्दै हामी नाहुरीकोटबाट ‘गुर्स्वाङ्बो’ गुफातिर उक्लिएका थियौँ ।

थकालीमा भाषालाई ‘लेहम’ भनिन्छ । नेपालका भाषिक समुदायमध्ये थकाली तामाङ भाषासँग सबैभन्दा नजिक छ । थकाली भाषा ‘तामाङ लेहम’ को उपशाखा हुन सक्दछ । तर, थकाली र तामाङ समुदायको सम्बन्धको आधार के हो ? कसैले भन्न सकेन ।

‘गुर्स्वाङ्बो’ खासमा महागुरु पद्यमसम्भवकै अर्को नाम हो । लद्दाखदेखि भुटानसम्मको हिमाली क्षेत्रमा गुरु पद्य्मसम्भवबारे समान धारणा, किम्बदन्ती र आकर्षण पाइन्छ । र, यो मुस्ताङका सबै जसो गाउँमा सर्वत्र व्याप्त छ । सबै हिमाली जाति र गाउँ यो विश्वास गर्छन् कि महागुरु पद्यमसम्भव उनीहरूको गाउँमा आएका थिए । गाउँ नजिकको कुनै गुफामा बसेर ध्यान र तपस्या गरेका थिए ।

महागुरु पद्यमसम्भव ८ औँ शताब्दिमा अहिले पाकिस्तानमा पर्ने स्वात उपत्यकामा जन्मिएका थिए । उनले बुद्धिज्मको महायानी परम्परामा बज्रयान सम्प्रदायको स्थापना र विकास गरे । बुद्धिज्ममा पद्मसम्भवभन्दा अघि तान्त्रिक पद्धति र परम्परा थिएन । कतिपयले उनलाई बुद्धको अवतार पनि मान्छन् । तिब्बती बुद्धिज्ममा दलाई लामा परम्पराको स्थापना महागुरु पद्य्मसम्भवका विचारको प्रभाव हुन सक्ने ठानिन्छ ।

यो कथा श्रृंखलामा मुस्ताङको ‘मिथ र त्रासदी’ भने भिन्नै छ । मुस्ताङ त्यो क्षेत्र हो, जहाँ गुरु पद्मसम्भवको बज्रयान परम्परा र स्थानीय प्रकृतिपूजक बोन धर्मावलम्बीबीच भीषण संघर्ष भएको थियो । भनिन्छ– पद्यमसम्भवको अभियान र विचारको प्रभाव पर्नुअघि मुस्ताङे जनता ‘बोन’ थिए ।

हिमाली क्षेत्रका बुद्धिष्ट समुदाय महागुरु पद्मसम्भवका ८ वटा अवतार भए भन्ने विश्वास गर्दछन् । नाहुरीकोट नजिक बाटोमा भेटिएका गुर्स्याङ्बो गुफाका लामा भन्छन्– ‘पद्मसम्भवका ८ वटै अवतारले यहाँ आएर ध्यान र तपस्या गरेका थिए ।’
तर, यो कथा श्रृंखलामा मुस्ताङको ‘मिथ र त्रासदी’ भने भिन्नै छ । मुस्ताङ त्यो क्षेत्र हो, जहाँ गुरु पद्मसम्भवको बज्रयान परम्परा र स्थानीय प्रकृतिपूजक बोन धर्मावलम्बीबीच भीषण संघर्ष भएको थियो । भनिन्छ– पद्यमसम्भवको अभियान र विचारको प्रभाव पर्नुअघि मुस्ताङे जनता ‘बोन’ थिए ।

रोशनजीलाई पनि लाग्छ कि थकाली समुदाय प्रारम्भमा ‘बोन्पो’ हुनुपर्दछ । बोन धर्मावलम्बीलाई ‘बोन्पो’ भनिन्छ । मुस्ताङका पहाड र चट्टान अधिकांशतः राता छन् । पद्य्मसम्भवले बोन्पोहरूलाई बुद्धिष्ट बनाउने गरेको धर्म–युद्धमा मारिएका मान्छेको रगतले अभिषप्त भएर यी पहाड र चट्टान राता भएको विश्वास गर्नेहरू पनि छन् ।

कतिपयको विश्वासमा ‘मुक्तिनाथ’ पनि गुरु ‘पद्य्मसम्भव’ नै हुन् । त्यसो त मुक्तिनाथ १० औँ बोधीसत्व ‘अवलोकेत्श्वर’ हुन् भन्ने विश्वास पनि बुद्धिज्ममा बलियो छ । हिन्दुहरूले मुक्तिनाथलाई ‘बिष्णु’ मान्दछन् । तर, दुबैको विश्वासमा मुक्तिनाथ ‘मोक्षका प्रतिक’ हुन् ।

नाहुरीकोटबाट गुर्स्याङ्बो गुफा पुग्दा र फर्किँदा बाटोभरि हामीले यिनै किम्बदन्तीहरूको चर्चा गर्यौँ । आउन जान गरी करिब ४ घन्टाको यो पैदल–यात्रा एक प्रकारले ‘हाइकिङ’ जस्तो पनि भयो ।

मार्फा स्याउबारी र पर्यटकीय गाउँका रूपमा जति ब्रान्डिङ भएको छ, यसको बनोट हेर्दा यो पक्कै निकै प्राचिन हिमाली वस्ती हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ ।

मार्फा गाउँको बीचतिर एउटा घरमा लेखिएको भेटिन्छ– ‘नेपाल–जापान सम्बन्धका अग्रदुत प्रसिद्ध बौद्ध धार्मिक यात्री इकाई कावागुची सन् १८९९ मा यहाँ आएर बस्नु भएको थियो ।’

मार्फाका ढुंगेघरको लहर टुकुचेको जस्तो ‘सुधारिएका र सभ्रान्त’ छैनन् । मार्फा गाउँमाथि डरलाग्दो ढुंगेभिर छ । लाग्छ– यो गाउँ यही भीरका ढुंगाले बनेको हो । मार्फाका गल्लीहरू हिँड्दै ठोकिएलाझैं साँघुरा छन् । तर, तिनले अद्भूत, अनौठोपनको अनुभूति दिन्छन् ।

लुप्रा यस्तो गाउँ हो, जहाँ मुस्ताङको एक मात्र बोन गुम्बा छ । पाण्डु खोला किनारमा १४ घर मात्र भएको बोन गाउँ जोमसोम र मुक्तिनाथको बीचतिर ‘५ गाउँले’ क्षेत्रमा पर्दछ । बोन वस्ती उपल्लो डोल्पातिर छन् ।

पूर्वी हिमालमा बौद्ध, हिन्दू र किरात धर्म–संस्कृतिको समिश्रण भएजस्तो यहाँ बौद्ध, बोन र हिन्दूको समिश्रण छ । थकाली समुदायका नाम अहिले पर्याप्त संस्कृत, हिन्दू वा नेपालीकरण भएका छन् । तर, ती भन्छन्– तीन पुस्ता अघिसम्म उनीहरूका नाम यस्ता हुँदैनथे, भिन्नै प्रकृतिका थिए ।

थकाली समुदाय मौलिक हिसाबले बोन हुन सक्दछ, तर हिन्दू र बौद्ध समिश्रण उत्तिकै बलियो भइसकेको छ ।

क्रमश…

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register