प्रचण्ड–बाबुरामबीचको प्रेम–घृणा : ‘डिभोर्स’ र ‘रियुनियन’को गोलचक्कर

प्रचण्डले बाबुरामलाई ‘खिइँदै, खिइँदै, खिइँदै पूरै प्रतिक्रियावादीसँग मिलेको, प्रतिक्रियावादीले पनि पत्याउन छोडेर हाँसोको पात्र बनेको’ भन्दै उपहास गरेका छन् । प्रचण्डको यो भनाइमा उपहास मात्र नभएर यथार्थको अंश पनि होला, तर अर्को यथार्थ के पनि हो भने सोही भनाइ प्रचण्डलाई पनि उत्तिकै लागू हुन्छ ।

May 26, 2025 - 07:33
 0
प्रचण्ड–बाबुरामबीचको प्रेम–घृणा : ‘डिभोर्स’ र ‘रियुनियन’को गोलचक्कर

नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पूर्वसहकर्मी तथा अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबारे टिप्पणी गरेको एक भिडियो क्लिप सामाजिक सञ्जालमा केही दिन यता भाइरल भइरहेको छ ।

त्यसमा प्रचण्डले भनेका छन्–‘बाबुरामसँग पार्टी एकता गर्ने भनेकै हो नि गोर्खामा चुनाव लड्दा । म, नारायणकाजी कमरेड र बाबुराम भएर लहै अब यो चुनाव मात्रै हैन, पार्टी पनि एउटै बनाउने भन्या थियौंँ । तर, पछि उहाँले कम्युनिस्टको नाम सुन्न चाहनु हुन्न । कम्युनिस्ट पार्टी नाम राख्ने हो भने म एकता गर्दिनँ भन्नुहुन्छ । के अब हामी मर्ने बाबुरामका लागि ? कम्युनिस्ट पार्टी नभन्ने, मार्क्सवाद पनि नभन्ने रे, अनि त्यस्तोसँग के गरी एकता गर्ने ?’

प्रचण्डले अगाडि थपेका छन्–‘उहाँ त अब खिइँदै, खिइँदै,खिइँदै पूरै प्रतिक्रियावादीसँग मिल्नु भा’छ। प्रतिक्रियावादीले पनि पत्याउँदैनन् अचेल । हाँसोको पात्र भएका छन् बाबुराम देशभरि । कस्तो बुद्धि नभएको डाक्टार ! सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले । त्यस्तासँग के गरी एकता गर्ने ? बाबुरामलाई के गरी ल्याउने अब, उनको दिमाग ठाउँमा हुनुपर्‍यो र पो ल्याउन सकिन्छ । एकता भनेको निरपेक्ष हुँदैन, सापेक्ष हुन्छ, विचार, दृष्टिकोण, प्रवृत्ति मिल्नुपर्छ ।’

अध्यक्ष प्रचण्डले यसो भनिरहँदा मञ्चमा सँगै बसेका माओवादीका अन्य नेता नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा, नन्दबहादुर पुन, पम्फा भुसाल आदिले रमाइलो मानेर हाँसेको देखिन्छ ।

मध्य पहाडी पुष्पलाल लोकमार्गमा माओवादी यात्राका क्रममा नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतको यात्रा समूह पूर्वी रुकुम पुग्दा जिल्लाका चर्चित राजनीतिकर्मी जीतमान पुन ‘मार्शल’ र उपेन्द्रलाल कामीलगायत डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा ( नयाँ शक्ति ) को पूरै जिल्ला कमिटी माओवादी केन्द्रमा समाहित भएको थियो ।

सम्भवतः त्यही क्रममा कसैले प्रचण्डसँग आग्रह गर्‍यो– ‘डा. बाबुराम भट्टराईसँग पनि एकता गरे हुने ।’ प्रचण्डको प्रतिक्रिया त्यसै सन्दर्भको प्रतिउत्तर हुनु पर्दछ । तर, भिडियो क्लिपले पूर्वी रुकुम मात्र हैन, काठमाडौंसम्मै तरङ्ग ल्यायो । आफ्नै पूर्वसहकर्मीप्रति अध्यक्ष प्रचण्डको टिप्पणी आवश्यकताभन्दा धेरै ‘कठोर, तिक्त र अमर्यादित’ भयो भन्ने प्रतिक्रिया सुनिए ।

बाबुरामको सचिवालय र समर्थकले हो, ‘बाबुरामको बुद्धि नभएकै कारण गोर्खा–२ छोडेर जिताएको’ भन्दै प्रचण्डप्रति कटाक्ष गरे । प्रचण्डले बाबुरामको ‘गुन बिर्सिएको’ जस्ता तर्क अघि सारिए ।

‘डिभोर्स’ र ‘रियुनियन’ को गोलचक्कर

पत्रकार नेत्र पन्थीले प्रचण्ड–बाबुरामबीचको प्रेम–घृणालाई खोतल्दै ‘डिभोर्स’ नामको मोटो किताब नै लेखेका छन् । बाबुरामले माओवादी पार्टी परित्याग गरी ‘नयाँ शक्ति’ गठन गरेको सन्दर्भमा पत्रकार पन्थीले ‘डिभोर्स’ शीर्षक छानेका थिए । तर, पन्थीले तत्कालीन ‘चौम धार’ भित्रको अन्तर्विरोधको इतिहास नै खोतलेका थिए ।

प्रचण्ड–बाबुराम, दुवै नेताको राजनीतिक करिअर ‘मसाल’ अवधिमा स्थापित भएको देखिन्छ । प्रचण्डले ‘मोटो मशाल’ मा ‘सेक्टर काण्ड’ पछि मोहन वैद्य किरणलाई प्रतिस्थापित गर्दै नेतृत्व लिएका थिए भने डा. बाबुराम भट्टराई ‘पातलो मसाल’ मा मोहनविक्रम सिंहसँग विद्रोह गर्दै मोटो मशालसँग एकता गरेका थिए । दुवै नेताको जोडी नेकपा ( माओवादी ) कालमा जमेको थियो ।

२०४६ सालको जनआन्दोलनपछि प्रचण्ड भूमिगत पार्टीको महामन्त्री थिए भने डा. बाबुराम भट्टराई खुल्ला चुनावी मोर्चा संयुक्त जनमोर्चा नेपालका संयोजक । जनयुद्धकालमा प्रचण्ड जनमुक्ति सेनाको सर्वोच्च कमान्डर थिए भने बाबुराम क्रान्तिकारी जनसरकारका अध्यक्ष ।

बाहिरबाट हेर्दा लाग्थ्यो कि प्रचण्ड–बाबुराम खुबै मिलेका ‘क्रान्तिकारी जोडी’ हुन् । तर, आन्तरिक अन्तर्विरोध यति चर्को थियो कि बाबुराम दम्पतीलाई जनमुक्ति सेनाले केही समय हिरासतमा समेत राखेको थियो ।
शान्ति

प्रक्रिया आएयता दुवै नेता प्रधानमन्त्री भए । तर, २०७२ सालको संविधान बनेलगत्तै बाबुरामले माओवादीलाई ‘रातो स्टिकर लागेको घर’ भन्दै परित्याग नै गरे । भिन्नै नयाँ शक्ति पार्टी बनाए । त्यतिखेरका घटनाक्रम र आरोप प्रत्यारोप हेर्दा पत्रकार पन्थीले ‘डिभोर्स’ ठीकै संज्ञा छानेका हुन् । तर, त्यसको ७ वर्षपछि आम निर्वाचन–२०७९ को घटनाक्रमले लाग्थ्यो कि कतै यी दुई नेताबीच फेरि ‘रियुनियन’ प्रक्रिया सुरु भएको त हैन ? तर, ‘डिभोर्स’ भएका जोडीको पुनर्मिलन दुर्लभ भएजस्तै प्रचण्ड–बाबुरामको राजनीतिक एकता पनि असम्भव हुँदै गयो ।

प्रचण्डलाई निर्वाचन क्षेत्रको संकट

प्रचण्डले चुनावैपिच्छे निर्वाचन क्षेत्र फेर्दै आएका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी रोल्पा र काठमाडौं–१० बाट चुनाव लडे । दुवै क्षेत्रमा जिते । २०७० को दोस्रो संविधानसभामा भने काठमाडौं र सिराहाबाट चुनाव लडे । काठमाडौंबाट हारे, सिराहामा जिते ।

२०७४ को चुनावमा ‘वामपन्थी’ गठबन्धन भयो । एमालेको साथ पाएपछि उनी आफ्नै गृह जिल्ला चितवन–३ बाट उम्मेदवार बनेर सानदार विजय हासिल गरे । उनले आफ्ना निकटतम प्रतिस्पर्धी राप्रपाका विक्रम पाण्डेलाई ९ हजार बढी मतान्तरले पराजित गरेका थिए ।

तर, २०७९ को आम निर्वाचनको पूर्वसन्ध्यामै चितवन राजनीतिमा उलटफेरका संकेत देखिइसकेको थियो । चितवनबाट उम्मेदवार बनेको भए माओवादी अध्यक्ष प्रचण्ड हार्ने प्रबल सम्भावना थियो । ५ वर्ष अघिको जित र छोरी रेणु दाहालको लोकप्रिय ‘मेयरसिप’ का बाबजुद चितवनमा प्रचण्डका लागि सुरक्षित निर्वाचन क्षेत्र थिएन ।

प्रचण्डले सम्भावित निर्वाचन क्षेत्रका रूपमा रोल्पा, सिन्धुली र गोर्खामध्ये एकलाई छान्ने विचार गरिरहेका थिए । डा.बाबुराम भट्टराईको सहयोग नपाएको भए उनी गोर्खा–२ को साटो गोर्खा– १ मा उम्मेदवार बन्ने सम्भावना बढी थियो । तर, ठीक त्यही बेला प्रचण्ड–बाबुरामबीच राजनीतिक पुनर्मिलनको सम्भावना देखियो । धेरैका लागि यो आश्चर्यजनक र नाटकीय विषयजस्तो देखिएको थियो । पुनर्मिलन प्रक्रिया जुनकुनै बेला धरापमा पर्न सक्ने अनुमान लगाउने धेरै थिए ।

जे होस, अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रको संकट भने हल भयो । बाबुरामले गोर्खा–२ छोडेर सहयोग गर्दिँदा प्रचण्डका लागि चुनाव सोचेभन्दा धेरै सहज भयो ।

आफूभन्दा राम्रो उम्मेदवार

डा. भट्टराईले गोर्खा–२ प्रचण्डका लागि छोडेनन् मात्र, चुनावी मैदानमै गएर सहयोग गरे । उनी प्रचण्डसँगै घरदैलोमा भोट माग्दै हिँडे । डा. भट्टराईले मतदातासँग भन्ने गरेका थिए–‘तपाईंहरूका लागि मभन्दा राम्रो उम्मेदवार ल्याएको छु । प्रचण्डले गोर्खाका लागि मभन्दा धेरै काम गर्न सक्नुहुन्छ भन्ने मलाई विश्वास छ ।’

बाबुरामका यस्ता अभिव्यक्तिले लाग्थ्यो– प्रचण्ड–बाबुरामबीचको सम्बन्ध निक्कै बलियो र प्रगाढ भइसकेको हुनुपर्दछ । चुनावपछि दुवै नेताका पार्टी फेरि एकीकृत हुनेछन् । दुवै नेताको राजनीतिक पुनर्मिलन हुनेछ ।

तर, चुनावपछिका दिनमा त्यस्तो अनुमान सही साबित भएन । फेरि एकपटक धेरैलाई आश्चर्य लाग्यो । पार्टी एकता गर्नु थिएन त माओवादीको चुनाव चिह्न ‘गोलाकारभित्रको हँसिया हथौडा’ लिएर चुनाव किन लड्नु थियो । चुनावपछि एकता गर्ने भन्दै भोट किन माग्नु थियो ? आफ्नै समर्थकको ठूलो पङ्क्तिलाई माओवादीतिर फर्किन सहज वातावरण किन बनाउनु थियो ? बाबुराममाथि यस्तै थुप्रै प्रश्न उठे ।

गोर्खा–२ छोड्नुको रहस्य

उता बाबुरामले गोर्खा–२ मा उम्मेदवारी नदिने भए, प्रचण्डलाई सहयोग गर्ने भए । यता भट्टराई पुत्री मानुषी भट्टराई यमीले काठमाडौं–७ मा माओवादीको चुनाव चिह्नमा टिकट पाइन् । आलोचकहरूले यसलाई डा. भट्टराईले छोरीका लागि निर्वाचन क्षेत्र साटेको अर्थ लगाए । तर, डा. भट्टराईले यस्तो आरोप कहिल्यै स्वीकार गरेनन् ।

वृहत् एकता र सहकार्यको आधार तयार गर्न भनेर माओवादीसँग चुनावी गठबन्धन गरिएको डा. भट्टराईको प्रष्टीकरण हुन्थ्यो । उनी भन्ने गर्थे–‘संसद्‍मा दुवै जना भइयो भने प्रधानमन्त्री पदका लागि प्रतिस्पर्धा र अविश्वास हुन्छ । हाम्रो गठबन्धनले सरकारको नेतृत्व गर्ने अवसर पाउँदा प्रचण्ड नै प्रधानमन्त्री हुने प्रष्टता होस् भनेर मैले चुनाव नलडेको र गोर्खा–२ मा प्रचण्डलाई सहयोग गरेको हुँ । मानुषीले काठमाडौं–७ मा टिकट पाउनुसँग यसको कुनै सम्बन्ध छैन । रूपान्तरणसहितको पार्टी एकता भयो भने प्रचण्डले सरकार र संसदीय मोर्चाको नेतृत्व गर्छन्, मैले वैचारिक र सांगठनिक नेतृत्व लिन्छु भन्ने थियो ।’

जनार्दन–वर्षमानको भूमिका

गत आमनिर्वाचनको मुखमा प्रचण्ड र बाबुरामलाई नजिक ल्याउन जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’ को विशेष भूमिका थियो । यी दुवै नेता त्यतिखेर अध्यक्ष प्रचण्डसँग असन्तुष्ट भए पनि आफैँ केही गर्न सक्ने स्थितिमा थिएनन् ।

बाबुरामलाई पार्टीमा फर्काउन सकिए माओवादीको आन्तरिक शक्ति सन्तुलन बदलिने र प्रचण्डलाई दबाबमा राख्न सकिने तिनको अपेक्षा र रणनीति थियो । बाबुरामले परित्याग गरेपछि माओवादी पार्टी प्रचण्डको एकलौटीजस्तो भएको, फरक मत राख्ने र वैचारिक बहस गर्ने स्थितिसमेत नभएको उनीहरूको ठहर थियो ।

तसर्थ, बाबुराम माओवादीमा फर्किए नयाँ चरणको ‘एकता र रूपान्तरण’ प्रक्रिया प्रारम्भ हुने र पार्टी चरित्र र आन्तरिक शक्ति सन्तुलन परिवर्तन गर्न समेत सहज हुने ठानिएको थियो । बाबुरामले प्रभाकर–अनन्तको यस्तो बुझाइ उचितै ठाने । त्यही भएर उनी चुनावमा सँगै जान र चुनावपछि पार्टी एकता गर्न सहमतजस्तो देखिएका थिए ।

मानुषीले जितेको भए हुन्थ्यो एकता !

कतिपयले काठमाडौं–७ मा डा. भट्टराई पुत्री मानुषीले चुनाव हार्नु नै एकता बिथोलिनुको मुख्य कारण मान्दछन् । मानुषीले जितेकी भए उनी माओवादी संसदीय दलको सदस्य हुने थिइन् । उनले ५ वर्ष माओवादी पार्टीको ह्विप मान्नुपर्ने हुन्थ्यो । तसर्थ, दूरी बढाउने भन्दा नेताहरू घटाउनतिर लाग्न सक्थे ।
मानुषीको हारले यस्तो बाध्यता वा दबाब बाबुराममाथि सिर्जना भएन । अर्कोतिर मानुषीलाई काठमाडौंको मध्यम वर्गीय, सहरिया र शिक्षित युवा जनमतमा माओवादीको चुनाव चिह्न भविष्यमा पनि बिक्न गाह्रो छ भन्ने लाग्यो । नेपाली काँग्रेससहितको पाँच दलीय गठबन्धनका बाबजुद उपत्यकाभित्रका सबै माओवादी उम्मेदवार पराजित भएका थिए ।

काठमाडौं–२ मा पूर्वसभामुख ओनसरी घर्ती, ललिलतपुर–३ मा पम्फा भुसाल समेत पराजित भए ।

वृहत् एकता र रूपान्तरणको आशा

चुनावपछि माओवादीसँग पार्टी एकता हुने, पार्टीको व्यापक रूपान्तरण हुने र त्यस्तो रूपान्तरणको वैचारिक तथा संगठनात्मक नेतृत्व आफूले गर्ने बाबुरामको आशा थियो । दुई नेताबीच एक अघोषित समझदारी र कार्यविभाजन हुने, प्रचण्डले सरकार र संसदीय मोर्चाको नेतृत्व लिने, एकीकृत पार्टीको वैचारिक तथा सांगठनिक रूपान्तरणको कार्यभार बाबुरामले गर्ने बाबुरामको बुझाइ लागू हुने छनक देखिएन ।

प्रचण्ड पनि पार्टीको नाममा भएको कोष्ठकभित्रको ‘माओवादी’ र ‘चुनाव चिह्न’ फेर्न राजी भएका थिए । यदि बाबुराम एकतामा आउँछन् भने ‘माओवादी केन्द्र’ को साटो ‘समाजवादी’ केन्द्र लेख्ने र कुनै नयाँ चुनाव चिह्न खोज्ने मनस्थितिमा पुगेका थिए । त्यसो गर्दा माधवकुमार नेपाललगायत अन्य कम्युनिस्ट घटकसँग एकता गर्नसमेत सजिलो हुने प्रचण्डको बुझाइ थियो ।

कहाँ रड्कियो ?

तर, बाबुरामले कोष्ठकभित्रको ‘माओवादी केन्द्र’ मात्रै हैन, पार्टीको नाम नै ‘नेपाल कम्युनिस्ट पार्टी’ को साटो ‘समाजवादी पार्टी’ वा ‘समाजवादी केन्द्र’ हुनुपर्ने, मार्गदर्शक सिद्धान्तबाट ‘मार्क्सवाद –लेनिनवाद–माओवाद’ नै हटाउनुपर्ने माग अघि सारे, तब प्रचण्डलाई अप्ठ्यारो पर्‍यो । प्रचण्ड यो समग्र प्रक्रियाबाटै पछि हटे ।

प्रचण्ड र अन्य माओवादी नेता बाबुरामजस्तो साम्यवादी विचारधारा परित्याग गर्ने सोचमा कहिल्यै थिएनन् । यो बाबुरामको ‘एकतर्फी आशा’ मात्र थियो । जीवनभरि कम्युनिस्ट रहेको, २००६ सालमा पुष्पलाल श्रेष्ठले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टीको उत्तराधिकार दाबी गर्ने, मार्क्सवादी विचार दर्शनकै नाममा त्यति ठूलो बलिदानसहितको जनयुद्धबाट विकसित भएर आएको पार्टीले ‘कम्युनिस्ट’ नाम नै हटाउने ‘मार्क्सवाद –लेनिनवाद’ को विचारधारा परित्याग गर्ने कुनै सम्भावना थिएन ।

यही बाध्यतालाई प्रचण्डले ‘बाबुरामका लागि हामी मर्नु’ भनेर कठोर प्रतिक्रिया दिएको सहजै बुझ्न सकिन्छ ।

आफूलाई के ठान्छन् बाबुराम ?

बाबुराम अहिले आफूलाई ‘साम्यवादी’ नभएर ‘सामाजिक लोकतन्त्रवादी’ ठान्दछन् । उनी मार्क्सवाद –लेनिनवाद–माओवादीजस्ता विचार, दर्शनको परित्याग गरी ‘वैज्ञानिक मानवतावादी’ दर्शन अवलम्बन गर्नुपर्ने, ‘साम्यवाद’ को साटो ‘समुन्नत समाजवाद’ लक्ष्य बनाउनुपर्ने धारणा राख्दछन् ।

शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीयताको प्रारूपबारे भने बाबुराम र प्रचण्डको सोच र एजेन्डामा अझैँ समानता छ । दुवै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र पहिचानमा आधारित संघीयताका पक्षधर हुन । एमाले–माओवादी केन्द्रको एकताबाट ‘नेकपा’ निर्माणको अवधिमा यी मुद्दा कमजोर भएका थिए । तर, प्रचण्डले फेरि स्थगित मुद्दामा जोड दिन थालेका छन् ।

बाबुरामले साम्यवादी विचारधारा परित्याग गरिसकेका छन् भने प्रचण्ड मार्क्सवाद परित्याग गर्न चाहँदैनन् । यो भिन्नताले यी दुई नेताको राजनीतिलाई आधारभूत रूपमै भिन्न बनाउँछ । साम्यवादी र गैरसाम्यवादी विचारधारा एउटै पार्टीमा मिलेर हिँड्न सम्भव हुँदैन ।

बाबुरामको प्रतिरक्षात्मक तर्कशास्त्र

अहिले बाबुरामपक्षका कुरा भने भिन्नै छन् । उनी चुनावको मुखमा उपेन्द्र यादवसँग फुट्नु परेको बाध्यताले माओवादीसँग गत आम चुनावमा गठबन्धन मात्र गरेको हो, पार्टी एकताको कुनै सर्त नै थिएन भन्ने गर्दछन् । अझ गोर्खा–२ प्रचण्डका लागि छोड्नु त ठूलो गल्ती थियो भन्ने ठान्दछन् ।

नयाँ शक्तिको गठनदेखि गत आमनिर्वाचनमा गोर्खा–२ प्रचण्डका लागि छोड्नेसम्म डा. भट्टराईले एकपछि अर्को गल्ती गरेको स्वयं उनले महाधिवेशनमा प्रस्तुत गरेको राजनीति प्रतिवेदनमा उल्लेख छ ।

२०७४ को स्थानीय निर्वाचनअघि पार्टी सुरु गर्नु, निर्वाचन चिह्न नपाउनु र तत्कालीन संघीय समाजवादी फोरमको ‘मसाल’ चुनाव चिह्न लिनु, २०७४ को आमनिर्वाचनमा वाम गठबन्धनको घोषणा सभा राष्ट्रियसभा गृहमा गएर हात उठाउनु तर दुई दिनमै गठबन्धन तोडेर काँग्रेसको गठबन्धनमा जानु, उपेन्द्र यादवसँग पार्टी एकता गर्नु र फुट्नु, गत आमनिर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिनु र गोर्खा–२ प्रचण्डलाई छोड्नु गल्ती थियो भन्ने निष्कर्ष बाबुराम समूहले निकालेको छ ।

यतिका धेरै गल्ती नै गल्ती गरेको हो भने ठीक चाहिँ के भयो त ? र, त्यस्तो नेता भविष्यको नेतृत्वका लागि कसरी उपयुक्त हो भन्ने प्रश्न स्वयं डा. भट्टराईका समर्थकले उठाउने गरेका छन् ।

भट्टराई एक सरल, बौद्धिक तथा प्राज्ञिक नेता भए पनि कुशल संगठक र चुस्त रणनीतिकार नभएको स्वयं उनकै समर्थकको बुझाइ हुन्छ । शान्तिपूर्ण र चुनावी पार्टी निर्माणको रणनीतिमा डा. बाबुरामका कदम सफल देखिँदैनन् ।

खिइँदै गएको यथार्थ

प्रचण्डले बाबुरामलाई ‘खिइँदै, खिइँदै, खिइँदै पूरै प्रतिक्रियावादीसँग मिलेको, प्रतिक्रियावादीले पनि पत्याउन छोडेर हाँसोको पात्र बनेको’ भन्दै उपहास गरेका छन् । प्रचण्डको यो भनाइमा उपहास मात्र नभएर यथार्थको अंश पनि होला, तर अर्को यथार्थ के पनि हो भने सोही भनाइ प्रचण्डलाई पनि उत्तिकै लागू हुन्छ । प्रचण्डको वैचारिक विचलन र स्खलन पनि कम अभूतपूर्व छैन । प्रतिक्रियावादी भनेर जसको हुर्मत काढ्न प्रचण्ड पछि पर्दैन थिए सत्ताका लागि तिनैसँग साखुल्ले पल्टिन सक्ने ‘चमत्कारी’ र ‘जादुगर भएर निस्केका छन्, प्रचण्ड। विचारका हिसाबले उनL पनि कम खिइँदै गएका भने हैनन् । त्यस कारण, बाबुराम प्रतिको विष वमन प्रचण्डको आफ्नै कुण्ठाको अभिव्यक्ति पनि हो ।

यो सत्य हो कि प्रचण्डको साथ छोडेपछि बाबुरामको व्यावहारिक राजनीति र पार्टी निरन्तर कमजोर भएको छ । माओवादीमा रहँदा उनको जुन व्यक्तिगत लोकप्रियता थियो, परित्यागपछि त्यो कायम रहेको देखिन्न । २०७३ जेठ ३० गते रंगशालमा नयाँ शक्ति पार्टी घोषणा गर्दा बाबुरामप्रति जुन आकर्षण देखिएको थियो, त्यसपछिका दिनमा तीव्र गतिले ह्रास हुँदै गयो ।

माओवादी परित्याग गरेको करिब १० वर्षपछि २०८१ माघमा डा. भट्टराईले आफ्नो समूहको पहिलो महाधिवेशन आयोजना गरे । करिब १००० प्रतिनिधिले भाग लिएको महाधिवेशनपछि पनि पार्टीले खासै गति लिएको छैन ।

उनको पार्टीमा अहिले १ जना प्रदेशसभा सदस्य गण्डकीका फणीन्द्र देवकोटा मात्र बाँकी छन् । महेन्द्रराय यादव र गंगानारायण श्रेष्ठ समूहको बहिर्गमनपछि नेसपाको राजनीतिक भविष्यलाई लिएर स्वयं भट्टराईका समर्थक आश्वस्त छैनन् ।

भन्नलाई नै हो भने, बाबुरामले पनि प्रचण्डलाई बाँकी त केही राखेका छैनन् नै । एक समयका क्रान्तिका सहयात्री अहिले नदीका दुई किनारझैँँ भएका छन् । पछिल्ला तिक्त अभिव्यक्तिले प्रचण्ड–बाबुराम सहकार्यलाई भावी दिनमा थप असहज बनाउन सक्दछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register