दाइजोको निहुँमा छोरीको हत्या गरिएको भन्दै न्याय खोज्न आमा धर्नामा

Jun 22, 2023 - 01:58
 0
दाइजोको निहुँमा छोरीको हत्या गरिएको भन्दै न्याय खोज्न आमा धर्नामा
दाइजोको निहुँमा छोरीको हत्या गरिएको भन्दै न्याय खोज्न आमा धर्नामा

काठमाडौं। छोरी आरती साहको हत्या भएको दाबी गर्दै न्याय माग्दै धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापचोककी निर्मलादेवी साह माइतीघरमा धर्ना बसेको छ दिन भयो ।

छोरीले आत्महत्या गरेको नभई घरका सदस्यले हत्या गरेको दाबीसहित आमा निर्मलादेवी र बुबा विनोदप्रसादलगायत शुक्रबारदेखि माइतीघरमा न्याय माग्दै धर्नामा बसेका हुन् ।  दाइजो नल्याएको निहुँमा सासू रेणुदेवी साह, ससुरा मदनमोहन साह, श्रीमान् मोतीबाबु र देवर रवि साहले निर्घात कुटपिट गरी छोरीको हत्या गरेको निर्मलादेवीको दाबी छ । आरोपित सबैलाई पक्राउ गरी कारबाही नगर्दासम्म आफूले धर्ना जारी राख्ने निर्मलादेवीको भनाइ छ ।

आर्थिक र राजनीतिक प्रभावका भरमा हत्यालाई आत्महत्याको रूप दिइएको उनको जिकिर छ । “छोरीलाई हत्या गर्ने घरका चार जनालाई पक्राउ नगर्दासम्म धर्ना जारी रहन्छ”, निर्मलादेवीले भनिन्, “न्याय माग्न जाँदा उल्टै कुटपिट गर्ने प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायब उपरीक्षक प्रकाश गौतममाथि पनि कारबाही हुनुपर्छ ।”

आरतीका श्रीमान्, सासूससुरा र देवरलाई पक्राउ गरी मुद्दा अगाडि बढाउनुपर्ने तथा स्वास्थ्यकर्मी, सरकारी वकिलमाथि छानबिन नगर्दासम्म धर्ना जारी राख्ने माइती पक्षको भनाइ छ । गत जेठ ७ गते २२ वर्षीया आरतीको मृत्यु भएको थियो । छोरीको आत्महत्या नभएको र छोरीको हत्या गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषामा न्याय नपाएपछि आफूहरू काठमाडौं आएको उनीहरूको भनाइ छ ।

छोरीको विवाह भएको छ महिनासम्म रामै्र घरजम भए पनि त्यसपछि दाइजो नल्याएको निहुँमा मानसिक यातना दिँदै आएको र मृत्यु हुनुभन्दा दुई÷तीन हप्ताअघिसम्म मोटरसाइकल र दराज लिएर मात्रै घर आउन दबाब दिएको आमा निर्मलादेवीको भनाइ छ ।

घामपानी सहेर छोरीको न्यायका लागि धर्नामा रहेकी निर्मलादेवी छोरीले न्याय नपाएसम्म ज्यानको पर्वाह नगरी आन्दोलनमा उत्रिने बताइन् । “मेरी छोरीको हत्या गरेको आधार हुँदाहुँदै पनि न्याय किन नपाउने ? धनुषामा न्याय नपाएर काठमाडौं आएको हो । छोरीका लागि ज्यान दिन तयार छु । न्याय चाहिन्छ”, उनले भनिन् ।

न्यायकै लागि प्रहरी प्रशासन जाँदा आफ्नो परिवारलाई गरेको गम्भीर कुटाइ र अभद्र व्यवहारप्रति दुःखेसो पोख्दै आफन्तजनलगायत छोरीलाई प्रादेशिक अस्पतालमा भर्ना गर्नुपरेको उनले बताइन् ।आरतीका बुबा विनोदप्रसाद साहले लगनशील छोरी भएकै कारण धनाढ्य परिवारबाट दाइजो नचाहिने भनी छोरी माग्न आएको तर दुई वर्ष नबित्दै दाइजो नल्याएकै कारणले छोरीको हत्या गरेकामा उनले गुनासो गरे ।

“इन्गेजमेन्ट हुनुपूर्व दाइजोको माग थिएन । तर पछि माग गर्दै गएकामा परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण माग गरेका सबै दाइजो दिन सक्ने अवस्था थिएन”, उनले भने । रु २५/३० लाख ऋणमा सम्पन्न गरिएको विवाहमा पछि केटापक्षले माग गर्दै गएका दाइजो दिन नसकेको उनले बताए ।  “पछिल्लो समयमा माग गरेका सामानमध्ये दराज आफूखुसी लैजान दिएको तर मोटरसाइकल दिन सकिएन । त्यही निहुँमा माइतबाट घर गएको १२ दिनपछि हत्या गरियो”, आरतीका बुबाले भने ।

राजनीतिक दबाबका कारण अहिलेसम्म न्याय नपाएको आरतीका मामा सन्तोषकुमार साहको भनाइ छ । “अस्पतालमा ल्याउँदा मृत्यु भइसकेको र शरीरका घाउ हेर्दा कुटपिट गरी हत्या गरेको पुष्टि हुन्छ”, उनले भने ।  सुरुमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै उनले पछि दबाब दिएपछि बल्लतल्ल जिल्ला प्रहरी कार्यालय धनुषामा जेठ ८ मा दर्ता भएको बताए । उनले प्रहरीले हालसम्म अनुसन्धान अघि बढाएको आरोप लगाए ।

“हत्यारालाई ढाकछोप गर्ने काम भइरहेको छ । जिल्ला प्रशासन कार्यालयमा न्याय माग्न जाँदा गम्भीर कुटपिटसहित हामीमाथि अभद्र व्यवहार गरियो”, उनले भने । उनले यस विषयमा गृहमन्त्रालय, मधेसी आयोग, मानवअधिकार आयोगलगायतका सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाइसकिएकोसमेत बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1