रुस–युक्रेन युद्धको सिधा असर नेपालमा पनि

काठमाण्डाै - रुस–युक्रेन युद्धको सिधा असर नेपालमा पनि देखिन सक्ने भएको छ । दुई देशबीचको युद्धले विश्वको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने र त्यसको असर नेपालमा पनि देखिने विज्ञले बताएका छन् ।

Feb 25, 2022 - 05:07
Mar 16, 2022 - 19:37
 0
रुस–युक्रेन युद्धको सिधा असर नेपालमा पनि

रुसले युक्रेनमा आक्रमण सुरु गरेलगत्तै विश्वबजारमा आर्थिक गतिविधि प्रभावित बन्न थालिसकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ आठ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । अस्ति बुधवार प्रतिब्यारेल ९४ दशमलव १२ डलर रहेको कच्चा तेलको मूल्य एक्कासी बढेर हिजो प्रतिब्यारेल एक सय ५ डलर पुग्यो । त्यस्तै सुनको भाउ एक वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।

अमेरिकी डलर र जापानी येन बलियो भइरहेका छन् । दुई देशबीचको युद्ध थप बढ्दै गए आउँदा दिनमा तेलको भाउ अझै बढ्न सक्ने अनुमान छ । रुस विश्वमा सबैभन्दा धेरै कच्चा तेल उत्पादन गर्नेमध्ये दोस्रो ठूलो देश हो । युद्ध सुरु भएपछि कच्चा तेलको आपूर्तिमा असर पर्न थालेको छ ।

विश्वबजारमा मुख्यगरी पेट्रोलियम पदार्थमा युद्धको असर देखिन थालेको छ र त्यसबाट नेपाल पनि प्रत्यक्ष प्रभावित हुने देखिएको छ । युद्ध बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ अझै बढ्न सक्ने र नेपालमा पनि महँगो हुनेछ । योसँगै नेपालमा ढुवानी र आपूर्तिमा समस्या निम्तिने पूर्व अर्थसचिव युवराज भुसाल बताउनुहुन्छ ।

पेट्रोल, डिजेल, मट्टितेल, ग्यासलगायतको भाउ बढेपछि यसले नेपाली भान्सामा प्रत्यक्ष प्रभाव पार्ने उहाँको भनाइ छ । नेपाल आयल निगमको घाटा अझ बढ्ने देखिन्छ । घाटा वहन गर्न सरकारले खर्च गर्नुपर्नेछ । त्यस्तै रुस र युक्रेनसँग नेपालको व्यापारिक सम्बन्ध छ । यी देशबीच आयात निर्यात प्रभावित हुन सक्ने देखिन्छ ।

नेपालले रुस र युक्रेनबाट केराउ, पाम आयल, सोयाबिन, सनफ्लावर तथा तोरीको तेललगायतका वस्तु आयात गर्छ । केही समयका लागि यी आयात हुने वस्तुमा समस्या देखिन सक्ने पूर्व अर्थसचिव भुसालले बताउनुभयो । 

सम्भावित असर कसरी रोक्ने ?

तत्काल तथा दीर्घकालीन रुपमा देखिन सक्ने असरलाई ध्यानमा राखेर सरकार चनाखो हुनुपर्ने र आवश्यक गृहकार्य थाल्नुपर्नेमा पूर्व अर्थसचिव भुसालको जोड छ।

सरकारले सम्भावित असर न्यूनीकरण गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायबीच छलफल गरी कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने, अवस्थाको आकलन गरी सेवाप्रवाहलाई नियमित गर्नुपर्ने, आयल निगमको भण्डारण क्षमता बढाउनुपर्ने, बिजुलीको प्रयोग सकेसम्म बढाउनुपर्ने पूर्वसचिव भुसाल बताउनुहुन्छ ।

साथै उपभोक्ताले पनि हल्लाको पछाडि नलागि संयमता अपनाउन, अनावश्यक रुपमा उपभोग्य वस्तु सञ्चय नगर्न उहाँको आग्रह छ । दुई देशबीचको युद्ध लम्बिने अवस्थामा आउनसक्ने सङ्कटतर्फ चनाखो रहँदै स्वदेशभित्रको तयारीमा सरकारले तत्काल ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

तस्बिर : वान इन्डिया

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Anish Pokhrel म हराएको मान्छे, कृपयाँ मलाई खोज्ने प्रयास नगर्नु होला। तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register