नख्खु खोलाका बाढीपीडित भन्छन् – दिनभर उज्यालोमा डर लाग्दैन, रातभरि निद्रै लाग्दैन
काठमाडाैं । हिलाम्मे भुइँमा निता सिजालीले मागेर ल्याएको जुटका बोरा बिच्छ्याउँछिन् । रात परेपछि त्यही बोरामा बाबा, आमा र छोराछोरी लस्करै सुत्नुपर्छ । सुतिरहेको बेला कहिले कुकुर आएर सुत्छन्, कहिले लामखुट्टे कानमा भुनभुनाउँन थाल्छन् । कुकुर र लामखुट्टेको डरभन्दा पनि सिजालीलाई छोराछोरीको स्वास्थ्य र सुरक्षाको डरले चिन्तित बनाउँछ । आफन्तीको छाप्रोमा आश्रय पाउका सिजालीको परिवार […]
काठमाडाैं । हिलाम्मे भुइँमा निता सिजालीले मागेर ल्याएको जुटका बोरा बिच्छ्याउँछिन् । रात परेपछि त्यही बोरामा बाबा, आमा र छोराछोरी लस्करै सुत्नुपर्छ ।
सुतिरहेको बेला कहिले कुकुर आएर सुत्छन्, कहिले लामखुट्टे कानमा भुनभुनाउँन थाल्छन् । कुकुर र लामखुट्टेको डरभन्दा पनि सिजालीलाई छोराछोरीको स्वास्थ्य र सुरक्षाको डरले चिन्तित बनाउँछ ।
आफन्तीको छाप्रोमा आश्रय पाउका सिजालीको परिवार चुक्कल बिनाको छाप्रोको भुइँमा रात बिताउन बाध्य छन् । “मान्छे र कुकुरमा केही फरक छैन । बाढीले घरबास सबै बगाएपछि अहिले कुकुरसँग रात बित्न थालेको छ । कुकुरलाई धपाउन सकिन्छ, यो वर्षाको समयमा छोराछोरीको स्वास्थ्य, सुरक्षा कसरी गर्ने भन्ने डर लाग्छ”, सिजाली भन्छिन् ।
बाढीले सबै बगाएर लगेपछि उनीहरुको शरीरमा एक सरो लुगा बाहेक आफ्नो भन्ने केही छैन । आफन्तीको छाप्रोमा आश्रय पाउनु अहिलेको समयमा सौभाग्य भएको सिजालीले बताइन् ।
खोलाले सुरुको दिन आँगन भिजाएको थियो । केही समयमा पानी सुकेपछि बाढी नआउने विश्वासले उनीहरु राति मस्त निद्रामा गरे । निदाएका बेला अचानक आएको बाढीले बस्ती बगाएको सिजालीले बताइन् । “खासै पानी नपर्ला भनेर ढुक्कले सुत्यौँ”, उनले भनिन्, “खोलाले अचानक झुक्याएर आयो । सबै बगाएर लग्यो ।”
ललितपुरस्थित फूलबारी मार्ग—२५ मा बस्ने नरबहादुर सिजाले मगरको छ जनाको परवार अलपत्र परेको छ । “कहाँ बस्ने? के खाने?”, उनले प्रश्न गरे, “दिनभरि उज्यालोमा डर लाग्दैन । रातपरेपछि खोलामा फेरी बाढी आयो भने छोराछोरी र श्रीमतीको सुरक्षा कसरी गर्ने भन्ने चिन्ताले सताउँछ । रातभरि निद्रै लाग्दैन ।”
नख्खुखोला किनारामा छाप्रो बनाएर बस्दै आएका मगरको परिवार दिनभरि मजदुरी गरेर बेलुका हातमुख जोड्ने स्थितिमा समेत छैन ।
नख्खुखोला किनारमा अस्थायी टहरामा बस्दै आएका चतुरराम माझीलाई यतिबेला गाँसभन्दा बासको चिन्ताले सताएको छ । “वडाले खाना खुवाउँछ तर, कहाँ रात बिताउछौं भनेर सोध्दैन”, उनले भने, “फेरि पानी पर्यो भने ओत लाग्ने थलो छैन ।” माझीसँग शरीरमा एकसरो सर्ट र च्यातिएको पाइन्ट मात्रै छ ।
आफन्ती कहाँ आश्रय लिएर रात कटाउँदै आएका माझीले अहिले राहतको नाममा आश्वासनबाहेक केही नपाएको बताए ।
ललितपुरस्थित आदिनाथ मार्ग घर भएका आनन्द दासले खोलाले बगाउने चिन्ता हटे पनि घरमा भएका सामान चोरी हुने चिन्ताले सताउन थालेको बताए । बाढीले घर डुबानमा परेपछि आमासँगै उनलाई हेलिकप्टरले उद्धार गरेर सुरक्षित स्थानमा ल्याएको थियो । आफूहरु सरक्षित भए पनि घरमा रहेका सामान असुरक्षित भएका भन्दै उनले ग्यासको सिलिन्डर चोरी भएको जानकारी पाएको बताए ।
“बाढीको हिलो र माटो पसेर ढोका बन्द गर्न मिल्दैन । हिलोले सबै डुबेको छ । राति ग्यास चोरी भएछ”, दासले भने ।
बाढीले थलिएको बस्तीका सर्वसाधारण सबै त्रासमा रहेका बताउँदै उनले सरोकार भएका निकायले तत्काल पीडितलाई उचित बासको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।
रामेछाप घर भएकी सरस्वती बस्नेत बुधबार डोजरले खन्दै गरेको बस्तीका सामान कोट्याउँदै थिइन् । घर र सात वटा गाईसहितको गोठ बगर बनेपछि उनको पेट पाल्ने आधार खोसिएको छ ।
“डोजरले खनिरहँदा केही सामान भेटिन्छ कि भनेर दिनभरी कुरेर बसेँ, केही हाता लागेन”, उनले भनिन्, “सातमध्ये तारवटा गाई मृत भेटिएका छन् ।”
सरस्वतीको परिवारले दुई वर्ष अघि गाईपालन व्यवसाय सुरु गरेको थियो । रु १४ लाख ऋण लिएर गाईपालन थाल्लेको भन्दै उनले लगानीसमेत उठ्न नपाउँदै गाई बगरमा मिसिएका बताइन् ।
“बीमा गरेको १३ दिन मात्र भएको थियो । स्वदेशमा आयआर्जन गरेर जीविकोपार्जन गर्ने योजना बनाएर गाईपालन सुरु गरेका थियौँ । सबै सपना र रु १४ लाखको लगानी बेला बाढीले बगाएको छ”, सरस्वतीले भनिन् । अब ऋण तिर्नका लागि मुग्लान पस्नुपर्ने उनले बताइन् ।
“दुई चार रुपैँया कमाएर स्वदेशमा बस्ने रहर पलाएको थियो”, उनले भनिन्, “अब केही रहेन । ऋण तिर्न विदेशीनु बाहेक अरु विकल्प पनि छैन ।”
नख्खुखोला किनार घर भएकी निर्मला धामी बगरमा दराज खोज्दैछिन् । पाँच तोला सुनका गहनासहित दराज खोलाले बगाएको भन्दै भेटिन्छ कि भन्ने आशले खोजी गरेको धामीले बताइन् ।
जीवनभरको कमाइ माटोमा विलिन भएको भन्दै अब कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ता लाग्न थालेको उनले गुनासो पोखिन् । “बाढीबाट बाँचियो, अब के खाएर जीवन निर्वाह गर्ने?”, उनले प्रश्न गरिन्, “दसैँको मुखमा सुकुम्बासी हुनुपर्यो ।” –रासस
What's Your Reaction?