जसलाई दशैंले छोएन

काठमाडौं । न्युरोडको बन्द पसलको अगाडि घमाइलो दिनमा पनि ज्याकेटले छापेको शरीर, शिरमा बाक्लो टोपी अनि काँधमा झुन्डिएको नाम्लो । चुरोटको सर्को लिँदै धनबहादुर खत्रीले भने, “बिहानदेखि दशैंको खर्च जोहो गरौं भनेको दिउँसो भइसक्यो अहिलेसम्म गोजी रित्तो छ ।” अलिक परको टुँडिखेलमा दशैंको फूलपातीको उत्सव मनाइरहँदा खत्री भने न्यूरोडमा भारी बोक्ने काम खोज्दै थिए । […]

Oct 11, 2024 - 04:45
 0
जसलाई दशैंले छोएन

काठमाडौं । न्युरोडको बन्द पसलको अगाडि घमाइलो दिनमा पनि ज्याकेटले छापेको शरीर, शिरमा बाक्लो टोपी अनि काँधमा झुन्डिएको नाम्लो । चुरोटको सर्को लिँदै धनबहादुर खत्रीले भने, “बिहानदेखि दशैंको खर्च जोहो गरौं भनेको दिउँसो भइसक्यो अहिलेसम्म गोजी रित्तो छ ।”

अलिक परको टुँडिखेलमा दशैंको फूलपातीको उत्सव मनाइरहँदा खत्री भने न्यूरोडमा भारी बोक्ने काम खोज्दै थिए । दशैं लागेका मानिसहरू गोजीभरि पैसा बोकेर न्यूरोडका पसल चहार्दा उनी भने गोजी तातो बनाउने खोजीमा थिए । हामीले उनलाई सोध्यौँ, “दशैं लाग्या छैन दाजु रु”

“खोइ सर, लाग्न त लाग्यो तर मलाई त्यति स्वाद छैन, बिहान आइपुगेको दिन ढल्न लाग्दा पनि काम पाइएको छैन, गोजी रित्तो हुँदा दशैं आयो कसरी भन्नु रु” उनी बिहीबार बिहानै घरबाट निस्किएका थिए, तर दिनभरि नयाँ सडक, असन, भोटेबाहलका गल्ली र पसल चाहर्दा पनि काम पाइएको छैन । उनले आज रित्तो हात फर्कनुपर्छ कि भन्दै सुस्ताए । “हिजो अस्ति त काम जति पनि पाइएको थियो, आज पाइएन, रमाइलो भएन”, उनले सुनाए ।

धनबहादुरको मन दिनभरि राम्रो आम्दानी नभएपछि खिन्न छ । “बिहान परिवारसँग मरमसला, कपडालगायतका सामग्री लिएर आउँछु है भन्दै बजार छिरेको थिएँ, तर आज रित्तो हात फर्कनुको विकल्प भएन”, उनले भने ।

हरेक दिन भारी बोकेर मजदुरी गर्दै आएका खत्रीले यही कमाइले घर खर्च र परिवारको रेखदेख गर्नुपर्ने दायित्व छ । खत्रीको घरपरिवार पनि दिउँसोको कमाइले दशैंका सामान किन्ने योजनामा बसेको छ ।

विगत २७ वर्षदेखि भारी बोक्ने काम गर्दै आएको खत्रीले केही समय रिक्सा पनि चलाए । त्यो पेसाबाट भने जस्तै आम्दानी नभएपछि भारी बोक्न फेरि नाम्लो समाएका रहेछन् । उमेरले ६५ वर्ष कटिसकेका खत्रीले अहिले पनि ५० देखि ६० किलोसम्मको भारी बोक्दै हिँड्छन् ।

उनी मात्रै होइन, न्यूरोडमा ज्यामी काम गर्ने ओखलढुङ्गाका ढाकाराज सुनुवारलाई पनि दशैं लागिसकेको छैन । बन्दै गरेको घरमा मार्बल घोट्दै गरेका उनले पनि खत्रीको जस्तै व्यथा सुनाए ।

फूलपातीको दिन न्यूरोड क्षेत्रमा नयाँ कपडा किन्ने ग्राहक र व्यापारीको होहल्ला चलिरहँदा सुनुवारलाई त्यसको कुनै आभास छैन । “खोइ, दशैं आयो भन्छन् हुने खानेलाई आयो होला । हामीजस्तालाई त आएको छैन । यसरी काम गर्नुपरेको छ, कसरी दशैं मान्नु, तै पनि परम्परा धान्न भए पनि दशैं त मान्नै परो”, उनले भने ।

नेपालीहरूको महान् चाड बडा दशैंको फूलपातीका दिन गाउँ तथा सहरमा पर्वको उल्लास छाइरहँदा खत्री र सुनुवार जस्ता भरियालाई दशैं आयो भन्दा पनि दशैंका लागि खर्च जोहोकै चिन्ता छ । उनीहरू नाम्लो काँधमा हालेर दुई छाक टार्ने हुटहुटीमा न्यूरोड, असन, इन्द्रचोक महाबौद्धलगायत गल्ली र पसलमा चहारिरहेका छन् ।

सीमित आम्दानीले परिवारको खर्च धान्नुपर्ने परिस्थितिका कारण गाउँ जान नसकेका उनीहरुलाई सहरमा बसेर दशैं मनाउन पनि सास्ती छ । भरियामध्ये कतिपय त गाउँ फर्किसके । परिस्थितिले परिबन्धनमा परेका केही भरियालाई भने दशैंले यसपालि घर बोलाएन ।

त्यसैले ओखलढुङ्गाका २५ वर्षीय सुनुवारले जेनतेन यसपालि सहरमै दशैं मनाउने निधो गरेका रहेछन् । “कमाइ पनि राम्रो छैन, बाटोघाटो पनि त्यस्तै छ, स–साना बालबालिकालाई कच्ची बाटोमा कसरी लैजाने । बरु जे जसरी हुन्छ यो पटक आफ्नो जेथो अनुसारको दशैं मनाउँछौँ”, उनले भने ।

घर बनाउने काम गर्दै आएका अर्घाखाँचीका सुनिल राना मगर पनि परिस्थितिले दशैंमा घर जान पाएनन् । “दशैंमा घर जान भने जस्तो पैसा भएन । फेरि दशैंमा अनावश्यक खर्च पनि हुने भएकाले यसपालि घर जान मनले मानेन”, उनले भने ।

राना मगर मात्रै होइन, दोलखाका माइला भुजेलले पनि यसपालि दशैंका लागि घर जाने बसको टिकट काटेनन् । उनले काम गरिरहेको घरमा भर्खरै ताला लागेको छ । श्रीमती र कान्छा छोरा भारतमा उपचारको क्रममा छन् ।

दशैंमा काठमाडौंमा मजदुरी गरिरहेका उनले भने, “परिवार पनि लाखापाखा छन्, आर्थिक अवस्था पनि त्यस्तै छ, कसरी गाउँ जाने, जे जसो भए पनि सहरमै दिउँसो मजदुरी गरेर साँझ पेट पाल्नुपरेको छ ।”   रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register