च्याम्पियन बन्नको लागि नै खेल्ने छौँ : कप्तान अन्जिला

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ को लागि नेपालको राष्ट्रिय टोलीको तयारीबारे कप्तान अन्जिला तुम्बाप्पो सुब्बा र मुख्य प्रशिक्षक राजेन्द्र तामाङले जानकारी गराएका छन् । बुधबार एन्फाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको लागि छोटो समय भएपनि तयारी राम्रो भएको कप्तान सुब्बाले बताइन् । उनले भनिन्, ‘तयारीको लागि धेरै समय पाएनौँ । केवल दुई हप्ता भए पनि […]

Oct 16, 2024 - 10:41
 0
च्याम्पियन बन्नको लागि नै खेल्ने छौँ : कप्तान अन्जिला

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ को लागि नेपालको राष्ट्रिय टोलीको तयारीबारे कप्तान अन्जिला तुम्बाप्पो सुब्बा र मुख्य प्रशिक्षक राजेन्द्र तामाङले जानकारी गराएका छन् ।

बुधबार एन्फाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको लागि छोटो समय भएपनि तयारी राम्रो भएको कप्तान सुब्बाले बताइन् ।

उनले भनिन्, ‘तयारीको लागि धेरै समय पाएनौँ । केवल दुई हप्ता भए पनि राम्रो तयारी भएको छ । हाम्रो टोली सन्तुलित छ । हामी च्याम्पियन बन्नको लागि नै खेल्ने छौँ ।’

यद्यपि, अत्याधिक तयारी आर्टिफिसियल मैदानमा भएकोले न्याचुरल मैदानमा खेल्दा केही असहज हुने उनले बताइन् ।

‘मैदानले पनि केही असर पर्छ । अहिले हामीसँग न्याचुरल ग्राउन्ड नै छैन । त्यहि भएर पनि आर्टिफिसियलमा खेल्न बाध्य भयौँ । अस्ति एकचोटि न्याचुरलमा खेल्न पाएका थियौँ तर, असहज महशुस भएको थियो । आर्टिफिसियलबाट न्याचुरल ग्राउन्डमा जाँदा असहज हुन्छ,’ अन्जिलाले बताइन् ।

सबै टोली जितको लागि नै प्रतिस्पर्धा गर्ने भएकोले नेपालले पनि जित्नका लागि नै खेल्ने अन्जिलाले बताइन् ।

उनले घरेलु रुपमा मात्र तयारी भएको तर अन्तर्राष्ट्रिय टोलीसँग खेल्न नपाएको विषयमा भनिन्, ‘अन्तर्राष्ट्रिय खेल त खेल्न पाइएन र त्यहि कुरालाई मात्र गुनासो गर्‍यो भने त अगाडि बढ्न सकिँदैन । त्यसैले अवस्था अनुरुपको तालिम गरेका छौँ ।’

यस्तै, मुख्य प्रशिक्षक तामाङले भने समय छोटो भएकोले सोचेअनुरुप टोलीलाई तयार गर्न नपाएको बताए ।

‘घरेलु लिगका कारण हामीसँग कम समय मात्र थियो । हामीले २ हप्ता तयारी गर्यौँ । चुनौतीहरु थिए । राम्रो प्लानिङ, इन्ड्यूरेन्स र फिजिकल स्ट्रेन्थमा काम गर्न पाएनौँ ।’ उनले भने ।

नेपालको कमजोर पक्षलाई औल्याउँदै मुख्य प्रशिक्षक तामाङले भने, ‘५ पटक फाइनल खेलेका छौँ । विराटनगरदेखिको खेल विश्लेषण गर्दा डिफेन्सिभ एरेरमा चुकिरहेका छौँ ।’

उनले टोलीलाई उत्प्रेरणा मात्र दिएर नपुग्ने तर, खेलाडी आफैले आफैँलाई सक्छु भनेर अगाडि बढ्नु पर्ने बताए । समय कम भएकोले अत्याधिक युवा खेलाडीलाई टोलीमा जोड्न नसकिएको तामाङले बताए ।

नेपालले अन्तर्राष्ट्रिय टोलीसँग खेलेर तयारी नगरेको विषयबारे उनले भने, ‘मैत्रीपूर्ण खेलका लागि भुटानलाई प्रस्ताव गरेका थियौँ । तर, प्रस्ताव स्वीकार भएन । भुटानले बंगलादेशसँग खेल्यो । भारतले म्यानमारसँग खेल्यो । तर, हामीले आन्तरिक रुपमा मात्र तयारी गर्यौँ ।’

साफ महिला च्याम्पियनसिपमा नेपालको पहिलो खेल भुटानसँग

प्रतियोगितामा नेपालले पहिलो खेल भुटानसँग खेल्नेछ । तर, खेल सोचेअनुरुप असहज हुने तामाङ बताउँछन् ।

‘भुटानको फुटबलले भौतिक संरचना निकै फड्को मारेको र अनुभवी खेलाडीहरु समावेश गरेको छ । सजिलै जित्न गाह्रो नै छ । जित्न त जित्छौँ तर, त्यसको लागि राम्रो रणनीति बनाएर अगाडि बढ्नुपर्छ, ’ उनले भने ।

नेपाली टोलीको छनोट क्षमतावान् नयाँ खेलाडीहरुलाई समावेश गरेका र सबै खेलाडी छनोट भएको २३ खेलाडी राम्रो भएको उनले बताए ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारीबारे सबै ७ टोलीका मुख्य प्रशिक्षक तथा कप्तानले आफ्नो अनुभव पनि साटेका थिए । बिहीबारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र भारतबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा दक्षिण एसियाका सातै टोली नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा घरेलु टोली नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स छन् ।

सातौं संस्करणको साफ महिला च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म आयोजना हुनेछ ।

(तस्वीर : सरोज बस्नेत)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register