संयमता गुमाउँदै रास्वपा, प्रतिशोध साँधिएको निहुँ !

रवि प्रक्रियाअनुसार नै पक्राउ परेका छन् । सुरुमा उनीमाथि अनुसन्धान गर्न विशेष संसदीय समितिले सिफारिस गर्‍यो । यसपछि सम्बन्धित अदालत, जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गर्‍यो । यसपछि उनी पक्राउ परे ।

Oct 19, 2024 - 05:35
 0
संयमता गुमाउँदै रास्वपा, प्रतिशोध साँधिएको निहुँ !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) ले पार्टी सभापति रवि लामिछाने पक्राउ पर्नुलाई ‘सरकारले प्रतिशोध साँधेको’ रूपमा व्याख्या गरेको छ ।

रवि शुक्रबार साँझ काठमाडौंमा पक्राउ परेका हुन् । उनलाई शुक्रबार राति नै पोखरा पुर्‍याइएको छ । अहिले उनी स्वास्थ्य परीक्षणपछि जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् ।

यता रास्वपाले भने सभापति रवि पक्राउ पर्नुलाई प्रतिशोध साँधेको रूपमा व्याख्या गर्दै देशभर विरोध प्रदर्शनको आह्वान गरेको छ ।

रास्वपाले आज देशका मुख्य शहरहरूमा प्रदर्शन गर्दैछ । काठमाडौं, पोखरा, इटहरीलगायतका शहरहरूमा रास्वपा नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले प्रदर्शन गर्दैछन् ।

रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार पोखराको मानवअधिकार चोकमा बिहान ११ बजे विरोध प्रदर्शन हुनेछ । यस्तै इटहरीमा बिहान १० बजे प्रदर्शन हुने नेतृ सरिन तामाङले बताइन् ।

यस्तै यता काठमाडौंमा पनि प्रदर्शन हुने कार्यवाहक प्रवक्ता झाले बताएका छन् । अहिले अधिकांश नेताहरू भने पोखराकेन्द्रित भएका छन् ।

संयमता रास्वपा

रवि सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित विशेष संसदीय समितिको सिफारिसअनुसार पक्राउ परेका हुन् । सूर्य थापा नेतृत्वको समितिको प्रतिवेदनमा रवि व्यक्तिगत रूपमा दोषी नदेखिएको तर, संस्थागत रूपमा सहकारीको रकम अपचलन गर्ने सन्दर्भमा उनको संलग्नता देखिएको उल्लेख छ ।

उक्त समितिमा पूर्वमन्त्रीसमेत रहेका रास्वपा सांसद शिशिर खनाल पनि सदस्य थिए । उनले पनि उल्लिखत बेहोराको प्रतिवेदनमा हस्ताक्षर गरेका छन् । त्यहीअनुसार अहिले रवि पक्राउ परेका हुन् तर, रास्वपा भने विरोध प्रदर्शनतिर लागेको छ ।

अस्तितिर रास्वपाले प्रक्रियाअनुसार नभए मात्रै प्रतिरोध गर्ने बताउँदै आएको थियो तर, अहिले आएर प्रक्रियाअनुसार नै रवि पक्राउ गरिए पनि रास्वपा प्रतिरोधतिरै लागेको छ ।

रवि प्रक्रियाअनुसार नै पक्राउ परेका छन् । सुरुमा उनीमाथि अनुसन्धान गर्न विशेष संसदीय समितिले सिफारिस गर्‍यो । यसपछि सम्बन्धित अदालत, जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गर्‍यो । यसपछि उनी पक्राउ परे ।

तर, रास्वपाले भने सरकारले प्रतिशोध साँधेको भन्ने निहुँ पाएको छ । यसबेला ऊ संयमित भएर चल्नुपर्ने हो तर, तातो झोकमा उसले देशभर विरोध प्रदर्शनको आह्वान गरेको छ ।

यता रास्वपाका दोस्रो तहका नेतादेखि शुभेच्छुकसम्म नै रविलाई पक्राउ गर्नु गलत भन्दै उफ्रिरहेका छन् । जबकि सन्दर्भ प्रक्रियामा गइसकेको छ । अब जे हुने हो, प्रक्रियाअनुरूप नै हुन्छ । उनी थप दोषी देखिए काराबास जानेछन्, अन्यथा उनी बाहिरिनेछन् । तर, पक्रियामा गइसकेको सन्दर्भविरुद्ध रास्वपा आफ्ना नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई सडकमा उतार्दैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register