घरघरमा खानेपानीका धारा बने तर पानी आएन

गलकोट । बागलुङ नगरपालिका–१ रामरेखा खनियाबासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो । तीन वर्षदेखि घरघरमा खानेपानीका धारा बने पनि पानी आएको छैन । बर्खामा जेनतेन पानीको गुजारा चले पनि हिउँदमा खानेपानीको चरम अभाव भोग्दै आएका छन् । सीमान्तकृत माझी समुदायको खानेपानीको अभाव टार्न तीन वर्षअघि रु ३० लाख खर्चेर खानेपानी तथा […]

Oct 20, 2024 - 01:37
 0
घरघरमा खानेपानीका धारा बने तर पानी आएन

गलकोट । बागलुङ नगरपालिका–१ रामरेखा खनियाबासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो । तीन वर्षदेखि घरघरमा खानेपानीका धारा बने पनि पानी आएको छैन ।

बर्खामा जेनतेन पानीको गुजारा चले पनि हिउँदमा खानेपानीको चरम अभाव भोग्दै आएका छन् । सीमान्तकृत माझी समुदायको खानेपानीको अभाव टार्न तीन वर्षअघि रु ३० लाख खर्चेर खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले लिफ्ट खानेपानी आयोजना सम्पन्न गरेको थियो । आयोजनाको पूर्वाधार निर्माणपछि एकपटक धारामा बालुवासहितको पानी आएको र त्यसपछि पानी आउन बन्द भएको स्थानीय गमिला माझीले बताउनुभयो । उहाँले तीन वर्षदेखि दैलोको धारामा पानी नआएको बताए ।

विसं २०४८ मा बागलुङ–पोखरा सडकखण्ड विस्तारका क्रममा विस्थापित माझी समुदायलाई २० वर्ष बाङ्गेचौर खेलमैदानमा राखियो । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१ रामरेखास्थित कालीगण्डकी किनारामा छ वर्षअघिमात्रै जग्गा खरिद गरेर नयाँ घर व्यवस्थापन गरिएको थियो ।

त्यसपछि खानेपानीको समस्या समाधानका लागि आयोजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । सत्र घरपरिवार रहेको माझी बस्तीमा अहिले नाङ्लीबाङबाट ल्याइएको पानीको एउटा अस्थायी धारामात्रै रहेको छ । उक्त धारामा पानी नआए कालीगण्डकीको पानीको भर पर्नुपर्ने बाध्यता रहेको गमिलीको भनाइ छ । नमूना बस्तीमा एक घर एक धारा वितरणका लागि खानेपानी आयोजना तीन वर्षअघि नै सकिएको, ट्याङ्की र धारालगायत पूर्वाधार निर्माण भइसके पनि पानी नआएको स्थानीय लक्ष्मी माझीले बताए । सत्र घरको बाहिर धारा बने पनि उक्त धारा अहिले प्रयोगविहीन बनेका छन् ।

‘घरअघि चिटिक्क धारा बनेको तीन वर्ष भइसक्यो तर धारामा पानी खस्दैन, यो लिफ्ट आयोजना भरपर्दोरैनछ, एक पटक कालीगण्डकीको लेदोसहितको पानी धारामा आएको थियो, त्यसपछि पानी आएको थाहा छैन’, लक्ष्मीले भने – अहिले वैकल्पिक रुपमा नाङ्लीवाङको पानी खान्छौँ, एउटा पाइपमा आएको पानी १७ घरमा पुर्याउन मुस्किल छ, हिउँदमा त खानेपानीको साह्रै समस्या हुन्छ ।

उपभोक्ता समिति, वडा कार्यालय र खानेपानी तथा सरसफाइ कार्यालयको समन्वय अभावमा योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । एक घर एक धारा पुर्याउने माझी बस्ती खानेपानी आयोजना निर्माण गर्न झण्डै रु ३० लाख खर्च भइसकेको छ । माझी समुदायले दैलोमा खानेपानीको धारा बनेको तीन वर्ष बित्दा पनि खानेपानी नआएको दुःखेसो गरेका छन् ।

कालीगण्डकी किनाराको खानेपानीलाई लिफ्टमार्फत करिब पाँच सय मिटरमाथि तानेपछि एकीकृत बस्तीमा खानेपानी वितरण गर्ने योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख किरण पौडेलले आयोजना सम्पन्न भएर सफल भएपछि स्थानीयलाई हस्तान्तरण गरिएको बताए ।

स्थानीयले पानी नआएको विषयमा कार्यालयमा जानकारी नगराएको बताउँदै प्राविधिक पठाएर खानेपानी सञ्चालन गर्ने जानकारी दिए । उनले यस विषयमा बुझ्न आयोजनास्थलमा प्राविधिक पठाउने र मर्मतसम्भार गरेर आयोजनामार्फत पानी सञ्चालन गर्ने बताए । उनले माझी समुदालये लिफ्टमार्फत पानी तान्दा खर्चिलो भएको गुनासो गरेको बताए । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register