रवि लामिछानेलाई अनुसन्धानको लागि अरू जिल्लामा पनि लगिन सक्ने

छविलाल जोशीलाई जस्तै रविलाई पनि अन्य जिल्लामा लगिन सक्ने जानकारहरूले बताएका छन् । किनकि छवि र रविको एकै मुद्दा हो ।

Oct 22, 2024 - 06:19
 0
रवि लामिछानेलाई अनुसन्धानको लागि अरू जिल्लामा पनि लगिन सक्ने

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले रुपन्देही जिल्लामा पठाएको छ ।

सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले सोमबार रुपन्देही पठाइएसँगै रवि लामिछानेको मुद्दा पनि के हुन्छ भन्ने चासो बढेको छ ।

कास्की प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएका रास्वपा सभापति रवि लामिछानेलाई गोर्खा मिडिया नेटवर्क प्रालिसँग जोडिएका अन्य सहकारी संस्थाहरूको बचत अपचलनको अभियोगमा पनि अनुसन्धान हुन सक्छ कि सक्दैन भन्ने चासो छ ।

छविलाल जोशीलाई जस्तै रविलाई पनि अन्य जिल्लामा लगिन सक्ने जानकारहरूले बताएका छन् । किनकि छवि र रविको एकै मुद्दा हो ।

राजनीतिमा आउनुअघि रवि गोर्खा मिडिया नेटवर्कका सञ्चालक थिए । सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन भएको आशङ्कामा छानबिन गर्न रविलाई काठमाडौंबाट पक्राउ गरी कास्की लगिएको हो ।

सूर्यदर्शनजस्तै बुटवलको सुप्रिम सहकारी संस्था, वीरगन्जको सानो पाइला, चितवनको सहारा, नेपालगन्जको समानता र काठमाण्डूको स्वर्णलक्ष्मी सहकारी संस्थाबाट पनि गोरखा मिडियामा ऋण प्रवाह भएको संसदीय छानबिन समितिको प्रतिवेदनले औँल्याएको छ । रविलाई ती सबै जिल्लामा लगिन सक्ने जनाइएको छ ।

यदि उजुरी छ वा उजुरी नपरे पनि अनुसन्धानमा देखियो भने हरेक स्थानबाट अनुसन्धानको माग हुन सक्ने जनाइएको छ ।

त्यस्तो अवस्थामा पोखराबाट रिहा भए पनि लामिछानेलाई सहकारीको रकम अपचलनको आरोप लागेका अन्य जिल्ला प्रहरी कार्यालयले आफ्नो हिरासतमा लिन सक्नेछ ।

प्रहरीका एक उच्च अधिकारी भन्छन्, ‘उनीविरुद्ध सङ्गठित अपराधमा समेत अनुसन्धान भइरहेको छ । त्यसको अर्थ उनलाई प्रहरीले अदालतबाट म्याद थप गर्दै तीन महिनासम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ । छविलाल जोशी जस्तै रविलाई पनि अरू जिल्लामा लगेर अनुसन्धान हुन सक्छ ।’
तीमध्ये बुटवलको सुप्रिम सहकारी संस्थाको बचत अपचलनमा २८ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।

कतिपय भने कास्की प्रहरीले अनुसन्धान सकेर अदालतमा पेस गरेपछि न्यायालयले रविलाई धरौटीमा छोड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गर्ने बताउँछन् । त्यसअघि नै अदालतले उनलाई छ दिन हिरासतमा राख्न दिइएको म्याद सकिएपछि थप समय हिरासतमा राख्ने वा नराख्ने विषयमा पनि निर्णय गर्न बाँकी छ ।

यसबारे प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले अनुसन्धानकै क्रममा रहेको विषय भएका कारण प्रहरीले अहिले नै थप जिल्लामा उनलाई लैजाने वा नलैजाने भन्न नसकिने बताए ।

उनले भने, ‘अहिले सहकारीबाट गोरखा मिडियामा आएको रकम अपचलनबारे अनुसन्धानका लागि कास्की लगिएको हो । आवश्यकता र उजुरीका हिसाबले अघि बढ्ने बताए ।’

रविका साझेदार छवीलाई भने कास्की सोमबार जहाजमार्फत रुपन्देही लगिएको हो । त्यहाँ पनि उनीविरुद्ध सहकारी ठगीबारे बयान गराइने छ ।

जोशी गत असोज ६ गते पक्राउ परेका थिए । उनी गोरखा नेटवर्कमा जीबी राई र रवि लामिछानेका तत्कालीन साझेदार समेत हुन् । उनको त्यहाँ बयान पूरा भए पनि कात्तिक ७ गते फेरि पोखरा नै फर्काइने प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register