बाढीबाट गण्डक नहरमा आठ करोडको क्षति, गहुँखेती सिँचाइमा समस्या

जनकपुरधाम । गत असोज ११, १२ र १३ गते अविरल वर्षासँगैको बाढीले गण्डक सिँचाइ प्रणालीमा रु आठ करोड बराबरको संरचनामा क्षति भएको छ । नहर संरचनामा भएको क्षतिका कारण सिँचाइकार्यमा समस्या भएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जले जनाएको छ । पर्सा, बारा तथा रौतहटका ३७ हजार ४०० हेक्टर जमीनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहेको गण्डक […]

Oct 26, 2024 - 17:13
 0
बाढीबाट गण्डक नहरमा आठ करोडको क्षति, गहुँखेती सिँचाइमा समस्या

जनकपुरधाम । गत असोज ११, १२ र १३ गते अविरल वर्षासँगैको बाढीले गण्डक सिँचाइ प्रणालीमा रु आठ करोड बराबरको संरचनामा क्षति भएको छ । नहर संरचनामा भएको क्षतिका कारण सिँचाइकार्यमा समस्या भएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जले जनाएको छ ।

पर्सा, बारा तथा रौतहटका ३७ हजार ४०० हेक्टर जमीनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहेको गण्डक सिँचाइ प्रणालीमा क्षति भएपछि नहर पूर्ण रूपमा सञ्चालन तथा व्यवस्थापनमा समस्या भएको कार्यालय प्रमुख मनोज पटेलले जानकारी दिए।

उनका अनुसार बाढीले रौतहटको राजपुर भेडरहियाको १२ नं ब्लकमा रु दुई करोड, बाराको फेटामा रु तीन करोड तथा पर्साको बहुदरमाई नगरपालिकामा पुलको साइफनसहित नहर भत्किँदा रु तीन करोडको क्षति भएको छ । सिँचाइ प्रणालीअन्तर्गत नहरको डिल, कल्भर्ट, पुल तथा सहायक नहरलगायत संरचना पुनःनिर्माण तथा मर्मतका लागि रु आठ करोड खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको कार्यालयका सूचना अधिकारी सुरेश साहको भनाइ छ ।

नहर छिटो मर्मतसम्भार नगरे गहँुको सिजनमा किसानको खेतसम्म सिँचाइ सुविधा पुर्‍याउन कठिनाई हुने जनाइएको छ । भत्केको नहरलाई सञ्चालन गर्न कार्यालयसँग प्रयाप्त बजेट नरहेकाले माथिल्ला निकायमा सोहीअनुसार जानकारी गराइएको सूचना अधिकारी साहले बताए ।

नवलपरासीस्थित नेपाल भारत सीमामा निर्मित गण्डक ब्यारेजबाट उक्त नहरमा सिँचाइका लागि पानी आउने गरेको छ । उक्त ब्यारेजबाट दोन, त्रिवेणी तथा तिरहुत गरी तीनवटा नहर निमार्ण गरिएका छन् । दोन नहर भारतमै ९२ किमी पार गरेर पर्साको जगरनाथपुर गाउँपालिकाको जानकी टोलबाट नेपालमा प्रवेश गरेको छ ।

नेपालमा प्रवेश गरेपछि यो नहर पूर्वी नहरले चिनिन्छ । पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित नहरको लम्बाइ नेपालतर्फ ८१ किमी रहेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले जनाएको छ ।

सन् १९७५ तथा १९७६ मा दुई चरणमा निर्माण गरी भारत सरकारले नेपाल सरकारलाई नहर हस्तान्तरण गरेको थियो । नहरबाट तीन जिल्लाका ३७ हजार चार सय हेक्टर जग्गामा सिचित गर्ने लक्ष्य भए पनि रौतहटमा लक्षित सिँचाइ सुविधा नहरले दिन नसकेको जनाइएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register