फेरि बढ्यो अण्डाको मूल्य, किसानलाई राहत

चितवन । गत भदौ पहिलो सातादेखि अण्डाको मूल्य घटेपछि निराश बनेका किसान मूल्य वृद्धि हुन थालेसँगै उत्साहित बनेका छन् । किसानले लागत मूल्यनजिक बिक्री गर्न पाएका छन् । नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलकाअनुसार सोमबारदेखि लागू हुनेगरी चितवनलाई आधार मानेर ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) पाँचसय, मध्यम चारसय ८५ र  […]

Oct 28, 2024 - 04:19
 0
फेरि बढ्यो अण्डाको मूल्य, किसानलाई राहत

चितवन । गत भदौ पहिलो सातादेखि अण्डाको मूल्य घटेपछि निराश बनेका किसान मूल्य वृद्धि हुन थालेसँगै उत्साहित बनेका छन् । किसानले लागत मूल्यनजिक बिक्री गर्न पाएका छन् ।

नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलकाअनुसार सोमबारदेखि लागू हुनेगरी चितवनलाई आधार मानेर ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) पाँचसय, मध्यम चारसय ८५ र  ‘एक्सएल’ पाँचसय १५ कायम गरिएको छ ।

यसअघि गत साउन मसान्तमा यही दररेटमा अण्डा बिक्री भएकामा क्रमशः घटेर ठुलो अण्डा तीनसय ६०, मध्यम तीनसय र एक्सएल तीनसय ७५ मा झरेको थियो ।

विगत दुई साता यता क्रमशः मूल्य बढ्न थालेको अध्यक्ष पोखरेलले बताए ।

लागत मूल्य प्रतिगोटा १६ रुपियाँ ५६ पैसा रहेको छ । पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेपछि पूर्ववत् अवस्थामा अण्डाको मूल्य आएको बताए । भदौ पहिलो साता दैनिक ३० लाख हाराहारी अण्डा उत्पादन हुने गरेकामा यो सङ्ख्या घटेर २२ लाख हाराहारीमा झरेको छ ।

उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्षसमेत रहनुभएका कुखुरापालक किसान त्रिलोचन कँडेल किसानले पालेका अण्डा उत्पादन हुने कुखुराहरु बिक्री भएको र नयाँ चल्ला हुर्किन नसक्दा उत्पादन घटेको बताए । कँडेलले ७५ प्रतिशत किसान विस्थापित भइसकेको उल्लेख गर्दै केही किसान फेरि व्यवसायमा फर्किएको बताए । लागत मूल्यभन्दा कममा अण्डा बिक्री गर्नुपर्ने अवस्था आएमा बाँकी किसान पनि विस्थापित हुने उनको भनाइ छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register