आईएसएफ जिम्नासाइड समर गेम्समा नेपाललाई ३ स्वर्णसहित ७ पदक

काठमाडौं । नेपालले आईएसएफ जिम्नासाइड समर गेम्समा ३ स्वर्ण, १ रजत र ३ कास्यसहित ७ पदक जितेको छ । नेपालले ५ खेलमा सहभागिता जनाएकोमा बक्सिङ र तेक्वान्दोमा पदक जित्न सफल भएको हो । यी २ खेलसहित नेपालले टेबलटेनिस, ब्याडमिन्टन र पुरुष थ्री बाइ थ्री बास्केटबलमा भाग लिएको थियो । नेपालले बक्सिङमा समान २–२ स्वर्ण र […]

Oct 31, 2024 - 06:08
 0
आईएसएफ जिम्नासाइड समर गेम्समा नेपाललाई ३ स्वर्णसहित ७ पदक

काठमाडौं । नेपालले आईएसएफ जिम्नासाइड समर गेम्समा ३ स्वर्ण, १ रजत र ३ कास्यसहित ७ पदक जितेको छ ।

नेपालले ५ खेलमा सहभागिता जनाएकोमा बक्सिङ र तेक्वान्दोमा पदक जित्न सफल भएको हो । यी २ खेलसहित नेपालले टेबलटेनिस, ब्याडमिन्टन र पुरुष थ्री बाइ थ्री बास्केटबलमा भाग लिएको थियो । नेपालले बक्सिङमा समान २–२ स्वर्ण र कांस्य तथा तेक्वान्दोमा समान १–१ स्वर्ण, रजत र कास्य हात पार्‍यो ।

बक्सिङको पुरुष ८० केजीमुनि नोर्बु थेन्डुप लामा र महिला ५४ केजीमुनि स्वस्तिका तिरुवाले स्वर्ण जितेका छन् । दुबैको यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण हो । बक्सिङकै पुरुष ४६ केजीमुनि रोहित जनाला र ८० केजीमुनि सूर्यान वैद्यले कास्यपदक हात पारे ।

बहराइनको मानामामा भएको आईएसएफ जिम्नासाइडको तेक्वान्दोमा उज्ज्वल वाग्लेले दोहोरो पदक जिते । नैकापस्थित ब्राइट फ्युचर माविमा अध्ययनरत उज्ज्वलले पुरुष ६८ केजीमुनि स्वर्ण र पुरुष एकल पुम्सेमा रजत तथा निविता केसीले महिला एकल पुम्सेमा कास्यपदक प्राप्त गरेका छन् ।

प्रत्येक २ वर्षको अन्तरालमा हुने यू–१८ उमेरसमूहको आईएसएफ जिम्नासाइडको २०औं संस्करणमा नेपालबाट ५ खेलमा ३२ खेलाडी सहभागी थिए ।

बक्सिङ र तेक्वान्दोमा समान ५–५, टेबलटेनिसमा ६, पुरुष थ्री बाइ थ्रीको बास्केटबलमा १५ (४ टिम) तथा ब्याडमिन्टनमा १ खेलाडीले सहभागिता जनाएका थिए । सन् १९७४ मा जर्मनीदेखि सुरु भएको आईएसएफ जिम्नासाइडमा नेपालले फ्रान्सको नोरमन्डीमा भएको १९औं संस्करणमा पहिलोपटक सहभागिता जनाएको थियो ।

उक्त संस्करणमा पौडी, टेबलटेनिस, तेक्वान्दो र बास्केटबल गरी ४ खेलमा भाग लिएको नेपालले कुनै पदक जितेको थिएन ।

बहराइन जिम्नासाइडमा ६९ राष्ट्रका २ हजार १ सय ७२ पुरुष तथा १ हजार ५ सय ४२ महिला गरी कुल ३ हजार ७ सय १४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । आयोजक राष्ट्र बहराइनले सबै भन्दा बढी ३ सय ६१ खेलाडी सहभागी गराएको थियो ।

लक्जम्बर्ग, मोन्टेनेग्रो, ताजकिस्तान र टोगोबाट सबै भन्दा कम समान २–२ खेलाडी सहभागी थिए । खेलाडीसहित प्रशिक्षक, निर्णायक, टोली प्रमुख, अफिसियललगायत गरी ५ हजार ४ सय ५३ जना आईएसएफ जिम्नासाइडका लागि बहराइनमा भेला भएका थिए ।

अक्टोबर २३ देखि सुरु भई अक्टोबर ३० तारिखसम्म चलेको आईएसएफ जिम्नासाइडमा एथलेटिक्स, ब्याडमिन्टन, जुडो र पौडीमा पाराको पनि प्रतिस्पर्धा भएको थियो । पारामा नेपालले भाग लिएन ।

अर्को संस्करण आयोजनाका लागि साउदी अरेबिया, अजरबैजान र दुबईले प्रस्ताव गरेको आईएसएफका कार्यकारी समितिका सदस्य समेत रहेका नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले जनाएका छन् ।

विद्यालय तहदेखिनै तेक्वान्दोलाई विकास गर्ने उद्देश्यसहित राजकुमार कार्कीको समन्वयमा विश्व तेक्वान्दो डब्लुटी संग सम्झौता विगतमै भइसकेको नेपाल विद्यालय खेलकुद महासंघका सचिव सोविनराज रेग्मीले जानकारी दिए ।

कार्की आईएसएफअन्तर्गत तेक्वान्दो प्राविधिक कमिटीका अध्यक्ष पनि हुन् । बहराइन जिम्नासाइडको तेक्वान्दोलाई डब्लुटीले जि वान र्‍याङकिङ प्रतियोगिताको मान्यता दिएको कार्कीले बताए ।

दूतावासको सम्मान

बहराइनस्थित नेपाली दूतावासले आईएसएफ जिम्नासाइडमा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई बुधबार सम्मान गरेको छ । बहराइनका लागि नेपालका राजदूत तीर्थराज वाग्लेले पदक विजेता खेलाडीसहितको टोलीलाई दूतावासमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे ।

सोही अवसरमा बहराइनको नेपाली प्रवासी मञ्चका इन्चार्ज शालिकराम पन्थीले पनि पदक विजेता खेलाडीलाई सम्मान गरेका थिए । त्यस्तै दूतावासले आईएसएफ जिम्नासाइडमा नेपालको सहभागिता सफल बनाउन योगदान गरेबापत राजकुमार कार्कीलाई पनि सम्मान गर्‍यो ।

सो अवसरमा राजदूत वाग्लेले खेलाडीले पदक जितेर नेपाली र सिंगो राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गरेको धारणा व्यक्त गर्दै पदक विजेता खेलाडीलाई बधाई दिए ।

कार्यक्रममा नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठ, महासंघका उपाध्यक्ष एवं टोली प्रमुख मोहनकुमार कार्कीलगायतको उपस्थिति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register