यी हुन् कुकुरले पत्ता लगाएका जटिल अपराधका घटना

काठमाडौं । झट्ट सुन्दा अझै पनि पत्यार लाग्दैन, ‘कुकुरले सुँघेरै अपराधी पत्ता लगाउँछ ।’ त्यतिमात्रै होइन, हत्यारा, बेपत्ता पारिएका दर्जनौँ घटनामा प्रहरीले कुकुरकै सहयोग लिने गर्छन् । नेपालमा पनि अपराध अनुसन्धानमा कुकुर खटाउन लागिएको करिब ५६ वर्ष पूरा भइसकेको छ । तिहारको दोस्रो दिन अर्थात् कुकुर तिहार, बिहीबार नेपाल प्रहरीले आफ्नो अनुसन्धानमा सघाउने कुकुरको पूजा […]

Oct 31, 2024 - 06:56
 0
यी हुन् कुकुरले पत्ता लगाएका जटिल अपराधका घटना

काठमाडौं । झट्ट सुन्दा अझै पनि पत्यार लाग्दैन, ‘कुकुरले सुँघेरै अपराधी पत्ता लगाउँछ ।’ त्यतिमात्रै होइन, हत्यारा, बेपत्ता पारिएका दर्जनौँ घटनामा प्रहरीले कुकुरकै सहयोग लिने गर्छन् । नेपालमा पनि अपराध अनुसन्धानमा कुकुर खटाउन लागिएको करिब ५६ वर्ष पूरा भइसकेको छ ।

तिहारको दोस्रो दिन अर्थात् कुकुर तिहार, बिहीबार नेपाल प्रहरीले आफ्नो अनुसन्धानमा सघाउने कुकुरको पूजा गरेर मनाउँदै छ ।

अपराध अनुसन्धानमा प्रहरीलाई सहयोग गर्दै आएका कुकुरलाई पूजा गर्न नेपाल प्रहरीले केन्द्रीय डग स्कूल महाराजगन्जमा एक कार्यक्रम आयोजना गरी कुकुर तिहार मनाउन लागेको हो । विसं २०२६ सालदेखि कुकुर पाल्न थालेको नेपाल प्रहरीले कुकुर तिहारको दिन विशेष कार्यक्रम गर्दै कुकुर तिहार मनाउँदै आएको छ ।

प्रहरीले विसं २०२६ सालबाट कुकुर सेवाको सुरुआत गरेको थियो । त्यसबेला मलेसियामा भएको कुकुर तालिममा नेपाल प्रहरीले समेत भाग लिएको थियो । उक्त तालिममा कुकुरले प्रहरीलाई अनुसन्धानमा सहयोग गरेका धेरै कामहरू देखाइएको थियो ।

प्रहरीले अनुसन्धान गर्न नसकेका धेरै जटिल कामहरू कुकुरको सहायताले फत्ते गरेको विवरण जानकारी पाएपछि उक्त टे«निङ पश्चात् नेपाल प्रहरीले ४ वटा तालिमप्राप्त कुकुर किनेर २०२६ सालबाट कुकुर सेवा सुरु गरेको हो ।

पछि नेपाल प्रहरीले २०३२ सालमा प्रहरी कुकुर सेक्सन स्थापना नै गरेर औपचारिक रुपमा अनुसन्धानका लागि कुकुर पाल्न थालेको थियो । उक्त सेक्सनलाई विकास गर्दै प्रहरीले २०४७ सालमा केन्द्रीय कुकुर तालिम केन्द्र नै बनाएको छ । त्यस्तै प्रहरीले तत्कालीन पाँच वटै विकास क्षेत्रमा क्षेत्रीय कुकुर शाखाको समेत स्थापना गरेको थियो ।

साथै सातैवटा प्रदेश प्रहरी केनाइन कार्यालय\शाखाहरूमा हरेक कार्यालय÷शाखामा १६ का दरले जम्मा ११२ वटा कुकुरको दरबन्दी छ ।

६ वटा विषयगत कुकुरहरू हुन्छन् । ट्र्याकर कुकुरले अपराधीको खोजी एवं पहिचान गर्छन् ।
विस्फोटक पदार्थको लागि खोजी एवं पहिचान कुकुर कुकुर हुन्छन् । लागू औषधको अनुसन्धानको लागि खोजी एवं पहिचान कुकुर छन् ।

खोजी तथा उद्धारको लागि छुट्टै छन् । आज्ञापालनको लागि र बच्चा उत्पादनको लागि ब्रिडर डग हुन्छन् ।

नेपाल प्रहरीले कहिलेकाहीँ अनुसन्धानमा पोख्त अधिकारी र प्रविधिले हार खाएका कतिपय जटिल अपराधका गाँठा कुकुरकै सहायताले फुकाएको छ । सुरक्षामा कुकुरको सहयोग लिनु विश्वव्यापी परम्परा नै बनेको छ ।

अपराध अनुसन्धानमा नेपाल प्रहरीसँग पोलिग्राफ मेसिन, डिजिटल फरेन्सिक ल्याब, डिएनए प्रोफाइलिङ युनिट, अटोमेटिक फिंगर प्रिन्ट आइडेन्टिफिकेसन सिस्टम, लागू औषधको परीक्षण गर्ने हाइपर्फरमेन्स थिन लेअर क्रोम्याटोग्राफी (एचपीटीएलसी) जस्ता प्रविधि छन् । यी बाहेक अनुसन्धानमा प्रहरीको अर्को भरपर्दो विधि हो, कुकुर ।

अपराध अनुसन्धानमा कुकुरको साथ

प्रहरीले अनुसन्धान गर्न नसकेका धेरै जटिल कामहरू कुकुरको सहायताले फत्ते गरेका छन् ।

२०७२ मा आएको विनाशकारी भूकम्पले पहिरोमा पुरिएका दर्जनौँलाई कुकुरले पत्ता लगाएको तालिम केन्द्रका प्रहरी अधिकारी बताउँछन् ।

२०७१ साल असोज १४ गते लमजुङको पिप्ले–४ ओडारेका एकै परिवारका चार जनाको हत्यारालाई पनि नेपाल प्रहरीको कुकुरले पत्ता लगायो ।

२०७२ वैशाख १५ मा सल्यानको छाँयाक्षेत्र–९ रानागाउँका २३ वर्षे सीता खाँण, साढे दुई वर्षकी उनकी छोरी पवित्रा र ११ महिनाकी सबिता र सीताकी बहिनी गीता घरभित्रै मृत अवस्थामा फेला परेको घटनामा पनि नेपाल प्रहरीको कुकुरले हत्याराको पहिचान गरेको थियो ।

२०६४ मा बाराका पत्रकार वीरेन्द्र साहको हत्या प्रकरणमा ‘ब्ल्याकी’ कुकुरले शव फेला पार्यो‍ । २०७४ मा ललितपुरमा दीपक दमाईको हत्याको अनुसन्धानमा ’लिजा’ कुकुरले हत्यारा पत्ता लगायो ।

२०७१ मा लमजुङमा तीन जनाको हत्या प्रकरणमा ‘ज्वाला’ कुकुरले हत्यारा पहिचान गर्यो‍ ।

लागूऔषध नियन्त्रण, भूकम्पपछिको उद्धार कार्य, भीभीआईपी सुरक्षा जाँच र विस्फोटक पदार्थ खोजीमा पनि कुकुरले योगदान दिएका छन् ।

ठमेल र बसपार्क क्षेत्रबाट ठुलो मात्रामा लागूऔषध बरामद पनि कुकुरै सहायतामा भएको थियो । २०६९ मङ्सिर २७ मा लागूऔषधका मुख्य नाइके भारतीय नागरिक पुतन खानसहित दुई जनालाई पक्राउ गरिएको थियो ।

२०६८ माघ २५ गते भक्तपुरका २१ वर्षे राजकुमार टमठूको कंकाल ललितपुरको ढल्केश्वरमा गाडिएका अवस्थामा कुकुरले नै पत्ता लगाएको थियो ।

रसुवाको ब्राप्चेमा पहिरोले पुरिएका इन्जिनियर चेरव घिमिरेको शव ‘रेस्क्यु’ र ‘खुस्बु’ कुकुरले फेला पारेका थिए ।
२०४० सालमा दोलखामा भएको चार जनाको हत्या ‘नानी’ कुकुरले पत्ता लगायो ।

भीभीआइपी सुरक्षामा कुकुर

२०७० सालमा पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको नेपाल भ्रमणका बेला लियो, मारियो र एक्सी कुकुरले सुरक्षा दिएका थिए ।

यस्तै २०७१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा पनि लियो, मारियो र एक्सीले ‘स्नाफिङ’ गरेर सुरक्षा दिएका थिए । हतियार तथा विस्फोटक पदार्थ पत्ता लगाउने काम पनि कुकुरबाटै भएको छ ।

२०७१ मङ्सिर १८ मा ‘जुलेट’ कुकुरले चितवनमा कटुवा पेस्तोल, एसएलआरको गोली र गन पाउडर फेला पारेको थियो ।

भीआइपीहरूको आवतजावत हुने स्थानमा विस्फोटक पदार्थको नियमित जाँच कुकुरबाटै गरिन्छ । यसरी नेपाल प्रहरीका कुकुरहरूले अपराध अनुसन्धानदेखि विपद् उद्धारसम्म विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register